सुदूरपश्चिममा धुमधामले मनाइने ओल्के पर्व, यस्तो छ धार्मिक मान्यता
काठमाडौं, भदौ १ : ओल्के पर्वलाई सम्मान र सद्भावनाको पर्व मानिन्छ । भाद्र संक्रान्तिका दिन सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यो पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । यो पर्वलगत्तै दशै, तिहार जस्ता ठुल्ठूला चाड आउने भएका कारण यसलाई पर्वको सुरुवातका रुपमा लिइन्छ ।
कैलाली जनपुस्तकालयका अध्यक्ष तथा संस्कृतिविद् डा टिएन जोशीका अनुसार, कृष्ण भगवानले राक्षसी पुतनाको विनास गरेपछि असत्य माथि सत्यको जित भएको खुशीयालीमा ओल्के पर्व मनाउन थालिएको धार्मिक मान्यता छ । त्यस्तै वर्षायाम्मा दादुरा, झाडापखला, हैजा र लुतोजस्ता रोग लाग्ने भएकाले ति रोगबाट बाँचिएको खुशी साँट्न पनि ओल्के पर्व मनाइने उनको भनाई छ ।
ओल्के पर्वको सगुन
संस्कृतिविद् जोशीका अनुसार ओल्के सुदूरपश्चिममा मनाइँदै आएको पुरानो पर्व हो । यो पर्वमा मान्यजनलाई सगुन दिने प्रचलन रहेको छ । ‘ओल्केमा आफूभन्दा ठूला व्यक्तिलाई सगुनको रुपमा कर्कलो, काँक्रो, दही, दुध, मासुको डुब्का, फाडोभात, भक्के रोटी र हरियो साग दिइन्छ,’ संस्कृतिविद् जोशीले भने ।
सुदूरपश्चिमबाट वैदेशिक रोजगारका शिलशिलामा भारतलगायत अन्य मुलुक जाने क्रम परापूर्वकालदेखि नै चल्दै आएको हो । संस्कृतिविद् जोशीका अनुसार, घरपरिवारबाट टाढा भएका व्यक्तिहरुलाई ओल्के पर्वले नै परिवार नजिक ल्याउथ्यो, आपसी माया र सद्भाव साट्ने अवसर जुराउँथ्यो ।
दशै तिहारमा जस्तै सुदूरपश्चिममा ओल्के पर्वमा पनि पिङ खेलिन्छ । ‘आजकै दिनमा पहाडी क्षेत्रमा सल्ला र तराई क्षेत्रमा बाँसको लिंगो गाड्ने चलन रहेको छ । गाडेको लिंगोलाई असोज १ गते गाउँभरिका मानिस जम्मा भएर जलाउने चलन छ, जसलाइ बुढी पोल्नु पनि भनिन्छ,’ संस्कृतिविद् जोशीले भने।
समय अनुसार ओल्केको मान्यता घट्दै
पछिल्लो समय ओल्का पर्वको महत्व र मान्यता क्रमशः घट्दै गएको संस्कृतिविद् जोशी बताउँछन् । बसाइँसराई र पाश्चात्य संस्कृतिको प्रभावले गर्दा ओल्के पर्वको महत्व घट्दै गइरहेको उनले बताए ।
तर, यसपाली प्रदेश सरकारले ओल्के पर्वको महत्वलाई बुझेर प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सार्वजनिक बिदा दिँदा सस्कृती जोगाउँनुपर्छ भन्ने भावना विकास हुन्छ भने अर्कातिर नयाँ पिढीले ओल्केको महत्व बुझ्ने संस्कृतिविद् जोशी बताउँछन्।
‘संघियता र प्रदेश सरकार गठित हुनुको मुख्य उदेश्य पहिचानका लागि हो,’ जोशी भन्छन्, ‘पहिचान भनेको भाषा, कला, साहित्य र सस्कृती हो । हाम्रो भाषा नै रहेन भने त्यो संघियताको के अर्थ,’ नयाँ पिढीलाई संस्कृतिको बारेमा जानकारी गराउन विद्यालय तहको पाठ्यपुस्तकमै समावेश गर्नुपर्ने जोशीले बताए ।