गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ
लेप्चाका अनुसार कन्सर्ट सकिएपछि पनि उनी झन्डै एक किलोमिटर परको घरसम्म गाउँदै र नाच्दै अघि बढेकाहरूबाट धकेलिएरै पुगेका थिए । 'भिडसँगै बहे जस्तो, हिंड्नै परेन' उनले भने ।
काठमाडाैं, कात्तिक १७ : भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकका बासिन्दाले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् ।
‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, ‘नेपाली सङ्गीत मन पराउने सबैका निम्ति नेपथ्य कन्सर्ट ऐतिहासिक क्षण बन्न पुगेको छ ।’
राज्यकै मुख्य रङ्गशालामा अरू बेला प्यारापिटभरि बसेर मैदानमा खेल हेर्ने गरेका दर्शक आइतबार राति भने नेपथ्यको लोकरकसँग झुमे । भित्र प्रस्तुति भइरहँदा बाहिर ढोकाहरूमा प्रवेशका निम्ति प्रयासरत दर्शकको उत्तिकै भीड थियो। त्यस भेगमै सवारी आवागमन बन्द गरेर मात्र नपुगेपछि भीड नियन्त्रणका लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
लेप्चाका अनुसार कन्सर्ट सकिएपछि पनि उनी झन्डै एक किलोमिटर परको घरसम्म गाउँदै र नाच्दै अघि बढेकाहरूबाट धकेलिएरै पुगेका थिए । 'भिडसँगै बहे जस्तो, हिंड्नै परेन' उनले भने ।

गान्तोक कन्सर्ट शनिबार हुने गरी महिनौँ पहिले तय गरिएको थियो । तर बङ्गालको खाडीमा विकसित ‘चक्रवात अर्नव’ को प्रभावले वर्षात्को जोखिम देखाएपछि एक दिन अघिबाट स्थगित गरि आइतबारका लागि सारिएको थियो।
अन्तर्राष्ट्रिय ख्याति कमाएका सिक्किमेली लेखक प्रज्वल पराजुलीका नजरमा यस्तो भव्यताको अनुमान पहिल्यै भइसकेको थियो । ‘केही सातायता गान्तोकमा जताततै बातचितको विषय नै नेपथ्य बनेको देखिन्थ्यो,’ यसअघि लन्डन र काठमाडौँमा नेपथ्यको अनुभव लिइसकेका बताउँदै पराजुलीले भने, ‘यो कन्सर्ट भव्य भयो’।
घडी देखाएर तोकिएकै समयमा सुरु भएको कन्सर्टभर नेपथ्यका नयाँ र पुराना गीतहरू दर्शकको स्वादअनुसार प्रस्तुत गरिएका थिए ।
‘अस्ति रसुवामा बाढी आउँदा सिक्किमले माया गरेर राहत पठाएको क्षण हामी सम्झिरहेका छौँ,’ गायनकै क्रममा नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङले भने, ‘सुखदुःखको हाम्रो यो सम्बन्ध सदैव कायम रहोस् ।’
कार्यक्रमकै बीच अमृतले भने, 'सिक्किममा नेपाली भाषा आम प्रचलनमा छ । तर अहिलेको पुस्तामा नेपाली लेख्ने र पढ्ने प्रवृति घट्दो छ । यसको लेखपढलाई पनि उत्तिकै प्राथमिकता दिइए हामी बीचको भाइचारा सदियौं कायम रहने छ', अमृतको धारणालाई दर्शकले गडगडाहट तालीसाथ स्वागत गरे ।

कन्सर्टमा सबै उमेरका दर्शक रमाएका देखिन्थे । मञ्चको अघिल्लो लहरमा उभिएका केही पाका महिलाको उत्साह झनै रोचक देखिन्थ्यो । ‘यताका सबै उमेर समूहमा हाम्रा गीतहरू यति लोकप्रिय होलान् भन्ने लागेको थिएन,’ अमृतले भने, ‘यस्तो माया पाएर म भावुक बनेको छु ।’
कन्सर्ट हेर्न सिक्किमभन्दा निकै परका दर्शकको पनि उल्लेख्य उपस्थिति थियो ।
नेपथ्य अनुभव गर्नकै लागि मिजोरमको लाछे देखि गान्तोक पुगेका साथीहरूको जमातमा थिए आशिष क्षेत्री ।
‘पोहोर सिलिगुडीमा नेपथ्यको कन्सर्ट हेरेर फर्किएकी दिदीको बयान सुनेपछि यो पाला मैले आफूलाई थाम्न सकिनँ,’ उतैबाट आएका अरू दुई साथीसहित उपस्थित आशिष भनिरहेका थिए, ‘नेपथ्यको यो मेरो पहिलो अनुभव नै जीवनभरका लागि मिठो सम्झना हुने भएको छ ।’

सङ्गीत मात्र नभई यसको व्यवस्थित अनि भव्य प्रस्तुतिको तरिका जान्न पनि नेपथ्य कन्सर्ट महत्त्वपूर्ण लागेको आशिषले प्रतिक्रिया दिए ।
कन्सर्ट हेर्नकै लागि भुटानको चिराङबाट १४ घण्टा मोटरयात्रा गर्दै लोकी खरेल पनि आइपुगेका थिए । ‘आफूभन्दा धेरै जेठो ब्यान्डको कन्सर्टबाट मलाई आजसम्मकै सर्वाधिक ऊर्जा मिल्नेछ भन्ने कल्पनै गरेको थिइनँ,’ आधा दर्जनभन्दा बढी नेपाली साङ्गीतिक प्रस्तुति अनुभव गरिसकेका २६ वर्षीय लोकी सोमबार गान्तोकबाट फर्कँदै गर्दा भनिरहेका थिए, ‘रातिको कन्सर्टको रन्कोले अझै छाडेको छैन ।’
कन्सर्टको सफलताले आफूहरूलाई भावुक बनाएको स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’ ले जनाएको छ । ‘नौ महिना लामो प्रयासले यसरी सिक्किमलाई सदाका लागि स्मरणीय साँझ दिएको छ,’ आयोजकका तर्फबाट विकेस कायस्थले भने, ‘यो सफलताका लागि सिक्किम सरकार र मातहतका निकायप्रति हामी आभारी छौँ ।’
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
सिक्किमपछि नेपथ्य पूर्वी नेपालका दुई सहरमा प्रस्तुत हुँदैछ। यसै बुधबार (कात्तिक १८) ब्यान्डको प्रस्तुति इटहरीमा हुँदैछ। इटहरी रङ्गशालामा आयोजना हुने कन्सर्टका लागि कलाकार, प्राविधिक र व्यवस्थापन समेतको नेपथ्य टोली सिक्किमबाट सोमबारै इटहरी पुगिसकेको छ। बुधबार बेलुकी ४ बजे कन्सर्टका लागि रड्गशालाका ढोकाहरू खुला गरिनेछन्।

इटहरीपछि कात्तिक २१ मा झापाको चारआलीमा लोकरक गुन्जिनेछ। त्यसपछि टोली काठमाडौँ फर्किनेछ।
निर्धारित कार्यतालिकाअनुसार तिहारपछि ब्यान्ड फेरि चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुनेछ । त्यसपछि अस्ट्रेलियाको शृङ्खलाबद्ध यात्रा हुनेछ ।
यी तमाम कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।






