Kathmandu Press

कसरी मनाउँछन् डाक्टरले दसैं?

प्रायः डाक्टरले आम मानिसले जसरी दसैं मान्न पाउँदैनन्। कतिखेर अस्पतालमा बिरामी आउने भन्ने ठेगान नहुँदा विशेषज्ञ डाक्टरहरू रमेर दसैं मनाउन सक्दैनन्। त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा. निरज बम, मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी र सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाकोे अनुभव पनि यस्तै छ। 
कसरी मनाउँछन् डाक्टरले दसैं?

काठमाडौं, असोज १६ : विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट नेपाल पनि ग्रसित बन्यो। कोरोना अझै मत्थर भइसकेको छैन । त्यहीबेला देशभरि डेंगु फैलिएको छ। यसरी कोरोनासँगै डेंगुका बिरामी बढ्दै गर्दा देशका विभिन्न अस्पतालका डाक्टरहरूलाई भने भ्याइनभ्याइ छ।  

अन्य समयमा काम, जागिर, व्यवसाय भनेर व्यस्त रहनेहरू दसैंमा भने कार्यक्षेत्रबाट घर फर्केर परिवारसँग समय रमाउने र मिठोमसिनो खाने गर्छन् तर बिरामी जाँच्ने अभिभारा बोकेका डाक्टरहरूले दसैं मनाउने समयको व्यवस्थापन कसरी मिलाउँछन् भन्ने चासो आम मानिसमा हुनु अस्वाभाविक होइन।

आम मानिसले जस्तै डाक्टरले फुर्सदले दसैं मनाउन पाउँछन् कि पाउँदैनन् र अवसर पाएका बेला कसरी मनाउँछन् भन्ने विषयलाई केन्द्रमा राखेर केही डाक्टरसँग दसैँको अनुभवबारे कुराकानी गरिएको छ ।   

Hardik ivf

‘१५ वर्षको पेसागत जीवनमा मैले दसैंको बिदा बसेको थाहा छैन’

–डा. निरज बम, सहप्राध्यापक, त्रिवि शिक्षण अस्पताल

अन्य समयमा ड्युटीमा रहे पनि दसैंतिहारमा परिवारसँग समय बिताउन र मिठो खान मन लाग्छ। खासगरी दसैंको बिदा सप्तमीदेखि एकादशीसम्म हुने हो। तर १५ वर्षको पेसागत जीवनमा मैले दसैंको बिदा बसेको थाहा छैन।

कोरोनाले गर्दा लामो समय परिवारसँग रमाएर दसैं मनाउन पाइएन। यो वर्ष डेंगुको संक्रमण त्यस्तै छ। अस्पतालमा ज्वारोका बिरामी बढ्दै गएकाले डेंगु कम भएजस्तो पनि लाग्दैन। यो वर्ष परिवारसँग रमाएर दसैँ मनाउने सोच त छ तर थाहा छैन, परिस्थिति कस्तो हुन्छ।  

मेरो पुख्र्याैली घर सुदूरपश्चिमको बैतडीमा पर्छ। त्यहाँ मेरा आफन्त र साथीभाइ छन्। कोरोनाको समयमा परिवार र आफन्तभन्दा पनि बिरामीको उपचारलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने भएकाले काठमाडौंमै परिवारसँग दसैं मनाउँछु। परिवारमा छोरी, श्रीमती र आमाबुवा  हुनुहुन्छ। यो वर्ष उहाँहरुसँगै बसेर घरमै दसैँको टिका र जमरा थाप्ने योजना छ।

dr-niraj-bam-1-768x5121664700664.jpg

पुख्र्यौली घर नगएको चार वर्ष भयो। यो वर्ष पनि डेंगु संक्रमण बढ्दै गएकाले जान सक्ने कुनै सम्भावना छैन। दसैंमा विशेष खानपानमा ध्यान दिनुपर्ने हुन्छ। यो समयमा धेरै बलि दिने चलन छ। दसैंमा बलि दिएर मासुरक्सी खानुपर्छ भन्ने पक्षमा म छैन।

 

परार साल दसैंको दिन बिदामा बसेको थिएँ। दसैंंको टीकाजमरा थापेको केही छिनमै मलाई अस्पतालबाट फोन आयो। सुदूरपश्चिम प्रदेशबाट बिरामी गम्भीर भएर हेलिकोप्टरमार्फत अस्पताल ल्याइएको छ भन्ने फोन आएपछि दसैंको दिनमा बिदा नबसी अस्पतालमा आए।  

दसैंको दिन परिवारसँग समय बिताउन नपाएपछि नरमाइलो लाग्छ तर एउटा डाक्टर भएको नाताले कसैलाई अप्ठ्यारो परे टुलुटुलु हेरेर बस्न सकिन्न। बिरामीको ज्यान आफ्नो मद्दतले बच्न सफल हुन्छ भने हामीमा खुसीको सीमा रहँदैन। 

‘पेसाबाट अवकाश लिनुअघि को चापले दसैंतिहार आएजस्तो नै लागेन’

–डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ

अहिले मैले  डाक्टरी पेसाबाट अवकाश लिसकेको छु। पहिले डाक्टरी पेसा अपनाइराख्दा भने कामले गर्दा दसैंतिहार आएजस्तो नै लाग्दैनथ्यो।

मेरा घर काठमाडौं भएकाले दसैंको समयमा उपत्यकाबाहिर घर भएका डाक्टरहरुको ड्युटीसमेत गरिदिन्थें। कहिलेकाहीँ इमरजेन्सी केस आए अस्पलतालबाट फोन आउँथ्यो र टीकाजमरा थापेर अस्पताल जानुपथ्र्यो। 

जागिरबाट अवकाश लिइसकेपछि भने केही वर्षदेखि परिवारलाई समय दिएर निकै रमाइलोका साथ दसैं मनाउँदै आएको छु । घरमा ज्येष्ठ सदस्य आमा हुनुहुन्छ भने भाइहरूमध्ये म जेठो सन्तान हुँ। त्यसैले आफन्तहरू दसैंको दिन हाम्रौ घरमा नै टीका र जमरा थाप्न आउँछन् र निकै रमाइलो हुन्छ।

यो वर्ष पनि अन्य वर्षहरूमा जस्तै सबै आफन्त भेला भई घरमै दसैं मनाउने योजना छ। दसैंमा हाम्रो घरमा खसी भने काटिँदैन, तर बजारबाट किनेर खसीको मासु खाने गर्छौं। अरू समयमा भान्सामा जान समय नमिले पनि दसैंको समयमा म आफैं भान्सामा गएर खसी र हाँसको मासुको परिकार पकाउने गर्छु।

Prakash-Raj-Regmi1664700664.jpg

दसैंमा धेरै आफन्त आउने भएकाले घरमा अगाडिदेखि नै तयारी गर्नुपर्छ। त्यसैले घरको सरसफाइ, खानेकुराको तयारीमा यो वर्ष पनि अगाडिदेखि नै तयारीमा लागिरहेको छु। दसैंको समयमा कोकाकोला, फ्यान्टा, बियरजस्ता पेय पदार्थ हाम्रो परिवारमा कसैले पिउँदैनौं र कसैलाई पिलाउँदैनौं पनि।

मेरी श्रीमतीले एकदमै मिठो सेलरोटी पकाउँछिन्। त्यसकारण दसैंमा हाम्रो घरमा सेलरोटी, खिर, दहीका विभिन्न परिकार, खसी र हाँसको मासु बनाइन्छ। 

बाल्यकालका साथीहरूलाई काम विशेषले समय दिन सकिन्न तर केही वर्षयता साथीहरूसँग मिलेर दसैंको दिन चंगा उडाउने पनि गरेको छु। दसैंको दिन रमाइलोका लागि सबै परिवारका सदस्य सँगै बसेर तास पनि खेल्ने गर्छौं। 

यसका साथै नवमीको दिन नवदुर्गा भवानीको दर्शन गर्न सपरिवार शक्तिपीठ भद्रकाली, नक्साल भगवती, मैतीदेवीमा दर्शन गर्न जान्छौं। यो वर्ष पनि अन्य वर्षमा जस्तै, सबै आफन्तसँगै बसेर मिठामिठा परिकार खाँदै, टिका, जमरा लगाउने, तास खेल्ने, चंंगा उडाउने र शक्तिपीठहरूमा दर्शन गर्न जाने योजना छ। 

 

‘धेरै वर्षपछि यसपालि लामो समय दिएर परिवारसँग दसैं मनाउँदैछु’

–डा. अनुप बास्तोला, सरुवा रोग विशेषज्ञ

यो वर्ष डाक्टरभन्दा कार्यक्षेत्र फरक परेकाले धेरै वर्षपछि परिवारलाई समय दिएर दसैं मनाउने योजना छ। योभन्दा पहिले दसैंको दिनमा मात्र बिदामा बस्दा परिवारका सदस्यमा निराशा छाउँथ्यो।

 

त्यसैले यो वर्ष बुवाआमा, बालबच्चासँग बसेर रमाइलो गर्दै दसैं मनाउने सोच बनाएको छु। अघिल्लो वर्ष देशमा कोरोना महामारी थियो। त्यसैले अस्पतालमा बिरामीको चाप भएकाले दसैंमा बिदा पनि बस्न पाइएन। घर जान नपाउँदा अस्पतालका कर्मचारीसँगै बसेर दसैं मनाएको थिएँ।

मेरो पुख्र्यौली घर पोखरा हो। काठमाडौंमा बसाइ सरेको १४ वर्ष भयो।  बसाइ सरेर आइसकेपछि काम विशेषले गर्दा पुख्र्याैली घर गएर दसैं मनाउन पाइएको छैन। पोखरामा बाल्यकालका साथीभाइ र आाफन्त हुनुहुन्छ। उहाँहरूसँग कहिलेकाहीँ कामको सिलसिलामा भेटघाट भए पनि सँगै बसेर दसैं मनाउने अवसर जुरेको छैन।

anup bastola1664700664.jpg

यसरी साथीभाइ र आफन्तहरूसँग बसेर दसैं मनाउन नपाउँदा अलिकति खल्लो महसुुस हुन्छ। यो वर्ष भने लामो बिदा छ। धेरै वर्षपछि सबै परिवार दसैंमा पुख्र्याैली घर पोखरा जाने योजना छ। यसरी परिवारका सदस्यलाई समय दिन सकेकाले एकदमै खुसी लागेको छ।

यसपालि माछामासु, सेलरोटीजस्ता मिठामिठा परिकार परिवारसँगै रमाउँदै खान पाइने, टीका–जमरा पनि थाप्न पाइने कुराले निकै उत्साहित छु। समय मिलाएर कतै घुम्न पनि जाने योजना पनि छ।

प्रकाशित मिति: १४:२५ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्