७५ जिल्लामा डेंगु संक्रमण, उच्च जाेखिममा ललितपुर
ललितपुरमा १ हजार ८३२ जनामा संक्रमण पुष्टि भइसकेको छ। उपत्यकाका अन्य दुई जिल्ला काठमाडौं र भक्तपुरमा क्रमशः ८८८ र ९९ जनामा संक्रमण देखिएको छ।काठमाडौं, भदौ २० : अहिले डेंगु संक्रमण देशभरि तीव्र रूपमा फैलिरहेको छ। ७७ जिल्लामध्ये ७५ जिल्लामा यसको संक्रमण फैलिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कीटजन्य रोग शाखाले जनाएको छ।
गत वर्ष ५८ जिल्लामा ५४० जनामा डेंगुको संक्रमण देखिएको अभिलेख रहे पनि यो वर्ष एकदमै तीव्रताका साथ देशका सबैजसो भूभागमा डेंगु संक्रमण फैलिरहेको कीटजन्य रोग शाखाप्रमुख डा. गोकर्ण दाहाल बताउँछन्।
शनिबार (भदौ १९) सम्मको तथ्यांक हेर्दा नेपालको ७५ जिल्लामा गरी ५ हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यसरी डेंगुको संक्रमण फैलिरहँदा सबैभन्दा बढी प्रभावित जिल्ला भने ललितपुर बनेको छ। ललितपुरमा १ हजार ८३२ जनामा संक्रमण पुष्टि भइसकेको छ। उपत्यकाका अन्य दुई जिल्ला काठमाडौं र भक्तपुरमा क्रमशः ८८८ र ९९ जनामा संक्रमण देखिएको छ। यस अर्थमा काठमाडौं उपत्यका तुलनात्मक रूपमा डेंगुका जोखिम बढी देखिन्छ।
डेंगु संक्रमित बढी भेटिएका १० जिल्लामध्ये उपत्यकाका तीन बाहेक मकवानपुर (५९८), रूपन्देही (४३९), धादिङ (१११), तेह्रथुम (८८), सिन्धुली (६६), गुल्मी (५९) र संखुवासभा (५७) रहेका छन्।
प्रदेशगत रूपमा हेर्दा वाग्मतीमा सबैभन्दा बढी डेंगु संक्रमित रहेका छन्। त्यसपछि क्रमशः लुम्बिनी (७७०), प्रदेश १ (२२१), गण्डकी (१०१), सुदूरपश्चिम (९५), मधेस (७९) र कर्णली (३६) रहेका छन्।
‘मनसुन अवधिभरि त छँदैछ, मनसुन सकिएको एक–दुई महिनापछि पनि डेंगुका बिरामी बढेको विगतका तथ्यांकहरूले देखाउँछन्,’ उनी भन्छन्, ‘पानी परिरहने समयमा डेंगुको संक्रमण बढ्नुलाई अस्वाभाविक मान्न सकिँदैन। तर विगतका वर्षहरूका तुलनामा यो वर्ष संक्रमितको संख्या अत्यधिक बढेकाले भने अहिले असहज वातावरण सिर्जना भएको हो।’ अझै दुई–अढाइ डेंगु संक्रमण कायमै रहने भएकाले सबैले सचेतता अपनाउनुपर्ने सुझाव चिकित्सकहरूले दिने गरेका छन्।
डा. दाहालका अनुसार डेंगु नियन्त्रणका लागि संक्रमण देखिएका पालिकाका स्वास्थ्य शाखाका साथै जिल्लाजिल्लाका स्वास्थ्य कार्यालय तथा सबै प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुखहरूसँग छलफल र समन्वय भइरहेको छ। यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्राविधिक रूपमा सहयोग गरिहेको छ। समुदाय, पालिका, जिल्ला, स्वास्थ्य निर्देशनालयलाई संक्रमणबारे सचेतना जगाउन र रोकथामको उपाय अपनाउन निर्देशन दिइएको उनी बताउँछन्।
त्यस्तै महाशाखाले पटकपटक स्वास्थ्य विज्ञहरूलाई राखेर डेंगु नियन्त्रणका सन्दर्भमा विभिन्न अस्पतालसँग पनि छलफल चलाइरहेको उनको भनाइ छ। ‘संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले अब जिल्ला, पालिकाबाट मात्र नभएर वडा तहबाटै पनि लामखुट्टेका लार्भा खोज्ने, नष्ट गर्ने र आफ्नो टोल, समुदायमा जनचेतना फैलाउने अभियान चलाउनु आवश्यक देखिएको छ,’ उनले भने।
काठमाडौं र ललितपुर महानगरपालिकाले अभियानकै रूपमा डेंगु नियन्त्रणका लागि काम सुरु गरिसकेको उनले जानकरी दिए। ‘ललितपुर महानगरपालिकाले २८ वटै वडा र काठमाडौंमा महानगरपालिकाले ३२ वटै वडामा डेंगु नियन्त्रणका लागि क्याम्पियन सुरु गरिसकेका छन्।’
उनका अनुसार अहिले डेंगु नियन्त्रणका लागि रेडियो, टेलिभिजनजस्तासञ्चार माध्यमबाट पनि जनचेतना फैलाउने काम भइरहेको छ। ‘डेंगु रोग के हो र यसबाट कसरी बच्न सकिन्छ भनेर जनचेतनाका लागि महाशाखाले धेरथोर बजेट विनियोजन पनि गरेको छ,’ उनी भन्छन्, ‘गत वर्ष डेंगु देखिएका स्थानहरूलाई ध्यानमा राखेर बजेट विनियोजन गरिएकाले ७५३ वटै पालिकाका लागि भनेर रकम छुट्याइको छैन।’
गत वर्षको तथ्यांकलाई आधार बनाइएकाले १३९ ओटा पालिकामा पनि सीमित बजेट मात्र छुट्याउन सम्भव भएको उनको भनाइ छ। ‘हामीले पठाएको बजेटले मात्र पुग्ने अवस्था नरहेकाले धेरै पालिकाहरू आन्तरिक स्रोतको परिचालन गरेर रोग नियन्त्रणका लागि जुटिरहेका छन्,’ उनले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुर डेंगु नियन्त्रणका लागि सरकारको मात्रै प्रयासले सम्भव नहुने भएकाले हरेक व्यक्तिले सावधानी अपनाउनु जरुरी रहेको बताउँछन्। ‘डेंगु संक्रमितलाई टोकेको एडिज जातको लामखुट्टले अर्काे व्यक्तिलाई टोके डेंगु सर्छ। विशेषतः लामखुट्टेले जमेको सफा पानीमा फुल पार्दै जाने भएकाले आफ्नो वरपर रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ,’ उनी भन्छन्, ‘यसरी लामखुट्टेले फुल पार्न नसक्ने वातावरण बनाइयो भने डेंगु नियन्त्रण हुन सक्छ।’
प्रवक्ता ठाकुरका अनुसार डंगु लाग्दा टाउको, आँखाको गेडी, मांसपेसी र जोर्नी बेस्सरी दुख्नुका साथै रक्तश्रावसमेत हुने गर्छ। यस्तो लक्षण देखा परे तुरुन्त अस्पताल जान उनी सुझाउँछन्। यस्तो अवस्थामा कतिपय मानिस अस्पताल जानुको सट्टा सामान्य मेडिकलमा गएर जथाभावी औषधि सेवन गर्दा विभिन्न समस्या निम्तिन सक्ने उनको भनाइ छ।
अहिले डेंगु संक्रमितमध्ये केहीमा सामान्य लक्षण मात्र देखापरिरहेको छ भने केहीको अवस्था भने नाजुक बनेकाले अस्पताल भर्ना भएर उपचार गराइरहेको प्रवक्ता ठाकुर बताउँछन्। रोग नियन्त्रणका लागि केही स्थानीय तहले जनचेतना फैलाउने र लामखुट्टेको लार्भा खोजेर नष्ट पार्ने काम गरिरहेको भन्दै उनले खुसी व्यक्त गरे। स्थानीय तहले मात्रै नभइ हरेक व्यक्तिले आफ्नो सुरक्षा आफैं गर्ने मामिलामा सजज हुनुपर्नेमा उनले जोड दिए।
डेंगु रोगका विज्ञ डा. अनुप बास्तोलाले डेंगु एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने भाइरल रोग भएको बताए। उनका अनुसार त्यस्ता लामखुट्टेले बिहान सूर्योदयको एक–दुई घन्टापछि र सूर्यास्तभन्दा एक–दुई घन्टा अघि बढी टोक्ने भएकाले सो समयमा पुरै बाहुला भएका लुगा लगाउनुपर्छ। झ्यालढोकामा जाली हाल्ने, सुत्दा झुल लाउने र लामखुट्टे मार्ने धुप बाल्ने गरियो भने डेंगु संक्रमणबाट जोगिन सकिने उनको भनाइ छ।
‘डेंगुको सामान्य लक्षण देखिएका करिब ९० प्रतिशत मानिस आफैं निको हुन्छन् भने बाँकी १० प्रतिशतलाई भने निकै सकस हुने गर्छ। उनीहरूमा अत्यधिक ज्वरो आउने, रक्तश्राव हुने, अत्यन्त धेरै थकान महसुस हुने, फोक्सोमा पानी जम्ने, बेहोस हुने, बान्ता भइरहने जस्ता गम्भीर लक्षणह्रू देखा पर्छन्,’ उनले भने।