भीमदत्त नगरपालिकामा २०० कृषकले केराखेती गर्छन्, अधिकांश विदेशबाट फर्केकाहरु छन्
बुवाले केराखेतीबाट राम्रै आम्दानी गरेको देखेपछि हरीशलाई विदेश जाने मन भएन, बरु बुवाले थालेको व्यवसायलाई विस्तार गर्ने सोच बनाए ।२०७४ मा थप एक बिघा जमिन भाडामा लिएर उनले केरा रोपे । केराबाट उत्पादित घाँसको पनि उपयोग होस् भनी डेढ वर्ष अघिदेखि उनले बाख्रापालन समेत गर्दै आइरहेका छन्।काठमाडौं, साउन ३१ : कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ का हरीश खडायत रोजगारीका लागि २०७२ सालमा मलेसिया गएका थिए । त्यहाँ उनले सोचेजस्तो कमाइ गर्न पाएनन् । जसोतसो दुई वर्ष काम गरेर उनी घर फर्के । घरमा उनका बुवा प्रेमबहादुरले आफ्नै एक बिघा जमिनमा केराखेती गर्दै आइरहेका थिए । बुवाले केराखेतीबाट राम्रै आम्दानी गरेको देखेपछि हरीशलाई विदेश जाने मन भएन, बरु बुवाले थालेको व्यवसायलाई विस्तार गर्ने सोच बनाए।
२०७४ मा थप एक बिघा जमिन भाडामा लिएर उनले केरा रोपे । केराबाट उत्पादित घाँसको पनि उपयोग होस् भनी डेढ वर्ष अघिदेखि उनले बाख्रापालन समेत गर्दै आइरहेका छन् । उनको ‘अमर कृषि फर्म’मा अहिले ५० वटा बाख्रा छन् । थप १० कट्ठा जमिन भाडामा लिएर उनले बाख्राका लागि घाँस पनि रोपेका छन्।
उत्पादित केरा उनले महेन्द्रनगर बजारमा बिक्री गर्ने गर्छन् । ‘वार्षिक १०–१२ लाख रुपैयाँ आम्दानी हुन्छ,’ उनले भने, ‘केराखेतीका लागि आवश्यक मलको व्यवस्था समयमै नहुँदा केही समस्या भोग्नुपरेको छ।’
अहिलेसम्म उनले ‘मुख्यमन्त्री नमुना कृषि गाउँ केरा कृषक समन्वय समिति’बाट केराको बिरुवामा ५० प्रतिशत अनुदान पाएका छन् । त्यसबाहेक अहिलेसम्म कुनै पनि निकायबाट केही सहयोग नपाएको उनी बताउँछन् ।
वडा ८ कै हर्कबहादुर धामीले विगत दुई वर्षदेखि २५ कट्ठा जमिनमा केराखेती गर्दै आइरहेका छन् । हर्कले मलेसियाबाट फर्केपछि केराखेती सुरु गरेका हुन् । ‘गाउँमा धेरै किसानले केराखेतीबाट आम्दानी गरेको देखेपछि मैले सुरुमा आफ्नै १२ कट्ठा जमिनबाट सुरु गरेको थिएँ । पछि १३ कट्ठा जमिन भाडामा लिएर केराखेती बढाएँ,’ उनी भन्छन्, ‘अहिलेसम्म एकपटक मात्र उत्पादित केरा बिक्री गरेको छु । सुरुको लटमा सोचेजति नाफा भएन तर विदेशको सरह कमाइ भयो । यसपालि राम्रै आम्दानी हुने आशा गरेको छु।’
तिलगेनी खप्तड सहकारीमार्फत उनले एकपटक केराको बिरुवामा ५० प्रतिशतका दरले अनुदान पाएका थिए । त्यसबाहेक कुनै पनि संस्थाबाट केही सहयोग नपाएको उनको भनाइ छ । ‘सहकारीबाट कृषि औजार आउने भएकाले किसानले लाभ लिन पाएका छैनौँ । औषधि छर्ने ट्याङ्की पनि आधा मूल्य तिररे ल्याउनुपर्छ । त्यो पनि वास्तविक किसानले पाउँदैनन् । जुन अगुवा छन्, उनैले अनुदान र कृषि औजार पाउने गरेका छन्,’ उनले भने । केराबाट उत्पादन हुने घाँसको सदुपयोगका लागि उनले सातवटा बाख्रा पालेका छन्।
वडा ८ कै देवराज भट्ट रोजगारीका लागि दुईपटक मलेसिया गएका थिए । यही वैशाखमा घर फर्केपछि उनले पनि केराखेती सुरु गरेका छन् । ११ कट्ठा जमिनबाट केराखेती सुरु गरेका उनी आम्दानी राम्रो भए थप जग्गामा केरा रोप्ने योजनामा छन्।
नगरपालिकामा २०० कृषक
भीमदत्त नगरपालिकाका कृषिअधिकृत कृष्णदत्त पाण्डेका अनुसार, भीमदत्त नगरपालिकामा ७५ हेक्टर जमिनमा केराखेती हुँदै आएको छ। यहाँका करिब दुई सय कृषकले केराखेती गर्दै आएका छन् । ‘केराखेतीका लागि यहाँको माटो उपयुक्त छ,’ अधिकृत पाण्डे भन्छन्, ‘आम्दानी राम्रो हुने भएकाले धेरै कृषक आधुनिक केराखेतीतर्फ आकर्षित भएका छन् । केरामा आत्मनिर्भर हुने दिशातर्फ हामी छौँ।’
उनका अनुसार, नगरपालिकाले पहिले कृषकलाई थोपा सिँचाइ र प्राविधिक रुपमा सहयोग गर्दै आएको थियो । तर पछिल्ला दुई वर्षदेखि केराखेतीका सम्बन्धमा प्रदेश सरकारले हेर्न थालेकाले नगरपालिकाबाट कृषकलाई प्राविधिकबाहेक अन्य सहयोग नगरिएको उनी बताउँछन्।
मलको समस्या यस नगरपालिकाको मात्र नभई पूरै राज्यको भएको उनी बताउँछन् । ‘त्यसमाथि सुदूरपश्चिम प्रदेश सबै प्रदेशको तुलानमा पिछडिएको छ, त्यसैले यहाँ मलको समस्या पनि अन्य प्रदेशको तुलनामा बढी छ,’ उनले भने, ‘प्रांगारिक मलको उत्पादनमा हाम्रो जोड रहनेछ।’