शेयर बजारमा आज थोरै अंकको वृद्धि
काठमाडौं, पुस १ : शेयर बजारमा मंगलबार केही वृद्धि भएको छ। १ दशमलव २६ को थोरै अंकले बजार वृद्धि भएपनि उतारचढाव कम र कारोबार रकम भने घटेको छ। यसले ....
काठमाडौं, पुस १ : शेयर बजारमा मंगलबार केही वृद्धि भएको छ। १ दशमलव २६ को थोरै अंकले बजार वृद्धि भएपनि उतारचढाव कम र कारोबार रकम भने घटेको छ। यसले बजारमा लगानीकर्ताहरुको सहभागिता कम भएको संकेत गरेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ११५५ दशमलव ३७ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव ११ प्रतिशतले बढेको छ। ११५४ दशमलव १८ को विन्दुमा खुलेको दोश्रो बजार ११५८ दशमलव ३६ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु ११५० दशमलव ६६ रहँदा २७ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको ३ करोड ४६ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज नेपाल फाइनान्स लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव ६८ प्रतिशतले कमाए भने दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ८९ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
सिन्धु विकास बैंकको सञ्चालक समितिले ११ दशमलव ५१३ प्रतिशत बोनस शेयर र ० दशमलव ५७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन प्रतिरोध ११७० र मुख्य टेवा ११४७ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार यही क्षेत्रभित्र सीमित रह्यो।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार हाल बजार ११५० को मुख्य टेवा क्षेत्रमा रहेको देखिन्छ। मंगलबारको मैनबत्तीले ‘डोजी’ आकृति बनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। अन्तिम दिनको मैनबत्ती प्रभावकारी देखिँदैन।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन घट्दो प्रवृत्तिमा रहेको बजार मंगलबार पनि त्यही प्रवृत्तिमा रहेको छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसमा नजिकिँदै गएकाले बजारमा विक्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५३ दशमलव ०१ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा विक्रेताको चाप रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा शेयर बढी विक्री भएको र केही घट्न सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुलाई समग्रमा हेर्दा यदि बजार ११५८ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालीन प्रतिरोध ११७० मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११४७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ।