Kathmandu Press

‘प्रतिबद्ध भएर काम गर्छु, जनगुनासो आउने ठाउँ राख्दिनँ’  

‘महिलाले राजनीति गर्नुहुन्न भन्ने दृष्टिकोण अझै कायम छ’
‘प्रतिबद्ध भएर काम गर्छु, जनगुनासो आउने ठाउँ राख्दिनँ’  

काठमाडौं, कात्तिक १७ : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका निर्वाचनका लागि विभिन्न पार्टी तथा स्वतन्त्रबाट उम्मेदवार भएकाहरू यतिखेर चुनावी प्रचारमा जुटेका छन्। नेपाली कांगे्रसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’पनि चुनावी दौडधुपमा व्यस्त छिन्। उनी सत्तारूढ गठबन्धनका तर्फबाट मकवानपुर–१ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छिन्। 

को हुन् महालक्ष्मी उपाध्याय ‘डिना’ ?

२०२१ सालमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ मा जन्मेकी महालक्ष्मी ईश्वरीदत्त अर्याल र पार्वती अर्यालकी तेस्रो सन्तान हुन् । हेटौंडामा जन्मे पनि उनी काठमाडौंमा हुर्केबढेकी हुन्। उनको शिक्षादीक्षा पनि काठमाडौंमा नै भएको हो। सानैदेखि शान्त स्वभावकी उनले काठमाडौंको लैनचौरस्थित कन्या स्कुलबाट शिक्षारम्भ गरेकी हुन् । पद्मकन्या क्याम्पसबाट उच्च शिक्षा हाँसिल गरेकी डिनाले ०५२ सालमा बेलायतबाट रुरल डेभलपमेन्टमा स्नातकोत्तर गरेकी थिइन्। 

Hardik ivf

राजनीतिक पृष्ठभूमि 

डिनाले राजनीतिक क्षेत्रमा लाग्ने प्रेरणा आफ्नो परिवारबाट पाएकी हुन्। राजनीतिमा उनको परिवारको लामो इतिहास छ। उनको मामाघरका हजुरबुवा नेपाली कांग्रेसमा आबद्ध थिए। 

उनका हजुरबाले राणाविरुद्धको आन्दोलनमा लमजुङ, चितवन गरी थुप्रै स्थानमा आन्दोलनको नेतृत्वसमेत गरेका थिए। राणाविरुद्ध आन्दोलनमा सक्रिय भएकै कारण हजुरबुवाले करिब १२ वर्ष जेलजीवन पनि बिताउनुपरेको डिना बताउँछिन् । जेलमुक्त भएपछि उनका हजरबुवाले लामो समय कांग्रेस जिल्ला सभापति भएर काम गरका थिए । 

हजुरबुबापछि बुबा आमा पनि राजनीतिमै जोडिए । राजनीति पृष्ठभूमि बोकेको परिवारमा हुर्केबढेकै कारण आफ्नो रुचि राजनीतितर्फ बढ्न थालेको उनी बताउँछिन्। उनी विद्यार्थी जीवनमै राजनीतिमा आबद्ध भएकी हुन् । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्यता लिएपछि उनको औपचारिक राजनीतिक यात्रा सुरु भएको हो। डिनाका दाजुदिदी पनि विद्यार्थी जीवनबाटै राजनीतिमा आबद्ध थिए।

०४२ सालमा नेपाली कांग्रेसले गरेको सत्याग्रहमा डिना पनि सक्रियतापूर्वक लागेकी थिइन् । त्यतिबेला गिरफ्तारीमा परेकी डिना ६ महिनासम्म जेल बसिन् । रिहा भएपछि अझै सक्रियताका साथ विद्यार्थी राजनीतिमा लागिन् । फलस्वरुप,  ०४३ सालको स्ववियु निर्वाचनमा डिना पद्मकन्या क्याम्पसको स्ववियु सभापति निर्वाचित भइन् । 

२०४५ सालमा डिनाको विवाह हेटौंडाकै दिनेश उपाध्यायसँग भयो। विवाहपछि हेटौंडालाई भूगोल बनाएर राजनीतिमा सक्रिय भइन् ।  बहुदल आएपछि उनी महिला संघकी सभापति भइन्। करिब १० वर्ष महिला संघको सभापति भएर नै काम गरिन्। पार्टीको जिल्ला सदस्य हुँदै उनी विभिन्न महाधिवेशन महासमिति सदस्य हुँदै तीनपटक कांग्रेसको केन्द्रीय सदस्य भइसकेकी छन्। १२औं महाधिवेशनमा उनी पहिलोपटक केन्द्रीय सदस्य भएकी हुन्। १४औं महाधिवेशनसम्म आइपुग्दा उनी सहमहामन्त्री निर्वाचित भइन् । 

महालक्ष्मीले राष्ट्रिय महिला आयोगको सदस्य भएर पनि काम गरेकी छन्। राष्ट्रिय महिला आयोगको सदस्य भइसकेपछि राजनीतिसँगै महिला हक र हितमा आधारित रहेर उनले थुप्रै काम पनि गरेकी छन्। 

२०४८ सालमा महालक्ष्मीले नेपाली कांग्रेसबाट संसदीय निर्वाचनमा मकवानपुर २ बाट पहिलोपटक निर्वाचन लड्ने अवसर पाइन्। तर उनले पराजय भोग्नुप¥यो। दोस्रोपटक २०५१ सालमा उनले मकवानपुरबाटै उम्मेदवारी दिइन्। त्यतिबेला पनि उनी पराजित भइन् । 

२०६२÷६३ सालको आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरिन्। २०६४ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारका पालामा उनी जलस्रोत राज्यमन्त्री बनेकी थिइन्। ०६४ कै पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिक सांसदको रुपमा संसद भवन छिरिन् । 

लामो समयदेखि राजनीतिमा सहभागी डिना महिलाहरूलाई राजनीतिक क्षेत्रमा थुप्रै चुनौती रहेको बताउँछिन्। ‘महिलाले राजनीति गर्नुहुँदैन, सक्दैनन्’ भन्ने सामाजिक दृष्टिकोणले गर्दा धेरै महिला राजनीतिक क्षेत्रमा खुलेर आउन नसकेको उनको अनुभव छ । 

महिलालाका लागि पुरुषसरह हकअधिकार सुुनिश्चित हुनुपर्छ भनेर नै आफूले लामो समयदेखि विभिन्न आन्दोलन तथा सम्बन्धित निकायमा आवाज उठाउँदै आएको डिनाको भनाइ छ। 

मकवानपुर १ का समस्या समाधान गर्ने प्रतिबद्धता 

मकवानपुरको मुख्य समस्या शिक्षा, स्वास्थ्य, बेरोजगारीसँग सम्बन्धित रहेको महालक्ष्मी बताउँछिन्। ‘यहाँका धेरै महिला अहिले पनि शिक्षाबाट वञ्चित हुनुपरेको छ,’ उनी भन्छिन्, ‘दूरदरारमा रहेका जनता तथा जेष्ठ नागरिको पहुँच स्वास्थ्य संस्थामा पुग्न सकेको छैन।’

त्यस्ता समस्या समाधानका लागि आफूले उम्मेदवारी दिएको र जितेपछि प्रतिबद्ध भएर जनसेवामा लागिपर्ने उनले बताइन् । ‘म निरन्तर यही रहेर राजनीति गर्दै आइरहेकी छु, हरेक क्षेत्रमा पुगेकी छु । आफ्नो क्षेत्रमा के–कस्ता समस्या छन् भन्ने विषयमा म अवगत नै छु,’ उनी भन्छिन्, ‘यिनै समस्याको समाधानका लागि यसपटक मैले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी हुँ।’ 

विगतमा निर्वाचित भएर गएका उम्मेदवारले विकासनिर्माणमा चासो नराखेको गुनासो जनमानसमा रहेको उनी बताउँछिन्। आउने दिनमा त्यस्ता गुनासो आउन नदिने विषयमा आफू सचेत भएर लाग्ने विश्वास उनले व्यक्त गर्छिन् ।

केके छन् मुख्य एजेन्डा ? 

हेटौंडा पहिले औद्योगिक क्षेत्रका नामले परिचित थियो । तर अहिले धेरै युवा बेरोजगार भएर बस्नुपरेको उनी बताउँछिन्। आफू निर्वाचित भएपछि युवाहरूलाई रोजगारी दिलाउने, विद्यालयलाई व्यवस्थित बनाउँदै शिक्षामा सबैको खासगरी हरेक महिलाको पहुँच पु¥याउने योजना आफ्नो रहेको डिना सुनाउँछिन्। 

स्वास्थ्यचौकी तथा अस्पताललाई स्तरोन्नति गरेर स्वास्थ्यलाई सबैको पहुँचमा ल्याउने संकल्प पनि उनले गरेकी छन्। अहिले हरेक महिला आफ्नो हकहितका लागि खुलेर बोल्न सक्ने भइसकेको डिनाले बताइन्। उनीहरूलाई सहकारीका माध्यमबाट घरमै स्वरोजगार बनाउने एजेन्डा पनि आफूले अगाडि सारेको उनी बताउँछिन्।

‘अहिले हेटौंडा उपमहानगरपालिका अव्यवस्थित रहेकाले भर्खरै निर्वाचित पालिका प्रतिनिधिमार्फत यसलाई व्यवस्थित बनाउने र यहाँका स्रोतसाधनलाई परिचालन गर्ने योजना बनाएकी छु,’ उनले भनिन्।
 

प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्