के शेयर बजार लयमा फर्किएकै हो?
काठमाडौं, मंसिर ९ : नेप्से परिसूचकमा सोमबार कुनै प्रकारको परिवर्तन आएन। १११० दशमलव १२ को विन्दुमा खुलेको दोस्रो बजार १११२ दशमलव १५ को उच्च व....
काठमाडौं, मंसिर ९ : नेप्से परिसूचकमा सोमबार कुनै प्रकारको परिवर्तन आएन। १११० दशमलव १२ को विन्दुमा खुलेको दोस्रो बजार १११२ दशमलव १५ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु ११०२ दशमलव ४७ थियो भने दिनभरमा २८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर किनबेच भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३ करोड ६० लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज मिथिला लघुवित्तका शेयरधनीले सर्वाधिक ५ दशमलव ५४ प्रतिशतले कमाए भने पञ्चकन्यामाई हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ०९ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
आज प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको र मुख्य तत्कालीन टेवा ११०० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजारको न्यून विन्दु त्यही क्षेत्र ११०२ दशमलव ४७ मा थियो। आज बजार हिजोकै बन्द १११० दशमलव ०८ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार आज बजारले ११०२ दशमलव ४७ को विन्दुमा टेवा प्राप्त गरी बजार केही सकारात्मक रहेको छ। आज बजारले ‘लङ्ग लेग डोजी’ आकृतिको मैनबत्ती बनाएको छ। यसले बजारमा विक्रेताको चाप कमजोर हुँदै गएको संकेत गरे पनि अर्को कारोबार दिनको मैनबत्तीलाई पनि विश्लेषण गर्नु पर्ने हुन्छ। आजको कारोबार रकम भने प्रभावकारी देखिँदैन।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज केही सकारात्मक हुन खोजेको देखिन्छ।
२१ र ५० समयावधिका एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसमा नजिकिएकाले बजारमा विक्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६७ दशमलव ०३ अंकमा रहेको छ। कारोबारको अन्तिम समयतिर आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएर केही सच्चिन सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकले मिश्रित संकेत गरेको छ। समग्रमा हेर्दा यदि बजार १११३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भने अर्को तत्कालीन प्रतिरोध ११२० मा रहेको देखिन्छ। हाल बजारको मुख्य तत्कालीन टेवा ११०० को क्षेत्रमा रहेको देखिन्छ। यो आफैँमा पनि मनोवैज्ञानिक टेवा क्षेत्र हो।