Kathmandu Press

वृद्धाश्रममा ‘बा’को व्याकुलता (भिडियाेसहित)

धेरै बाआमा वृद्धाश्रममा सन्तानको सम्झना गर्दै समयका पानाहरू पल्टाउँदै बसिरहेका छन्। यतिखेर ६१ ‘आमा’ र ३८ ‘बा’ यो आश्रममा बस्छन्।

काठमाडौं, भदौ ११ : ‘गेटबाट बाहिर निस्किन पाइँदैन, भित्रै टिभी नहेरेर के गर्नु ?’ पशुपति परिसरमा रहेको समाज कल्याण केन्द्र ‘वृद्धाश्रम’मा बस्दै आएका ८५ वर्षीय पूर्णरत्न शाक्यको अभिव्यक्ति हो यो।

प्रायः टिभी हेरेर दिनचार्य बिताउने उनी कहिलेकाहीँ साथीभाइसँग सन्तानको कुरा  गरेर भक्कानिन्छन्। यसपालि पनि बुवाको मुख हेर्ने पर्वबारे काठमाडौं प्रेसकर्मीसँगको कुराकानीमा उनी छोराहरूलाई सम्झेर भक्कानिए।   

उनी वृद्धाश्रममा बस्न थालेको साढे दुई वर्ष मात्र भयो तर उनले सन्तानको मुख देख्न नपाएको भने दशक नाघिसक्यो। ‘छोराहरू हुर्किएपछि आआफ्नै बाटो लागे,’ उनले भने, ‘अरू दिन नआए पनि बुबाको मुख हेर्ने दिन खोज्दै आउँछन् कि जस्तो लागिरहन्छ।’

Hardik ivf

वृद्धाश्रममा खाने, लाउने, बस्ने राम्रो सुविधासँगै हेरचाह गर्ने मान्छे भए पनि परिवारमा बसेजस्तो महसुस शाक्यलाई हुने गरेकाे छ। तीन छाेरामध्ये एक जनाको मृत्यु भइसकेको उनले बताए। एक जना बेपत्ता छन्र भने एक जना दार्जिलिङमा चिया पसल खोलेर बसेका छन्। ‘हिजो दुःख गरेर हुर्काएका सन्तान आज साथमा नहुँदा पीडा हुने रहेछ,’ उनले भावुक हुँदै भने, ‘हुन त मैले मात्र सम्झेर के गर्नु? छोराहरूलाई पनि त मेराे सम्झना हुनुपर्‍याे।’

आँखा देख्न सक्ने हुँदै छोराहरूलाई भेट्न पाए हुन्थ्यो भन्ने उनलाई लालेकाे छ। आश्रममा मिठाई लिएर अरूअरू आए पनि आफ्नो ‘रगत’ भने कहिले नआएकाले उनलाई साह्रै नरमाइलो अनुभूति हुन्छ। उनी छोराहरु कहाँ कस्तो अवस्थामा छन्, जान्न चाहन्छन्। तर कुनै पनि आफन्त उनलाई भेट्न आउँदैनन्। आफन्त आए सायद छोराहरूसँग भेटाइदिन वा आफ्नो खबर पुर्‍याइदिन अनुरोध गर्थे। 

उनी ललितपुरस्थित पाटनका स्थायी बासिन्दा हुन्। सुनचाँदीका काम गरेर युवा वय बिताएका उनी बुढेसकालमा भने दुःखकाे पहाडले थिचेकाे अनुभव भएकाे बताउँछन्। ‘पहिला ठिकै थियो, रमाइलाेसँगै जिन्दगी बितेकाे थियाे, बुढेसकालमा चाहिँ साह्रै दुःख पाएँ,’ उनी भन्छन्, ‘सम्पत्ति नभएपछि कसैले नहेर्ने रहेछ। छोराछोरी पनि टाढिँदा रहेछन्।’

आफूले ठुलो दुःखकष्ट गरेर सन्तान हुर्काएको उनी बिर्संदैनन्।आँसु लुकाउने कोसिस गर्दै उनी भन्छन्, ‘दुःख गरेर छोराहरू हुर्काएँ, आज तिनै छोराहरू हेर्न आउँदैनन्।’ छोराहरू आआफ्नै बाटोमा लागेपछि भान्जा पर्नेले आश्रममा ल्याएर छाडिदिएको उनी बताउँछन्। त्यसबेलादेखि आफ्ना भनिने कोहीसँग भेट न भएको उनी सुनाउँछन्।

पूर्णरत्न शाक्य ।

६९ वर्षीय चन्द्रबहादुर थापाको कथाव्यथा पनि पूर्णरत्न शाक्यको भन्दा कम छैन। उनी पनि साढे तीन वर्षदेखि सोही आश्रममा बस्दै आएका छन्। स्थायी घर हेटाैंडा भएका उनले काठमाडौंमा सवारीचालक भएर परिवार पाल्दै आएका थिए।

पत्नी र छोरासँग रमाइलोसँग घरगृहस्थी चलिरहेको थियो। तर पत्नी छोरासहित दोस्रो विवाह गरेर गएपछि उनी एक्लिए। शरीरमा तागत हुन्जेल गरेर खाए पनि उमेर ढल्किएसँगै आश्रममा बस्न थालेकाे उनी बताउँछन्। बालकै हुँदाखेरि छुट्टिएका छोरा सम्झेर उनी भावुक बने। बुवा खोज्दैखोज्दै छोरा आइपुगे पनि हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ।

सोही आश्रमका ९० वर्षीय लालबहादुर श्रेष्ठलाई भने चाडपर्वका बेला बुहारी भेट्न आउँछिन्। तर बुबाको मुख हेर्ने दिन छोराछोरी पनि भेट्न आए हुन्थ्यो भन्ने चाहना उनले मनभरि सजाएर राखेका छन्। स्थायी घर चित्लाङ बताउने श्रेष्ठका दुई सन्तान छन्। आश्रमम आएर बस्न थालेको कति वर्ष भयो भन्नेसमेत उनलाई थाहा छैन। ‘बुढाबुढी दुवैजना आश्रम बस्दै आएका थियौं। बुढी यही बितिन्,’ उनले विगत सम्झिए।

चन्द्रबहादुर थापा ।

भूकम्पमा हात भाँचिएर उपचारका लागि चावहिलस्थित एक अस्पतालमा आएका श्रेष्ठ घर नफर्की भौंतारिएर हिँड्ने क्रमका आश्रम आइपुगेका रहेछन्। पछि पत्नी खोज्दै आश्रममै आइपुगेको र सँगै बस्न थालेको उनले बताए। ‘छोराबुहारी, छोरीज्वाइँ काठमाडौंमा डेरामा बस्छन् तर मलाई भेट्न आउँदैनन्,’ उनले भने, ‘चाडपर्वको समयमा बुहारी कहिलेकाहीँ भेट्न आउँछिन्, छोराछोरी अहिलेसम्म आएका छैनन्।’

लालबहादुर श्रेष्ठ ।

छोराछोरी भेट्न आए हुन्थ्यो, घरमै लगेर राखे हुन्थ्यो भन्ने आशा पालेर उनी बसेका छन्। ‘छोराछोरी आएर म पाल्छु भनेर भन्यो भने जान पनि पाइन्थ्यो,’ उनले भावुक हुँदै भने, ‘जेजस्तो छ, त्यस्तैमा चित्त बुझाएर आफ्नै सन्तानसँग खुसीले बस्थें।’ बुबाको मुख हेर्ने दिनमा छोराछोरीको अनुहार हेर्न पाइएला भन्ने उनको आशा वर्षौंदेखि जीवितै रहेको अनुभूति गर्न गाह्रो पर्दैन।

छोराछोरीको अपहेलनामा परेर अन्य बाध्यताले आश्रममा आएर दिन काट्न विवश यी तीन ‘बा’ प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता धेरै बाआमा वृद्धाश्रममा सन्तानको सम्झना गर्दै समयका पानाहरू पल्टाउँदै बसिरहेका छन्। यतिखेर ६१ ‘आमा’ र ३८ ‘बा’ यो आश्रममा बस्छन्।

धेरै वृद्धवृद्धाका सन्तान नभएका तर सन्तान भएकाका पनि कोही सम्पर्कमा नभएको वृद्धाश्रमका प्रमुख ओमप्रसाद पाण्डे बताउँछन्। ‘कतिपय बाआमाले आफ्ना सन्तान छन् कि छैनन् भन्ने नै बिर्सिसके,’ उनले भने, ‘हामीलाई जानकारी भएको अवस्थामा सम्भव भएसम्म बाआमालाई छोराछोरीसँग  पुनर्मिलन गराउने गरेका छौं।’

बुढेसकालमा बाआमाले सन्तानलाई हर्दमा सम्झिरहे पनि कुनै पनि छोराछोरी बुबाआमा खोज्दै आश्रमसम्म आएको थाहा नभएको उनको भनाइ छ।

भिडियाे : कल्याण थापामगर ।

 

प्रकाशित मिति: १४:०१ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्