शेयर बजार : अन्योलमा लगानीकर्ता, अब के होला?
काठमाडौं, पुस २ : शेयर बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेकाले बुधबार बजार बढ्ने या घट्ने निश्चित दिशा तय गर्न नसकेको देखिएको छ।
....
काठमाडौं, पुस २ : शेयर बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेकाले बुधबार बजार बढ्ने या घट्ने निश्चित दिशा तय गर्न नसकेको देखिएको छ।
साताको चौथो कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ३० अकंले घटेर ११५२ दशमलव ०७ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव २९ प्रतिशतले घटेको छ।
११५५ दशमलव ३३ को विन्दुमा खुलेको दोस्रो बजार ११५८ दशमलव १५ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु ११५० दशमलव १४ रहँदा २९ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। अघिल्लो दिनभन्दा आज कारोबार बढे पनि खासै ठूलो रकमको फरक छैन।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको ४ करोड ९० लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज विशाल बजार कम्पनीका शेयरधनीले सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले कमाए भने नेपाल सेवा लघुवित्तका शेयरधनीले सर्वाधिक ७ दशमलव ६९ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
गुडविल फाइनान्स लिमिटेडका सञ्चालक समितिले १० प्रतिशत करसहित नगद लाभांश प्रस्ताव गरेको छ।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन प्रतिरोध ११५८ र मुख्य टेवा ११४७ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार खुलेको ४५ मिनेट पछि यो प्रतिरोध क्षेत्रलाई सामना गरे पनि तोड्न असफल रह्यो र बजारमा पुनः ८ अंकको गिरावट देखिएको थियो।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार हाल बजार ११५० को मुख्य टेवा क्षेत्रमा रहेको देखिन्छ। प्राविधिक रुपमा यो क्षेत्रमा खरिदकर्ता पुनः सक्रिय हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न। आजको मैनबत्तीले पनि बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। अन्तिम दिनको परिमाण प्रभावकारी देखिँदैन।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन र आजको कारोबारलाई समग्र रुपमा हेर्ने हो भने बजार प्रवृत्तिहीन रहेको छ।
बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिने संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५२ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरको प्रवृत्तिले कारोबारको अन्तिम एक घण्टाको समय रहँदा क्रेताको चाप रहेको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकलाई समग्रमा हेर्दा यदि बजार ११५८ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालीन प्रतिरोध ११७० मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११४७ भन्दा तल स्थिर रहेमा बजार अझ केही नकारात्मक क्षेत्रमा हुन सक्ने देखिन्छ।