वर्षाले धानबाली डुबानमा, पाकेको धान खेतमै कुहिने चिन्ता
असोज १९ देखि २६ गतेसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातार वर्षा भएको थियो। जसले गर्दा नदी तथा खोलामा आएको बाढीले थुप्रै गाउँबस्ती डुवानमा परेका थिए भने खेत कटान गरेको छ।धनगढी, असाेज ३० : असोज तेस्रो साता लगातार भएको वर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिमका विभिन्न स्थानमा धनजनको क्षती भएको छ।
असोज १९ देखि २६ गतेसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातार वर्षा भएको थियो। जसले गर्दा नदी तथा खोलामा आएको बाढीले थुप्रै गाउँबस्ती डुवानमा परेका थिए भने खेत कटान गरेको छ।
डुबानले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा निकै क्षति पुगेको छ। थुप्रै खेतीयोग्य जमिन कटान भएको छ भने पाक्दै गरेको धान डुबानमा परेको छ।
विगतमा यो समयसम्म धानबाली भित्र्याइ सक्ने कृष्णपुरका किसानलाई यो वर्ष भने वर्षाले समस्यामा पारेको छ। पाकेको धान भित्र्याउन नपाएकोमा कृष्णपुर नगरपालिका–४ की कृषक लक्ष्मी खत्रीलाई पिरोलिरहेको छ।
असोज दोस्रो साता नै काट्न तयार भइसकेको धान दशैंका कारण केही दिन ढिला हुँदा डुबानले सखाप पारेपछि समस्या भएको उनले बताइन्। ‘धानबाली पाकी सकेको थियो, वर्षाले खत्तम पार्यो। अब भित्र्याउन पाइने हो कि हैन?’ उनले भनिन्।
उनको करीब १० कट्ठा जमीनमा लगाएको धान डुवानमा परेको छ। मलिलो भएकाले निकै राम्रो उत्पादन हुन्थ्यो। ‘फोहोर साल पनि लगातार पानी परेको थियो। त्यतिबेला धान भित्र्याइ सकेका थियौं,’ उनले भनिन्, ‘तर, पानीले खेत डुवान भएपछि मंसिरमा लगाउनु पर्ने हिउँदे गहुबाली पुस अन्तिममा लगाउनु प¥यो। करीब २० क्विन्टल गहुँ उत्पादन हुने जमिनमा १० क्विन्टल मात्रै भयो।’
लक्ष्मीको जस्तै पिरलो कृष्णपुर–४ की कलशी पन्तको पनि छ। १५ कट्ठा जमिन अधिया गरेकी कलशीले करीब तीन कट्ठा जमिनको धानबाली भने वर्षा हुनुअघि भित्र्याइ सकेकी थिइन्। बाँकी जमिनमा रहेको धानबाली दशै सकिए लगतै काट्ने तयारी थियो।
तर, वर्षाले खेत डुवान हुँदा धानबाली भित्र्याउन सकेकी छैनन्। ‘धानबालीमा २० हजार खर्च भएको थियो। वर्षाले खेतै डुबानमा परेपछि धान भित्र्याउन नपाई खेतमै कुहिन्छ कि भन्ने पीर छ,’ उनले भनिन्।
गत वर्ष पनि यस्तै डुबान भएको थियो। धान भित्र्याउन सके पनि गहुँ लगाउन पाएकी थिइनन्। त्यसको क्षतिपूर्ति पनि पाउन सकिनन्। यस पटक त पाकेको धान नै डुबानमा परेपछि उनी तनावमा छिन्।
लगातारको वर्षाले निकै क्षति भएको कृष्णपुर नगरपालिका मेयर हेमराज ओझाले बताए। एक सातासम्म परेको वर्षाका कारण धेरै स्थानमा काटेको धान बाली कुहिएर नष्ट भएको उनले बताए। त्यस्तै, कतिपय ठाउँमा खेतै डुवान हुँदा काट्न बाँकी रहेको धान पनि बिगिदै्र गएको उनको भनाइ छ।
मेयर ओझाका अनुसार, वर्षाका कारण नगरपालिकाको वडा नं. २ मा सबैभन्दा बढी क्षति पुगाको छ। बन्ड नदीमा बाढी आउँदा त्यहि वडाको धेरै जमिन कटान भएको छ।
त्यसैगरी वडा नं. १ को झाडापानी र वडा नं. ८ मा रहेको मोहना नदीमा बाढी आउँदा जमिन कटान भएको छ। मोहना नदीको झोलुंगे पुल पनि जोखिममा परेको उनले बताए।
वर्षाले नगरपालिकामा भएको क्षतिको विवरण आउन बाँकी रहेको मेयर ओझाले बताए। ‘अहिले पालिकाद्वारा वर्षाले के कति किसान प्रभावित भए, क्षति संकलन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘पालिकाभरीको क्षति संकलन गर्ने काम भइसकेपछि भने विपद जोखिम व्यवस्थापनमा सिफारिश गरेर बैठक बस्ने छ र क्षतिपूर्ति वितरण गरिनेछ।’
गत वर्ष पनि असोज २८ देखि कात्तिक ३ गतेसम्म लगातार वर्षा हुँदा क्षति पुगेको थियो। त्यतिवेला क्षतिपूर्तिका लािग १० करोड माग भएको थियो। एक करोड ३६ लाख मात्रै आएपछि सबैलाई व्यवस्थित रुपमा विरतण गरिएको उनले बताए। यस पटक पनि सबैलाई सक्दो राहत प्रदान गरिने उनको भनाइ छ।