Kathmandu Press

सार्कीपार्की टोल बाढीको उच्च जोखिममा : बस्ती सार्ने कहाँ, तटबन्ध गर्ने कसले ?

सार्कीपार्की टोलमा करिब ९७ प्रतिशत दलित समुदायको बस्ती छ, भने तीन प्रतिशत अन्य समुदायको । यहाँका ९० घरपरिवारमध्ये अहिले करिब ४० घर जोखिममा छन् । वर्षासँगै बाढीको प्रवाह बढ्दै गए थप २५ घर जोखिममा पर्न सक्छन्।
सार्कीपार्की टोल बाढीको उच्च जोखिममा : बस्ती सार्ने कहाँ, तटबन्ध गर्ने कसले ?

काठमाडाैं, साउन २१ : पछिल्ला दिनको वर्षाका कारण कञ्चनपुरको वेदकोट नगरपालिका– ४ सार्कीपार्की टोलमा बाढीको जोखिम बढेको छ । मंगलबार राति बगुन खोलामा बाढी आएर जमिन कटान सुरु गरेसँगै अहिलेसम्म एक घर बगाएको छ भने तीन बिघा जमिन कटानमा परेको छ ।  

वेदकोटका नगरप्रमुख भोजराज बोहराका अनुसार, यस सार्कीपार्की टोलमा करिब ९७ प्रतिशत दलित समुदायको बस्ती छ, भने तीन प्रतिशत अन्य समुदायको । ‘सार्कीपार्की टोल चुरे क्षेत्रको फेदमा रहेको बस्ती हो,’ उनी भन्छन्, ‘त्यसैले चुरे क्षेत्रमा वर्षा हुँदा त्यहाँको पानी बगेर समथल जमिनमा आउने भएकाले यहाँ बाढीको समस्या हुने गर्छ ।’

उनका अनुसार, बगुन खोला स्थायी खोला भने होइन, खहरे खोला हो । त्यस कारण वर्षा बढ्नासाथ खोलामा पानीको मात्रा बढ्न गई जमिन भासिन थाल्छ । गत वर्षको असोजमा पनि वर्षाका कारण नदीले जमिन कटान गरेको उनी बताउँछन् ।  ‘अहिलेसम्म बाढीका कारण मानवीय र वस्तुभाउको क्षति भएको छैन, तर लामो समय वर्षा भइरहे बस्ती जोगाउनै गाह्रो हुने देखिन्छ,’ उनले भने  ।

Hardik ivf

बस्ती कहाँ सार्ने ?

नगरप्रमुख बोहराका अनुसार, नगरपालिकाको स्रोतसाधन र प्रहरी परिचालन गरी जोखिममा परेका परिवारको उद्धार भइरहेको छ । अहिले जोखिममा रहेका परिवारलाई नजिकैको उच्च स्थानमा अस्थायी रूपमा राखिएको छ ।

वडा ४ का वडाध्यक्ष नरेन्द्र बोहराका अनुसार, लगातार तीन दिनको वर्षाका कारण नदी छेउछाउको जमिन भासिएर बस्ती जोखिममा परेको हो । ‘अहिले तटबन्ध गर्ने अवस्था छैन । जाली लगाएर पनि पानीको प्रवाह तत्कालै रोक्न सक्ने देखिँदैन,’ उनले भने, ‘चुरेबाट बग्ने साजघाट खोला, बगुन खोला र झ्याउले खोला मिसिएकाले पानी प्रवाह तीव्र छ ।’

उनका अनुसार, सार्कीपार्की टोलमा करिब ९० घरपरिवार रहेका छन् । यीमध्ये अहिले करिब ४० घर जोखिममा छन् । वर्षासँगै बाढीको प्रवाह बढ्दै गए थप २५ घर जोखिममा पर्न सक्छन् ।

हरेक वर्ष यस ठाउँमा खोलाले सबा बिघाको हाराहारीमा जमिन कटान गर्ने उनी बताउँछन् । ‘पानीको प्रवाहलाई रोक्न स्थानीय तहबाट कहिलेकाहीँ दुई–चार ठाउँमा जाली लगाउने गरिएको छ,’ उनले भने, ‘यसबाहेक वर्षा याममा बाढीबाट हुने क्षति रोक्न स्थानीय सरकारबाट कुनै दीर्घकालीन कार्य हुन सकेको छैन ।’

आफू नवनिर्वाचित जनप्रतिनिधि भएकाले यहाँको कटानलाई रोक्न निरन्तर पहल गर्ने उनको भनाइ छ । ‘यो बर्खायाम सकिनेबित्तिकै यस बस्तीलाई सधैँका लागि बाढी कटानबाट जोगाउने गरी अगाडि बढ्नेछौँ,’ उनले भने ।  

यहाँको खोलामा तटबन्ध निर्माण गर्न बढी बजेट लाग्ने उनी बताउँछन् । ‘यसका लागि संघीय र प्रदेश सरकारबाटै पहल हुनुपर्छ,’ उनी भन्छन्, ‘यस क्षेत्रबाट कैयौँ व्यक्ति संघीय तथा प्रदेश सांसद छन् । तर पनि यस क्षेत्रलाई जोगाउन कुनै ठोस कदम हुन सकेको छैन । यहाँका मानिसलाई अन्य स्थानमा सार्न पनि तत्काल सम्भव देखिँदैन । किनभने उपयुक्त ठाउँ पाउनै सकिँदैन ।’

 

प्रकाशित मिति: ११:२५ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्