Kathmandu Press

‘मानिसहरू सोध्छन्– तपाईं उपाध्यक्ष हो ?’

२०७४ मा शिक्षण पेसाबाट अवकाश लिएर शर्मा पूर्णकालीन राजनीतिमा लागिन् । यसपालि उनलाई पार्टीले पालिका अध्यक्षको टिकट दियो । गठबन्धनलाई हराएर उनी निर्वाचित भइन् ।
‘मानिसहरू सोध्छन्– तपाईं उपाध्यक्ष हो ?’

काठमाडाैं, साउन २३ :  पछिल्लो स्थानीय तहको निर्वाचनबाट पर्वतको मोदी गाउँपालिका अध्यक्षमा हीरादेवी शर्मा निर्वाचित भएकी छन् । यसपालि २५ स्थानीय तह मात्रै महिलाले हाँक्दै छन् । जसमध्ये एक हुन्, हीरादेवी । गठबन्धनका उम्मेदवारलाई हराएर निर्वाचित भएसँगै उनको चर्चा बढेको थियो । 

हामीले टेलिफोनमार्फत उनलाई सोधेका थियौँ, ‘यहाँसँग पालिकाको समृद्धि र सामाजिक न्यायका लागि के कस्ता कार्यक्रम तथा योजना छन् ?’ उनले सारमा भनिन्, ‘विकास–निर्माण र बेरोजगारीको समस्या यस पालिकाको मात्रै होइन, देशैभरि छ । जनतालाई उद्यमशीलता र कृषिसँग जोडेर आत्मनिर्भर बनाउँदै लैजाने हाम्रो योजना छ ।’ 

उनका अनुसार, यस पालिकामा महिलाहिंसाका घटना यदाकदा हुने गरेका छन् । महिलालाई शिक्षित र आत्मनिर्भर बनाए मात्रै हिंसाका घटना आफैँ कम भएर जाने उनी बताउँछिन् । ‘महिलाहिंसा न्यूनीकरणका लागि हामीले महिलासँग अध्यक्ष भन्ने कार्यक्रम ल्याएका छौँ,’ ५२ वर्षीया अध्यक्ष शर्मा भन्छिन्, ‘यसै कार्यक्रममार्फत महिलालाई सशक्तीकरण गर्ने योजना छ ।’

Hardik ivf

शिक्षणसँगै राजनीति  

हीरादेवीको जन्म पर्वतको साबिकको राम्जादेउराली गाउँपालिका– ७ मा मध्यम वर्गीय परिवारमा भएको हो, १० भदौ २०२७ मा । विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएकी हीरादेवीले सानैदेखि राजनीतिक वातावरण पाइन् । 

२०४० सालमा अनेरास्ववियुको सदस्यता लिएर उनको राजनीतिक यात्रा सुरु भएको थियो । गाउँका अग्रजहरूबाट प्रभावित भएर आफू राजनीतिमा लागेको उनी बताउँछिन् । ‘गणेशप्रसाद तिमिल्सिना राष्ट्रियसभाको सम्माननीय अध्यक्ष हुनुहुन्छ, उहाँलगायत गाउँका अग्रज दिदीदाजुबाट म प्रभावित भएकी थिएँ । राजनीतिमा लाग्न उहाँहरूबाटै मलाई प्रेरणा मिल्यो,’ उनले भनिन् ।
 
शर्माको विवाह १७ वर्षको उमेर (२०४४ साल) मा मोदी गाउँपालिका– ५ का चन्द्रप्रसाद पौडेलसँग भयो । अहिले डेढ भयो, चन्द्रप्रसादले शिक्षण पेसाबाट अवकाश लिएको । श्रीमान नै शिक्षक भएकाले पनि होला,  विवाहपछि हीराले अध्ययनलाई अगाडि बढाइन् र शिक्षण पेसामा रमाइन् । 

उनका ससुराबुवा पञ्चायतकालमा वडाध्यक्ष भएका थिए । राजनीतिक  पारिवारिक वातावरणसँगै परिवारको साथ र सहयोग पाएपछि उनले प्रतिबद्ध भएर पार्टीमा लाग्ने निधो गरिन् र ०४७ सालमा नेकपा एमालेको सदस्यता लिइन् । यसअघि नै (२०४५ सालदेखि) उनी शिक्षण पेसामा आबद्ध भएकी थिइन् । शिक्षण पेसामा २९ वर्ष बिताउँदा उनी एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध रहिन् । यसमा २०६८ देखि करिब ६ वर्ष उनले जिल्ला अध्यक्ष भएर समेत काम गरिन् ।
 
राजनीति बुझेको परिवार र शिक्षित श्रीमान् भएकाले आफू राजनीतिक र सामाजिक जीवनमा अगाडि बढ्न पाएको उनी बताउँछिन् । ‘माइतीमा हुँदा जति सपोर्ट पाएकी थिएँ, त्योभन्दा दोब्बर साथ मैले विवाहपछि परिवारबाट पाएँ । अध्ययन गर्न, राजनीतिमा लाग्न र जागिर गर्न मलाई श्रीमान् र परिवारको निरन्तर साथ र सहयोग रह्यो र रहिरहेको छ,’ उनले भनिन् ।   

‘तपाईं उपाध्यक्ष हो ?’

२०७४ मा शिक्षण पेसाबाट अवकाश लिएर शर्मा पूर्णकालीन राजनीतिमा लागिन् । यसपालि उनलाई पार्टीले पालिका अध्यक्षको टिकट दियो । गठबन्धनलाई हराएर उनी निर्वाचित भइन् । ‘पहिले बाहिर बसेर अधिकार माग्ने कुरा हुन्थ्यो, अहिले अधिकार दिने स्थानमा स्वयं छु,’ उनी भन्छिन्, ‘स्रोतसाधनले भ्याएसम्म जनताका इच्छा, आकांक्षा र आवश्यकतालाई सम्बोधन गरेर जानुपर्नेछ ।’ 

धेरै महिलाले महिला भएकै कारण परिवार, समाज वा राजनीतिक संगठनमा हेपिएको गुनासो गरेको उनले सुनेकी छन् । तर बाल्यकालदेखि राजनीतिमा सक्रिय रही शिक्षित र आत्मनिर्भर रहेकाले आफूले त्यस्तो कुनै अवहेलना सहनुनपरेको उनको भनाइ छ । महिलाको नेतृत्व अस्वीकार गर्ने प्रवृत्ति समाजमा अझै रहेको उनलाई महसुस हुन्छ । ‘उप पद महिलाका लागि मात्र हो भन्ने मानसिकता अझै जनमानसमा छ,’ उनी भन्छिन्, ‘मलाई नै जिल्ला बाहिरका धेरै मानिसले सोध्छन्– तपाईं उपाध्यक्ष हो ? मैले होइन अध्यक्ष हो भनेपछि आश्चर्य मान्छन् ।’ 

विकास निर्माण

अध्यक्ष शर्माका अनुसार, यस पालिकामा खानेपानीको अभाव छ । खानेपानीको समस्या निराकरणका लागि भर्खरै सहलगानीमा ११ करोडको काम सुरु भएको उनले बताइन् । ‘यस्तै, एम्बुलेन्स र १० शय्याको अस्पतालका लागि काम भइरहेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्नेछ,’ उनले भनिन् । 

उनका अनुसार, अस्पतालका लागि जग्गा उपलब्ध गराउने विषयमा समस्या देखिएको छ । छलफलबाट छिटै टुंगोमा पुग्ने प्रयास भएको उनी बताउँछिन् । अहिले यहाँका प्रत्येक वडामा स्वास्थ्य केन्द्रका साथै उप–स्वास्थ्य केन्द्र पनि छन् । प्रसूति सुविधाका लागि बर्थिङ सेन्टर सञ्चालित छन् । यसमा अन्य संघसंस्थाले सहयोग गरेकाले सहज भएको उनी बताउँछिन् । ‘पूर्वाधार क्षेत्रमा थुप्रै काम बाँकी छन् । अघिल्लो स्थानीय सरकारले पालिकाको कार्यालयदेखि वडा कार्यालयसम्म जाने तीनवटा सडकलाई पक्की बनाएको छ,’ उनी भन्छिन्, ‘बाँकी पाँचवटा वडाको सडकमा ग्राभेल मात्र गरिएको छ । अबको पाँच वर्षमा पालिकासम्म जोड्ने सबै वडाका सडक पक्की बनाउने हाम्रो लक्ष्य छ ।’ 

कृषि

अध्यक्ष शर्माका अनुसार, यस पालिकाको प्रमुख कृषि उत्पादनमा धान, कोदो, मकै पर्छन् । लेकाली भेगमा आलु पनि निकै राम्रो उत्पादन हुने गर्छ । ‘सुन्तला, कागती, अलैँची, कफी, अदुवा, बेसारजस्ता कृषि उत्पादनको पनि यहाँ राम्रो सम्भावना छ । त्यसैले पकेट क्षेत्र बनाएर कृषिलाई प्रवद्र्धन गर्ने योजनामा छौँ,’ उनी भन्छिन्, ‘कागती, सुन्तला, अलैँचीका बिरुवा पालिकाले वितरण थालेको छ ।’
 

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्