‘हिजो आजका कुरा’को ‘परदेश’ बाेलकाे गीत सार्वजनिक
काठमाडौं, भदौं, १७ : वरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत शुक्रबार सार्वजनीक गरिएको छ...
काठमाडौं, भदौं, १७ : वरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’काे नयाँ गीत ‘परदेश’ सार्वजनिक भएको छ । असोज २८ गते प्रदर्शन हुने चलचित्रको निर्देशन साकार पन्तले गरेका छन्।
गीतको शब्द एक्तारे र साकार पन्तले कोरेका हुन् भने स्वर र संगीत हर्कुलस बस्नेतको छ। बिरही भावको गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलीया, साकार पन्त, ऋचा शर्मा, रिमा बिश्वकर्मा, केकी अधिकारीलगायतकाे अभिनय छ।
चलचित्रको पहिलो गीत ‘ए जदौं माया जदौं’ अत्यन्तै हिट भएको थियो। सो गीत युट्युवमा अहिलेसम्म २ करोड ५८ लाख बढी पटक हेरिसकिएको छ । कोरोना महामारीका कारण पूर्वघोषित ०७७ वैशाख १२ मा प्रदर्शन स्थगित गरिएको चलचित्र अब भने दशैं तिहारको बीचमा दर्शकमाँझ ल्याउन लागिएको हो।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा वरिष्ठ अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाको छ। रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठ प्रसाद उपाध्याय (अशोक) र सचित कुमार मिश्र छन्।
बिके फिल्मस् र एफडिले बितरण गर्ने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन्।
डेढ दशक बढी नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकको मनमा बस्न सफल टेलिश्रृंखला ‘हिजो आजका कुरा’ कै टिमले निर्माण गरेको ‘हिजो आजका कुरा–द मुभी’ लाई यो वर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ।












