Kathmandu Press

पासपाेर्ट फाराममा कमाउ धन्दा, एकजनाबाटै १२ हजारसम्म असुली

केही व्यक्तिकाे कमाउ धन्दाका कारण साेझासाझा मानिसहरू कुनै शुल्क नलाग्ने अनलाइन  फाराम  भराउने बेलामा नराम्ररी ठगिने गरेका छन्। यी सबै कुरा बुझेकाे विभाग भने माैनता साँधेर बसिरहेकाे छ। उजुरी परे कारबाही गर्ने भनेर विभाग जिम्मेवारीबाट पन्छिने गरेकाे छ।
पासपाेर्ट फाराममा कमाउ धन्दा, एकजनाबाटै १२ हजारसम्म असुली

काठमाडौं, भदौ ३० : भदाै तेस्राे साता रसुवाका विजय महतरा (नाम परिवर्तन) त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपाेर्ट बनाउन आए। उनलाई पासपाेर्टका लागि अनलाइन फाराम भर्नुपर्छ भन्नेसमेत थाहा थिएन। चाँडै विदेश उड्नुपर्ने भएकाले उनलाई तुरून्त पासपाेर्ट चाहिएकाे थियाे।

त्यसक्रममा उनी विभागवरिपरि अनलाइन फाराम भरेर कमाइ गर्नेहरूकाे चंगुलमा फसे। १२ हजार रूपैयाँ तिरे तुरून्त पालाे आउने नत्र चारपाँच साता कुर्नुपर्ने कुरा सुनेर आत्तिएका उनी भनेजति रकम तिर्न तयार भए। 'मलाई फाराम भर्न आउँदैन, पासपाेर्ट छिटाे पाइएन भने विदेश जान पाइन्न, त्यसकारण १२ हजार नै तिरिदिएँ,' उनले भने, 'चारपाँच हप्ता कुरेर के गर्नु भन्ने लाग्याे।' 

Hardik ivf

कैलालीको धनगढी उपमहानगरपालिकाका स्थानीय ३१ वर्षीय विनोद धामीले पनि ४ हजार रुपैयाँ तिरेर भदौ १९ गते नै अनलाइन फाराम भरे। उनकाे पासपोर्ट चाँडै बन्यो। एकदुई सातामै  विदेश जाने कामकुरा बन्ने उनले सुनाए।

‘पालो अगाडि पार्न पैसा बढी तिरेको छु,’ उनले भने, ‘अनलाइन फारामका व्यवसायीले धेरै पैसा दिँदा छिटो बुकिङ हुने भन्दै लोभ देखाए, मैले पनि त्यसै गरेंं,’ उनले भने, ‘अबको चारपाँच दिनमा फोटो खिच्न र फाराम बुझाउन बोलाउने भनेका छन्।’ 

६/७ हजार रुपैयाँ तिरे एकदुई दिनमै पालो आउने भनेर व्यवसायीले बताए पनि दुई सातामा काम बन्ने भएकाले ४ हजार रुपैयाँ मात्र तिरेको उनले बताए। ‘मान्छेहरूले धेरैधेरै पैसा तिरिरहेको पनि देखें। हतार हुने व्यक्तिले व्यवसायीले जति भन्यो त्यति दिँदा रहेछन्,’ उनले भने। 

नुवाकोटका ३३ वर्षीय नारायण श्रेष्ठ पासपोर्टका लागि फाेटो खिच्न र फाराम रुजु गर्न भदौ १९ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग आए। त्यसको एक साताअघि  उनले विभागनजिकै अनलाइन फाराम भराएका थिए। उनलाई पनि त्यसबापत धेरै रकम मागिएको थियो। उनले घटाउन प्रयास गरिरहे तर १२ सय नितरी धरै पाएनन्।  

अनलाइन फाराम भर्ने तरिका नजानेकाले काठमाडौं आउनुपरेको उनले बताए। ‘अनलाइन फाराम भर्न आएन, त्यसैले काठमाडौं आउनुपर्‍यो,’ उनले भने, ‘सबै काम सकियो, अब तीन दिनमा पासपोर्ट आउँछ।’ बिहानै आएकाले उनले दिउँसो ३ बजे नै फोटो खिच्ने र फाराम रुजुको काम सकिएको उनले बताए। ‘अनलाइनबाट फाराम भरेर समय लिन गाह्रो रहेछ,’ उनले भने, ‘अनलाइन फाराम स्वीकार भएपछि फोटो खिच्ने र रुजु गर्ने काम सकिएकै तीन दिनमा पासपोर्ट आउने रहेछ।’

तत्काल पासपोर्ट चाहिएकाले सिन्धुलीका २६ वर्षीय नवराज कार्की पनि भदौ १९ गते नै विभाग आइपुगेका रहेछन्। आफन्तले भिसा पठाउने भएपछि तत्काल पासपोर्ट बनाउन विभाग आएको तर तत्काल पालो पाउन मुस्किल परेको उनले बताए।

अनलाइन फाराम भरेको चार सातापछि मात्र पालो आउने भनेपछि एकछिन त रन्थनिएको उनले सुनाए। ‘आनलाइन फाराम भर्ने व्यवसायीले अलि बढी रकम तिरे पालो छिटो आउने कुरा गरेपछि बाध्य भएर त्यतैतिर लागें।’ उनले राम्रै रकम तिरेकाे बताए पनि यति नै  भनेर खुलाउन भने चाहेनन्। आफैंले अनलाइन फाराम भर्न कोसिस गरेको तर केही सीप नलागेको पनि उनले सुनाए।

तुरुन्त पासपोर्ट बनाउन चाँडो पालोका लागि फाराम भर्न बढी रकम तिर्ने विजय, नारायण, नवराज र विनोद प्रतिनिधि पात्र मात्र हुन्। विभागमा आउने प्रायः सबै सेवाग्राहीलाई अनलाइन फाराम भर्ने नाममा व्यवसायीले मनलाग्दी शुल्क लिने गरेका छन्। राहदानी विभागवरिपरि बुझ्ने क्रममा अनलाइन फाराम भर्न १ हजारदेखि १२ हजारसम्म तिरेका सेवाग्राही भेटिए। 

केही व्यक्तिकाे कमाउ धन्दाका कारण साेझासाझा मानिसहरू कुनै शुल्क नलाग्ने अनलाइन  फाराम  भराउने बेलामा नराम्ररी ठगिने गरेका छन्। यी सबै कुरा बुझेकाे विभाग भने माैनता साँधेर बसिरहेकाे छ। उजुरी परे कारबाही गर्ने भनेर विभाग जिम्मेवारीबाट पन्छिने गरेकाे छ। विभागवरिपरि अनलाइन फाराम भर्ने व्यवसायीहरू भने यस विषयमा केही बोल्न चाहन्नन्।

विभागले अनलाइन फाराम निःशुल्क भर्न दिने व्यवस्था गरेको छ। अनलाइन फाराम भरिदिनेहरूले चर्को शुल्क लिएको पाइए विभागले कारबाही गर्ने बताउँदै आए पनि कारबाही भने गरेको देखिँदैन।

विभागका प्रवक्ता डा. डमरुबल्लभ पौडेलले स्वेच्छाले तिर्नेलाई केही गर्न नसकिने तर उजुरी आए कारबाही प्रक्रिया अघि बढाउने बताए। ‘स्वेच्छाले तिर्नेलाई केही गर्न सक्दैनौँ। व्यवसायीले बढी रकम लिएर फाराम भरेको भए खबर गर्नुहोस्, हामी कारबाही गर्छौं,’ उनले भने।

फाराम भर्न समस्या पर्नेलाई थोरै शुल्क लिनु सामान्य भए पनि चर्को शुल्क असुल्नु भने गलत रहेको उनी ठान्छन्। ‘सेवाग्राही पनि सचेत हुनुपर्छ। व्यवसायीले माग्यो भन्दैमा महँगो शुल्क तिर्नुहुँदैन। धेरै पैसा लिन खोज्यो भने तुरुन्त प्रहरीलाई खबर गर्नुपर्छ,’ उनले भने। 

उनका अनुसार दैनिक १५ सयदेखि २ हजारको हाराहारीमा आवेदन लिने गरिएको छ। प्रत्येक दिन ११ बजे अनलाइन फाराम खुलाउने गरिएको छ। ‘एक सेकेन्डमा १८ सय आवेदन लिन सक्ने सिस्टम छ, १५ मिनेटमा माग गरेअनुसारको कोटा सकिन्छ,’ उनले भने, ‘कोटा पूरा भए आवेदन दिने व्यक्तिको फाराम स्वीकार गरिँदैन, अर्काे दिन कुर्नैपर्छ।’

दैनिक न्यूनतम १५ सयदेखि २५ सयसम्म फाराम खोलिएको रेकर्ड छ। विभागमा पर्याप्त कर्मचारी नभएकाले धेरैको आवेदन लिन नसकिएको प्रवक्ता पौडेल बताउँछन्।

‘पासपोर्टको धेरै माग छ, जिल्ला तथा विभागको क्षमता कम भएकाले मेनपावरको थप गर्नुपर्ने माग गरिरहेका छौं,’ उनले भने, ‘प्रत्येक दिन देशभरिबाट ६ हजारको आवेदन स्वीकार गर्छौं।’ 

पासपोर्ट बनाउन विभागबाट १२ हजार रुपैयाँ, जिल्लाबाट ५ हजार रुपैयाँ, हराएको पुनः बनाउन र बिग्रिएको सच्याउन १७ हजार रुपैयाँ तिर्नुपर्ने उनी बताउँछन्। ‘जुनसुकै जिल्लाबाट पासपोर्ट बनाए पनि प्रिन्टका लागि भने विभागमै आउँछ,’ उनले भने, ‘पासपोर्ट बनिसकेपछि विभागले नै जिल्लाजिल्लामा पठाउने हो।’ 

कसरी भर्न सकिन्छ अनलाइन फाराम? 

अनलाइन फाराम भर्न  राहदानीको विभागको बेवसाइटमा गएर मिति र समय बुकिङ गर्नुपर्छ। जसले छिटो फाराम भरेर बुकिङ गर्न सक्यो, उसको पालो पहिला आउने प्रवक्ता पौडेलले बताए्। 

‘बेवसाइटमा क्लिक गरेपछि प्रिइनरोलमेन्ट पोर्टलमार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नुपर्छ,’ उनले भने, ‘फोटो, शैक्षिक प्रमाणपत्रअनुसार उमेर फरक परेको भए सक्कल शैक्षिक प्रमाणपत्र स्क्यान गरेर तयारी अवस्थामा राख्नुपर्छ।’

सेवाग्राहीले समय बुकिङ गरेपछि उनीहरूले दिएको समयमा कार्यालयमा बोलाइन्छ। सोही दिन अनलाइनमा भरेको फाराम रुजु गर्ने, भरेका राजस्व तिरेर सम्पूर्ण काम सम्पन्न गर्ने गरेको उनले बताए। ‘सम्पूर्ण काम सकिएको तीन दिनमा पासपोर्ट तयार हुन्छ,’ उनले भने। 

फाराम खुलेको समयमा जसले जहाँबाट पनि निःशुल्क रूपमा भर्न पाउँछन् तर त्यसका लागि सेवाग्राही तयारी अवस्थामा हुनुपर्ने उनको भनाइ छ। 

अहिले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर ७७ जिल्ला र १७ वटा इलाका प्रशासन कार्यालयबाट फाराम भर्न पाउने व्यवस्था गरिएको छ। विभागबाट फाराम भरे तीन दिनमा पासपोर्ट पाइन्छ भने जिल्लाबाट पासपोर्ट लिन एक महिना लाग्छ। त्यसका लागि शुल्क पनि फरकफरक रहेको उनले जानकारी दिए।

पछिल्ला आठ महिनामा बने सात लाख पासपोर्ट 

मंसिरमा पासपोर्ट बनाउन थालिएयता भदौ दोस्रो सातासम्म ७ लाख पासपोर्ट बनिसकेका छन्। लगभग ५ लाख नयाँ पासपोर्ट बनाउन बाँकी रहेको प्रवक्ता पौंडेल बताउँछन्।

‘डेढ लाखभन्दा बढीको नवीकरण गर्न बाँकी छ, १ लाखको हारहारीमा हराएका र बिग्रिएका पासपोर्ट बनाउन बाँकी छ,’ उनले भने, ‘यी फाराम विभागमा मात्र भरिएका नभएर देशभरका हुन्।’ 

उनले विभाग तथा जिल्लामा कर्मचारी अभाव भएका कारण पासपोर्ट बनाउन ढिलाइ भएको बताए। 
 

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्