Kathmandu Press

गंगाजमुना झरनाको पर्यटन प्रवर्द्धन : गुम्बादेखि भ्युटावरसम्म निर्माण गर्ने योजना 

संघीयता लागु हुनुपूर्व प्रचारप्रसार र पूर्वाधार विकासको कमिले ओझेलमा परेको गंगाजमुना झरना स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लाको मुख्यमध्येको पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएको छ। 
गंगाजमुना झरनाको पर्यटन प्रवर्द्धन : गुम्बादेखि भ्युटावरसम्म निर्माण गर्ने योजना 

काठमाडौं, भदौ १९ : उत्तरी धादिङकाे गंगाजमुना गाउँपालिका–५ मा अवस्थित गंगाजमुना झरनाले सिंगो धादिङको पर्यटन विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ। धादिङ सदरमुकाम धादिङवेशीबाट करिब ५३ किलोमिटरको दुरीमा रहेको गंगाजमुना झरना अवलोकनका लागि वर्षेनी बाक्लो संख्यामा आन्तरिक तथा वाह्य पर्यटक पुग्छन्। 

संघीयता लागु हुनुपूर्व प्रचारप्रसार र पूर्वाधार विकासको कमिले ओझेलमा परेको गंगाजमुना झरना स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लाको मुख्यमध्येको पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएको छ। 

झरना नजिकै रहेको गंगाजमुना माई मन्दिरले धार्मिक पर्यटकको संख्या पनि बढाएको छ। गंगाजमुना माइ मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीको दिन भव्य मेला लाग्छ। मेलामा छिमेकी जिल्लाबाट मात्र नभई टाढाटाढाबाट धार्मिक आस्था बोकेर मानिसहरु आउने गरेको वडा–५ का वडाध्यक्ष कुमारबहादुर अधिकारीले बताए।

Hardik ivf

गंगाजमुना झरनालाई प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्न गाउँपालिकाले विशेष योजना नै अगाडि बढाएको छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको सो क्षेत्रको थप सौन्दर्य वृद्धि र पर्यटकको सुविधाका लागि भ्युटावर, रेस्टुरेन्टलगायत विभिन्न भौतिक पूर्वधार विकास निर्माण कार्य तीव्र रूपमा भइरहेको वडाध्यक्ष अधिकारी बताउँछन्। 

‘गंगाजमुना झरना सधैं पर्यटकको रोजाइमा परोस् भनेर भौतिक पूर्वधार विकासमा जोड दिएका हौं,’ गाउँपालिकाका प्रवक्तासमेत रहेका अधिकारीले भने, ‘अघिल्लो स्थानीय तहले थालेको कामलाई हामीले निरन्तरता दिइरहेका छौं।’

उनका अनुसार २०७८ भदौ २८ देखि झरनावरिपरि विभिन्न भौतिक पूर्वधार निर्माण सुरु गरिएको हो। ५ करोड २५ लाख रुपैयाँको योजनामा ज्वालामुखी कन्स्ट्रक्सनले ४ करोड ७५ लाख रुपैयाँमा निर्माण गर्ने जिम्मा लिएको उनले बताए। 

‘झरनाको दृश्य देखिनेगरी भ्युटावर, एक रेस्टुरेन्ट, गुम्बा, योगाहल, शौचालय निर्माण गर्छौं,’ वडाध्यक्ष अधिकारीले भने, ‘अहिले डिपिआर सुरु भएर भवन निर्माणको काम सुरु भइसकेको छ।’ उनले समयावधि अझै एक वर्ष (२०८० भदौसम्म) बाँकी रहेकाले तोकिएकै अवधिमा निर्माण कार्य सकिने धारणा व्यक्त गरे।

त्यहाँ अहिले झरना प्रवेश गर्ने गेट, एकतले भवन निर्माणाधीन अवस्थामा छन्। ‘स्थानीय धार्मिक तथा पर्यटकीय स्थल संरक्षणका लागि ती संरचना निर्माणको आवश्यकता परेको हो,’ उनले भने, ‘अहिले स्थानीय सरकारको मुख्य आम्दानीको स्रोत नै पर्यटक हुन्, हामीले पनि पहिलो प्राथमिकतामा पर्यटकीय स्थल निर्माणलाई राखेका छौं।’

ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको गंगाजमुना झरना तथा गंगाजमुना माई मन्दिर निर्माणलाई पूर्वाधार निर्माण गरेर पर्यटक भिœयाउने स्थानीय तहको लक्ष्य रहेको छ। ‘बर्खाको बेलामा ठुलो देखिने भए पनि सुक्खायममा झरना सुक्दै जान्छ, त्यसैले झरनालाई कसरी झरिरहने बनाउने भनेर पनि छलफल चलाइरहेका छौं,’ उनले भने, ‘पहिला १२ महिना नै पहरोबाट झरना खसेको देख्न पाइन्थ्यो।’

२ हजार ८ सय मिटरको उचाइमा रहेको पहरोबाट खसेको गंगाजमुना झरनालाई हिमालय पुराणमा दिदीबहिनीका रूपमा वर्णन गरिएको उनले बताए। ‘झरनानजिकै गंगाजमुना माई मन्दिर छ,’ उनले भने, ‘पहरोमा मन्दिर बनाइएकाले त्यहाँ जान सिँढी बनाएर वरिपरि बार लगाइएको छ।’ 

पहराबाट सधैं पानी बगिरहने र झरनाको पानीले सिँढी चिप्लो हुने भएकाले बार लगाइएको उनको भनाइ छ। बार लगाउन वडाले २०७७ मा ९१ लाख रुपैयाँ खर्च गरेको उनले बताए। ‘बिस्तारै पूर्वाधार निर्माण भइरहेको छ। आगामी दुई वर्षमा भौतिक पूर्वाधार निर्माण गरी बाह्रै महिना पर्यटक भित्र्याउँछौं,’ वडाध्यक्ष अधिकारीले भने, ‘पर्यटको आवागमन वृद्धि गर्न सके स्थानीयको आयस्रोत बढ्ने अपेक्षा गरेका छौं।’ 

उनले गंगाजमुना झरनानजिकै अर्काे धारा पनि भएको जानकारी दिए। त्यस धारालाई स्थानीयले कुकुर धारा भन्ने गरेका छन्। ‘त्यो धारामा नुहाए कुकुरले टोकेको विष हटेर जान्छ भन्ने जनविश्वास छ,’ उनले भने, ‘झरनाको अगाडि कुकुरको मूर्तिसमेत बनाइएको छ।’गंगाजमुना र कुकुर झरनालाई प्रचारप्रसार गरे उनी स्थानीयवासीलाई सहयोग पुग्ने धारणा व्यक्त गर्छन्।

उच्च पहाडी भेग वा लेक क्षेत्र भएकाले झरनानजिकै भएको बस्तीमा कोदो र मकै मात्र उत्पादन हुन्छ। तीबाहेक नगदे बालीमा तरकारी र फलफूल उत्पादन भए पनि बिक्री गर्ने ठाउँ वा बजारको व्यवस्था नभएको वडाध्यक्ष अधिकारीले बताए।

‘झरना हेर्न आउनेले स्थानीय उत्पादन खरिद सामान खरिद गर्छन्,’ उनले भने, ‘पर्यटक प्रवद्र्धन नै स्थानीय तहको मुख्य आम्दानीको स्रोत हो, त्यसैले झरनासम्म पुग्न पदमार्ग र सडक पु¥याएका छौं।’

५५ वर्षीय स्थानीय मीनबहादुर गुरुङले झरनासम्म जान सडक बनेपछि पर्यटकले बस्तीभित्रको पदमार्ग प्रयोग गर्न छाडेको जानकारी दिए। ‘सडक फराकिलो भए पनि घुमाउरो छ,’ गुरुङले भने, ‘फुलखर्कबाट झरना पुग्न पदमार्गबाट तीन घन्टा लागे पनि सडकबाट चारपाँच घन्टा लाग्छ।’ 
भिरको बाटो भएकाले सुरक्षाका लागि पर्यटकले निर्माणाधीन सडक नै रोज्ने गरेको उनको भनाइ छ। गाउँको बाटो हिँड्ने गाँस र बासको व्यवस्था गर्न सकिने जानकारी उनले दिए। 

‘गाउँको बाटो हिँडे लोकल उत्पादन तथा कोदाको ढिँडो र लोकल कुखुराको मासु खुवाउन सक्छौं,’ उनले भने, ‘झरनामा पुगेर वास बस्ने व्यवस्था भइसकेको छैन, त्यसैले धेरै पर्यटक पुगेकै दिन फर्कन्छन्।’ 

काठमाडाैंबाट कसरी पुगिन्छ गंगाजमुना झरना ? 

काठमाठौंदेखि ८८.६ किलोमिटर यात्रा गरेपछि धादिङ सदरमुकाम धादिङवेशी पुगिन्छ  । त्यहाँबाट ५४ किलोमिटर यात्रापछि पार गरेपछि पुगिन्छ, फुलखर्क। गंगाजमुना झरनासम्म पुग्न फुलखर्कबाट २÷३ घण्टा पैदल हिँड्नुपर्छ। 

काठमाडौंको माछापोखरीस्थित धादिङ बसपार्कबाट बिहान ६ः२० बजे फुलखर्कसम्म पुग्ने बस छुट्छ। फुलखर्क पुग्ने यात्रुले ८५० रुपैयाँ भाडा तिर्नुपर्छ। 

धादिङवेशीबाट ज्यामिरे,गोलाभञ्ज्याङ, टारीबेशी, सल्यानटार, आगिन्चोक, बेलुङ, चोकेभञ्ज्याङ, बलौटा हुँदै फुलखर्क बजार पुगिन्छ।  र, बजारबाट पदयात्रा  र कच्ची सडकमा साना सवारी साधन लिएर गंगाजमुना झरना पुग्न सकिन्छ। 

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्