Kathmandu Press

भक्तपुरमा द्वारकाधाम निर्माण हुँदैै, पाथीभरा देवी स्थापनापछि दैनिक हजार दर्शनार्थी 

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शनका लागि पुग्न नसक्ने भक्तजनका लागि लक्षित गरी पाथीभारा देवीको मूर्ति स्थापना गरिएको थियो । दर्शनार्थी बढेसँगै स्थानीयवासीले द्वारकाधाम निर्माणमा चासो देखाउन थालेका हुन् । 
भक्तपुरमा द्वारकाधाम निर्माण हुँदैै, पाथीभरा देवी स्थापनापछि दैनिक हजार दर्शनार्थी 

काठमाडौं, साउन ३० : भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुमा पनि ताप्लेजुङमा जस्तै  पाथीभारा देवीको मूर्ति स्थापना गरिएको छ । ०७५ मा स्थापित यस देवीको दर्शन गर्न दैनिक एक हजार भक्तजन आउन थालेपछि यहाँ भारतको गुजरातस्थित द्वारकाधीशजस्तै द्वारकाधामको निर्माण थालिएको छ ।

वडा ७ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा भन्छन्, ‘सूर्यविनायक नगरपालिकाले धार्मिक पर्यटन प्रवद्र्धनका लागि धार्मिक स्थल तथा पर्यटकीय गतव्य निर्माण गरिरहेको छ । पाथीभराकै परिसरमा करिब पाँच रोपनी क्षेत्रफलमा २० करोड रुपैयाँ लागतमा द्वारकाधाम निर्माण  थालिएको  छ ।’  

उनका अनुसार, ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शनका लागि पुग्न नसक्ने भक्तजनका लागि लक्षित गरी पाथीभारा देवीको मूर्ति स्थापना गरिएको थियो । दर्शनार्थी बढेसँगै स्थानीयवासीले द्वारकाधाम निर्माणमा चासो देखाउन थालेका हुन् । 

Hardik ivf

तीनै तहको सरकार र दाताहरूबाट सहयोग संकलन गरी द्वारकाधाम निर्माण गर्ने योजना रहेको वडाध्यक्ष सापकोटा बताउँछन् । ‘पाथीभरा मन्दिर पनि नगरपालिका र दाताहरुको सहयोगमा निर्माण गरेका हौँ । द्वारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा बनाउँछौँ । भारतको गुजरातस्थित प्रसिद्ध द्वारकाधीशजस्तै आकृतिमा निर्माण गर्नेछौँ ।’

यहाँस्थित पाथीभरा मन्दिरका मूल पूजारी अरबिन्द शास्त्री नेपालकै पहिलो द्वारकाधाम निर्माण गर्न लागेकामा खुसी छन् । द्वारकाधामसँगै पाथीभारा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरूको मूर्ति स्थापना गर्ने उनले बताए । 

वडाध्यक्ष सापकोटाका अनुसार, धाम निर्माणका लागि छुट्याइएको पाँच रोपनी जग्गामध्ये तीन रोपनी जग्गा लामो समयदेखि स्थानीय अर्जुन बस्नेतले भोगचलन गर्दै आएका थिए । धाम बन्ने भएपछि उनले भोगचलन गर्दै आएको जग्गा छाड्न सहमत भइसकेका छन्। 

पुजारी शास्त्रीको संकल्प

पुजारी शास्त्रीका अनुसार, ०७२ मा पाँच वर्षको अखण्डदीप प्रज्ज्वलन गरी गुण्डुमा पाथीभरा देवी मूर्ति स्थापना कार्य सुरु भएको थियो भने ०७५ मा सबा करोड बत्ती बालेर निर्माण कार्य सुसम्पन्न गरिएको थियो । 

गौ संरक्षण केन्द्रले द्वारकाधाम निर्माणका लागि पहल गरिरहेको छ । केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपाने भन्छन्, ‘पाथीभरा मन्दिर निर्माण गर्ने बेला पुजारी (शास्त्री)ले द्वारकाधाम निर्माण गर्ने संकल्प लिनुभएको थियो । निर्माण कार्यको जिम्मा भने हामीले लिएका छौँ । पाथीभरा पनि हामीले नै निर्माण गरेका थियौँ ।’ 

उनका अनुसार, पाथीभरा मन्दिरका लागि ०७० सालमा विभिन्न स्थानमा लगाएको पुराणबाट केही रकम संकलन भएको थियो । त्यसपछि वडा कार्यालय, स्थानीयवासी, प्रदेश सरकार, दाताका सहयोग लिएर पाथीभरा देवी स्थापना गरिएको हो । द्वारकाधाम पनि त्यसैगरी सबै जुटाइने केन्द्रका अध्यक्ष न्यौपाने बताउँछन् । ‘साइत जुराएर निर्माण कार्य थालनी गरेको दिनमै १० लाख रुपैयाँ सहयोग संकलन भएको छ,’ उनी भन्छन्, दाताहरुले नगद तथा जिन्सी सामान दिएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।’ 

सहयोग जुटाउन सांसद महेश बस्नेत, पुजारी शास्त्री, स्थानीयवासी खट्ने उनी बताउँछन् । ‘छिटोमा तीन वर्ष र ढिलामा पाँच वर्षमा द्वारकाधाम बनाइसक्छौँ,’ उनले भने, ‘मन्दिर आसपासमा गौ संरक्षण गर्ने संस्कृत विद्यालय स्थापना गर्छौं ।’

धार्मिक पर्यटन प्रवर्धन हुने

धार्मिक क्षेत्रको निर्माण गर्दा पर्यटक बढ्ने र नगरवासीको आर्थिक स्तरमा वृद्धि हुने  केन्द्रका अध्यक्ष न्यौपाने बताउँछन् । ‘अबको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटन हो, त्यसैले पर्यटक बढाउनकै लागि धार्मिक स्थल तथा अन्य गतव्य हुन आवश्यक छ,’ उनले भने, ‘नेपालमै पहिलोपटक द्वारकाधाम निर्माण हुँदा पर्यटको घुइँचो लाग्ने छ ।’

पाथीभरा देवीको स्थापना गरेसँगै अहिले गुण्डु क्षेत्रमा  चहलपहल बढेको छ । पाथीभरा देवी स्थापना भएसँगै स्थानीयले फूलपातीका पसल, खाजापसल राख्न पाएको वडा ७ का वडाध्यक्ष सापकोटा बताउँछन् । ‘स्थानीयवासीले आफ्ना उत्पादन समेत प्रवद्र्धन र बिक्री गर्दै आएका छन्,’ उनले भने,  ‘सुन्दर र रमणीय स्थानमा देवीको मूर्ति स्थापना भएको  छ । द्वारकाधाम निर्माण हुँदै छ । बिस्तारै आन्तरिक मात्र नभई बाह्य पर्यटन बढ्ने अपेक्षा गरेका छौँ ।’ 
 

प्रकाशित मिति: १५:०७ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्