गुंपुन्हि : नौ किसिमका गेडागुडी खाने, भ्यागुता तथा कागको पास्नी गर्ने
पौराणिक ग्रन्थ अनुसार देवगण र असुरगण मिलेर समुद्र मन्थन गर्दा विभिन्न वस्तुहरू बाहिर निस्किए । त्यहाँ निस्किएका वस्तुहरू कुनै दैत्यहरूले लिए भने कुनै देवताहरूले लिए । तर कालकुट विष निस्कँदा भने दुवै पक्षले लिने इच्छा देखाएनन् । पछि महादेवले उक्त कालकूट विष निले ।श्रावण शुक्ल पूर्णिमाका दिनलाई नेवार समाजले गुंपुन्हिका रूपमा मान्दै आएका छन् । यो दिन शुरु हुने गुंपुन्हि चाड नेवार समाजमा नौ दिनसम्म मनाउने चलन छ । गुंलाथ्व पुन्हि अर्थात् श्रावणशुक्ल पूर्णिमाका दिनदेखि गुंलागा अष्टमी अर्थात् भाद्रकृष्ण अष्टमीसम्म जम्मा नौ दिन मनाइने भएकोले यो चाडलाई गुंपुन्हि भनिएको हो ।
नेवार जातिले धेरै दिन मनाउने चाडहरूमध्ये एउटा यो पनि हो । विशेष गरी धार्मिक तथा व्यंग्यात्मक तवरले मनाउने यो चाड मनोरञ्जनात्मक पनि हुने गर्दछ । रोपाइँ सकिसकेको तर धान काट्ने बेला भने नभइसकेको बीच समयमा आउने यो पर्व एक प्रकारले थकाई मारेर फुर्सदपूर्वक रमाइलोसँग मनाउने चाड पनि हो ।
यो चाडलाई जनैपूर्णिमा पनि भनिन्छ । जनै लगाउनुपर्ने व्यक्तिहरूले यही पूर्णिमामा वर्ष दिन पुरानो जनै फेर्ने गर्छन् । गुरुहरूले मन्त्र साधना गरी भयबाट रक्षा हुने पहेँलो धागो बाँधिदिने गर्छन् । पहँेलो धागोमा मन्त्र साधना गरी जनै लगाइदिने गुरु र जनै लाउने ब्राह्मण दुवै कपाल खौरी, स्नान गरी चोखो तितो भई जनै धारण गर्दछन् । त्यसरी नै ब्राह्मणहरूले पहेँलो धागोमा रक्षा मन्त्रले साधना गरी सर्वसाधारणलाई पुरुष भए दाहिने नाडी र महिला भए देबे्र नाडीमा जनै बाँधिदिने गर्छन् । यसरी जनै लगाउने दिन भएकोले यो दिनलाई जनै पूर्णिमा नामाकरण गरिएको हो । जनै पूर्णिमाको दिन लगाएको उक्त जनै लक्ष्मीपूजाको दिन फुकालेर गाईको पुच्छरमा बाँधिदियो भने मृत्युपछि आत्माले वैतरिणी पार गरी सजिलै स्वर्ग पुग्न सकिन्छ भन्ने परम्परागत धारणा पाइन्छ ।
यो दिनलाई ऋषितर्पणी पनि भनिन्छ । किनभने यो दिन तागाधारीहरूले सप्तऋषिहरूको नाउँमा तर्पण दिने भएकाले यो दिनलाई ऋषितर्पणी भन्ने गरेको हो । तर्पण गर्न तागाधारीहरूले एक दिन अगाडि नै कपाल खौरेर, नङ काटेर, पञ्चगव्य लिएर शुद्ध गरी वैदिक विधि अनुरूप तर्पण दिई त्यसपछि वैदिक मन्त्र पाठ गरेर पवित्र जनै पहिले ब्राह्मणलाई धारण गराई अनि पछि आफूले धारण गर्ने चलन रहेको छ ।
नेवार समाजमा ‘९’ संख्यालाई विशेष महत्व दिइएको पाइन्छ । जस्तो नवग्रह, नवरत्न आदि । त्यसरी नै नौ किसिम गेडागुडी र नौ किसिमको तिलहरू गुता बीबः (दाल) इत्यादि भन्ने चलन पनि छ । गुंपुन्हि पनि यस्तै महत्वपूर्ण चाड हो । यस चाडमा विशेष गरेर नौ किसिमका गेडागुडीको क्वाँटी पकाएर, गहुँको पीठोको रोटी पोलेर देवदेवीलाई चढाई परिवार मिलेर खाने चलन छ ।
कसै कसैकहाँ नौ किसिमको दालको क्वाँटीमा ममचा, ग्वाराना पकाएर खाने चलन छ भने कसै कसैले पिठोको सानो सानो रोटीको ग्वाराचा पकाएर पनि खाने गर्दछन् । विशेष गरेर यो दिन खाने भनेको नौ किसिमको गेडागुडी, पीठोको रोटी, लैंचा घाँय् (एक प्रकारको हरियो जडीबुडी) को तरकारी हो । यो चाडमा नौ किसिमको गेडागुडीको क्वाँटी मात्रै खाने होइन, यो दिनभरि नौ जोर लुगा लगाउने, नौ चोटी बाहिर निस्कने, नौ ठाउँका बहिद्यः दर्शन गर्ने, नौ पटक खाने पनि चलन छ । नौ पटक खाँदा नौ किसिमकै खानेकुराहरू नै खाने चलन छ । यसै कारण नौ किसिमका दालहरू एकै ठाउँमा राखी क्वाँटी पकाएर खाने प्रचलन भएको हुनु पर्दछ ।
नौ किसिमका गेडागुडीमा मास, भटमास, ठूलो केराउ, सानो केराउ, चना, मूगी, बोडी, हरियो दाल, सिम्पु गेडागुडीमा यही हुनुपर्छ भन्ने छैन तर नौ किसिमका गेडागुडी मिसाएर पकाउने चलन भने चल्दै आएको छ । कसै कसैले मस्याम, बकुला, सिमि, विभिन्न सिम्पु, चनामा पनि ठूलो सानो, सेतो (कश्मिरी) आदि नौ किसिमको गेडागुडीहरू मिलाउने गर्दछन् । नौ थरी गेडागुडीहरू मिसाई गंपुन्हिभन्दा चार दिनअघि नै राम्ररी पानीमा भिजाउने गरिन्छ । त्यसपछि पानीबाट झिकेर ढकीमा छोपेर राखिन्छ । चार दिनपछि गुंपुन्हिका दिन टुसाइसकेको हुन्छ । यसरी टुसाएको क्वाँटी गुंपन्हिभरि नै पकाएर खानेहरू पनि छन् ।
पीठोको परिकार
गुंपुन्हिको दिन मूख्य रूपमा खाने भनेको पीठोको रोटी हो । पीठोको सुखारोटी, पुरी, ममचा, ग्वाराचा, थुक्पा आदि जस्ता परिकारहरू बनाएर खाने गरिन्छ । भात खाँदा दाल र भात दुबै चाहिए जस्तै क्वाँटी खाँदा पनि पीठो र नौ किसिमका गेडागुडी नभई हुँदैन । यस बेला पलाउने विशेष तरकारी लैंचा घाँय् हो । यो यही बेला मात्रै पाइने हरियो जडिबुडी हो जसलाई तरकारीको रूपमा खाने गरिन्छ । यसले पेट सफा गर्दछ ।
भ्यागुता तथा कागको पास्नी
नेवार जातिले आफ्नो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै प्राणी वा वस्तुलाई पूजा गर्ने गर्दछन् । गुंपुन्हिका दिन भ्यागुता र कागका बच्चाहरूको जंकु (पास्नी) गर्ने चलन समेत रहेको छ । भर्खरै रोपाइँ सकिएको अवस्थामा पानी जमिरहेको खेतमा आई भ्यागुताहरू ट्वारट्वार कराइरहन्छन् ।
भ्यागुताको आवाजले खेतमा रहेका कीरा फट्यांग्राहरू भाग्ने गर्छन् भने भ्यागुता आफैले पनि कीरा फट्यांग्राहरू खाएर बालीको सुरक्षा गरिदिन्छ भन्ने भनाई छ । भ्यागुतोको यिनै गुणलाई सम्झेर उनलाई खेतमा गएर भात खुवाउने काम गुंपुन्हिका दिन गरिन्छ । भ्यागुतालाई भात खुवाउने प्रसंगको सम्बन्ध गथांमुगःसँग रहेको छ । पहिले पहिले काठमाडौं उपत्यकामा गथांमुगः नामका एक राक्षसले मान्छे मारेर खाने भएकाले साह्रै दुःख भइरहेको थियो ।
एकजना तान्त्रिकले त्यस राक्षसलाई मार्ने उद्देश्यले भ्यागुताको रूप लिई जिस्क्याउने काम गर्दछन् । जिस्क्याएका कारण रिसले चुर भएको राक्षसले भ्यागुतालाई मार्न लखेट्न थाल्छ । भ्यागुता पनि राक्षसलाई अझै जिस्काउँदै अघि अघि भाग्दै गर्छ र पानी भएको दलदलमा हाम फाल्छ । राक्षस पनि दलदलमै कुद्छ । भ्यागुता दलदलबाट उफ्रेर निस्कन्छ तर राक्षस भने दलदबाट निस्कन सक्दैन । त्यहीँ डुबेर मर्छ । यसरी एउटा सानो भ्यागुताको रूप लिई तान्त्रिकले राक्षसको आतंकबाट सबैलाई मुक्ति दिएकाले भ्यागुतालाई पनि सम्मान गर्ने उद्देश्यले यस दिन भ्यागुतालाई भात खुवाउने चलन चलेको हो । भ्यागुतालाई समाजको रक्षक भन्नुभन्दा पनि धान रोपेको ठाउँमा हानिकारक कीरा फट्यांग्राबाट सुरक्षा गरी राम्रो बाली भित्र्याउन सकियोस् भनेर ज्यापू वा खेतमा काम गर्नेहरूले आ–आफ्नो खेतमा भ्यागुतालाई भात खुवाउने भनेर भाग राखेर मात्रै घरमा आएर आफू खाने चलन छ । खेतमा भ्यागुतालाई भात दिएर आएपछि ज्यापूहरू चार दिनसम्म खेतमा फर्केर जाँदैनन् ।
यसरी भ्यागुतालाई पूरै भरोसा गरी छाड्ने चलन छ । राम्रो नराम्रो सबै किसिमका खबर वाहकको रूपमा कागलाई लिइने गरिन्छ । यो याममा कागले भर्खरै कोरलेका राता राता चुच्चो भएका र भर्खर पखेटा उम्रन शुरु गरेका आप्mना साना साना बच्चाहरू उडाउँदै ल्याउने गर्दछन् । आहारा खोज्दै आउने ती कागका बच्चाहरूको पास्नी भाग भनी गुंपुन्हिको बेला एक भाग खाना छुट्याएर बाहिर राखिदिने र त्यस पछि मात्रै आफू खाने गरिन्छ ।
धार्मिक रूपमा गुंपुन्हि
भगवान बुद्धको जीवनी लेखिएको पुस्तक ‘ललितविस्तर’मा यो पूर्णिमाका दिन गौतम बुद्ध काममारउपर विजयी भई सम्यक हुनु भएको भनी उल्लेख गरिएको छ । यसै दिन यमराजले यमलोकमा बस्ने धर्मात्माहरूलाई षडक्षरी लोकेश्वरको रूप धारणा गरी धर्मोपदेश गर्नुभएको थियो । त्यसैले यही समय आठ दिनसम्म विभिन्न बहाल र बहिलहरूमा बहिद्यः, पौभाः र अन्य देवीदेवताहरू प्रदर्शन गर्ने र बाजागाजा सहित पाठ गरेर ती सबै ठाउँमा घुम्न जाने थिति कायम भएको हो ।
गुंपुन्हिको दिन नौ परिकारको खाना खाने, नौ जोर लुगाउने र नौ ठाउँमा बहिद्यः हेर्न जाने परम्परा रहेको हो । यो पूर्णिमाको दिनदेखि गुंपुन्हिभरि बहाल, बहिलहरूमा बहिद्यः प्रदर्शन गरिने भएकोले गुंला बाजा बजाएर तत्तत् ठाउँमा दर्शन गर्न जाने चलन छ । गुंपुन्हिको दिन क्वाँटी र पीठोको रोटी राखेर देवदेवीहरूलाई पूजा गरी चढाउने परम्परा छ । देवदेवीलाई चढाएर मात्र आफूले खाने चलन छ ।
जात्रा/मेला
गुंपुन्हिका दिन क्वाँटी खाने, रक्षाबन्धक बाँध्ने, जनै फेर्ने मात्र होइन यो दिन विभिन्न कुण्डहरूमा मेला पनि लाग्ने गर्दछ । पौराणिक ग्रन्थ अनुसार देवगण र असुरगण मिलेर समुद्र मन्थन गर्दा विभिन्न वस्तुहरू बाहिर निस्किए । त्यहाँ निस्किएका वस्तुहरू कुनै दैत्यहरूले लिए भने कुनै देवताहरूले लिए । तर कालकुट विष निस्कँदा भने दुवै पक्षले लिने इच्छा देखाएनन् । पछि महादेवले उक्त कालकूट विष निले ।
विष निलेर डाहा भएका महादेवले सिलु (गोसाइँकुण्ड) तीर्थमा गई चिसो पानीमा डुबुल्की लगाएर पीडा शान्त पारे । त्यस्तो कालकूट विषको डाहा शान्त पार्न सक्ने भएकाले नै गोसाइँकुण्ड तीर्थलाई शान्त, स्वच्छ, दुःख मुक्त गर्न सक्ने तीर्थ मानिएको हो । सो तीर्थमा मेला भनेर श्रावण महिनामा स्नान गर्ने गरिन्छ । श्रावणमा पनि मुख्य दिन भनेको गुंपुन्हि नै हो । यही सिलु (गोसाइँकुण्ड) कै पानी आउने भनी विश्वास गरिने पाटनको बगलामुखी भगवतीको सामुन्ने रहेको कुम्भेश्वर महादेवको मन्दिरमा पनि यही दिन बेला मेला लाग्दछ । सिलु तीर्थ स्नान गर्न जाँदा एकजना मानिसको लोटा खसेको रहेछ । पछि त्यो लोटा पाटनको कुम्भेश्वर तीर्थमा फेला पर्यो भनिन्छ । त्यसैले यहाँ सिलुकै जल आएको हो भन्ने विश्वास गरी यहाँ स्नान गर्नु पनि सिलु तीर्थमा स्नान गर्नु जत्तिकै पुण्यदायक हुन्छ भन्न थालेको पाइन्छ । यस्तै गरी बनेपा वडा नं. ११ बुडोलस्थित श्री चण्डेश्वरीको रक्तचन्दन वनको दक्षिणतर्फ पनि सिलु तीर्थसँग सम्बन्धित एउटा स्थान रहेको छ ।
त्यस ठाउँमा पनि हरेक वर्ष गुंपुन्हिकै दिन मेला लाग्ने गर्दछ । यस सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । त्यसबेला बनेपा भित्र बस्ने एउटा मानिसले सपनामा समुद्र मन्थन गर्दा निक्लेको कालकुट विष महादेवले निले पछि आफ्नो छटपटी शान्त गनै सिलु तीर्थ जाने क्रममा अहिलेको वडा नं. ११ स्थित चण्डेश्वरीको वनमा एकदिन आराम गर्नुभयो । पछि उनले महादेवले सपनामा भने अनुसार त्यस ठाउँमा महादेवको मूर्ति थापना गरी मेला चलाएको भनिन्छ । बनेपा जस्तै अरु ठाउँका मानिसहरू पनि यस ठाउँलाई सिलु तीर्थ नै मानी गुंपुन्हिका दिन मेला भर्न जाने गर्दछन् । भगवान बुद्धले विभिन्न जन्म लिइसके पछि मात्रै सिद्धार्थ राजकुमारको रूपमा जन्म लिनुभएको विश्वास बौद्धमार्गीहरू गर्दछन् ।
उनै गौतम बुद्धले आफ्नो पहिलो जन्म मणिचुड राजकुमारको रूपमा लिनुभएको थियो । यो प्रशंग बौद्ध जातक कथामा पनि उल्लेख छ । मणिचुड राजकुमारको रूपमा जन्म लिँदा भगवान बुद्धले आफ्नो शिर चिरेर मणि दान गरी दानप्रतिको आफ्नो उदारता प्रकट गर्नुभएको थियो । उहाँले शिर चिरेर मणिदान गर्नुभएको ठाउँ साँखुको मणिचुड हो । यसै मणिचुड भन्ने ठाउँमा पनि वर्षेनी गुंपुन्हिका दिन मेला लाग्ने गर्दछ । मणिचुड राजकुमारको शिर चिरेर मणि निकालिएको ठाउँमा एउटा कुँवा थियो । मणि निकालेर पखालेको ठाउँमा एउटा सानो खोला पनि थियो । भक्तजनहरू मणिदह (मणि झिकेको ठाउँ) र मणिचुड खोला (मणि पखालेको ठाउँ) मा नुहाएर वा मुख धोएर मणिचुड राजकुमारको जस्तै दान पारमिता प्राप्त होस् भनी कामना गर्दछन् । यसरी गुंपुन्हिको पनि विभिन्न महिमा रहेको पाइन्छ ।