Kathmandu Press

‘पहिला विदेशी पर्यटकमा रमायौं, अब स्वदेशी पर्यटकमै निर्भर बन्न लाग्छौं’

अहिले ठमेलमा दैनिक ३० प्रतिशत नेपाली पर्यटक पाउन थालिएको छ । स्वदेशी पर्यटकबाट व्यवसाय धान्न सके भने विदेशी पर्यटकबाट नाफा कमाउन सक्छौँ ।
‘पहिला विदेशी पर्यटकमा रमायौं, अब स्वदेशी पर्यटकमै निर्भर बन्न लाग्छौं’

काठमाडाैं, साउन २८ :ठमेल पर्यटन विकास परिषद्को नेतृत्वमा भविश्वर शर्मा आएका छन् । यसअघि परिषद्को उपाध्यक्ष पदमा बसेर काम गरिसकेका शर्मा भन्छन्, ‘अघिल्लोपटक कोभिडका कारण सोचे अनुरूप काम  भएनन् । कोभिड पछाडि हामीलाई अनुभव भयो कि स्वदेशी पर्यटकमा पनि निर्भर हुन सक्ने रहेछौँ । स्वदेशी पर्यटकबाट व्यवसायीले लगानी धान्न सके भने विदेशी पर्यटकबाट नाफा कमाउन सक्नेछौँ ।’

प्रस्तुत छ, ठमेलको पर्यटन विकासका सन्दर्भमा शर्मासँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले गरेको वार्ताको सम्पादिन अंश:

भर्खरै यहाँ ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा निर्वाचित हुनुभएको छ, यहाँलाई बधाई छ, हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

Hardik ivf

निर्वाचनअघि यहाँका मतदाता र घरधनीसँग केही योजना र प्रतिबद्धता व्यक्त गरेको थिएँ । त्यसलाई कसरी पूरा गर्न सकिन्छ भनेर होमवर्क गरिरहेको छु । ठमेल पर्यटन विकास परिषद्को आफ्नो बजेट छैन । हाम्रा जे समस्या छन्, तिनको समाधान गर्ने निकाय पनि छन्, त्यहाँ गएर समस्या समाधानका लागि पहल गरिरहेका छौँ ।

ठमेलका सबै सडकलाई कालोपत्रे गरिदिन काठमाडौं महानगरपालिकालाई भनिरहेका छौँ । नगरप्रमुख बालेन शाहले ठमेलका सडक कालोपत्र गरिदिने प्रतिबद्धता गरेका छन् । त्यस्तै, विभिन्न लाइनका तार व्यवस्थापन गर्न सेवादायी कम्पनीलाई आग्रह गरिरहेका छौँ । सम्बन्धित निकायले तीन–चार महिनामा तार हटाउने प्रतिबद्धता समेत दिएका छन् । तीन–चार महिनापछि ठमेल आउने पर्यटकले परिवर्तन भएको महसुस हुने गरी काम गर्ने योजना छ ।

ठमेलमा तार व्यवस्थापन कसरी गर्ने, सिसिक्यामेरा कहाँ–कहाँ राख्न सकिन्छ भनेर होमवर्क गरिरहेका छौँ ।

यसअघि पनि तपाईं कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो, त्यतिबेला ठमेलको पर्यटन विकासमा के कति काम भए ?

अघिल्लो कार्यकालमा कोभिडका कारण सोचेजस्तो काम गर्न सकिएन । त्यति बेला ठमेल प्रवेश गर्ने पर्यटकले सञ्चयकोष अगाडिका तारहरुको फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्थे, दुई सय वर्षअघि हाम्रो अवस्था यस्तै थियो भनेर । त्यसपछि वडाध्यक्ष र हामी तार व्यवस्थापनमा लागेका थियौँ, कोभिड सुरु भइहाल्यो ।

लकडाउनका कारण विभिन्न स्थानमा फसेका पर्यटकको उद्धारमा लाग्यौँ । कोभिडका व्यवसायी विस्थापित हुन लागेका कुरा उठ्न थाल्यो । त्यसैले ठमेलका व्यवसायी र घरधनीसँग भाडादर मिलाउनतर्फ पनि लाग्यौँ । त्यस्तै, पर्यटन क्षेत्रका व्यवसायी, घरधनी, मजदुरलाई कोभिड विरुद्धको खोप दिने पहल भयो ।

भविश्वर शर्मा

पछिल्ला दुई महिना नेपाल भित्रिने पर्यटकको संख्या आशालाग्दो छ । पर्यटन क्षेत्रका व्यवसायीले पनि तत्काल पर्यटक बढ्लान् भन्ने अपेक्षा गरेका थिएनन् तर बढ्यो । पर्यटक भित्र्याउनका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रचार–प्रसार गरिरहेका थियौँ । पर्यटकलाई आकर्षित गर्न पहल गरिरहेका छौँ । बर्खाको समयावधि सकिएपछि बाटाहरू खुल्छन् र पर्यटक आउँछन् भन्ने आशा छ ।

१५–२० दिन यता भने संक्रमण दर बढिरहेको छ । अधिकांशले भ्याक्सिन लगाइसकेका छन् । त्यसैले यसपालि संक्रमणको असर त्यति त्यति नपर्ला र पर्यटक भित्रिएलान् भन्ने आशा छ ।

अहिले पनि होटल बुकिङ लगभग ५० प्रतिशत भन्दा बढी छन् । त्यसकारण कोरानाको दर कम हुँदा पर्यटकका आगमन राम्रै हुने अपेक्षा व्यवसायीको छ ।

फेक रेस्क्युका घटना पनि बेला–बेला बाहिर आउने गर्छन् नि ?

रेस्क्युको काम परिषद्को क्षेत्राधिकार बाहिरको कुरा हो । फेक रेस्क्युसँग जोडिने अन्य संघसंस्था छन् । उच्च पदमा पहुँच भएकाले फेक रेस्क्यु गरिरहेको हल्ला छ । खासगरी पर्यटकलाई खानपानका माध्यमबाट जानी–जानी बिरामी बनाउने, हजार डलरमा हुने रेस्क्युका लागि ५० हजार डलरसम्म लिने गरेको हल्ला छ । विदेशबाट आउने पर्यटकलाई बिमा नगरिदिने घटना देखिएका छन् । यस्ता घटना न्यूनीकरणका लागि दबाब दिने काम परिषद्ले गरिरहेको छ ।

कोभिडका कारण पलायन हुने व्यवसायीका लागि परिषद्ले के गर्‍यो ?

ठमेलमा १० हजारभन्दा बढी व्यवसायी र ८० हजार हाराहारीमा मजदुर छन् । कोरानाका कारण ठुल्ठूला व्यवसायी विस्थापित भएनन् । दुई–चारवटा होटल र दुई–चारवटा रेस्टुरेन्ट मात्र ठमेलबाट पलायन भएका हुन् । त्यतिबेला खाली भएका कोठा र सटरको तथ्यांक हेर्दा करिब सात सयको हाराहारीमा थियो । ठमेल छाडेका व्यवसायी सबै विस्थापित भएका भने होइनन् । कतिपय ट्रेकिङ, ट्राभलका व्यवसायीले आफ्नो घर वा डेराबाटै काम गरेका थिए ।

एक सयको हाराहारीमा व्यवसायी विस्थापित भएको अनुमान छ । नत्र अन्य व्यवसायी ठमेल छाडेर अन्तै व्यापार, व्यवसाय गरिरहेका छन् । कोभिडका बेला कतौटी भएका मजदुर पुनः काममा फर्किसकेका छन् । अहिले मजदुरका समस्या त्यति छैनन् ।

घरबेटी र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने भन्नुभएको थियो, खासमा घरबेटी र व्यवसायीको समस्या के हो ?

घरधनी र व्यवसायीबीच त्यति ठूलो समस्या होइन । सामान्य लेनदेनका समस्या हुन् । कोभिडका बेला भाडाको विषयलाई लिएर विवाद भएको थियो । त्यस्ता सामान्य विवादलाई हामीले आपसी छलफलमा मिलाउन खोजेका छौँ ।

ठमेललाई पर्यटकको केन्द्रबिन्दु बनाउन घरबेटी र व्यवसायीबीच सुमधुर सम्बन्ध आवश्यक छ । त्यसका लागि परिषद्ले पुलको भूमिका खेलिरहेको छ ।

विशेषगरी घरधनी र व्यवसायीबीच नङ र मासुको जस्तो सम्बन्ध बनाउन पहल गरिरहेका छौँ । सम्बन्ध सुमधुर बनाउन अभियान नै चलाउने योजना छ ।

अध्यक्षमा उम्मेदवारी दिँदा ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउने भन्नुभएको थियो, त्यो कसरी सम्भव छ ?

कोभिडपछि हामीले ‘ठमेलमा जाऔँ, ठमेलमा बस्यौँ, ठमेलमा घुम्यौँ’ भनी प्रचार–प्रसार गरेका छौँ । ठमेललाई आन्तरिक तथा बाहय पर्यटकको केन्द्र बनाउने हाम्रो अभियान रहँदै आएको छ । कोभिडअगाडि आन्तरिक पर्यटकलाई त्यति प्राथमिकता दिएका थिएनौँ । विदेशी पर्यटकमै रमाउने र उनीहरुलाई आकर्षित गर्दै व्यवसाय गर्ने गरेका थियौँ । कोभिडपछाडि हामीलाई अनुभव भयो कि स्वदेशी पर्यटकमा पनि निर्भर हुन सक्ने रहेछौँ । स्वदेशी पर्यटकबाट व्यवसायीले लगानी धान्न सके भने विदेशी पर्यटकबाट नाफा कमाउन सक्नेछौँ । यस  सम्बन्धमा हामीले राज्यलाई समेत सूचित गरेका थियौँ । अहिले ठमेलमा दैनिक ३० प्रतिशत नेपाली पर्यटक पाउन थालिएको छ । चीन र भारतलाई मात्र लक्षित गरेर कार्यक्रम गर्‍यौँ भने प्रशस्त पर्यटक भित्र्याउन सक्छौँ ।

ठमेलका पुराना सम्पदालाई संरक्षण गर्दै आधुनिक ठमेल बनाउने हाम्रो प्रयास छ । क्षेत्रफलका हिसाबले हाम्रो देश सानो भए पनि पर्यटकीय स्रोत प्रशस्त छन् ।

महिला होस् या पुरुष, राति निर्धक्क ठमेलमा एक्लै घुम्न सक्ने वातावरण बनाउनुपर्नेछ । यसका लागि सादा पोसाकका प्रहरी, प्रत्येक ५० मिटरमा सिसिक्यामेरा आवश्यक हुन्छ ।  यहाँ पार्किङको पनि समस्या छ । यी समस्या समाधानका लागि लागि सम्बन्धित निकायसँग पहल तथा छलफल गरिरहेका छौँ ।

ठमेलको अर्काे समस्या हो, सडक बालबालिका । सडक बालबालिका कहाँबाट आए, कसैले परिचालन गरेका हुन् कि भनेर परिषद्ले अध्ययन गरिरहेको छ । अभिभावकविहीन बालबालिकालाई सुधार केन्द्र, आश्रम र विभिन्न संस्थामा लगेर राखिदिने गरेका छौँ ।

यहाँले विकृतिमुक्त ठमेल बनाउने कुरा गर्दै हुनुहुन्थ्यो । ठमेलमा मसाजका नाममा विकृति थियो भनिन्छ, अहिले ठमेलमा के कस्ता विकृति छन् र यसतर्फ के कस्ता योजना छन् ?

विकृति ठमेलमा मात्रै हुन्छ भन्ने सोच एकदम गलत हो । ठमेलमा १० वर्ष अगाडि जे जस्ता घटना घट्थे, ती सबैखाले घटना बिस्तारै कम हुँदै गएका छन् । विकृतिका छुटपुटका घटना जहाँ पनि घट्छन् । ठमेल परिचित ठाउँ भएकाले यहाँका घटनालाई सञ्चारमाध्यमले प्राथमिकता दिन्छ । आममानिसले सोचेजस्तो विकृति अहिले ठमेलमा छैन ।

सोमबार (२३ साउन)देखि रात्रिकालीन व्यवसाय गर्ने व्यवसायीको तथ्यांक संकलन गरिरहेका छौँ ।

कोरानाका कारण थलिएको अर्थतन्त्रलाई उकास्न पर्यटन क्षेत्रले कसरी योगदान गर्न सक्छ ?

अहिले मात्र सरकारले पर्यटन क्षेत्रको महत्व बुझेको छ । पर्यटन व्यवसाय प्रवद्र्धनका लागि सरकारले पहिले केही गरेको थिएन । पर्यटन व्यवसायी आफैंले प्रवद्र्धन गरेका हुन् ।

पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रियस्तर विज्ञापन गर्ने, एयर टिकटको व्यवस्थापन गर्ने लगायतमा सरकारले ध्यान दिनुपर्छ । नेपालका एयरलाइन्सका टिकट महँगा छन् । नेपालमा महँगी उस्तै छ । यी कुरामा ध्यान पुर्‍याउनुपर्‍यो । जुनसुकै देशबाट नेपाल आउने पर्यटकलाई सहज वातावरण बनाइदिनुप¥यो । नेपाल सरकारले सजिलै भिसा दिने र सुरक्षाका हिसाबले गर्नुपर्ने काम गर्नुप¥यो । सकिन्छ भने फ्री भिसा दिएर पर्यटक बोलाउनुपर्‍यो । विदेशी मुद्रामा कारोबार गर्न सहज वातावरण बनाएर सहयोग गरे पर्यटन क्षेत्रले राज्यलाई धेरै सहयोग पु¥याउन सक्छ ।

अन्तमा, केही भन्न चाहनुहुन्छ कि ?

हामी एक–दुईवटा काम नगरेसम्म मिडियामा बोल्ने पक्षमा छैनौँ । हाम्रो योजना अनुसार केही काम गरिसकेपछि गरेको कामको समीक्षा, आगामी योजना, कुन कुन निकायले सहयोग गरे भन्ने पूर्ण जानकारीसहित हामी सञ्चारमाध्यममा आउँछौँ ।

अहिले कुरा बढी भयो, काम कम भयो भन्ने अनुभूति भइरहेको छ । त्यसैले केही काम गरेपछि समग्रमा जानकारी दिन्छौँ भन्न चाहन्छु ।

 

प्रकाशित मिति: ११:५६ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्