Kathmandu Press

नागपञ्चमी महिमा : नागपूजा कसरी सुरु भयो ?

राजा प्रताप मल्लको शासनकालमा पनि देशमा वर्षा नभएर ठूलै हाहाकार मच्चिएको थियो। पछि राजा प्रताप मल्लले राजगुरूसँग सल्लाह गरी आफैँ शान्तिपुरभित्र पसी उक्त पुस्तक बाहिर निकालेर घाममा सुकाउँदा पानी परेको कुरा वंशावली र इतिहासमा उल्लेख छ।
नागपञ्चमी महिमा : नागपूजा कसरी सुरु भयो ?

नेपालमा नागलाई विभिन्न किसिमले लिने गरिन्छ। कसैले नागलाई शत्रुका रूपमा लिन्छन् भने कसैले मित्रका रूपमा। नागलाई खेलाई नागको जीवनचर्यालाई आफ्नो इच्छा अनुसार प्रदर्शन गर्ने जाति पनि नभएको होइन। यिनीहरूलाई नाग जाति भनिन्छ। नाग जाति भारतबाट नेपाल पसेको र पछि नेवारसँगै मिलेर गएको दाबी पनि केही इतिहासकारहरू गर्छन्। 

नान्यदेव नेपाल आउँदा उनको सेनामा नाग जाति लगायत अन्य जातिका सैनिक पनि थिए। पछि तिरहुतबाट नेपाल खाल्डो आउनेहरू पनि सबै नेवार भए। त्यसमा नाग जाति पनि एक थियो। नेवार समाजमा नागको विशेष स्थान छ। नेपाल खाल्डो वस्ती बन्नुअघि पानीले भरिएको ठूलो दह थियो। चीनबाट आएका महामञ्जुश्रीले चोभारको डाँडो छेदन गरी पानी निकास गराउँदा त्यहाँ बास गरिरहेका नागहरू पनि सबै बाहिर बगे। तैपनि केही नागलाई भने विभिन्न दह वा पोखरी बनाई वासस्थान बनाइदिए। त्यसमध्ये कर्काेटक नाग राजालाई चोभारको टौदहमा बास गराउने व्यवस्था भयो। स्वर्गलोक, पाताललोक भनेझैँ नागहरूको शासन चल्ने छुट्टै नागलोक पनि छ भन्ने कुरा पुराणहरूमा उल्लेख गरिएको पाइन्छ। 

भोटो देखाउने जात्रा र नाग

Hardik ivf

नागलोकसम्बन्धी भनाइलाई पुष्टि गर्ने एउटा प्रमाण बुंगद्यः (रातो मछिन्द्रनाथ) को जात्रामा देखाइने भोटो पनि हो। एकचोटि नागका राजा कर्काेटक नागराजकी पत्नीको आँखा दुखेछ। नागलोकका वैद्यले जति उपचार गर्दा पनि निको नभएपछि कर्काेटक नाग राजा मनुष्यको भेषमा मनुष्यलोक आए। त्यहाँ एक वैद्यलाई भेटेर टौदहसम्म ल्याए। दहछेउ पुगेर वैद्यलाई आँखा चिम्लिन लगाए। अनि सीधा आफ्नो दरबारमा पु¥याए। वैद्यले आँखा खोलेर हेर्दा उनले आफूलाई हीरामोती जवाहरत जडित भव्य सुनको दरबारमा पाए। भित्र पुगिसकेपछि नागराजले वैद्यलाई भने कि अब उनले त्यहीँ बसी आफ्नी रानीको आँखा निको पार्नुपर्छ। अर्कै लोकमा आइपुगेका कारण वैद्य आफैँ फर्कन सक्ने अवस्था भएन। तर उनीसँग उपचारका लागि कुनै औषधि थिएन। उनले बिस्तारै आफ्नै कान पछाडिको मैला माडेर तन्त्रमन्त्र गरी रानीको आँखामा लगाइदिए। नभन्दै रानीको आँखा निको भएछ। यो देखेर खुसी भएका कर्कोटक नागराजले वैद्यलाई हीरामोतीजडित भोटो उपहार दिई पोखरीको डिलसम्मै आएर बिदा गरे। भोलिदेखि वैद्य त्यही भोटो लगाई हिँड्न थाले। एक दिन बाटो हिँड्दै गर्दा वैद्यलाई दिसाले च्यापेछ। भोटो फुकालेर खेतको आलीमा राखी शौचका लागि गएछन्। त्यही बेला त्यहाँ पुगेको एउटा भूतले त्यो बहुमूल्य भोटो लगाएर हिँडेछ। 

एक दिन जाउलाखेलमा बुंगद्यः (रातो मछिन्द्रनाथ) को जात्रा भइरहेका बेला त्यो भूत पनि त्यहीँ भोटो लगाएर जात्रा हेर्न आएको रहेछ। वैद्य पनि जात्रा हेर्न त्यहीँ आइपुगे। वैद्यले भूतलाई देख्नेबित्तिकै आफ्नो भोटो फिर्ता मागे। तर भूतले फर्काउन मानेन। वैद्यले पनि आफ्नो जिद्दी छाडेन। दुईबीच झगडा सुरु भयो। मानिस जम्मा भए। तर भोटो आफ्नै हो भनी दुवैले प्रमाण देखाउन सकेनन्। त्यसैले अहिलेलाई उक्त भोटो बुंगद्यःलाई नै जिम्मा लगाउने र जसले प्रमाणसहित लिन आउँछ उसैलाई फिर्ता दिने निर्णय भएछ। 

वैद्यले प्रमाण ल्याउँछु भने पनि उनी पुनः नागलोक गएर नागराजलाई भेट्न सक्ने अवस्था भएन। उता भूतले पनि खेतमा पाएका कारण भोटोबारे उनलाई केही थाहा थिएन। यसरी दुवैजनाले प्रमाण ल्याउन नसकेका कारण भोटो बुंगद्यःकहाँ रहन थाल्यो। अहिले पनि हरेक वर्ष बुंगद्यः जात्रा हुँदा आफूकहाँ नासोको रूपमा रहेको उक्त भोटो कसको हो प्रमाण देखाई लानू भनी लोकलाई देखाउने गरिन्छ। यसरी भोटो देखाउने त्यो परम्परालाई नै भोटो जात्रा भनिन्छ।

नागको रगतले लेखिएको पुस्तक

नेपाली संस्कृतिमा नागलाई पानी पार्ने जीवका रूपमा मानिन्छ। एकपटक शान्तिकराचार्य भएभरका नागलाई आसन बनाई चखुंति बुखंति ओडारमा तपस्या गरिरहेका थिए। यसले गर्दा वर्षा नभई हाहाकार मच्चियो। पानी नपरेर हाहाकार मच्चिएकाले नागहरूलाई छुटाउन धेरै कोसिस भयो तर सफल भएन। 

एक दिन उनी तपस्या बसिरहेको ठाउँमा स्वयम्भू भगवान उपस्थित भएछन्। आफ्नो गुरु आगमन भएको थाहा पाएर दण्डवत् गर्न शंकराचार्य उठ्दा आसन बनाइएका नागहरू जम्मै मुक्त भए र पानी पनि पर्न सुरु भयो भन्ने कथा पाइन्छ। त्यस्तै, स्वयम्भूको शान्तिपुरभित्र नागको रगतले लेखिएको पुस्तक सुरक्षित राखिएको छ भन्ने किंवदन्ती पनि सुन्न पाइन्छ। नेपालमा पानी नपरेर हाहाकार मच्चियो भने शान्तिपुरभित्र गएर उक्त पुस्तक बाहिर ल्याई घाममा सुकाए पानी पर्छ भन्ने विश्वास गरिन्छ। 

नाग र गरुडको कथा

राजा प्रताप मल्लको शासनकालमा पनि देशमा वर्षा नभएर ठूलै हाहाकार मच्चिएको थियो। पछि राजा प्रताप मल्लले राजगुरूसँग सल्लाह गरी आफैँ शान्तिपुरभित्र पसी उक्त पुस्तक बाहिर निकालेर घाममा सुकाउँदा पानी परेको कुरा वंशावली र इतिहासमा उल्लेख छ। नेपाल उपत्यकाभित्र अवस्थित पुराना मन्दिर तथा ऐतिहासिक स्थलहरूमध्ये चाँगुनारायण पनि एक हो। पाँचौँ शताब्दीका राजा मानदेवले केही जीर्णाेद्धार गरी आफ्नो पहिलो अभिलेख राखेको उक्त स्थानलाई बौद्धमार्गीहरू हरि हरि हरि हरिवाहन लोकेश्वरको रूपमा पूजा गर्छन्। महामञ्जुश्रीले नेपाल खाल्डोको पानीको निकास गर्दा ठाउँ ठाउँमा वास गराइएका नागहरूमध्ये तक्षक नागराजालाई पुण्यतीर्थ वा गोकर्णतीर्थमा वास गराएका थिए। 

तीनै तक्षक नाग एक दिन करुणामयको अष्टमी व्रत बसी पानीबाट बाहिर निस्केर घाम तापिरहेका थिए। त्यही बेला गरुडले देखेर उनलाई च्याप्प समाते। ‘म व्रत बसिरहेको छु, मलाई छोडिदेऊ’ भनी तक्षक नागले धेरै बिन्तीभाउ गर्दा पनि गरुड नमानेपछि नागले गरुडलाई बेस्सरी बेरिदिए। त्यसपछि चल्नै नसक्ने गरी बेरेर गरुडलाई चार दिनसम्म पानीभित्रै राखिदिए। आफू मुक्त हुन नसकेपछि गरुडले स्वर्गका देवताका मालिक नारायणलाई पुकारा गरे। आफ्नो वाहन गरुडलाई बेरेर राखेको देखेपछि नारायणले फुकाउने प्रयास गरे। तर जति गरे पनि नागले नछाडेपछि नारायणले आफ्नो सुदर्शन चक्रद्वारा नागलाई छेदन गर्न खोजे। यो देखेर नागराजले पनि आफू व्रत बसेका करुणामयलाई पुकारा गरे। आफ्नो भक्तको पुकारा सुनेर करुणामय पनि सिंह चढेर पुण्यतीर्थ/गोकर्णतीर्थ आइपुगे। नारायणलाई सुदर्शन चक्रले छेदन नगर्नु भनी सम्झाए। गरुडलाई छाड्न भनी तक्षक नागलाई पनि आदेश दिए। करुणामय आएको देखेर नारायणले दण्डवत टक्राए। यसरी सबैजना एउटै क्रममा लीन हुन पुगे। यसरी लीन हुँदा सबैभन्दा मुनि तक्षक नागराज, त्यसमाथि सिंह, सिंहमाथि गरुड, गरुडमाथि नारायण र नारायणमाथि करुणामय बसे। यसरी लोकेश्वर÷करुणामय र नारायण दुवै भएकाले बौद्धमार्गीहरू यसलाई ‘हरि हरि हरि हरिवाहन लोकेश्वर’ भनी पूजा गर्छन्। 

यो स्थान चाँगुमा परेकाले यसलाई चाँगुनारायण पनि भन्न थाले। यसरी चाँगुनारायण वा हरि हरि हरि हरिवाहन लोकश्वरसँग पनि नागको सम्बन्ध भएको देखिन्छ। गोकर्ण तीर्थलाई तक्षक नागराजको वासस्थानको रूपमा लिइन्छ। गोकर्णदेखि चोभारसम्म १२ वटा तीर्थहरू रहेका छन्। ती सबै तीर्थहरूमा एक एकवटा नागको बास रहेको विश्वास गरिन्छ। आजसम्म पनि तीर्थहरूमा पूजा गर्दा वा श्राद्ध गर्दा तत्तत् नागहरूलाई बाटेको कपास चढाएर पूजा मात्र गर्ने होइन कि साक्षी समेत राख्ने चलन छ।
 

१२ नागराज र तीर्थस्थल

१. तक्षक नागराजा– पुण्य तीर्थ गोकर्ण। 

२. सोमक्षिकि नागराजा– शान्त तीर्थ गुहेश्वरी। 

३. शेषपाल नागराजा– शंषर तीर्थ शंखम्व वा शंखमूल।

४. स्वरूप नागराजा राज तीर्थ राजतीर्थ।

५. कुलिक नागराजा– मनोरथ तीर्थ टोखा दुवाः (टोखा दोबाटो)। 

६. अपलाल नागराजा– (निर्मल तीर्थ भचा खुसि (भौचाखुसी)। 

७. नन्दउपन्द नागराजा– निद्यान÷लखु तीर्थ चागः÷कंग)।

८. वासुकी नागराजा– ज्ञान तीर्थ क¥हःखुसि।

९. बरुण नागराजा– चिंतामणि तीर्थ टेकु दुभान (टेकु दोभान)।

१०. पद्म धवल नागराजा– प्रमोद तीर्थ दानगाः।

११. महापद्मधवल नागराजा सुलक्षण तीर्थ भाजंगाः 

१२. कान्ति नागराजा (जयतीर्थ नखु)।

नाग : प्रतीक र हतियार

देवीदेवताहरूले पनि नागलाई कसैले हतियारको रूपमा त कसैले आभूषणको रूपमा प्रयोग गरेको देखिन्छ। कुमारीले आभूषणको रूपमा माला लगाइराखेकी छिन्। महादेवले त गलामा बेरेका छन्। कतै कतै कम्मरमा बेरेर राखेको पनि पाइन्छ। गणेशले पनि कतै हतियारको रूपमा, कतै कम्मरमा बेरेका छन् भने कतै मालाको रूपमा लगाई राखेका छन्। गुहेश्वरीमा छतको रूपमा नाग राखिएको देखिन्छ। कृष्ण जन्म हुँदा कंशले हत्या गर्ने डरले उनलाई रातारात गोकुल पु¥याउन गंगा तार्नुपर्ने भयो। भीषण बाढीको बीच पनि कृष्णाजीलाई वर्षात्बाट बचाउन गंगाजीबाट नाग निस्केर ओत दिएका थिए। भैरवको आभूषण पनि नाग नै रहेका छन्। 

सर्प सूर्यको रश्मी मण्डलको प्रतीक पनि हो। सर्प वैभवमय मातृत्वको पनि प्रतीक हो। भागवत गीतामा कृष्णले आफूलाई वासुकी नागराज भनेका छन्। कृष्णका अवतारमध्ये एक नाग अवतार पनि हो। रामायणमा रामका भाई लक्ष्मणलाई शेषनागको अवतार भनिएको छ। शेषनागले पृथ्वीलाई आफ्नो वशमा राखेको छ। त्यसै गरी महाभारतमा अर्जुनले नागकन्यासँग बिहे गरेका छन्। नागलाई घरको रक्षक पनि मानिन्छ। त्यसैले घरको जग खन्दा नागको प्रतिमा राख्ने चलन छ। भक्तपुरमा मनाइने विख्यात बिस्केट जात्रा पनि नागनागिनीकै जात्रा हो। यसरी हाम्रो समाजमा नागको विशेष स्थान रहेको छ। त्यसो भएकाले श्रावण शुक्ल पञ्चमीका दिन नागलाई पूजा गरेर नागपञ्चमी मनाउने गरिन्छ। 

नागपूजाको कथा

नागपञ्चमी किन र कसरी मनाउन सुरु गरियो भन्ने बारे एउटा लोकोक्ति छ। खेतमा काम गरिरहेका एक किसानले एक दिन खेत खन्दै जाँदा नागका दुईटा बच्चालाई पनि काट्न पुगेछन्। नागका दुईटै बच्चाहरू मरे। मरेका ती बच्चाहरूको आँखामा किसानको आकृति रहेको नागकी आमाले देखिछन्। त्यही आकृतिका आधारमा नागिनी उक्त किसानको घरमा गइन् र किसानलगायत उनकी श्रीमती र दुई छोरालाई पनि डसेर मारिदिइछन्। 

किसानकी एउटी छोरी पनि थिइन् तर त्यसबेला त्यहाँ नभएकाले ती बचिन्। पछि छोरीलाई पनि मार्ने विचारले नागिनी पुनः घरमा पुग्दा किसानकी छोरीले सद्भावपूर्वक बटुकोमा दुध राखी नागिनीलाई पिउन निवेदन गरिन्। नागिनीले दूध पिइन्। ती केटीको व्यवहारबाट खुसी भई मार्नुको सट्टा उल्टै वरदान माग भनिन्। उनले आफ्ना आमाबाबुलाई पुनः जीवित बनाउन भनिन्। वरदान अनुरूप मरेकाहरू सबै जीवित भए। यसरी नागलाई दूध खुवाएर श्रद्धा देखाएको दिन श्रावणशुक्ल पञ्चमी हो। त्यसैले यो दिनलाई नै नागपञ्चमी भन्न थालियो। आजैका दिन आस्तिक मुनिको हस्तक्षेपबाट परिक्षितका छोरा जनमेजयले नाग यज्ञ समापन गरेका थिए। नाग यज्ञ पूर्ण भएको दिन श्रावण शुक्ल (गुँलाथ्व) पञ्चमी भएकाले यसलाई नागपञ्चमी पनि भन्ने गरिन्छ। सर्प मार्दा मार्नेको आकृति सर्पको आँखा उत्रिन्छ भनेर नै सर्प मार्दा सबैभन्दा पहिले आँखा किचिमिची पार्ने गरिन्छ। 

काठमाडौं उपत्यकाका नाग वा सर्पको विष हुँदैन भन्ने जनश्रुति छ। तराईमा भने विषालु सर्प हुनाले सर्प देखिना साथ मार्ने चलन छ। तर, काठमाडौं उपत्यकाभित्र विषालु सर्प नपाइने मात्र होइन, नागलाई भगवान वा शुभच्हिनको रूपमा लिने गरिन्छ। पञ्चदान वा ठूलो पूजा आयोजना गर्दा सफलतापूर्वक सम्पन्न होस् भनी नाग आराधना गरी पूर्ण घैँटोमा बास राख्ने गरिन्छ। यसो गर्दा अभाव हुँदैन, सधैँ पूर्ण भइरहन्छ भन्ने विश्वास गरिन्छ। त्यसैले घरघरमा नागको वासस्थान बनाउने चलन छ। 

पञ्चदान वा अक्षता (चामल) दान गर्दा दान गर्दागर्दै नसकिऊन् भनेर वासुकी नागराजको पूजा गरी बास गराइन्छ। घर वा चैत्य (चीभाः) को जग राख्दा वा न्यास प्रतिष्ठा गर्दा नाग पनि राख्ने चलन छ। यसरी विभिन्न धार्मिक कार्यमा नागलाई पूजा गर्ने नेवार जातिको परम्परा रहिआएको छ। नागको पूजा गर्दा दोष शान्त भई सबैतिर कल्याण हुन्छ भन्ने विश्वास गरिन्छ।

नागपञ्चमीको दिन नाग गणका अधिपतिहरू वरुण, अनन्त, वासुकी, शेष, पद्यकवल, कर्काेटक, अश्वत्तर, धृतराष्ट्र, शङ्खपाल, कालिव, तक्षक, पिङ्गल आदि नागराजाहरूको पूजा ग¥यो भने त्यसको प्रभावले नागदोष शान्त भई देशको कल्याण हुन्छ भन्ने जनविश्वास छ। नाग वा सर्प स्वयं आफैँले डस्ने होइन। सर्पले डस्ने वा नडस्ने भन्ने दैविक कार्य हो। मानिसलाई सुख दिनु वा दुःख दिनु भनेको देवताको काम हो, अरूको होइन। त्यसैले सर्प भनेको देवताको शक्ति हो भन्ने भनाइ छ। त्यसकारण सर्पमा पनि देवताको अदृश्य शक्ति हुने भएकाले त्यसलाई पनि देवता नै मानी पूजा गर्ने चलन छ। साँच्चिकै सर्प समातेर पूजा गर्नु डरलाग्दो तथा गाह्रो काम भएकाले कागज, पित्तल, चाँदी, तामाको नाग प्रतिमा वा कपास बाटेर नाग बनाई पूजा गर्ने चलन चलेको हो। 

नागपञ्चमीका दिन नाग पूजा गर्दा घरको ढोकामा नागको तस्बिर वा चित्र गोबरले टाँसेर दुबो, गाईको दूध, घिउ, मह आदि पञ्चामृतले पूजा गरिन्छ। सबैभन्दा पहिले मूल ढोकामा नाग टाँसेर पूजा गरी अरू ढोकाहरूमा पनि स–साना नाग–चित्र टाँसेर पूजा गरिन्छ। कसैले मूलढोकामै मात्र नाग टाँसेर पूजा गर्छन्। काठमाडौं उपत्यकामा सबैजसो जातिले नागपञ्चमीका दिन नाग टाँसेर पूजा गर्छन्। नेवारभित्रकै केही जातिमा भने नागपञ्चमीका दिन पूजा गर्ने चलन छैन। बौद्धमार्गीहरू भन्दा पनि हिन्दूमार्गी धेरैजसो नाग राखेर पूजा गर्छन्। 

नाग पूजा धार्मिकभन्दा पनि मनोवैज्ञानिक कारणले अगाडि बढिरहेको देखिन्छ। नाग चाहे विषालु होस् वा नहोस् घरभित्र पस्यो भने डस्छ कि भन्ने चिन्ता भइरहन्छ। घरमूली होस् वा देवताको अवतार, नागलाई सहज रूपले ग्रहण गर्न सक्दैनन्। एउटा नाग भएको ठाउँमा अर्काे नाग पस्दैन र भएको नाग शान्त रहोस् भनेर पूजा गरिने हो। 

गर्मीमा नागले दुलोबाट निस्केर दुःख दिन्छ भन्ने कुरा सही होइन। किनभने श्रावण महिना भनेको आषाढको समाप्ति हो, साथै वर्षा हुने याम पनि। नाग प्वालबाट त्यसबेला निस्कन्छ, जब पानी समेत तातिन थाल्छ। त्यसैले गर्मीयाममा सर्प धेरै देखिने हो। गर्मी ठाउँमा सर्प धेरै देखिन्छ। 

चिसो देश न्युजिल्यान्डमा सर्प भनेकै पाइँदैन। श्रावण शुक्ल पञ्चमी त्यति गर्मीको याम होइन। त्यतिन्जेल असारको पानी परेर भुइँ चिसो भइसकेको हुन्छ। त्यसैले गर्मीले बाहिर निस्केका नागले दुःख नदिऊन् भनेर होइन कि बाहिर निस्केर पनि भित्र पसिसकेको नागलाई भित्रै स्थिर भएर बस्नू भनेर पूजा गरेको हुन सक्छ। 

नागदहको मेला नाग 

पञ्चमीका दिन नागदहमा मेला लाग्छ। महामञ्जुश्रीले चोभार छेदन गर्दा त्यहाँ रहेका नागहरू सबै पानी सँगै बगेर जान थाले। त्यसैले उनीहरू सबैलाई एक–एकवटा दह बनाई राखिदिए। बाँकी रहेका नाग शेषनाग बसेकै ठाउँमा बस्छौँ भनेकाले उनीहरूलाई त्यहीँ राखिदिए। त्यही शेषनाग बसेको दहलाई नागदह भनिन्छ। नागदहमा तीनवटा दह छन्। स–साना दुईवटा दहलाई आँखा र ठूलो दहलाई ढाड भन्ने चलन छ। यहाँ मेला पनि लाग्ने गर्दछ। मेलाको बेला आफ्नो खेतमा फलेको तरकारी, अन्न, फलफूल पनि चढाउने चलन छ। 
 

प्रकाशित मिति: १४:४५ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्