स्थानीयको दैनिकी सहज बनाउन फुलखर्क–पैयुँखर्क पदमार्ग
सदरमुकाम धादिङबेसीबाट करिब ५३ किलोमिटर टाढा पैयुँखर्कका बालबालिका अध्ययनका लागि फुलखर्क झर्छन्। पैयूँखर्कबाट मण्डली मावी पुग्न दैनिक ३–४ किलोमिर गोरेटो बाटो ओरालो झर्नुपर्ने बाध्यता थियो। बर्खामा बाटो झारले छोप्ने र चिप्लो हुँदा जोखिम अझ बढी हुन्थ्यो।काठमाडाैं, भदाै २२ : गंगा जमुना–५ पैयुँखर्क धादिङका उत्तम गुरुङ कक्षा ७ मा पढ्छन्। एक वर्षअघि विद्यालय जानेक्रममा उनी बाटोमा चिप्लिएर लडे, हात भाँचियो। पैयुँखर्ककै १८ वर्षीया सुमित्रा गुरूङले दुईवर्ष अघि उत्तमकै जस्तो नियति भोगिन्। विद्यालयबाट फर्कंदा उनी चिम्लिएर लड्न पुगिन्, उनको पनि हात भाँचियो।
उत्तम र सुमित्रा त उदाहरण मात्र हुन्। विद्यालय जाँदा–आउँदा शरीरमा चोटपटक लागेका उत्तम–सुमित्रा जस्तै थुप्रै पात्र छन्, पैयुँखर्कमा ।
सदरमुकाम धादिङबेसीबाट करिब ५३ किलोमिटर टाढा पैयुँखर्कका बालबालिका अध्ययनका लागि फुलखर्क झर्छन्। पैयूँखर्कबाट मण्डली मावी पुग्न दैनिक ३–४ किलोमिर गोरेटो बाटो ओरालो झर्नुपर्ने बाध्यता थियो। बर्खामा बाटो झारले छोप्ने र चिप्लो हुँदा जोखिम अझ बढी हुन्थ्यो।
अध्ययनका लागि फुलखर्क झर्ने पैयुँखर्कका विद्यार्थीको त्यो जोखिम अहिले हटेको छ। विभिन्न संघसस्थाको सहयोगमा गत मंसिरमा पदमार्ग निर्माण भएपछि विद्यार्थीले राहत महसुस गरेका छन्। फुलखर्क–पैयुँखर्क पदमार्गको २ किलाेमिटर खण्डमा नेपाल पर्यटन बार्डले निर्माण गरेको छ। बोर्डले युएनडिपीको ‘जिविकोपार्जन, पुनरुत्थानका लागि दिगो परियोजना’को सहकार्यामा सो पदमार्ग निर्माण गरेको हो।
रोजगारी दिने उद्देश्य, विद्यार्थीलाई सहज
पर्यटन बोर्डले कोराना प्रभावित पर्यटन मजदुरलाई रोजगार दिन पदमार्ग निर्माण गरेको निर्देशक मणिराज लामिछानेले बताए । पदमार्ग निमार्णमा पनि कोरोना प्रभावित पर्यटन क्षेत्रका स्थानीय मजदुरलाई लगाएको निर्देशक लामिछाने बताउँछन्।
बोर्डले जे उद्देश्यले पदमार्ग निर्माण गरेपनि त्यसबाट फुलखर्क अध्ययनका लागि झर्ने पैयुँखर्कका विद्यार्थी लाभाविन्त भएका छन्। पदमार्ग निर्माणपछि उनीहरुले सहज रुपमा विद्यालय जान र घर फर्कन पाएका छन्।
उत्तम र सुमित्रासँगै अध्ययनका लागि पैयुँखर्कबाट ५०–५५ जना विद्यार्थी मण्डली मावि आउँछन्। एक वर्षअघिसम्म बाटोले कठिनाइ खेपेका उत्तम र सुमित्रा पदमार्ग निर्माणपछि निर्धक्क विद्यालय जान–आउन पाएको बताउँछन्।
पदमार्ग बनेपछि लेक (पैयुँखर्क)का विद्यार्थीलाई सहज भएको मण्डलीमाथिका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर कार्की बताउँछन्। उनी भन्छन्– ‘पैयुँखर्कबाट डेढ घण्टाभन्दा बढी हिँडेर पढ्न आउनुपर्ने बाध्यता छ, जोखिम कम भएको छ, विद्यार्थीको यात्रा सहज भएको छ।’
पैयुँखर्कमा कक्षा पाँचसम्मको मात्र विद्यालय भएकाले अध्ययनका लागि फुलखर्क झर्नुको विकल्प नभएको स्थानीय अमर गुरूङ बताउँछन् । ‘पहिला यहाँका बालबालिका जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य थियो, कि पढ्न छोड्नु पर्याे कि बेंसी झर्नुपर्याे,’ अमर भन्छन्, ‘पढ्नुपर्छ भन्ने सोचले एक घण्टा जोखिमपूर्ण यात्रा गरेर विद्यार्थी पढ्न जान्थे । पदमार्ग निर्माणपछि जोखिम हटेको छ। विद्यार्थी–अभिभावक दुवैलाई राहत भएको छ।’
पदमार्ग निमार्णले विद्यार्थीलाई मात्र होइन पैयुँखर्कका ५०–६० घरधुरीका हरेकलाई सहज भएको उनले बताए । ‘जंगलको सानो, चिप्लो बाटो बर्खामा बढी जोखिम थियो, त्यो जोखिम हटेको छ,’ अमर भन्छन्।
पदमार्गले पैयुँखर्कबासीको दैनिक सहज
फुलखर्क–पैयुँखर्क पदमार्ग गुरुङबस्तीलाई बेसीसँग जोड्न एकमात्र बाटो हो । पैयुँखर्कबासीको दैनिकी यही बाटोसँग जोडिएको छ। पदमार्ग बनेपछि स्थानीयलाई घाँस दाउराका लागि त सहज भएको छ नै दैनिक उपभोग्य वस्तु ल्याउन पनि निकै सहज भएको स्थानीय अमर बताउँछन्।
‘गोरेटो बाटो घाँस पन्छायर हिड्न निक्कै गाह्रो थियो, बर्खामा त जोखिम पनि थियो । पदमार्ग बनेपछि हिउँद– बर्खा जहिले हिड्न सक्छौँ । बिरामी उपचारका लागि लैजान पनि सहज भएको छ,’ अमर भन्छन्। पदमार्गले स्थानीयको दैनिकी सहज बनाउँदै गुरुङबस्ती (पैयुँखर्क)मा खुसी ल्याएको अमरले अनुभव गरेका छन्।
पर्दामार्गले दैनिक जीवन सहज बनाएका खुसी छन्, गुरुङ बस्तीका ५५ वर्षीय मिनबहादुर गुरूङ । बेसी आवतजावत गर्न सहज भएको उनी बताउँछन्। छोरा–छोरी विद्यालय जाँदा बाटोमा लडेँ कि केही भयो कि भन्ने चिन्ता हुन्थ्यो, अहिले त्यो पीर हटेको मीनबहादुर बताउँछन्। ‘आँगन–आँगनमा बस गुड्ने सडक नपुगेपनि पदमार्गले दैनिकी सहज बनाएको छ,’ उनले भने।
अर्का स्थानीय ४८ वर्षीय सुगबहादुर गुरुङ जनप्रतिनिधिलाई पटक–पटक पदमार्ग बनाउन आग्रह गरे पनि उनीहरुले आफ्ना कुरा नसकेको बताउँछन्। विभिन्न संघसंस्थताको सहयोगमा निर्माण भएको पदमार्गले पैयुँखर्क र फुलखर्कलाई नजिक बनाएको उनले बताए ।
कसरी बन्यो पदमार्ग ?
नेपाल पर्यटन बोर्डले कोराना प्रभावित भएका पर्यटन क्षेत्रका मजदुरलाई रोजगार दिने उद्देश्यले जिविकोपार्जन पुनरुत्थानका लागि दिगो परियोजनाको फुलखर्क–पैयुँखर्क पदमार्ग निर्माण गरेको छ। योसँगै बोर्डले दिगो परियोजनासँग मिलेर अन्य ठाउँमा पनि पदमार्ग, साइकल ट्रेल निर्माण गरेको छ।
‘पर्यटन क्षेत्रमा आश्रित मजदुरलाई अल्पकालिन रोजगारी दिने योजना अनुसार पदमार्ग निर्माण गरेका हौं । पर्यटन मजदुरलाई रोजगारीसँगै र स्थानीयको दैनिकी सहज होस भन्ने हाम्रो उद्देश्य हो,’ बोर्डका निर्देशक मणिराज लामिछाने भने।
फुलखर्क–पैयुँखर्क पदमार्ग निर्माणमा स्थानीयबासी र गंगाजमुना गाउँपालिका जनप्रतिनिधिको सहयोगमा रहेको उनले बताए। पदमार्ग ८० मजदुरलले ११ दिन लगाएर निर्माण गरेका थिए।
पदमार्ग निमार्णले त्यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि सयोग पुग्ने बोर्डको अपेक्षा छ। ‘पदमार्ग निर्माणपछि धादिङकै महत्वपूर्ण पर्यटकीय गन्तव्य गंगाजमुन झरना र गुम्बा पुग्न पर्यटकलाई सहज भएकको छ,’ निर्देशक लामिछानेले भने, ‘यसले पैयुँखर्कको गुरुङबस्तीमा अािर्थक गतिविधि बढ्ने र जीवन सहज हुने अपेक्षा छ।’