Kathmandu Press

काभ्रेमा तीन वर्षमा ३९२ ले गरे आत्महत्या, महिलाभन्दा पुरुष बढी

आर्थिक वर्ष ०७६/७७ देखि ०७८/७९ सम्म जिल्लाभित्र आत्महत्या गर्नेमा पुरुष दुई सय १६, महिला एक सय ५६, बालक आठ र बालिका १२ रहेका छन् ।
काभ्रेमा तीन वर्षमा ३९२ ले गरे आत्महत्या, महिलाभन्दा पुरुष बढी

काठमाडाैं, भदाै ४ : काभ्रेपलाञ्चोक जिल्लामा पछिल्ला तीन वर्षमा तीन सय ९२ व्यक्तिले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार, आर्थिक वर्ष ०७६/७७ देखि ०७८/७९ सम्म जिल्लाभित्र आत्महत्या गर्नेमा पुरुष दुई सय १६, महिला एक सय ५६, बालक आठ र बालिका १२ रहेका छन् ।

‘आर्थिक समस्या, पारिवारिक सम्बन्ध बिग्रनु र मानसिक तनावका कारण आत्महत्या गरेको बुझिन्छ । कतिले प्रेममा धोका खाएर डिप्रेसनका कारण, कतिले व्यापारमा घाटा बेहोरेका कारण, कतिले पढाइमा असफलता बेहोरका कारण पनि आत्महत्या गरेको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक डुण्डीराज न्यौपाने भन्छन्, ‘झुन्डिएर, विष खाएर, डुबेर आत्महत्या गर्ने गरेका छन् ।’

उनका अनुसार, ०७३/०७४ तिर आत्महत्या गर्नेमा महिला बढी थिए, अहिले पुरुष बढिरहेका छन् । पछिल्लो तीन वर्षमा काभ्रेपलाञ्चोकका १३ पालिकामा आत्महत्या गर्नेको तथ्यांक :

Hardik ivf

बनेपा ५९

बनेपा नगरपालिकामा पछिल्लो तीन वर्ष ५९ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये पुरुष ३७, महिला २०, बालक एक र बालिका एक रहेका छन् ।

प्रहरीका अनुसार, यस नगरपालिकामा आव ०७६/७७ मा १९ जना (पुरुष : १३, महिला : ६)ले, ०७७/७८ मा १६ जना (पुरुष : १०, महिला : ५, बालिका : १)ले र ०७८/७९ मा २४ जना (पुरुष : १४, महिला : ९, बालक : १)ले आत्महत्या गरे ।

धुलिखेल ६१

धुलिखेल नगरपालिकामा पछिल्लो तीन वर्षमा ६१ जना (पुरुष : ३७, महिला : २२, बालक : १, बालिका : १)ले आत्महत्या गरेको तथ्यांक छ । प्रहरीका अनुसार, यहाँ आव ०७६/७७ मा २१ जना (पुरुष : १३, महिला : ८)ले आत्महत्या गरेका थिए । त्यस्तै, ०७७/७८ मा पनि २१ जना (पुरुष : ११, महिला : ८, बालक : १, बालिका : १)ले र आव ०७८/७९ मा १९ जना (पुरुष :१३, महिला : ६)ले आत्महत्या गरेको तथ्यांक छ ।

पाँचखाल ३४

पाँचखाल नगरपालिकामा पछिल्लो तीन वर्षमा ३४ जनाले आत्महत्या गरे । यहाँ आव ०७६/७७ मा १७ जना (पुरुष : १०, महिला : ६ र बालक : १)ले, ०७७/७८ मा १० जना (पुरुष : ४ र महिला : ६) र ०७८/७९ मा ७ जना (पुरुष : १, महिला : ६) ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

पनौती ४५

पनौतीमा नगरपालिकामा पछिल्लो तीन वर्षमा ४५ जनाले आत्महत्या गरे । प्रहरीका अनुसार, आव ०७६/७७ मा १६ जना (पुरुष : १०, महिला : ४, बालक : १, बालिका : १) ले, ०७७/०७८ मा १६ जना (पुरुष : १०, महिला : ६) ले र ०७८/७९ मा १३ जना (पुरुष : १०, महिला : ३) ले आत्महत्या गरेका छन् ।

नमोबुद्ध ३०

नमोबुद्ध नगरपालिकामा पछिल्लो तीन वर्षमा ३० जनाले आत्महत्या गरे । आव ०७६/७७ मा १२ जना (पुरुष : ५, महिला : ४, बालक : २, बालिका : १) ले, ०७७/७८ मा १० जना (पुरुष : ३, महिला : ५, बालक : १, बालिका: १)ले र ०७८/७९ मा ८ जना (पुरुष : ५, महिला : २, बालिका : १) ले आत्महत्या गरेका थिए ।

मण्डनदेउपुर ३७

मण्डनदेउपुर नगरपालिकामा तीन वर्षमा ३७ जनाले आत्महत्या गरे । आव ०७६/७७ मा १३ जना (पुरुष : ४, महिला : ७, बालिका : २)ले, ०७७/७८ मा १३ जना (पुरुष : ९, महिला : ४)ले र ०७८/७९ मा ११ जना (पुरुष : ५, महिला : ४, बालिका : २) ले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।

बेथानचोक २५

बेथानचोक गाउँपालिकामा पछिल्लो तीन वर्षमा २५ जनाले आत्महत्या गरे ।

आव ०७६/७७ मा ८ जना (पुरुष : २, महिला : ६) ले, ०७७/७८ मा ६ जना (पुरुष : ३, महिला : २, बालक : १)ले र ०७८/७९ मा ११ जना (पुरुष : ३, महिला : ८) ले आत्महत्या गरेका थिए । ‘यस गाउँपालिका भने पुरुषको तुलनामा महिला दोब्बर हुनु घरेलुहिंसा हो,’ प्रवक्ता न्यौपानेले भने । उनी अविकसित ठाउँमा शिक्षाका अभावका कारण धेरै घरेलुहिंसा हुने ठान्छन् ।

रोशी २८

रोशी गाउँपालिकामा यो तीन वर्षमाा २८ जनाले आत्महत्या गरे । आव ०७६/७७ मा ८ जना (पुरुष : ५, महिला : ३) ले, ०७७/७८ मा १३ जना (पुरुष : ५, महिला : ७, बालिका : १)ले र ०७८/७९ मा ७ जना (पुरुष : ५, महिला : १, बालिका : १) ले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।

तेमाल २०

यहाँको तेमाल गाउँपालिकामा तीन वर्षमा २० जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । आव ०७६/७७ मा १२ जना (पुरुष : ६, महिला : ६)ले, ०७७/७८ मा ५ जना (पुरुष : २, महिला : ३) ले र ०७८/७९ मा तीनजना (पुरुष : २, महिला : १) ले आत्महत्या गरेका थिए ।

खानीखोला ८

खानीखोला गाउँपालिकामा तीन वर्षमा ८ जनाले आत्महत्या गरे ।
आव ०७६/७७ मा दुई महिलाले, ०७७/७८ मा ५ जना (पुरुष : ३, महिला : २) ले र ०७८/७९ मा एक पुरुषले आत्महत्या गरेको तथ्यांक छ ।

महाभारत ३

यहाँको महाभारत गाउँपालिकामा पछिल्लो तीन वर्षमा तीन पुरुषले आत्महत्या गरे । यो अवधिमा यहाँ प्रत्येक वर्ष एक पुरुषले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

चौँरीदेउराली २१

चौँरीदेउराली गाउँपालिकामा तीन वर्षमा २१ जनाले आत्महत्या गरे । आव ०७६/७७ मा ५ जना (पुरुष : २, महिला : ३) ले, ०७७/७८ मा ८ जना (पुरुष : ४, महिला : ४) ले र ०७८/७९ मा ८ जना (पुरुष : ६, महिला : २) ले आत्महत्या गरेका थिए ।

भुम्लु २१

यहाँको भुल्मु गाउँपालिमा तीन वर्षमा २१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । आव ०७६/७७ मा ५ जना (पुरुष : २, महिला : ३) ले, ०७७/७८ मा १० जना (पुरुष : ८, महिला : २)ले र ०७८/७९ मा ६ जना (पुरुष : ४, महिला : २) ले आत्महत्या गरेका थिए ।

आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष किन बढी ?

मनोविद् विनिता ढुंगेलका अनुसार, आर्थिक, सामाजिक, पारिवारिक समस्यामा छोटो समयमा गरिने गलत निर्णय हो, आत्महत्या । समाज परिवर्तन हुँदै जाँदा आफूलाई परिवर्तन गर्न नसक्नु, आर्थिक स्रोत कमजोर हुनु, पारिवारिक सम्बन्ध बिग्रनु, मानसिक तनाव बढ्नु, प्रेम सम्बन्ध बिग्रनु र घरेलुहिंसाका कारण पनि मानिस आत्महत्या गर्न प्रेरित भएको पाइएको उनी बताउँछिन् ।

‘महिलाले बाल्यकालदेखि स–साना समस्यालाई सहँदै आएकी हुन्छिन् । कुनै कुराले मन दुख्दा वा पीडा हुँदा महिलाले प्राय: आफन्त तथा मिल्ने साथीभाइलाई सुनाउँछन्,’ मनोविद् ढुंगेल भन्छिन्, ‘पुरुषमा भने आफ्ना समस्या सेयर गर्नुहुन्न, रुनुहुन्न भन्ने मानसिकता हुन्छ । त्यसकारण पुरुष आफ्ना पीडा मनमै दबाएर राख्ने गर्छन् ।’

महिलाले आफ्ना समस्या सुनाएर पीडा कम गर्छन् भने पुरुष पीडा मनमा दबाएर सहन नसकेरमा आत्महत्या गर्ने अवस्थामा पुग्ने उनी बताउँछिन् । ‘महिला भावुक हुन्छन् । महिलाले आत्महत्याको प्रयास गरे पनि स–सानामा कुरा, जिम्मेवारी सम्झेर आत्महत्या गर्न असफल हुन्छन्,’ उनी भन्छिन्, ‘तर, पुरुषले आत्महत्याको सोच बनाउनासाथ सफल पार्नतिर अग्रसर हुने गरेको पाइन्छ ।’

 

प्रकाशित मिति: १५:०६ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्