डडेल्धुरामा हजार हेक्टरमा आलुखेती, २४ हजार कृषकले आलुखेती गर्छन्
‘यो वर्ष मल र सिँचाइ गर्न नसक्दा एक रोपनीमा पाँच क्विन्टल जति मात्र आलु उत्पादन भयो,’ आलुबाट मात्रै वार्षिक ८ लाख रुपैयाँ नाफा कमाउने अवस्थीले भने ।काठमाडौं, साउन २० : डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ का ४५ वर्षीय दत्तराज अवस्थीले विगत चार वर्षदेखि करिब ६० रोपनी जमिनमा बर्खे र हिउँदे आलु लगाउँदै आएका छन्। उनले एक सिजनमा करिब तीन सय क्विन्टल आलु उत्पादन गर्छन्। ‘आलु खन्नेबित्तिकै बेच्दा केजीको ४० रुपैयाँसम्म पर्छ,’ उनी भन्छन्, ‘त्यसपछि समय घर्कंदै जाँदा किलोको ५० देखि सय रुपैयाँसम्म मूल्य पर्न जान्छ।’
सुदूरपश्चिम प्रदेश सरकारले ०७८ मा प्रदेशका २७ कृषकलाई ‘भीमदत्त उत्कृष्ट पुरस्कार’द्वारा सम्मान गरेको थियो। हरेक जिल्लाबाट तीन कृषक सम्मानित हुँदा डडेल्धुराका दत्तराज अवस्थी पनि परेका थिए। आलु उत्पादन गरी मनग्गे आम्दानी गर्ने डडेल्धुराका धेरै किसानमध्ये एक हुन्, दत्तराज। उनले विशेषतः टिपिएस (ट्र्यु पोटाटो सिड्स) जातको बीउ उत्पादन गर्छन्। ‘पहिले डडेल्धुराका किसानले हावापानी सुहाउँदो मूल बीउ टिपिएस दाना पाउन सकेका थिएनन्,’ कृषक अवस्थी भन्छन्, ‘विगत तीन वर्षदेखि टिपिएस दाना उत्पादन गर्दै आइरहेका छौँ।’
उनका अनुसार, डडेल्धुरामा हिउँदे आलु भदौमा रोपेर मंसिर–पुसमा भित्र्याइन्छ, बर्खे आलु माघ र फागुनमा लगाए जेठको अन्तिम सातादेखि असारसम्म भित्र्याउन सकिन्छ।
उत्कृष्ट कृषकका रूपमा परिचित अवस्थीले अहिले १२ मानिसलाई रोजगार समेत दिएका छन्। कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र कञ्चनपुरले सुदूरपश्चिमका नौवटै जिल्लाका सिक्न चाहने उद्यमीलाई आफूकहाँ पठाउने भएकाले काममा सहयोग भइरहेको उनको भनाइ छ।
कृषक अवस्थीको आफ्नै २० रोपनी जमिन छ, जसमा उनले १० वर्षदेखि विभिन्न जातका तरकारी लगाउँदै आइरहेका थिए। चार वर्षयता भने उनले थप ६० रोपनी जमिन भाडामा लिएर आलुखेती थालेका हुन्। आफ्नो २० रोपनी जग्गामा भने उनले विभिन्न जातका टमाटर, भेडे खुर्सानी, काँक्रा, साग, भेन्टा, काउली, अदुवा, बन्दा, मुला लगायत तरकारीखेती गर्दै आएका छन्।
उनका अनुसार, बर्खायाममा लगाइएको आलु भित्र्याइसकेपछि कोल्ड स्टोरमा राखिन्छ। यसरी राखिएको आलु किसानको माग अनुसार अर्काे माघ–फागुनतिर बिक्री तथा वितरण गर्ने गरिन्छ। कोल्ड स्टोरले गर्दा आफूहरुलाई सहज भएको उनी बताउँछन्। अघिल्लो वर्षदेखि आलु भण्डारणका लागि डडेल्धुराको अमरगढी नगरपालिका– १ दहमा ‘उग्रतारा शीत भण्डार’ सञ्चालनमा आएको छ। डडेल्धुरामा आलु खेती गर्ने कृषक बढेसँगै शीत भण्डार सञ्चालनमा ल्याइएको हो।
गन्यापधुरा वडा १ कै कृषक खगेन्द्र नाथले गत वर्षदेखि आलुखेती गर्न थालेका हुन्। पोहोर साल पाँच रोपनी जग्गाबाट आलुखेती सुरु गरेका उनले यसपालि थप सात रोपनीमा आलु लगाएका छन्। यसपालि वर्षा र फौजी कीराले गर्दा १२ रोपनी जमिनमा करिब ३० क्विन्टल मात्रै बर्खे आलु उत्पादन भएको उनी बताउँछन्। ‘वैशाख, जेठमा पानी परेन भने बर्खे आलुबाट पनि राम्रै आम्दानी हुँदो रहेछ,’ उनी भन्छन्, ‘अहिलेको मुख्य समस्या सिँचाइ हो। अर्को कुरा नोक्सानी बेहोर्दा सरकारले क्षतिपूर्ति दिए हुने। बिमा कम्पनीबाट पनि सहयोग पाइँदैन।’
जिल्लाभर हजार हेक्टरमा आलुखेती
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ आलु सुपरजोन डडेल्धुराका नवनियुक्त प्रमुख ध्रुव जोशीका अनुसार, अहिले डडेल्धुरामा करिब हजार हेक्टर जमिनमा आलुखेती गरिन्छ। हिउँदे आलुको तुलनामा यहाँ बर्खे आलु बढी उत्पादन हुन्छ, त्यसैले कृषकको आकर्षण आलुखेतीतर्फ रहेको उनको भनाइ छ।
सुरुमा जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाबाट सुरु गरिएको आलु खेती अहिले जिल्लाका सातै स्थानीय तहमा विस्तार भइसकेको प्रमुख जोशी बताउँछन्। ‘आलु खेती राम्रो उत्पादन हुन थालेपछि सातै स्थानीय तहका किसानको आकर्षण बढ्दै गइरहेको छ। जिल्लामा अहिले २४ हजार दुई सय किसानले आलु खेती गर्दै आइरहेका छन्,’ उनी भन्छन्, ‘हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा आलु लगाउँदा अहिले औसतमा प्रतिहेक्टर २४ मेट्रिकटन जति आलु उत्पादन भइरहेको छ।’
डडेल्धुरा अहिले आलुमा आत्मनिर्भर भइसकेको प्रमुख जोशीको भनाइ छ। सिजनका समयमा जिल्लाबाहिर आलु निर्यात गरिन्छ। अहिले जिल्लामै कोल्ड स्टोर रहेकाले बेमौसमका लागि सहज भएको उनको भनाइ छ।
मल र सिँचाइको समस्या
कृषक अवस्थीका अनुसार, मल र जलको राम्रो व्यवस्था गर्ने हो भने एक रोपनीमा करिब १२ क्विन्टल आलु उत्पादन गर्न सकिन्छ। ‘यो वर्ष मल र सिँचाइ गर्न नसक्दा एक रोपनीमा पाँच क्विन्टल जति मात्र आलु उत्पादन भयो,’ आलुबाट मात्रै वार्षिक ८ लाख रुपैयाँ नाफा कमाउने अवस्थीले भने।
आफूले उत्पादन गरेको आलु प्रतिक्विन्टलमा तीन हजार रुपैयाँका दरले भागेश्वर कृषि तथा पशुपालन फर्ममा बिक्री हुँदै आएको उनले बताए।
गन्यापधुरा गाउँपालिका– ५ का प्रेम साउदसहित २० जना मिलेर चार वर्षदेखि ५५ रोपनी जमिनमा सामूहिक आलु खेती गर्दै आएका छन्। यो वर्ष आफूहरुले कागती र सुन्तलाका बिरुवा पनि लगाएको उनी बताउँछन्। ‘अहिले सिँचाइ गर्नका लागि पोखरी छ, त्यसैबाट सिँचाइ गर्दै आइरहेका छौँ,’ उनी भन्छन्, ‘वर्षाले साथ नदिए यो पोखरीको पानी पनि सुक्न थाल्छ।’
अहिले स्थानीय स्तरमा धेरै कृषक रहेकाले आफूले व्यक्तिगत रूपमा स्थानीय सरकारबाट खासै सहयोग पाउन सकेको कृषक अवस्थी बताउँछन्। ‘गत वर्ष र यो वर्ष प्रांगारिक मिसन भन्ने संघीय सरकारको कार्यक्रम थियो, त्यसैमार्फत कृषि ज्ञान केन्द्रबाट गत वर्ष १३ लाख र यो वर्ष १३ लाख अनुदान पाएको थिएँ,’ उनी भन्छन्, ‘त्यस्तै कृषि व्यवसायी प्रवर्धन सहयोग तथा तालिम केन्द्र कञ्चनपुरबाट गत वर्ष ६ लाख र यो वर्ष १६ लाख सहयोग पाएँ।’