सैनिकको दसैं अनुभूति- ‘घर जान नपाइए ब्यारेकमै टिका लगाएर दसैं मनाउँछौं’
सेनाले चाडपर्वको समयमा अरूबेलाको तुलनामा बढी सक्रिय हुनुपर्छ। दसैं मुख्य चाड भएकाले जनताको सुरक्षामा अहोरात्र जुट्नुपर्छ। कतिपय सैनिक कर्मचारीले दसैंमा बिदा पाउँछन् त कतिपयले पाउँदैनन्।काठमाडौं असोज १४ : यतिखेर देशैभरि दसैं चहलपहल छ। रोजगारी तथा अध्ययनका सिलसिलामा देशका विभिन्न भूभाग तथा विदेशमा पुगेकाहरू घर फर्किएका छन्, फर्किने क्रम जारी छ।
काठमाडौं उपत्यकाबाट दसैंका लागि बाहिरिनेहरूको भिडले सडकमा सवारीको चर्को चाप छ। उपत्यकाबाहिर जिल्लाका सडकमा अप्ठ्यारो परेकालाई मद्दत पु¥याउने, सडक अवरुद्ध भए त्यसलाई हटाउनेलगायत कार्यमा नेपाली सेना खटिएका छन्।
चाडपर्वमा हुने विभिन्न दुर्घटना, चोरी, डकैतीलगायतबाट जनताको सुरक्षाका लागि सेना खटिन्छन्। जनताको सेवामा जुटिरहने सैनिकको दसैं कस्तो हुन्छ भन्ने जिज्ञासा स्वाभाविक हो। यसै सन्दर्भमा काठमाडौं प्रेसले नेपाली सेनामा आबद्ध केही व्यक्तिसँग चाडपर्वमा घर जान नपाउँदाको अवस्थाबारे कुराकानी गरेको छ।
यसक्रममा दसैंमा घर जान नपाए पनि ब्यारेकभित्रै टीकाजमरा लगाएर विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुँदा पीडा सबै हटेर जाने उनीहरू बताउँछन्। एकदुई साल बिराएर घरपरिवारसँग दसैं मनाउने अवसर पाइने भएकाले धेरै दुःखी हुन नपर्ने उनीहरूको भनाइ छ।
'सबैले परिवारसँग दसैं मनाउन पाउँदैनन्'
सेनाले चाडपर्वको समयमा अरूबेलाको तुलनामा बढी सक्रिय हुनुपर्छ। दसैं मुख्य चाड भएकाले जनताको सुरक्षामा अहोरात्र जुट्नुपर्छ। कतिपय सैनिक कर्मचारीले दसैंमा बिदा पाउँछन् त कतिपयले पाउँदैनन्। बिदा पाउनेहरू परिवारसँग रमाइलो गरेर चाडपर्व मनाउँछन् तर बाँकीले कार्यालयमै विभिन्न कार्यक्रम गरेर दसैं मनाउँछन्।
चाडपर्वमा परिवारको अभाव र जिम्मेवारी पूरा गर्न दसैंतिहारमा ब्यारेकमै विभिन्न कार्यक्रम गरिन्छ। चाडपर्वमा घर जान नपाउनेहरूमा पीडा नहोस् भनेर मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरिएको हो।
मानिसले कर्मथलोमा रमाउन सिक्नुपर्छ। हरेक चाडपर्वमा सबैलाई बिदा मिल्दैन। सुरुवाती दिनमा दसैंतिहारमा छुट्टी नपाउँदा नरमाइलो लाग्थ्यो तर पछि काममै रमाउन थालिँदो रहेछ। अर्थात् अहिले ब्यारेकमै बसेर दसैं मनाउने बानी परिसकेको छ। दसैंमा सैनिकहरूले ठुलाबडाबाट ब्यारेकमै टीकाजमरा लगाउने गरिन्छ।
घरपरिवारसँग सञ्चारमाध्यमबाट दैनिक फोन कल, सामाजिक सञ्जालमार्फत कुराकानी हुने भएकाले घर जान नपाए पनि त्यति नरमाइलो लाग्दैन। आफ्नो काम र कर्तव्यप्रति जिम्मेवार बन्दै गएपछि परिवारसँग घुलमिल हुन नपाएको भनेर पीडा हुँदैन। बेलामौका मिलाएर परिवारसँग भेटघाट पनि भइरहेकै हुन्छ।
'बानी नपरुन्जेल पर्वमा घर फर्किन नपाउँदा नरमाइलो लाग्छ'
२०६४ सालमा नेपाली सेनामा आबद्ध भएको हुँ। सेनासँग आबद्ध हुँदाको सुरुवातीतिर चाडपर्वलाई संस्थाले त्यति महत्व दिन्न होला भन्ने लाग्थ्यो। तर ब्यारेकमा त चाडपर्वलाई विशेष महत्व दिइने रहेछ। सार्वजनिक बिदा नदिइने सामान्य पर्वमा समेत के गर्न हुने के गर्न नहुने भनेर सिकाइँदो रहेछ। त्यस्तो थाहा पाएपछि नेपाली सेनाले संस्कृति संरक्षणमा विशेष भूमिका निभाइरहेको महसुस भयो र सँगसँगै गर्वको पनि महसुस भयो।
मेरो जन्मथलो ओखलढुंगा भए पनि कर्मथलो काठमाडौं हो। भर्खरै सेनासँग जोडिँदाको ताका चाडपर्वमा घर फर्किन नपाउँदा निकै नरमाइलो लाग्थ्यो। बानी नपरुन्जेल मात्र त्यस्तो लाग्ने रहेछ तर बिस्तारै सैनिक प्रणालीसँग घुलमिल हुन थालेपछि यहीँ रमाइलो हुन थालेको छ।
सेनामा आबद्ध भएपछि हामीले पनि धेरै कुरा सिक्ने अवसर पाउँछौं। घरपरिवारलाई भन्दा राज्यलाई हाम्रो आवश्यकता बढी छ भनेर स्वयं बुझ्न थाल्छौं। त्यसैले चाडपर्वमा घर जान नपाएकै कारण दुःख लाग्दैन। दसैंको बेलामा हामीले आम नागरिकलाई सुरक्षा दिन पाएका छौं, वास्तवमा त्यो नै सबैभन्दा खुसीको कुरा हो।
घर जान नपाएकाहरू ब्यारेकभित्रै तोकिएको समयावधिमा आफ्नो जिम्मेवारी निभाउँछन्। काम सकिएपछि अन्य फुर्सदको समयमा रमाइलो पनि गर्न पाइन्छ। कर्मथलो भनेर चाडपर्वका बेलामा खालि ड्युटी मात्रै हुँदैन। साथीभाइसँग मिलेर रमाइलो पनि गरिन्छ। काममा रमाउन सकियो भने जहाँ पनि रमाइलो हुन्छ। त्यसैले दसैंलगायत चाडपर्वहरूमा परिवारजनका साथमा हुन पाइएन भनेर दुःख मान्नुहुँदैन।
बिदा पाइन्छ तर सवारीको अभाव : शंकर बस्नेत, सैनिक जवान
लामो समयदेखि नेपाली सेनामा आबद्ध छु। जन्मघर लमजुङ भए पनि कर्मथलो डोटी हो। चाडपर्व आउँदा परिवारसँग भेटघाट गर्न, आपसमा खुसी साट्न मन त सबैलाई लाग्छ, कर्तव्य पालना गर्नुपर्ने जिम्मेवारी बोकेका त्यस्ता कुरामा दुःख मान्नुहुन्न। फेरि चाडपर्वमा हुने भिडभाड, सवारी टिकट अभावले लामो दुरीको यात्रा झन्झटिलो हुन्छ। घर टाढा भएकाले घर जाने कि नजाने अन्योलमा छु।
धेरैजसो दसैंमा बर्खा गइसकेको हुन्न। मनसुनका कारण बाढीपहिरोले गर्दा सडक अवरुद्ध हुन्छ। दसैंमा यात्रुको चाप बढी हुने भएकाले टिकट पाउन मुस्किल पर्छ। सडककै कारण धेरै दुर्घटना भएका छन्, धेरैले ज्यान गुमाएका छन्। यो वर्ष पनि मनसुनले सडक अवरुद्ध भएको देखिएको छन्। त्यसैले लामो यात्रा गरेर जान जोखिमपूर्ण छ।
नेपाली सेनामा आबद्ध भए पनि घर जान नपाइने नै भन्ने होइन। बिदाको तालिका मिलाएर आलोपालो गरेर जान पाइन्छ। तर टाढा घर हुने सिपाहीलाई भने आउन जान कठिनाइ हुन्छ। त्यसकारण म पनि जाने कि नजाने भनेर अन्योलमा परेको हुँ।
देशको रक्षा गर्छु भनेर नेपाली सेनामा आबद्ध भइएको छ। त्यसैले चाडपर्वमा घर जान नपाएकै कारण त्यति धेरै दुःख भने लाग्दैन। पहिला प्राथमिकता जनता र देशको सुरक्षा हो। हाम्रा लागि परिवार, आफन्त र साथीभाइसँगको रमाइलो दोस्रो स्थानमा पर्छ।
त्यसैले हामी जहाँ काम प¥यो, त्यहाँ पुग्छौं। कामप्रतिको लगाव र देशप्रतिको मायाले घर जान नपाउँदा पनि काम गरिरहेकै ठाउँमा रमाइलो गर्छाैं। बिदा पाए पनि नपाए पनि खुसी नै हुन्छु।
बिदा नपाए पनि देशको सेवा गर्न पाएकोमा गर्व लाग्छ। सेनामा आबद्ध भएपछि परिवार, चाडपर्वभन्दा बढी देशको चिन्ता लाग्नु स्वाभाविक हुने रहेछ।