जटिल कुपोषणसँग जुध्दै बाजुरा मुक्तिकोटका बालबालिका
कुपोषित बालबालिका लागि ‘उपाध्यक्ष भत्ता’ वितरण गर्ने योजना अगाडि बढाइएको उपाध्यक्ष मैना जोशीले बताइन्।काठमाडौं, भदौ २४ : ग्रामीण भेगका बालबालिकामा देखिने अनेकन् समस्यामध्ये कुपोषण पनि एक हो। कुनै परिवारमा पोसिलो खानाको अभाव र कुनै परिवारमा खाने तरिकाको अज्ञानताका कारण कैयौं बालबालिकाले कुपोषणकाे सिकार हुनुपरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटका बालबालिकामा कुपोषणको भयावह स्थिति देखिएको छ। स्वास्थ्य कार्यालय बाजुराले २०७८ सालमा त्यहाँका पाँच वर्षमुनिका २७५ बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १९२ जनामा कुपोषण देखियो। परीक्षणयता एक वर्ष बित्दानबित्दै आठजनाको मृत्युसमेत भएको गाउँपालिकाका प्रवक्ता सिंह धामीले बताए।
यसै वर्ष गत साउनमा पनि सोही ठाउँमा स्वास्थ्य परीक्षण गर्दा फेरि ६१ जना कुपोषित बालबालिका भेटिए। बालबालिकालाई लिटो बनाउने खाद्यान्न उपलब्ध गराउने कार्यक्रममा उक्त स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये ४५ जनामा न्यून कुपोषण (पहेंलो चिह्न प्राप्त) र १६ जनामा अति कुपोषण (रातो चिह्न प्राप्त) को समस्या देखियो। कुपोषण पुष्टि भएको डेढ महिना पनि नबित्दै दुईजनाले भने ज्यान गुमाइसकेको प्रवक्ता धामीको भनाइ छ। रातो चिन्ह भएका बालबालिकाको मृत्युको मुखमा पर्न सक्ने सम्भावना उच्च हुने उनले बताए।
बालबालिकालाई कुपोषणमुक्त बनाउने प्रयासस्वरूप स्वामी कात्तिक खापरमा वर्ल्ड गुप्र प्रोगाम नामक कार्यक्रमको साझेदारीमा कुपोषित बालबालिका र सुत्केरी आमालाई हरेक महिना तीनतीन केजीका दरले लिटो बनाउने खाद्यान्न वितरण गर्न थालिएको धामीले जानकारी दिए। ‘गत मंसिरबाट पालिकाले गर्भवती महिला र कुपोषित बालबालिकालाई महिनामा तीन केजी लिटो र दिनमा सय ग्राम पौष्टिक आहार वितरण गर्दै आएको छ,’ उनले भने।
यकिन तथ्यांक नआए पनि स्वामी कार्तिक खापरका अन्य वडाका तुलनामा मुक्तिकोटका बालबालिकामा कुपोषणको समस्या बढी देखिएको उपाध्यक्ष मैना जोशीले बताइन्। उनका अनुसार स्वामी कार्तिक खापर बाजुराकै सबैभन्दा विकट गाउँपालिका हो। वडा १ मुक्तिकोट झनै विकट छ। त्यहाँ दलित समुदायको बाक्लो बस्ती छ। उनीहरूसँग पर्याप्त जग्गाजमिन छैन। अशिक्षाले पनि त्यसैगरी गाँजेको छ।
‘गरिबीका कारण त्यहाँका प्रायः पुरुषहरू कमाइका लागि भारत जान्छन्। थोरै कमाइले परिवारको गुजारा चलाउनुपर्ने बाध्यता उनीहरूलाई हुन्छ,’ उनले भनिन्, ‘अशिक्षा पनि उत्तिकै छ। जसले गर्दा एउटै महिलाबाट धेरै बच्चा जन्मिने र खाने तौरतरिका नजान्ने अवस्था छ। पोसिलो खाना अभाव र अशिक्षाका कारण सम्भवतः जिल्लाभरिमा यहीकै बालबालिकामा कुपोषणको मात्रा उच्च छ।’
‘गाउँपालिकाको अन्य वडामा पनि कुपोषित बालकालिका हुन सक्छन् तर त्यसको तथ्यांक पालिकाभित्र उपलब्ध छैन,’ उनले भनिन्, ‘गाउँगाउँ पुगेर चाँडै अनुगमन कार्यक्रम सञ्चालन गर्दैछौं। त्यतिबेला सही तथ्यांक आउने अपेक्षा छ।’
गर्भवती महिला र स्तनपान गराइरहेका आमाहरूमा पनि सन्तुलित भोजन अभाव हुँदा बच्चामा कुपोषणको समस्या जटिल बनेको पाइएकाले ‘आमा पहिलो कार्यक्रम’ ल्याइएको उनले बताइन्। ‘यहाँ बालबालिका मात्र नभई गर्भवती आमाहरू पनि कुपोषित हुने गरेका छन्,’ उनले भनिन्, ‘महिला स्वयं कुपोषित छ भने कसरी स्वस्थ बच्चा जन्मन्छ?’
महिलाहरूको व्यस्तताले पनि कुपोषणको समस्या निम्तिएको उनले बताइन्। ‘यहाँका महिलाको दिनचर्या अत्यन्त व्यस्त छ। कामको चपेटाले सन्तानको स्याहारसुसार गर्न नपाउने हुँदा धेरै बालबालिकाले कुपोषणको सिकार हुनुपर्छ।’
महिलाहरू बालबालिकालाई घरमै छाडेर टाढाटाढा काममा जाने चलन रहेको र समयमै खानेकुरा नपाउँदा बालबालिका कुपोषित भएको पाइएको उनले बताइन्। कुपोषित बालबालिका लागि अब ‘उपाध्यक्ष भत्ता’ वितरण गर्ने योजना अगाडि बढाइएको उनले बताइन्।