फूल खेतीमा कृषिका विद्यार्थी, सयपत्री बेचेर मनग्गे आम्दानी
स्वदेशमै धेरै फूल उत्पादन हुँदा विदेशबाट फुल निर्यातको अवस्था लगभग अन्त्य नै भइसकेको छ। कृत्रिम फूलको माला आयात विस्थापनलाई पनि यसले मद्दत गरेको छ।काठमाडौं, कात्तिक ७ : तिहार लागिसकेको छ। यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका अनि सयपत्री र मखमली फूलको माला लगाइदिने गर्छन्।
त्यसैले यतिबेला बजारमा मखमली र सयपत्री फूलको माग एकदमै बढ्ने गर्छ । तिहारलाई लक्षित गरी धेरै व्यवसायीले सयपत्री फूलको खेती गर्दै आएका छन्। स्वदेशमै धेरै फूल उत्पादन हुँदा विदेशबाट फुल निर्यातको अवस्था लगभग अन्त्य नै भइसकेको छ। कृत्रिम फूलको माला आयात विस्थापनलाई पनि यसले मद्दत गरेको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–३ की २१ वर्षीया सुमन चलाउने पनि व्यावसायिक रूपमै सयपत्री फूलको खेती गर्ने एक व्यवसायी हुन्। सुमन कृषिकी विद्यार्थी हुन्। अहिले उनी पृथु टेक्निकल कलेज लमही दाङमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्।
कृषि पढेकाहरूले तरकारी खेती गर्नु सुमनको मुख्य काम हो। तर आफ्नो रुचिका आधारमा अघि बढ्दा सफलता र सन्तुष्टि दुवै पाउन सकिने उनको ठम्याइ छ। त्यसकारण उनी फूल खेतीमा लागेकी हुन्।
कोरोना संक्रमणका कारण मुलुकले ‘लकडाउन’ झेलिरहेका बेला सुमनले दुई कट्ठा जमिनमा सयपत्री फूल रोपेकी थिइन्। त्यो समयमा उनले घरकै सयपत्रीको बिउ लगाएकी थिइन्। त्यतिबेला फूल उत्पादन राम्रो भएपछि करिब १० हजार रुपैयाँ आम्दानी भएको उनले सुनाइन्। सोही आम्दानीले आफूलाई फूल खेतीतिर आकर्षित गरेको उनले बताइन्।
उनले अहिले करिब १५ कट्ठा जमिनमा सयपत्री फूल रोपेकी छन्। जसमा सात कट्ठा जमिन आफ्नै र बाँकी आठ कट्ठा भाडामा लिएको उनले बताइन्। त्यसका लागि बिउ भने चितवन र बुटवलबाट ल्याएको उनले जानकारी दिइन्।
सुमनको सात कट्ठामा लगाएको फूल तिहार लाग्नुअघिदेखि नै बिक्री भइरहेको छ। बाँकी आठ कट्ठाको फूल उनले चुनावका बेला बेच्ने योजना बनाएकी छन्। अहिले बजारमा बिक्री गर्ने प्लास्टिकको मालालाई सरकारले निषेध गरेकाले आफूहरूले लगाएको फूलले बजार पाउन सकेको सुमनको बुझाइ छ ।
वरिपरि अरू कसैले ठुलो क्षेत्रमा सयपत्री नरोपेकाले ग्राहकहरू घरसम्मै आएर फूल लाने गरेको उनले बताइन्। उनले फूल बेच्दा होलसेल र खुद्राका लागि बेग्लाबेग्लै मूल्यमा निर्धारण गरेकी छन्। ‘खुद्रामा प्रतिकेजी ५ सय र होलसेलमा प्रतिकेजी ४ सय रुपैयाँमा बेच्छु,’ उनले भनिन्, ‘
माला भने १ सयदेखि १ सय २० रुपैयाँसम्ममा बिक्री हँुदै आएको छ।’ फूल बिक्रीबाट राम्रो आम्दानी भइरहेको उनले बताइन्।
यसरी फूल खेती गर्दा अहिलेसम्म ४० हजार लगानी भएको सुमन सुनाउँछिन्। करिब १५ कट्ठा जमिनमा रोपेको सयपत्री फूलबाट करिब १० लाखसम्म आम्दानी हुने अपेक्षा रहेको उनले बताइन्।
सुमन मात्रै नभएर दसैंतिहारलाई लक्षित गरेर अमरगढी नगरपालिका–२ डडेल्धुराका दीपक साउद, सुरुत ऐर र दीपक पन्तले साझेदारीमा व्यावसायिक सयपत्री फूल खेती गरेका छन्। उनीहरू पनि कृषि विषयका विद्यार्थी नै हुन्।
दसैंतिहारमा डडेल्धुरा जिल्लामा बाहिरी जिल्लाबाट फूल आयात गर्ने गरिन्छ। यसरी फूलकै लागि अन्य जिल्लाको मुख ताक्नुपर्दा तिहारसम्म फूल बिग्रने समस्या पनि हुन्छ। यही समस्यालाई मध्यनजर गर्दै आफूहरूले सयपत्री खेती गर्ने योजना बनाएको फूल व्यावसायी पन्तले बताए। फूलखेती गर्नकै लागि दुई रोपनी जमिन भाडामा लिएको उनको भनाइ छ।
यो उनीहरुको पहिलो प्रयास हो। यसरी सयपत्री फूल खेती गर्न फूलको बिउ कपिलवस्तुबाट ल्याएको व्यवसायी पन्तले जानकारी दिए। सयपत्री रोपेको साढे तीन महिना भएको उनीहरू बताउँछन्। अहिले उनीहरूको बारीमा ढकमक्क सयपत्री फूल फुलेका छन्। सयपत्रीको बिउ भने कपिलवस्तुबाट ल्याइएको उनीहरूले बताए। फूलखेतीका लागि सबै गरेर करिब २० हजार रुपैयाँ लगानी गरिएको उनले बताए।
उनीहरूले उत्पादन गरेको फूल दसैैंदेखि नै बिक्री हुँदै आएकोे छ। बाँकी फूल तिहारमा बेचिसक्ने योजना उनीहरूको छ। ‘दसैंमा प्रतिकेजी फूल ३५० देखि ४०० सम्म बिक्री गरेका थियौँ भने तिहारमा ४०० देखि ४५० रुपैयाँमा बिक्री गरिरहेका छौं,’ उनीहरूले भने।
यो वर्ष आफूले रोपेको फूल निकै राम्रो उत्पादन भए पनि असोजमा आएको लगातारको झरी र किराले गर्दा केही समस्या भएको उनले बताए।