Kathmandu Press

पनौतीमा दुई वर्षमा २९ ले गरे आत्महत्या

पनौती नगरपालिकाभित्र दुई वर्षमा ९ महिला र २० पुरुषले आत्महत्या गरेका छन्। ०७७/७८ मा ७ महिला र ९ पुरुषले आत्महत्या गरेका थिए भने ०७८/७९ मा दुई महिला र ११ पुरुषले आत्महत्या गरे। 
पनौतीमा दुई वर्षमा २९ ले गरे आत्महत्या

काठमाडौं, भदौ १ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ का ४४ वर्षीय पुरुषले व्यापारमा घाटा बेहोरेका कारण गत वर्षको माघमा झुन्डिएर आत्महत्या गरे। त्यस्तै, वडा ८ का ५९ वर्षीय पुरुषले डिप्रेसनका कारण गत वर्षको पुसमा विष सेवन गरेर आत्महत्या गरेको उपप्रमुख गीता बन्जारा बताउँछिन्। ‘गत वर्षको भदौमा पनि वडा ७ का ३२ वर्षीय पुरुषले पारिवारिक समस्याका कारण विष सेवन गरेर आत्महत्या गरे,’ उनले भनिन्। 

पनौती नगरपालिकाभित्र पछिल्ला दुई वर्षमा २९ जनाले आत्महत्या गरेका छन्। ०७७/७८ मा १६ जनाले र ०७८/७९ मा १३ जनाले आत्महत्या गरेको पालिकाको तथ्यांक छ। ‘नगरवासीले आत्महत्या किन गरेँ भनेर हामीले अध्ययन ग¥यौँ। मानसिक तनाव, आर्थिक समस्या र घरायसी समस्याका कारण आत्महत्या गरेको पा¥यौँ,’ उनी भन्छिन्, ‘त्यसैले स्थानीयवासीलाई आत्मबल बढाउन हप्तामा दुई–तीनपटक स्वास्थ्य परीक्षण गराउन थालेका छौँ।’ 

अघिल्लो कार्यकाल पनि उपप्रमुख रहेकी बन्जाराका अनुसार, पाँच–सात वर्ष अगाडिसम्म पनौतीमा मासिक चार–पाँच जनाले आत्महत्या गर्थे। अघिल्लोपटक उपप्रमुख बनेपछि नै उनले आत्महत्या गर्नेको तथ्यांक र कारण खोज्न थालेकी थिइन्। ‘नगरवासी आत्महत्या नगरून् भनेर पहिलो कार्यकालमै प्रेरणादायी कार्यक्रम ल्याएका थियौँ,’ उनी भन्छिन्, ‘नगरवासीलाई आत्मनिर्भर बनाउने सीपमूलक कार्यक्रम पनि गरिरहेका छौँ। आगामी दिनमा मनोविद् ल्याएर नगरवासीलाई परामर्श दिने पनि योजना छ।’

Hardik ivf

नगरवासी आत्मनिर्भर भए आत्महत्या घटेर जाने उनको बुझाइ छ। आर्थिक वर्ष ०७७/७८ को तुलनामा ०७८/७९ मा आत्महत्या गर्नेको संख्या घटेको उनी बताउँछिन्। 

किन गरे आत्महत्या ? 

उपप्रमुख बन्जाराका अनुसार, आर्थिक वर्ष ०७७/७८ मा धेरैजसोले आर्थिक र घरायसी समस्याका कारण आत्महत्या गरेको देखिन्छ। ०७७/७८ मा ६ जनाले घरायसी समस्याका कारण, पाँचजनाले आर्थिक समस्याका कारण, तीनजनाले मानसिक तनावका कारण र एकजनाले परीक्षामा असफल भएका कारण आत्महत्या गरेका छन्। एकजनाको भने आत्महत्याको कारण खुल्न नसकेको उपप्रमुख बन्जारा बताउँछिन्। ‘अनुसन्धानबाट घरायसी र आर्थिक समस्याका कारण धेरैले आत्महत्या गरेको पाइएपछि प्रेरणादायी कक्षा सञ्चालन गरेका छौँ,’ उनी भन्छिन्, ‘नगरवासीको समस्यालाई नजिकबाट बुझ्ने कोसिस गरेका छौँ।’

उनका अनुसार, ०७८/७९ मा तीनजनाले डिप्रेसनका कारण, दुईजनाले प्रेममा धोका खाएका कारण, दुईजनाले घरायसी समस्याका कारण, एकजनाले व्यापार घाटाका कारण, एकजनाले मानसिक तनावका कारण, एक जनाले पारिवारिक समस्याका कारण आत्महत्या गरेको उपप्रमुख बन्जारा बताउँछिन्। ‘यस वर्ष तीनजनाको आत्महत्याको कारण भन्ने खुल्न सकेन,’ उनले भनिन्। 

महिलाभन्दा पुरूष धेरै

पनौती नगरपालिकाभित्र दुई वर्षमा ९ महिला र २० पुरुषले आत्महत्या गरेका छन्। ०७७/७८ मा ७ महिला र ९ पुरुषले आत्महत्या गरेका थिए भने ०७८/७९ मा दुई महिला र ११ पुरुषले आत्महत्या गरे। 

‘आर्थिक समस्या र व्यापारमा नोक्सान बेहोर्नुपरेका कारण धेरै पुरुषले आत्महत्या गरेको देखिन्छ,’ उपप्रमुख बन्जारा भन्छिन्, ‘महिलाले भने घरायसी समस्या र पारिवारिक समस्याका कारण आत्महत्या गरेको देखिन्छ।’

भिन्न–भिन्न कारण आत्महत्या गरेको पाइएकाले आर्थिक र घरायसी समस्यालाई जोड दिएर कार्यक्रम ल्याउने तयारीमा पालिका रहेको उपप्रमुख बन्जाराको भनाइ छ।
 
 

प्रकाशित मिति: ११:१८ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्