Kathmandu Press

दार्चुलामा बाढीको वितण्डा : विस्थापितको व्यवस्थापनमा तदारुकता

अविरल वर्षाका कारण लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। त्यसैगरी नौगाड खोलामा आएको बाढीले नौगाड गाउँपालिकामा पनि धनजनमा क्षति पुर्‍याएको उनले जानकारी दिए।
दार्चुलामा बाढीको वितण्डा : विस्थापितको व्यवस्थापनमा तदारुकता

काठमाडौं, भदौ २३ : शुक्रबार रातिदेखिको भीषण वर्षाका कारण दार्चुलामा ठुलो धनजनको क्षति भएको छ।

अविरल वर्षाका कारण लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। त्यसैगरी नौगाड खोलामा आएको बाढीले नौगाड गाउँपालिकामा पनि धनजनमा क्षति पुर्‍याएको उनले जानकारी दिए।

उनका अनुसार बाढीका कारण महाकाली नगरपालिकामा दुई र नौगाड गाउँपालिकामा तीनजनाको मृत्यु भएको छ। महाकालीमा सातजना र नौगाडमा पाँचजना घाइते भएकाे तथा १० जना बेपत्ता भएको उनले जानकारी दिए।

Hardik ivf

वर्षापछिको बाढीपहिरोका कारण दुवै पालिकामा गरी सयभन्दा बढी घर जोखिममा परेको उनले बताए। लास्कु बाढीले जमिन कटान गर्नुका साथै घर, स्कुललगायतमा क्षति पुर्‍याएको उनको भनाइ छ। नौगाडको सल्लाबस्तीमा गएको पहिरोका कारण आसपास क्षेत्रका बासिन्दा त्रासदीमा परेका छन्। 

बाढीमा परी घर बगेर विस्थापित भएका र जमिन कटानका कारण घर उच्च जोखिममा परेहरूको शनिबार नै उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको उनले बताए। ‘उद्धार गरिएका परिवारलाई तत्काल समस्या छैन तर भत्किएका बाटो, घर, पुलजस्ता भौतिक संरचनाको पुनर्निर्माणका लागि भने समय लाग्नेछ, त्यसका लागि दीर्घकालीन योजना बनाउनुपर्ने हुन्छ,’ प्रजिअ दीर्घराज उपाध्यायले बताए।

बाढीमा परी बेपत्ता भएका १० जनाको खोजीकार्य जारी रहेको महाकाली नगरपालिकाका मेयर नरसिंह चैंसिरले जानकारी दिए। ‘बेपत्ता १० जना अझै फेला परेका छैनन्,’ उनले भने, ‘उनीहरूको खोजीमा महाकाली नदीको छेउछेउमा सेना, प्रहरी र विपद् व्यवस्थापनका कर्मचारीहरूको परिचालन गरिएको छ।’   

मेयर चैंसिरका अनुसार लास्कु बाढीले महाकाली नगरपालिकामा मात्र ६० वटा घर खोलाले बगाइसकेको छ भने ३०-३५ घर बस्न लायक छैनन्। ‘आज मौसम सफा भए पनि जमिन कटान रोकिएको छैन,’ उनले भने, ‘ठुलो क्षति भएको छ तर यति नै भनेर यकिन तथ्यांक आउन बाँकी छ।’  

बाढीले घरविहीन भएका र जोखिममा परेकालाई अहिले सामुदायिक भवन तथा पुरानो जिविस भवनमा राखिएको र एक साताका लागि पुग्ने गरी रासन, खानेपानी र लत्ताकपडाको व्यवस्था गरिएको उनी बताए। घाइते सात जनाको जिल्ला अस्पताल दार्चुला उपचार भइरहेको छ।

आइतबार बिहानैदेखि बिहानैदेखि कटान रोक्न नदीछेउमा जाली लाउने प्रयास भइरहेको उनले बताए।  ‘आज बाढी केही शान्त भए पनि कतिबेला पानी पर्ने भन्ने ठेगान छैन, पानी परे नदीको सतह बढेर  अझ जोखिम निम्तिन सक्ने सम्भावना उच्च छ,’ उनले भने।

अब यथार्थ विवरण आएपछि तिनै तहको सरकारको समन्वयमा विस्थापितको पुनःस्थापनासँगै राहत, क्षतिपूर्ति व्यवस्थापनमा लाग्ने उनले बताए। 

त्यस्तै दार्चुलाकै नौगाड गाउँपालिकामा शुक्रबार रातिको वर्षका कारण वडा १ को सल्लाबस्तीमा पहिरो जाँदा १० वटा घर भत्किनुका साथै तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

अध्यक्ष दलजित सिंह धामीका अनुसार पहिरोमा परी मृत्यु हुने तीनजनामध्ये एकको शव जिल्ला प्रहरी कार्यलयले जिल्ला अस्पताल दार्चुला र दुईको शव गोकुलेश्वर अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। घाइते पाँच जनालाई भने उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला अस्पताल पुर्‍याइएको उनले बताए। 

पहिरो गएको ठाउँ र आसपासका बस्ती उच्च जोखिममा रहेको अध्यक्ष धामीले बताए। थप पानी परे नौगाड खोलाछेउछाउका विद्यालय, घर जोखिममा पर्ने उच्च सम्भावना रहेको उनले बताए। ‘पहिरोसँगै नौगाड खोलाले गोकुलेश्वर–धुलीगडा सडक भत्काएकाले आवागमन रोकनुका साथै जनजीवन प्रभावित बनाएको छ। 

पहिरो खस्न अहिले बन्द भए नौगाड खोलाको कटान नरोकिएको उनले बताए। भिरालो जमिन भएकाले गाउँपमलिकामा ठाउँठाउँमा पहिरो जाने गरे पनि वडा नम्बर १ को सल्लाबस्तीमा भने पहिलोपटक पहिरो गएको उनको भनाइ छ।

‘अहिले जोखिममा रहेका हरेक परिवारलाई पालिकाबाट टेन्टको व्यवस्थाका साथै तत्कालका लागि राहतस्वरूप प्रतिपरिवार एक क्विन्टल चामल, पाँच किलो दाल, दुई किलो नुन, दुई लिटर तेल र साबुनको व्यवस्था गरिएको छ,’ उनले भने।  

के–कति धनजनको क्षति भएको छ भनेर पुरै विवरण आइनसकेको अध्यक्ष धामीको भनाइ छ। ‘घर भत्किएर विस्थापनमा परेका १० परिवारसँग त लत्ताकपडा र खाद्यान्न मात्र नभएर भाँडाकँुडासमेत केही नभएकाले विपद् व्यवस्थापन समितिको बैठक बसेर तुरुन्त सबैथोकको उचित व्यवस्थापन गर्ने भन्ने योजना अघि सारिसकेका छौं,’ उनले भने।
 

प्रकाशित मिति: १९:०६ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्