Kathmandu Press

एक सातामै थपिए दोब्बर संक्रमित, टेकु अस्पतालमा बेड अभाव

डेंगु देशभर तीव्ररुपमा फैलिरहेको छ भने अधिकांश जिल्लामा संक्रमण बढ्दो क्रममा छ।
एक सातामै थपिए दोब्बर संक्रमित, टेकु अस्पतालमा बेड अभाव

काठमाडौं, भदौ २९ : डेंगुको संक्रमण देशभर तीव्ररुपमा फैलिरहेको छ भने अधिकांश जिल्लामा संक्रमण बढ्दो क्रममा छ।

पछिल्लो एक सातामा झण्डै पाँच हजार डेंगुका संक्रमित थपिएका छन्। अघिल्लो साता पाँच हजार संक्रमित रहेकोमा अहिले झण्डै १० हजार पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले नेपालमा नौ हजार आठ सय ३५ जनामा डेंगु संक्रमण पुष्टी भएको छ। महाशाखाको तथ्यांकअनुसार, भदौ १९ गते नेपालमा डेंगुका कुल संक्रमित पाँच हजार २९ थिए। त्यसयता चार हजार आठ सय ६ जनामा संक्रमण पुष्टी भएको छ।

Hardik ivf

बागमतीका सातसहित १० जिल्लामा उच्च संक्रमण

डेंगुबाट सबैभन्दा बढी प्रभावित प्रदेश बागमती हो। उपत्यकाका तीन जिल्लासहित बागमतीका सात जिल्लामा डेंगुको संक्रमण उच्च छ। कुल संक्रमतिको ७५ प्रतिशतभन्दा बढी संक्रमित बागमतीमा छन्।

बागमतीमा सात हजार चार सय ४० जनामा डेंगु संक्रमण पुष्टी भएको छ। ललितपुरमा सबैभन्दा बढी तीन हजार ६ सय २२ जनामा संक्रमण देखिँदा काठमाडौंमा दुई हजार चार सय १४ जनामा संक्रमण पुष्टी भएको छ।

यस्तै, मकवानपुरमा ६ सय ६३, भक्तपुरमा एक सय ७६, धादिङमा एक सय ३७, काभ्रेप्लाञ्चोकमा एक सय पाँच र चितवनमा ९० जना डेंगुका संक्रमित भेटिएका छन्।

यसैगरी लुम्बिनी प्रदेशमा डेंगु संक्रमति एक हजार तीन सय ५६ जना छन्। त्यसमध्ये रुपन्देही र दाङमा सर्वाधिक धेरै संक्रमित छन्। रुपन्देहीमा पाँच सय ७० र दाङमा तीन सय ५८ जना डेंगुका संक्रमित छन्।

यसैगरी, प्रदेश १ का तीन सय २० जना डेंगुका संक्रमित हुँदा तेह्रथुममा मात्रै एक सय १० जना संक्रमित छन्। सुदूरपश्चिममा दुई सय ७१, गण्डकीमा दुई सय दुई, मधेशमा एक सय ८० र सबैभन्दा कम कर्णालीमा ६६ जनामा डेंगु सक्रमण पुष्टी भएको छ।

संक्रमण बढेपछि टेकुमा बेड अभाव

काठमाडौं उपत्यकामा डेंगु संक्रमण बढेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बेडको अभाव हुन थालेको छ। अहिले दैनिक एक सय २० भन्दा बढी डेंगुका विरामी आउने गरेको अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

उपत्यकामा डेंगुको अवस्था भयावह भएको बताउँदै उनले टेकु अस्पतालमा डेंगुका गम्भीर लक्षण देखिएका विरामीको संख्या पनि क्रमिक रुपमा बढ्दै गएको बताए। ‘उपत्यकामा संक्रमण बढेसँगै यहाँको इमर्जेन्सी वार्डमा बेडको अभाव हुन थालेको छ,’ डा.पुनले भने। डेंगुका प्रायः विरामी टेकु अस्ताल नै आउने भएकाले बेडको समस्या देखिएको उनको भनाइ छ।

डा.पुनका अनुसार अहिले बागमती र लुम्बिनी प्रदेशमा डेंगु तीव्र रुपमा फैलिरहेको छ। उच्च जनघनत्व, शहरीकरण, जथाभावी फोहोर, पानी जम्ने खाल्डाखुल्डी धेरै भएको र निरन्तर पानी परिरहेकाले पनि यी क्षेत्रमा डेंगुको संक्रमण तीव्र भएको डा. पुनको भनाइ छ।

‘नेपालमा सन् २०१९ मा पहिलो पटक डेंगु देखिएको थियो, त्यो समयमा पनि हजारौं मानिस संक्रमित भएका थिए,’ उनले भने, ‘अहिले लामखुट्टेको लागि सहज वातावरण सिर्जना भइरहेकाले यसको संख्या बढेसँगै डेंगुको जोखिम पनि बढ्दै गएको हो।’
 
गम्भीर लक्षण देखिएका बिरामीलाई अवस्था हेरेर ८-१० दिनसम्म भर्ना गरेर उपचार गरिँदै आइएको उनले बताए।

प्रकाशित मिति: ०७:०७ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्