Kathmandu Press

बहिरा विद्यार्थीको सारथि बन्दै धनगढीको दक्षिणकाली आधारभूत विद्यालय

प्रभावकारी शिक्षण विधि अपनाएर, बहिरामैत्री शैक्षिक वातावरण निर्माण गरेर, विविध अतिरिक्त क्रियाकलापका माध्यमले विद्यार्थीको सामाजिकीकरणका विद्यालयले निर्वाह भूमिका निश्चय नै सराहनीय छ।
बहिरा विद्यार्थीको सारथि बन्दै धनगढीको दक्षिणकाली आधारभूत विद्यालय

काठमाडौं, भदौ २५ : सात वर्षअघिसम्म सुदूरपश्चिम प्रदेशमा बहिरा बालबालिकालाई पढाउने कुनै विद्यालय थिएन। २०७४ सालमा सुदूरपश्चिम प्रदेशमै पहिलाेपटक कैलालीको धनगढी उपमहानगरपालिका–११ बेलामा खुलेकाे दक्षिणकाली बहिरा आवासीय आधारभूत विद्यालय  बहिरा बालबालिकाकाे भरपर्दाे सारथि बन्न पुगेको छ।

सो विद्यालय खुलेकै कारण शिक्षा प्राप्तिबाट वञ्चित हुने अवस्थामा रहेका धेरै बालबालिकालाई सहज तरिकाले औपचारिक शिक्षा प्राप्त गर्ने अवसर मिलेको छ।  फरक क्षमताका अर्थात् बहिरा तथा सुस्त श्रवण भएका विद्यार्थीको शारीरिक, सामाजिक, शैक्षिक, बौद्धिक विकासका लागि उक्त विद्यालयले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको जानकारहरू बताउँछन्।

प्रभावकारी शिक्षण विधि अपनाएर, बहिरामैत्री शैक्षिक वातावरण निर्माण गरेर, विविध अतिरिक्त क्रियाकलापका माध्यमले विद्यार्थीको सामाजिकीकरणका विद्यालयले निर्वाह भूमिका निश्चय नै सराहनीय छ। अहिले सो विद्यालयमा १०५ जना विद्यार्थी अध्ययनरत छन्। १० जना घरबाट आउँछन् भने ९५ जनाले आवासीय सुविधा लिँदै आएका छन्।          

Hardik ivf

कसरी खुल्यो विद्यालय?

आफ्नो गाउँठाउँमा विद्यालयको आवश्यकता महसुस गरेर स्थानीय सबैको पहलबाट धनगढी–११ मा २०६७ सालमा दक्षिणकाली प्राथमिक विद्यालय खोलिएको थियो। अर्थात् उक्त विद्यालय कुनै पनि हिसाबले बहिरा बालबालिकाका लागि लक्षित गरेर खोलिएको भने थिएन। तर प्रधानाध्यापक तथा शिक्षक, व्यवस्थापन समिति, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमीलगायतको विशेष पहलमा सोही विद्यालयलाई नै बहिरा विद्यालयमा रूपान्तरण गरिएको प्रधानाध्यापक सीताराम चौधरीले बताए।

सुरुमा विद्यालय राम्ररी नै सञ्चालन हुँदै आएको थियो। बिस्तारै विद्यार्थीको आकर्षण निजी बोर्डिङ स्कुलतर्फ बढ्न थालेपछि भर्ना हुनेको संख्या कम हुँदै गयो। एवंरितले सबलांग विद्यार्थी घट्दै जाँदा विद्यालय बन्द हुने सम्भावना देखियो। जसरी भए पनि विद्यालय बचाउनुपर्छ भन्ने हेतुले फरक सोचका साथ अघि बढ्दा बहिरा स्कुल जन्मन पुगेकाे प्रधानाध्यापक चौधरीकाे भनाइ छ।

उनका अनुसार बहिराका लागि आवासीय विद्यालय खोल्ने प्रस्ताव २०७२ सालमा बहिरा संघ कैलालीमा पेस गरिएको थियो। अनुमति भने २०७३ सालमा प्राप्त भयाे। साेही साल स्रोत कक्षा सुरु गरियो। २०७४ सालयता भने बहिरा विद्यार्थीका लागि नियमित रूपमा पढाइ हुँदै आएको प्रधानाध्यापक चौधरीले जानकारी दिए।

‘२०७३ सालमा स्रोत कक्षा सञ्चालन गरियो। २०७४ सालबाट नियमित रूपमा पढाइ सञ्चालन हुन थाल्यो,’ उनले भने, ‘बहिरा विद्यालय सञ्चालनको अनुमति पाइएपछि भने त्यहाँ पढ्दै आएका अन्य विद्यार्थीलाई अरू नै विद्यालयमा पठाइएको थियो।’

२०७४ सालमा बहिरा विद्यालय थाल्दा जम्मा १७ जना मात्र विद्यार्थी रहेको उनले बताए। अहिले कक्षा ६ सम्म ५६ छात्रा र ४९ छात्र गरी १०५ जना अध्ययनरत छन्। तीमध्ये कक्षा १ मा ६ जना, २ मा १३ जना, ३ मा १४ जना, ४ मा १३ जना, ५ मा १४ जना, ६ मा १८ जना पढ्छन्।

सो विद्यालयमा सुरुमा तीन जनाले अध्यापनको जिम्मेवारी समाले पनि हाल दुई महिला र ६ पुरुष गरी आठ शिक्षक कार्यरत छन्। विद्यार्थी संख्या बढ्दै र पहिलाका विद्यार्थी कक्षा चढ्दै जाँदा हाल शिक्षक पनि थप्दै लगिएको चौधरीले जानकारी दिए। 

विद्यालयको लक्ष्य के छ?

बहिरा विद्यार्थीको शारीरिक तथा बौद्धिक क्षमताअनुसार गुणस्तरीय शिक्षा दिई उनीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने र राष्ट्रको शैक्षिक उन्नयनमा समेत योगदान दिने उद्देश्यले सो विद्यालय स्थापना गरिएको प्रधानाध्यापक चौधरीले बताए। 

प्रदेशभरि अन्य विद्यालय पनि सञ्चालनमा ल्याएर बहिरा तथा सुस्तश्रवण कक्षालाई एकीकृत गरी नेपाली सांकेतिक भाषाको माध्यमबाट निःशुल्क तथा आवासीय अध्यापनका लागि नेतृत्वदायी शैक्षिक संस्थाका रूपमा दक्षिणकाली बहिरा आवासीय आधारभूत विद्यालयको पहिचान बनाउने हिसाबले आफूहरू लागिपरेको उनले बताए।

‘बहिरामैत्री शिक्षण विधिको प्रभावकारी ढंगले प्रयोग गरी शिक्षण सिकाइलाई थप परिणाममुखी बनाउनु यस विद्यालयको अर्को लक्ष्य हो,’ उनले भने। सुदूपश्चिमको एक मात्र र हालसम्म एक मात्र बहिरा विद्यालयलाई नेपाली भाषाको माध्यमबाट प्राविधिक तथा व्यावसायिक शिक्षा निशुल्क उपलब्ध गराउने शिक्षालयका रूपमा विस्तार गर्ने योजनासमेत रहेको उनले सुनाए।

निःशुल्क शिक्षा कसरी सम्भव भयो?

बहिरा आवासीय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले कुनै पनि शीर्षकमा शुल्क तिर्नुपर्दैन। ‘यो विद्यालय सरकारी स्तरबाट सञ्चालन छ,’ प्रधानाध्यापक चौधरीले भने, ‘त्यसैले यहाँ पढ्दै आएका विद्यार्थीबाट कुनै पनि किसिमको शुल्क लिने गरिएको छैन।’

सरकारले त्यहाँ अध्ययनरत एक विद्यार्थीबराबर मासिक रूपमा ४ हजार रुपैयाँ दिँदै आएको छ। त्यसैबाट विद्यार्थीहरूलाई पठनपाठन गरिँदै आएको उनले जानकारी दिए। उनका अनुसार शिक्षकका लागि पारिश्रमिकको व्यवस्था पनि सरकारले नै जुटाउने गरेको छ।

टाढाटाढाबाट आएका विद्यार्थीहरूलाई राख्न सरकारकै पहलमा आवास भवन बनाइएको छ। ९५ विद्यार्थीले आवासीय सुविधा लिँदै आएका छन्। त्यसबापत पनि उनीहरूले कुनै शुल्क तिर्नुपर्दैन। निःशुल्क भोजनको व्यवस्थासमेत गरिएको छ। सरकारबाट विद्यार्थीका नाममा प्राप्त हुनेबाहेक अन्य स्रोतबाट रकम जुटाएर खर्चको व्यवस्थापन गर्दै आएको विद्यालयको भनाइ छ।    

आवास भवन अभावले समस्या

विद्यार्थी थपिँदै जाँदा आवासको समस्या भइरहेको प्रधानाध्यापक चौधरी बताउँछन्। ‘छात्रा र छात्रका लागि छुट्टाछुट्टै दुई भवन भए पनि विद्यार्थी बढ्दै जाँदा भने समस्या भइरहेको छ,’ उनी भन्छन्, ‘अहिले एउटा बेडमा दुई विद्यार्थी व्यवस्थापन गर्नुपर्ने अवस्था छ।’

विद्यालयको आन्तरिक स्रोत न्यून भएकाले बालबालिकाको आवासको स्थायी व्यवस्थाका लागि भवन बनाउन नसकिएको उनको भनाइ छ। रकम अभावले अन्य भौतिक संरचना निर्माण, बहिरामैत्री सामग्री खरिद तथा आवश्यक शिक्षक तालिम उपलब्ध गराउन नसकिएको उनी सुनाउँछन्।

पठनपाठनका लागि एउटा छुट्टै भवन छ। विद्यालयमा कक्षा ६ सम्म पढाइ हुन्छ। कक्षाकोठा पाँचवटा मात्र छन्। अहिले नै कक्षाकोठा अभाव छ। कक्षा ८ सम्मको पढाइ यसै विद्यालयबाट गराउने योजना विद्यालयको छ। ‘आवासका साथै कक्षाकोठा अभाव टार्न विद्यालयको स्रोतबाट सम्भव छैन,’ प्रधानाध्यापक चौधरी बताउँछन्, ‘सहयोगका लागि सरकारसँग पहल गरेका छौं।’

कक्षा ८ सम्म बढाउन सकिएन यहाँबाट पढाइ सकिएका विद्यार्थीले थप पढाइका लागि विद्यार्थीहरूले बाहिर जानुपरे अभिभावकलाई समस्या हुने उनको भनाइ छ। ‘यहाँबाट निस्किएपछि पढाइलाई निरन्तरता दिन बाग्लुङ, पोखरा, काठमाडौंलगायत स्थानमा जानुपर्ने हुन्छ,’ उनले भने, ‘सानै उमेरमा टाढा गएर पढ्नुपर्दा विद्यार्थीलाई गाह्रो हुन्छ भन्ने हामीले ठानेका छौं।’

यस्तो अवस्थामा अभिभावकलाई गाह्रो पर्ने, खर्च पनि बढ्ने उनले बताए। ‘केही सिप लागेन भने विद्यार्थीहरूको लागि विद्यार्थीहरूलाई भर्नासम्मको पहल गर्न सम्भव छ तर अन्य खर्च भने अभिभावक स्वयंले जोहो गर्नुपर्ने हुन्छ।’

प्रकाशित मिति: १७:०७ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्