अपांगता भएका हस्तबहादुरको फेरिएको जीवन
मौसम उपयुक्त भएसँगै कुखुरा उत्पादन गर्ने तयारीमा उनी छन् । कुखुरापालनमा उनलाई छोराछोरी र श्रीमतीले सहयोग पुर्याउने गर्छन् । ‘मेरो पनि दुवै हात चल्ने भएकाले सक्ने काम आफैँ गर्छु,’ उनले भने ।काठमाडौं, भदौ १२ : मकवानपुरको मनहरि गाउँपालिका– ६ का हस्तबहादुर मोक्ताङले ०५६ सालदेखि ट्रकमा सहचालकको काम सुरु गरेका थिए। बाल्यकालमा पढ्ने अवसर नपाएका हस्तको सपना थियो– सहचालक हुँदै चालक बन्ने र घरजम चलाउने। सपना अनुसार सबै मिलिरहेकै थियो। तर, उनको जीवनमा नसोचेको वज्रपात आइलाग्यो।
कामकै सिलसिलामा ०७५ को असोजतिर उनले आफ्नो ढाड सड्किएको महसुस गरेका थिए। त्यसपछि उनको ढाड दुख्न थाल्यो। दुखाइ कम नभएपछि उनले सुरुका तीन–चार महिना औषधि पसलबाट औषधि किनेर खाए।
औषधिले निको भएन र उनी चितवनको एक सामुदायिक अस्पताल पुगे। त्यहाँ उनलाई डाक्टरले जसरी पनि ढाडको अपरेसन गर्नुपर्ने बताए। अपरेसनका क्रममा ज्यानै जान सक्ने पनि चिकित्सकहरूले बताएका थिए। साथीभाइ, आफन्तसँग सरसापटी मागेर चार लाख रुपैयाँ खर्च गरी उनले ढाडको अपरेसन गराए, १२ मंसिर २०७५ मा।अपरेसनपछि उनको होस त खुल्यो, तर शरीरको कम्मरभन्दा तलको भाग चलेन। उनी थलिए।
हस्तको विवाह १६ वर्षको उमेरमा भएको थियो। उनका दुई छोरी र एक छोरा छन्। उनी परिवारका लागि सारथी थिए। उनी थलिएसँगै उनको पारिवारिक रथ रोकियो। ‘दायाँ–बायाँ पल्टन समेत आफूलाई सहयोगी चाहिन्थ्यो,’ उनी भन्छन्, ‘एउटै ओछ्यानमा पल्टिरहेँ। कहिले दिन र कहिले उज्यालो हुन्थ्यो भन्ने समेत थाहा पाइनँ।’
दिनहरू सधैँ एकनाश हुँदैनन्। तीन वर्षसम्म थलिएका उनका लागि एउटा बिहानले आशाका किरण बोकेर आयो।
नयाँ जीवन, नयाँ ऊर्जा
पुस ०७८ मा अपांगता भएकाहरूको हकहितमा काम गर्ने संस्था ‘स्वावलम्बन जीवन पद्धति केन्द्र’ ललितपुरका पदाधिकारी हस्तको घरमा पुगे। केन्द्रका पदाधिकारीले स्थानीय नागरिकमार्फत हस्तको अवस्थाबारे जानकारी पाएका थिए।
केन्द्रले हस्तबहादुरलाई काठमाडौंमा ल्याएर फिजियोथेरापी, इच्छाएको ठाउँमा भ्रमणसहित दौँतरी परामर्श दियो। केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ भन्छन्, ‘हामीले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बन्न प्रेरित गर्छौं। धेरैले आफूलाई परिवर्तन गर्न कोसिस गर्ने गर्छन्, त्योमध्ये एक हुन् हस्तबहादुर।’
हस्तलाई अहिले केन्द्रले ह्वियलचियर उपलब्ध गराएको छ। ह्विलचियरले आफूमा हिम्मत बढाएको हस्त बताउँछन् । ‘ह्विलचियर भएपछि तीन–चार किलोमिटर टाढा रहेको वडा कार्यालय जान सक्ने भएँ। वडा कार्यालयबाट अपांगता कार्ड बनाएको छु,’ उनले भने, ‘मैले रातोकार्ड (पूर्ण अपांगता भएको) पाएको छु।’
रातो कार्ड हुनेले सरकारबाट मासिक चार हजार रुपैयाँ भत्ता पाउँछन्। भत्ता बुझ्न थालेदेखि उनलाई दैनिक गुजारामा सहयोग पुगेको छ। अहिले उनी कुखुरापालनमा लागेका छन्। मनहरी–६ मा आधा रोपनी जग्गा भाडामा लिएर हस्तले कुखुरापालन गरेका छन्। त्यसका लागि केन्द्रले १ लाख रुपैयाँ लगानी गरिदिएको छ। सोही सहयोगबाट उनले सयवटा कुखुरा अट्ने फार्म बनाएका छन्। हस्तले कुखुरा फार्म नजिकै दुईकोठे टहरा भाडामा लिएका छन्, जसको मासिक भाडा २ हजार छ। उनी अशक्त भएकै कारण घरधनीले कम शुल्कमा टहरा उपलब्ध गराएका हुन्।
कुखुरापालनमा उनले परिवारको पूर्ण सहयोग पाएका छन्। परिवारले सहयोग गर्ने भनेपछि केन्द्रले पहिलोपल्ट एक सय चल्ला राखिदिएको थियो। ‘अहिलेसम्म चारपटक कुखुरा उत्पादन गरेर बेचेँ,’ हस्त भन्छन्, ‘तीनपटक कुखुरा बेचेर नाफा कमाएँ तर चौथोपटक ४० हजारभन्दा बढी नोक्सान भयो। गर्मीका कारण कुखुरा मरेका होलान् भनेर अहिले राखेको छैन।’
मौसम उपयुक्त भएसँगै कुखुरा उत्पादन गर्ने तयारीमा उनी छन्। कुखुरापालनमा उनलाई छोराछोरी र श्रीमतीले सहयोग पु¥याउने गर्छन्। ‘मेरो पनि दुवै हात चल्ने भएकाले सक्ने काम आफैँ गर्छु,’ उनले भने।
कमाएर छोराछोरीलाई पढाउने उमेरमा थलापरेकामा उनलाई दुःख थियो। तर, यतिखेर अपांगता भएको हीनताबोधबाट आफू मुक्त भएको उनी बताउँछन्। ‘थला पर्दा म सुतेको बिस्तारामा पिसाब गन्हाउँथ्यो। समाज र आफन्तले घृणा गर्थे। अशक्त हुनासाथ समाज र आफन्तले हेला गर्ने रहेछन्,’ हस्त भन्छन्, ‘अहिले जीवनमा धेरै गर्न सक्छु भन्ने हिम्मत बढेको छ।’
सुरुमा कुखुरा बेचेर भएको नाफाबाट उनले श्रीमतीलाई गलैँचा बुन्ने तालिम सिकाए। तालिमपछि उनकी श्रीमती निरुमायाले घरमै श्रीमानको हेरचाह गर्दै काम गरिरहेकी छन्। ‘एक छोरा र छोरी विद्यालय जान्छन्। जेठी छोरीले पढ्न छोडेकी छ,’ उनी भन्छन्, ‘पढ्न छाडेकी छोरीका लागि पनि कुनै सीपमूलक तालिमका बारेमा सोच्दै छौँ।’