Kathmandu Press

‘महिलाका मुद्दा उठाउन महिलाकै नेतृत्व आवश्यक’

‘सडक संसद्को पहिलाे सभामुख बनेर मैले जुन भूमिका निर्वाह गरें, त्यो मेरा लागि गर्वको विषय हो, त्याे घटना विश्व संसदीय इतिहासमै उदाहरणीय बनेकाे छ,’
‘महिलाका मुद्दा उठाउन महिलाकै नेतृत्व आवश्यक’

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव आसन्न आम निर्वाचनमा सिराहा–२ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छिन्। उनका प्रमुख प्रतिस्पर्धीका रूपमा जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादव छन्।

पूर्वशिक्षामन्त्री पनि रहेकी चित्रलेखा पूर्वसञ्चारमन्त्री राजकिशोरलाई रोकेर संसदीय यात्रा तय गर्ने दाउमा छिन्। चित्रलेखालाई सत्ता गठबन्धनको बलियो साथ छ भने राजकिशोर विपक्षी गठबन्धनका उम्मेदवार हुन्। सो क्षेत्रमा एमाले र जसपाबीच चुनावी तालमेल छ।  

यसर्थमा दुई गठबन्धनको भिडन्तमा सोही क्षेत्रमा एकपटक चुनाव जितिसकेकी चित्रलेखा प्रत्यक्ष चुनाव जितेर संसद्सम्मको यात्राका लागि तीव्र रुपमा चुनावी प्रचारप्रसारमा लागिपरेकी छन्। यसपटक जितेको अवस्थामा र समानुपातिकबाट सांसद बनेको पनि हिसाब गर्दा उनी चौथोपटक प्रतिनिधिसभा सदस्य बन्ने दौरानमा छिन्। गठबन्धनको साथ र मतदाताको मायाले आफूले जित हासिल गर्नेमा उनी ढुक्क छिन्।

Hardik ivf

यही क्षेत्रबाट लेखक रामरिझन यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्। पत्रकार देवकुमार यादव पनि उम्मेदवार छन्। वरिष्ठ गायक, संगीतकार तथा अभिनेता मुरलीधर मिझारले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सोही क्षेत्रमा उम्मेदवारी दिएका छन्। यी चर्चित उम्मेदवारसहित दल र स्वतन्त्रबाट २४ जना यो क्षेत्रमा चुनाव भिड्दैछन्। २२ उम्मेदवारले तान्ने मतले मुख्य प्रतिस्पर्धी मानिएका चित्रलेखा र राजकिशोरको मत बिगार्न सक्ने आकलन पनि हुँदै आएको छ।

सिरहा २ मा नवराजपुर, बरियारपट्टी, औरही गाउँपालिका पर्छन्। लक्ष्मीपुर पतारी गाउँपालिकाको एउटा वडा, सुखीपुर नगरपालिकाका १० वटा वडा, धनगढीमाई नगरपालिकाका १२ वटा वडा र गोलबजार नगरपालिकाको एउटा वडा गरी ४१ वटा पर्छन् ।

गत स्थानीय तहमा कांग्रेसले १२, एमालेले १०, जनता समाजवादी पाटी (जसपा) ले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनमत पार्टीले एउटा वडा जितेका छन् कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा हेर्दा लोकतान्त्रिक वाम गठबन्धन बलियो छ। उसले ३३ हजार ८ सय ९५ मत पाएको देखिन्छ । एमाले–जसपा सम्मिलित विपक्षी गठबन्धनले ३२ हजार ३ सय ४८ मत पाएको छ । स्थानीय तहमा एउटा वडा जितेको जनमत पार्टीले पनि ४ हजार ९ सय ६६ मत पाएको छ।

यस हिसाबले सिरहा २ को मतपरिणामले चित्रलेखाको अवस्था राम्रो देखिन्छ। स्थानीय निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुले पाएकाे मत सुरक्षित गर्न सके उनको जित सुनिश्चित छ। तर गठबन्धन मत ‘ट्रान्सफर’ भए उनलाई अप्ठेरो पनि पर्न सक्छ। किनकि विपक्षी गठबन्धन झिनो मतले मात्र पछि छ।

को हुन् चित्रलेखा यादव?

२०२२ जेठ १५ गते सिरहाको नवराजपुरमा आमा रामरती यादव र बुवा मुनाप्रसाद यादवको पहिलो सन्तानका रुपमा चित्रलेखा यादवको जन्म भएको हो। सम्पन्न परिवारमा जन्मेकी उनको बाल्यकाल सुखमय ढंगले बित्यो। परिवारका सबै सदस्यबाट उनले निकै माया र स्नेह पाइन्। 

पढाइमा अब्बल चित्रलेखाले कहिल्यै दोस्रो हुनुपरेन। उनी विद्यालयमा पनि शिक्षकाशिक्षिकाकी प्रिय छात्रा थिइन्। आइएडमा उनले नेपाल टप गरिन्। त्यतिबेला उनले तत्कालीन रानी ऐश्वर्याबाट ईश्वरी विद्या पदक पाएकी थिइन्। उनी विद्यालय र क्याम्पसमा हुने गित, नृत्य, कवितालगायत प्रतियोगितामा प्रायः प्रथम हुने गर्थिन्। सबैसँग मिलेर बस्ने र अरुको खुसीमा रमाउने उनको स्वभाव थियो। उनले २०५२ सालमा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेकी छन्। 

२०३४ सालमा जनकपुरस्थित कन्या स्कुल कक्षा ८ मा अध्ययनरत छँदा वादविवाद प्रतियोगितामा जिल्ला प्रथम भइन्। प्रतियोगीतामा उनले बोलेका कुरा र अरूलाई चाँडै प्रभावित पार्न सक्ने उनको बोलीको प्रशंसा भयो। विद्यालयकै अग्रज छात्रछात्राले प्रतियोगिताकै भोलिपल्ट प्रजातन्त्रको लडाइँमा साथ दिन आग्रह गरे।

प्रजातन्त्र के हो भन्ने कुराबाट अन्जान चित्रलेखा त्यो समयमा अलमलमा परिन्। अग्रजका सल्लाहअनुसार प्रजातन्त्र के हो र जनताका लागि किन प्रजातन्त्र आवश्यक छ भन्ने  बुझ्न पत्रपत्रिका तथा विज्ञका लेखहरू पढ्न थालिन्। बिस्तारै प्रजातन्त्रको महत्वबारे ज्ञात हुँदै गएपछि उनले मुलुकमा प्रजातन्त्र ल्याउन साथ दिने सोच बनाइन् र नेपाली कांग्रेसको भ्रार्तृ संगठन नेविसंघमा जोडिइन्। 

२०४३ सालमा त्रिभुवन विश्वविद्यालयमा स्नातक अध्ययनरत रहँदा उनी त्रिवि नेविसंघको कोषाध्यक्ष भइन्। २०४६ मा उनी पूर्वाञ्चल महिला संघको संयोजक भइन्। २०४८ मा नेपाली कांग्रेसको संगठित सदस्यता लगेकी उनले २०५० सालमा महिला विभागको सदस्य हुँदै १४औं महाधिवेशनबाट मधेस प्रदेशबाट केन्द्रीय सदस्य बनिन्। 

चित्रलेखाले २०५१ देखि नै सिरहा २ बाट चुनाव लड्दै आएकी छन्। पहिलोपटक निर्वाचन लड्दा उनले पराजय भोग्नुपरेको थियो। २०५६ मा सिरहा २ बाट दोस्रोपटक उम्मेदवार बन्दा भने निर्वाचित भइन्। त्यतिबेला उनी उपसभामुखसमेत भएकी थिइन्। २०६४ को पहिलो संविधानसभामा पराजित उनी २०७० दोस्रो संविधानसभा र २०७४ को आम निर्वाचनमा समानुपातिकबाट संसद् भइन्। निवर्तमान संसद्मा उनी कांग्रेस संसदीय दलको प्रमुख सचेतक पनि भएकी थिइन्।

सडक संसद्को पहिलो बैठकमा अध्यक्षता 

सडक संसद्को पहिलाे बैठकमै अध्यक्षता गरेर चित्रलेखाले इतिहास रचेकी छन्। २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनमा जनसागर नै सडकमा उर्लिएको थियो। त्यतिबेलाका मुख्य सात दलले राजाद्वारा विघटित संसद्को पुनःस्थापना हुनुपर्ने माग गर्दै जनतालाई सडकमा उतारेको थियो।

त्यो आन्दोलन निरंकुश राजतन्त्रका विरुद्धमा थियो। २०६३ वैशाख ११ राजतन्त्रले घुँडा टेक्यो र प्रतिनिधिसभा पुनःस्थापना भया । आन्दोलनका बेला राजालाई साथ दिएका तत्कालीन सभामुख तारानाथ रानाभाटले वैशाख १३ मा राजीनामा दिए। त्यही दिन सुरु भएको संसद् बैठकको अध्यक्षता त्यतिबेला उपसभामुख रहेकी यादवले गरेकी थिइन्। पाटनको मंगलबजारमा भएको उक्त बैठकमा विघटित प्रतिनिधिसभाका सदस्यहरूसहित सात दलका शीर्ष नेताको उपस्थिति थियो । 

विश्वको संसदीय इतिहासमा पहिलो महिला सडक संसद् बैठकको अध्यक्षता गर्ने अवसर पाएकोमा उनी आफूलाई सौभाग्यशाली ठान्छिन्। ‘हरेक पाँच वर्षमा सभामुख फेरिन्छन्, तर २०६३ मा सडकमै संसद बैठक बस्नुपर्ने अवस्था आयो। त्याे सडक संसद् बैठककाे पहिलाे सभामुख बनेर जुन भूमिका मैले निर्वाह गरे, त्यो मेरा लागि गर्वको विषय हो, याे घटना विश्व संसदीय इतिहासमै याे उदाहरणीय छ,’ उनी भन्छिन्। ‘सडक संसद्को पहिलाे सभामुख बनेर मैले जुन भूमिका निर्वाह गरें, त्यो मेरा लागि गर्वको कुरा हो, त्याे घटना विश्व संसदीय इतिहासमै उदाहरणीय बनेकाे छ,’

‘५२ प्रतिशत मतदाता महिला भए पनि थाेरै उम्मेदवार हुनु विडम्बना’

चित्रलेखाका अनुसार महिलालाई राजनीतिमा आउन अझै पनि सहज अवस्था छैन। देशभरिमा कुल मतदाताकाे ५२ प्रतिशत महिला भए पनि उम्मेदवार बन्ने अवसर केही महिला मात्र पाउनु विडम्बना भएको तर्क उनी गर्छिन्। संविधानमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरे पनि व्यवहारमा लागु नभएको उनको बुझाइ छ। राजनीतिमा लागेका महिलामाथि नकारात्मक टीकाटिप्पणी हुने गरेको उनी सुनाउँछिन्।

‘तर कसले के भन्यो भनेर मैले फर्केर कहिल्यै हेरिनँ। सकारत्मक सोच राख्दै अगाडि बढीरहें। मेरो कामबाट प्रभावित हुँदै अहिले धेरै जनताले साथ दिदै पनि आएका छन्,’ उनले भनिन्। यो निर्वाचनमा थोरै महिलालले मात्रै उम्मेदवारी दिएका छन्। महिलाका मुद्दा उठाउन महिला नै नेतृत्वदायी तहमा पुग्नुपर्ने उनको भनाइ छ। सबै दलहरूले उक्त विषयमा ध्यान दिनुपर्नेमा उनी जो दिन्छिन्।  

संसदमा हुँदा आफूले महिलाको हकअधिकार, गुणस्तरीय शिक्षा तथा स्वास्थ्यका बारेमा चर्को आवाज उठाउँदै आएको उनले बताइन्। 

‘सिरहा २ का मुख्य समस्या समाधानमा लागिपर्छु’    

सिराह २ को मुख्य समस्या पूर्वाधार, गुणस्तरीय शिक्षा र स्वास्थ्य रहेको चित्रलेखा बताउँछिन्। ‘यहाँ धेरै सरकारी विद्यालय छन्, जसमा गुणस्तरिय शिक्षाको अभाव हुुनुका साथै नागरिकले गुणस्तरीय स्वास्थ्य पनि पाउन सकेका छैनन्। सिराह तराईमा पर्ने जिल्ला भए पनि दूरदरारका जनताले अझै खानेपानीको अभाव भोगिरहनुपरेको छ।’ 

यी समस्याहरुलाई मध्यनजर गर्दैै खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्य, महिलालाई उद्यमशीलतासँग जोड्ने, नदीमा पुलको व्यवस्था गर्नेलगायत विषय नै आफ्नो मुख्य चुनावी एजेन्डा रहेको उनले बताइन्। 

आफू चुनावमा उठेको क्षेत्रसँगै सिरहाका समग्र समस्या समाधान र विकासका लागि आफूले  उम्मेदवारी दिएको उनी बताउँछिन् । आफू विजयी भए एजेन्डामा उल्लेख भएका कुरासँगै महिलाका समस्या समाधान र गरिब निमुखा किसानहरूको स्तरोन्नतिका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।
 

प्रकाशित मिति: १६:०४ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्