Kathmandu Press

पालिका अध्यक्ष फूलवतीको योजना : शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा जोड, महिलालाई आत्मनिर्भर

महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम र जनचेतनामूलक कार्यक्रम ल्यायौँ भने महिलालाई सशक्तीकरण गर्न सकिन्छ भन्ने अपेक्षा छ ।
पालिका अध्यक्ष फूलवतीको योजना : शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा जोड, महिलालाई आत्मनिर्भर

काठमाडाैं, भदाै ४ : फूलवती राजवंशीको राजनीतिक यात्रा विद्यार्थी जीवनबाट सुरु भएको हो । नेपाल विद्यार्थी संघको सदस्य, कांग्रेस क्रियाशील सदस्य, महिला संघ हुँदै अहिले उनी प्रदेश १ को प्रदेश सदस्य रहेकी छन् । भर्खरैको स्थानीय चुनावबाट उनी झापाको गौरीगन्ज गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छन् । पालिका अध्यक्ष भएसँगै विशेषतः शिक्षा, स्वास्थ्य, खानेपानी र बालबालिकाको क्षेत्रमा काम गर्ने योजना बनाएको उनी बताउँछिन् ।

हामीले पालिका अध्यक्ष राजवंशीलाई टेलिफोनबाट सोधेका थियौँ– तपाईंको राजनीतिक यात्रा कसरी सुरु भयो, राजनीतिमा लाग्दा कुनै अप्ठेरा आए कि, पालिकाको समृद्धिका लागि के कस्ता योजना ल्याउनुभएको छ ?

उनले भनिन्, ‘राजनीतिमा मात्र होइन, हरेक कुरामा संघर्ष गर्नुपर्ने हुन्छ । संघर्ष गर्‍यो भने र आफू सधैँ सही बाटोमा छ भने कसैले केही गर्न सक्दैन । राजनीतिमा अगाडि बढ्न महिलाका लागि सहज छैन । तर चुनौती छ भनेर महिलाले संघर्ष गर्न छाड्नु हुँदैन ।’

Hardik ivf

विद्यार्थी राजनीतिबाट...

सानो छँदा गाउँघरमा नेताले भाषण गरेको सुन्न उनलाई एकदमै मन पथ्र्याे । ‘नेताहरूले गरेको भाषण म ध्यान दिएर सुन्थेँ,’ ४६ वर्षीया राजवंशी भन्छिन्, ‘समाज सेवाको भावना ममा सानैदेखि थियो । राजनीतिमा सक्रिय भई समाज सेवा गर्न सकिन्छ भन्ने बुझेपछि म राजनीतितर्फ आकर्षित भएँ ।’

फूलवतीको जन्म झापाको साबिकको जुरोपानी गाविस– ६ मा भएको हो, किसान परिवारमा । उनको परिवारले नेपाली कांग्रेसप्रति आस्था राख्थ्यो । त्यसैले कक्षा ८ पढ्दै गर्दा (२०४६ मा) फूलवतीले नेपाली विद्यार्थी संघको सदस्यता लिइन् ।

उनको समयमा छोरीलाई पढाउने र आत्मनिर्भर बनाउने भन्ने सोच समाजमा आइसकेको थिएन । यद्यपि, उनले आइएसम्मको अध्ययन गरिन् ।

२०५२ सालमा उनको विवाह गौरीगन्ज गाउँपालिका– ६ का हरिप्रसाद राजवंशीसँग भयो । हरिप्रसाद पेसाले कृषक हुन् । विवाहपछि पनि उनले राजनीतिक यात्रा अगाडि बढाइरहिन् । महिला संघमा आबद्ध हुँदै अहिले उनी प्रदेश १ को प्रदेश सदस्य पनि रहेकी छन् । ‘मेरो राजनीति पाटोप्रति माइतीमा कसैको आपत्ति थिएन । विवाहपछि पनि कुनै रोकतोक भएन,’ उनी भन्छन्, ‘हरेक कुरामा परिवारको साथ अनि सहयोग रह्यो । विवाह गरेकै वर्ष मैले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी थिएँ ।’

राजनीतिमा सक्रिय रहँदा महिला लगायतको हकहितमा काम गर्दै आएको उनी बताउँछिन् । ‘कुनै पनि महिला हिंसामा परेमा वा कसैलाई कुनै प्रकारको सहयोग गर्नुपरेमा म कहिल्यै पछाडि हटिनँ,’ उनी भन्छिन्, ‘त्यसैले पनि यो निर्वाचनमा मैले जनताबाट साथ पाएँ र अध्यक्षमा निर्वाचित भएँ ।’

शिक्षा, स्वास्थ्य, खानेपानीको समस्या

ग्रामीण भेग भएकाले अहिले पनि आफ्नो पालिकाभित्र थुप्रै समस्या रहेको अध्यक्ष राजवंशी बताउँछिन् । उनका अनुसार, १० वर्षअघिको पालिका र अहिलेको पालिका हेर्दा थुप्रै परिवर्तन देख्न सकिन्छ । फेरि पनि शिक्षा, स्वास्थ्य, सडकको सवालमा थुप्रै काम गर्न बाँकी छ । ‘अहिले खानेपानीको समस्या निराकरण गर्नका लागि भने पानीको ट्यांकी र पाइप विस्तार पनि भइरहेका छन्,’ उनले भनिन् ।

समस्याको प्रकृति हेरी समाधानमा जोड दिँदै अगाडि बढ्ने उनको योजना छ । ‘स्वास्थ्यलाई मध्यनजर गर्दै अहिले पालिकाभित्र १५ शय्याको अस्पताल बनिसकेको छ, अब यसै अस्पताललाई व्यवस्थापन गर्दै लैजाने सोच छ,’ उनले भनिन् ।

सिँचाइ

पालिकाको प्रमुख उत्पादनमा धान, गहुँ र मकै पर्छ । तर, यहाँ सिँचाइको समस्या छ । त्यसैले कृषकको खेतखेतमा विद्युतीय मोटरको व्यवस्थापन गर्ने उनको सोच छ । ‘यहाँका कृषकले पशुपालन र माछापालन पनि गर्दै आएका छन्,’ अध्यक्ष राजवंशी भन्छिन्, ‘कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न र कृषकलाई प्रोत्साहन हेतु कृषकको व्यवसाय हेरी के कति अनुदान दिन सकिन्छ, त्यसलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौँ ।’

महिला हिंसा

उनका अनुसार, पालिकामा अहिले पनि महिलाहरू आत्मनिर्भर छैनन् र कतिपयले विभेद र हिंसा भोगिरहेका छन् ।

महिलाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका सीपमूलक तालिम र जनचेतनामूलक कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ छ । ‘यस्ता कार्यक्रम ल्यायौँ भने केही न केही रूपमा भए पनि महिलालाई सशक्तीकरण गर्न सकिन्छ भन्ने अपेक्षा छ,’ उनले भनिन् ।

उनको बुझाइमा, अशिक्षाका कारण कतिपय महिलाले हिंसा सहेर बस्ने गर्छन् । त्यसैले उनी महिलाका लागि जनचेतनात्मक कार्यक्रम ल्याउने योजनामा उनी छन् ।

 

प्रकाशित मिति: १०:४४ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्