हङकङका नेताहरूले मतदाताको कुरा सुन्ने
हङकङ, मंसिर १० : प्रो-डेमोक्रेसी क्याम्पले समुदायस्तरको निर्वाचनमा जित हात पारेपछि हङकङका नेताहरूले मतदाताको कुरा विनम्रतापूर्वक सुन्ने बताएका छन्। मह....
हङकङ, मंसिर १० : प्रो-डेमोक्रेसी क्याम्पले समुदायस्तरको निर्वाचनमा जित हात पारेपछि हङकङका नेताहरूले मतदाताको कुरा विनम्रतापूर्वक सुन्ने बताएका छन्। महिनौंदेखि हिंसामा फसेको हङकङमा चलिरहेको आन्दोलनलाई व्यापक जनसमर्थन भएको यो जितले देखाएको छ।
निर्वाचनको नतिजाले अर्धस्वायत्त क्षेत्रलाई चकित बनाएको छ। चीनको नियन्त्रण कम गर्न प्रयासरत उम्मेदवारले शहरका १८ ओटा डिस्ट्रिक्ट काउन्सिलको ४५२ वटा निर्वाचित सिटमा बहुमत ल्याएका छन्। ती सिटहरू ऐतिहासिक रूपमै बेइजिङको बलियो पकडमा थिए।
आन्दोलन चर्किएपछि भएको पहिलो मतदानको नतिजा बेइजिङ र हङकङकी प्रमुख कार्यकारी क्यारी लामका लागि अपमानजनक हार साबित भएको छ। लामले राजनीतिक सुधारको मागलाई बेवास्ता गर्दै आएकी छिन्। शान्त बहुमतले उनको प्रशासनलाई समर्थन गरेको र आन्दोलनको विरोध गरेको उनले दोहोर्या।उँदै आएकी छिन्।
“सरकारले नागरिकको अभिमत विनम्रतापूरुवक सुन्नेछ र त्यसबारे गम्भीर समीक्षा गर्नेछ,” सरकारले जारी गरेको एउटा वक्तव्यमा लामले भनेकी छिन्। तर सम्भावित प्रतिक्रियाबारे उनले विस्तृत रूपमा खुलाइन्। बेइजिङले कार्यकारी प्रमुखलाई पूर्ण समर्थन गर्ने हिंसात्मक र गैरकानूनी व्यवहारलाई कारवाही गर्न हङकङको प्रहरी र न्यायपालिकालाई सहयोग गर्ने चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ श्वाङले बताए।
विपक्षीले पाँच बुँदे मागमा सहमति जनाउन लामलाई आग्रह गरेका छन्। मागमा शहरको व्यवस्थापिका र नेतृत्वका लागि प्रत्यक्ष निर्वाचन र प्रदर्शनकारीविरूद्ध भएको प्रहरी दमनको छानविन गर्ने लगायतका बुँदा छन्।
“सरकारले निष्पक्ष रूपमा जनमतको सामना गर्नुपर्छ,” डेमोक्रेटिक पार्टीका अध्यक्ष वु ची वाइले भने। यो संस्थापन पार्टीविरूद्धको सबैभन्दा ठूलो दल हो। प्रो-डेमोक्रेटिक समूहको अर्को प्रभावशाली नेतृत्व लेबर पार्टीले प्रदर्शनकारीको रगत, आँशु र पसिनाकै कारण निर्वाचनमा यस्तो नतिजा आएको बताए। एक सातादेखि हङकङमा अश्रु ग्यास प्रहार भएको छैन। हिंसा र अराजकतामा जकडिएको शहरमा यस्तो हुनु दुर्लभ हो। प्रहरी र सिटी सेन्टर पोलियु क्याम्पसका प्रदर्शनकारीबीच अहिलेसम्मकै ठूलो झडप भएका छन्।
दर्जनौं नवनिर्वाचित काउन्सिलरले क्याम्पसमा सोमबार जुलुस निकाले। भित्रै थुनिएका केही प्रदर्शनकारीलाई स्वतन्त्र रूपमा छोड्न उनीहरूले प्रहरीलाई आग्रह गरेका छन्।
“हङकङका जनताले बोलेका छन्,” पल जिम्मरम्यानले भने। आइतबार भएको निर्वाचनमा उनी पुनर्निर्वाचित प्रो डेमोक्रेसी काउन्सिलरले पोलियुबाहिर भाषण गरेका छन्। “अब प्रतिक्रिया दिने सरकारको पालो हो। हङकङलाई फेरि हार्न नदिनुहोस्,”उनले भने।
आन्दोलनमा सहभागी जुटाउन प्रयोग गरिएको “वेब फोरम”मार्फत आन्दोलनको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन जुलुस निकाल्न आह्वान गरिएको छ।
चीनको अपारदर्शी न्याय प्रणालीतर्फ सुपुर्दगी गराउने लामले सरकारले विधेयक ल्याएपछि वर्षको प्रारम्भमा लाखौं प्रदर्शनकारी सडकमा ओर्लिए। विधेयक फिर्ता भयो तर जनआक्रोशले अझ बृहत माग गर्नुका साथै प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भयो।
डिस्ट्रिक्ट काउन्सिलले फोहोर संकलनजस्ता समुदायस्तरका मुद्दाहरू व्यवस्थापन गर्दछ। तर आन्दोलनका कारण आइतबार भएको मतदानले नयाँ राजनीतिक महत्व लिएको छ। फलस्वरूप “हङकङ प्रशासन र हङकङप्रति बेइजिङको नीतिको स्वस्थ प्रतिकार” भएको राजनीतिक विश्लेषक विल्ली लामले बताए। तर यसको अर्थ बेइजिङले प्रदर्शनकारीको माग पूरा गर्छ भन्ने नभएको उनले बताए।
प्रो-डेमोक्रेसी उम्मेदवारहरूले ३८८ सिट जितेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। संस्थापन पक्षले मात्रै ५९ जित हात परेको छ भने पाँच वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
सन् १९९७ मा हङकङलाई चीन हस्तान्तरण गरेका बेलायतका विदेशमन्त्री डोमिनिक राबले भने,“हङकङका जनताको चाहना प्रतिविम्बित गर्ने र एक देश दुई प्रणाली मोडेलको सम्मान गर्ने राजनीतिक संवादमार्फत त्यो संकटको समाधान खोज्ने अहिले एउटा अवसर छ।”
बेइजिङ समर्थक पार्टीको हारलाई चीनको सरकारी सञ्चारमाध्यमले पश्चिमी सरकारहरूको चलखेल बताएका छन्। हिंसात्मक प्रदर्शनले सरकार समर्थहरूलाई अलग्याएको उनीहरूको आरोप छ। “निर्वाचनको नतिजाले कति मानिसको अभिमत प्रतिनिधित्व गर्छ कल्पना गर्न कठिन छ,” चाइना डेलीमा टिप्पणी छ,“प्रदर्शनकारीको आतंकको बसिरहेका मानिसहरूले उनीहरूविरूद्ध बोल्ने आँट नै गर्न सक्दैनन्।”
निर्वाचन प्रक्रियाको खबरदारी गर्ने हङकङको संस्था अनुसार हङकङमा ४१ लाख ३० हजार मतदाता दर्ता छन्। तीमध्ये ७१ प्रतिशतले मतदान गरेका छन्। हार बेहोर्नेमध्ये एक जुनियस हो पनि छन्। डेमोक्रेसी अभियन्ताहरू उनलाई मन पराउँदैनन्। अभियानको क्रममा उनलाई छुरा पनि प्रहार गरिएको थियो।
“संसार उल्टो भएको छ,” हारपछि उनले फेसबुकमा लेखे। प्रत्यक्ष प्रतिनिधित्व नजिक पुग्ने यो नै हङकङको एउटा अवसर हो। हङकङको व्यवस्थापिकामा लोकप्रिय मत र चीनप्रति वफादार औद्योगिक समूहको मिश्रित विधायकहरू छन्। यसले बेइजिङको नियन्त्रण सुनिश्चित गरेको छ।
डिस्ट्रिक्ट काउन्सिलको राजनीतिक प्रभाव थोरै छ। तर अर्को वर्ष हुने व्यवस्थापिका निर्वाचनका केही उम्मेदवार काउन्सिलबाट छनोट गरिने छन्। त्यहाँबाट बेइजिङको नियन्त्रण रहेको १२ सय सदस्यीय टोलीको दशमध्ये एक भागमा सहभागी हुनेछन्। यो टोलीले हङकङको कार्यकारी प्रमुख छनोट गर्दछ।