शेयर बजारमा आज सबै उपसूचकमा गिरावट
काठमाडौं, मंसिर ३० : शेयर बजारमा आज सबै उपसूचकमा विक्रेता हाबी रहेकाले नेप्से परिसूचकमा पनि गिरावट आएको छ। सर्वाधिक गुमाउनेमा क्रमशः निर्जीव....
काठमाडौं, मंसिर ३० : शेयर बजारमा आज सबै उपसूचकमा विक्रेता हाबी रहेकाले नेप्से परिसूचकमा पनि गिरावट आएको छ। सर्वाधिक गुमाउनेमा क्रमशः निर्जीवन बीमा र जीवन बीमा उपसूचक रहेका छन्।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १३ दशमलव ७५ ले घटेर ११५४ दशमलव ११ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार १ दशमलव १८ प्रतिशतले घटेको छ । दोस्रो बजार ११६७ दशमलव ८२ को विन्दुमा खुलेको थियो भने ११७० दशमलव ५७ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु ११५३ दशमलव २४ थियो। आज ४० करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने घटेको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको ४ करोड ५६ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ५ दशमलव ४५ प्रतिशतले कमाए भने हिमालयन पावर पार्टनरका शेयरधनीले सर्वाधिक ९ दशमलव ४९ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले ८ दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिनको निष्कर्ष अनुसार यदि बजार ११५९ भन्दा तल स्थिर रहेका बजार अझ केही सच्चिन सक्ने संकेत गर्नुका साथै अर्को मुख्य टेवा ११५० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजारले ११५९ को टेवा क्षेत्रलाई तोडेवापत घट्दो प्रवृत्तिमा रहेको र नेप्से परिसूचक ११५४ दशमलव ११ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार र प्राविधिक भाषामा भन्ने हो भने बजारको मुख्य प्रतिरोध क्षेत्रदेखि लगानीकर्ताहरुले नाफा सुरक्षण गर्न र घाटा कम गर्नलाई शेयर विक्री गरेको देखिन्छ। आजको मैनबत्तीले ‘वियरिस मारुबोजु’ आकृति बनाएको छ। यसले अर्को कारोबार दिन पनि बजार केही सच्चिन सक्ने संकेत गर्दछ। अन्तिम दिनको मैनबत्तीलाई परिमाणले समर्थन गरेको देखिँदैन।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बजारले ‘डबल टप’ बनाएर घट्दो प्रवृत्तिमा रहेको बजार आज पनि त्यही निरन्तरता पाएको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले अघिल्लो दिन ‘डेड क्रस’ बनाए पछि बजारमा आज पनि विक्रेता हाबी रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) २६ दशमलव २२ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकले बजार घट्दो प्रवृत्तिमा रहेको र अर्को तत्कालीन मुख्य टेवा क्षेत्र ११४७ को क्षेत्रमा रहेको देखिन्छ। बजार घट्दो प्रवृत्तिमा रहे पनि यदि बजार ११७० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को प्रतिरोध ११८२ को क्षेत्रमा रहेको देखिन्छ।