Kathmandu Press

फिल्म उद्योगले आत्मसमीक्षा गर्नु जरुरी छ : दीपकराज गिरी

उनले यसपटकको दशैंमा आफ्नो फिल्म असफल हुँदा अन्य फिल्मकर्मी साथीहरूलाई पनि खुसी लागेको हुन सक्ने भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
फिल्म उद्योगले आत्मसमीक्षा गर्नु जरुरी छ : दीपकराज गिरी

काठमाडौं, कात्तिक १८ : अभिनेता तथा निर्माता दीपकराज गिरीले यस वर्षको दशैंमा प्रदर्शनमा आएको आफ्नो फिल्म ‘छ माया छपक्कै २’ असफलताको जिम्मेवारी आफैँले लिने बताएका छन्। सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गर्दै उनले फिल्म असफल हुनुका कारणबारे आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन्।

उनले यसपटकको दशैंमा आफ्नो फिल्म असफल हुँदा अन्य फिल्मकर्मी साथीहरूलाई पनि खुसी लागेको हुन सक्ने भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

‘हामी मात्रै होइन, यी मोराहरू पनि फ्लप भए’ भन्ने सोचले केहीलाई आनन्द मिलेको हुन सक्ने उनको भनाइ छ। उनले फिल्म सफल हुँदा त्यसको कारण खोज्नेभन्दा पनि उत्सव मनाउने तर असफल भएपछि भने अनेक बहाना र दोषारोपण सुरु हुने गरेको बताएका छन्। 

गिरीले फिल्म असफल हुनुमा बहिष्कार अभियानको प्रभाव रहेको भन्नेहरूलाई पनि व्यङ्ग्य गर्दै त्यसलाई चित्त बुझाउने बाटोका रूपमा व्याख्या गरेका छन्। फिल्म कमजोर भएर असफल भएको भन्दा बहिष्कारका कारण असफल भएको भन्नु राम्रो भएको उनको टिप्पणी छ।

आफ्नो फिल्मको असफलताको पीडाबीच अन्य फिल्मको व्यापारिक अवस्थासमेत हेरेको उनले बताएका छन्। उनका अनुसार यसपटक दशैंमा प्रदर्शनमा आएका चार फिल्मका अघिल्ला श्रृंखलाले क्रमशः २१ करोड, १९ करोड, १२ करोड र ९ करोड रुपैयाँ आम्दानी गरेका थिए। 

तर यसपटक ती फिल्मले क्रमशः १० करोड, दुई करोडभन्दा केही बढी, ६ करोडभन्दा केही बढी र तीन करोडभन्दा केही बढी रुपैयाँको व्यापार गरेको उनको दाबी छ । यस्तो तथ्याङ्क हेर्दा आफ्नो फिल्म असफल भएको पीडा केही कम महसुस हुने उनले बताएका छन्।

तर, अरू फिल्मको व्यापार कमजोर हुँदैमा आफ्नो फिल्मको असफलता नमेटिने उनको भनाइ छ। उनले आफूले व्यक्तिगत रूपमा गरेका कमजोरी महसुस गरिसकेको उल्लेख गर्दै नेपाली फिल्म उद्योगका अन्य फिल्मकर्मीले पनि आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

‘मैले जसरी पनि जित्नुपर्छ भनेर मैले खेलेको खेलको असरले बिस्तारै आफैँलाई हार्ने वातावरण त बनिरहेको छैन ? आफू अलि अगाडि देखिनका लागि गरिएका हाम्रा गतिविधि कतै आफ्नै खुट्टामा बन्चरो साबित त भइरहेका छैनन् ?’ उनले प्रश्न गरेका छन् ।

उद्योगका सबै पक्षले यस विषयमा सोच्नुपर्ने बताउँदै उनले नेपाली फिल्म क्षेत्रको भविष्यका लागि सामूहिक आत्मसमीक्षा आवश्यक रहेको धारणा राखेका छन् ।

आफ्नो फिल्मको असफलताको जिम्मेवारी सम्पूर्ण टिमका तर्फबाट आफैँले लिने बताउँदै उनले दर्शकले दिएका सुझाव समेटेर अर्को वर्ष फेरि हलमा आउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले आगामी वर्षको दशैंमा ‘छ माया छपक्कै ३’ ल्याउने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, कात्तिक १८, २०८३