Kathmandu Press

देउता चढेको कि ‘मल्टिपल पर्सनालिटी डिसअर्डर’ भएको?

‘मल्टिपल पर्सनालिटी डिसअर्डर’ भएका बिरामीको उपचार औषधिसँगै थेरापीका माध्यमबाट गराइने मनोविद् करुणा कुँवर बताउँछिन्।
देउता चढेको कि ‘मल्टिपल पर्सनालिटी डिसअर्डर’ भएको?

काठमाडाैं, साउन १५ : अचेल सामाजिक सञ्जालमा केही भिडियो क्लिप देख्न पाइन्छ– कुनै व्यक्ति हल्लेको, कामेको र अनौठो व्यवहार प्रदर्शन गरेको। अहिले मात्रै होइन, यस्ता घटना हाम्रो समाजमा पहिलेदेखि हुँदै आएका हुन्। यसलाई समाजले देउता चढेको रूपमा मान्ने गरेको पनि पाइन्छ।

मनोविद् करुणा कुँवरका अनुसार, कुनै व्यक्तिले बेलाबेला आफ्नो व्यवहारमा परिवर्तन गरी असामान्य व्यवहार प्रदर्शन गर्र्छ, रुन्छ, हल्लन्छ, काम्छ वा आफू आफू नभई अरु कोही हुँ भनी बताउँछ भने उसलाई ‘मल्टिपल पर्सनालिटी डिसअर्डर’ भएको हुन सक्छ।

‘यो रोग लाग्दा बिरामीले असामान्य व्यवहार गर्छ। अरु कुनै व्यक्तिको भूमिका निर्वाह गर्छ। भर्खरै सामान्य अवस्थामा रहेको उसले छिनमै बच्चाको जस्तो व्यवहार देखाउन सक्छ,’ मनोविद कुँवर भन्छिन्, ‘यस्तो बेला आफूले बोलेका कुरा उनीहरूलाई पछि याद हुँदैन।’
उनका अनुसार, सामान्य अवस्थामा मानिसले सबै सामु एकै प्रकारको स्वाभाविक व्यवहार देखाउँछन्। तर मल्टिपल पर्सनालिटी डिर्सअडर भएका व्यक्तिले बेलाबेला अर्कै व्यक्तिले जस्तै व्यवहार प्रदर्शन गर्ने गर्छन्।

Hardik ivf

‘यसैलाई मेडिकल भाषामा मल्टिपल पर्सनालिटी डिसअर्डर भनिन्छ। मानिसमा यो समस्या देखिँदा ग्रामीण भेगका मानिसले देवी चढेको भन्छन् र अस्पतालमा लगेर बिरामीको उपचार गराउँदैनन्,’ मनोविद् कुँवर भन्छिन्, ‘मानिसमा देखिने यो समस्या सामान्य भने होइन। यसको उपचार गर्नुपर्छ। यस रोगको उपचार सम्भव छ।’ 

कारण

मनोविद् कुवँरका अनुसार, चाइल्डहुड ट्रमा (बाल्यकालमा कुनै घटना देखेर वा भोगेर मस्तिष्कमा परेको आघात) का कारण पनि यो समस्या आउन सक्छ। ‘बाल्यावस्थामा मस्तिष्कमा जुन आघात परेको हुन्छ, सोही कारण व्यक्तिमा मल्टिपल पर्सनालिटी डिसअर्डर आउन सक्छ,’ उनी भन्छिन्, ‘कतिपय अवस्थामा बिरामी डिप्रेसनमा गएर आत्महत्या समेत गरेको पाइन्छ।’

अर्की मनोविद् विनिता ढुंगेलका अनुसार, मानिसमा ‘मल्टिपल पर्सनालिटी डिसअर्डर’ हुनुको पछाडि कुनै एउटा मात्र कारण जिम्मेवार नभई विभिन्न कारण हुन सक्छन्। चाइल्डहुड ट्रमासँगै मनोवैज्ञानिक, जैविक, सामाजिक कारण मानिसमा यो रोग लागेको हुन सक्छ। 
तनावका कारण विभिन्न कुरा मनमा खेलाउँदा पनि यो समस्या देखिन सक्ने उनी बताउँछिन्।

‘खासगरी बाल्यकालमा कुनै घटना वा दुर्घटना देखेको वा भोगेको छ भने मानिसको मस्तिष्कमा त्यसले गहिरो छाप छाडेको हुन सक्छ। जसले गर्दा उसले पछि आफ्नो नर्मल व्यवहारभन्दा फरक व्यक्तिको व्यवहार देखाउन सक्छ,’ मनोविद् ढुंगेल भन्छिन्, ‘यो रोग सबै उमेर समूहमा देखापर्न सक्छ, तर २० देखि ४०–५० वर्षको उमेर समूहमा बढी देखापर्ने हुन्छ। विशेष गरेर पुरुषको तुलनामा महिलामा मल्टिपल पर्सनालिटी डिसअर्डर बढी देखापर्छ। यो रोग भएको व्यक्तिले बेलाबेला देउता चढ्यो, देवी आइन् भन्दै काम्ने र छिनमै सामान्य अवस्थामा आएको पनि देखिन्छ।’ 

उनका अनुसार, विशेषतः कुनै पनि प्रकारको तनावको व्यवस्थापन नहुँदा यो समस्या देखिने हो। तनाव बढी भएपछि मानिस काम्न र बर्बराउन थाल्छन्। यस्तो व्यवहार प्रदर्शन गरेका बेला बिरामीले अरुलाई हानि गर्दैनन्, आफैँलाई हानि–नोक्सानी पु¥याउने गर्छन्। 

उपचार

‘मल्टिपल पर्सनालिटी डिसअर्डर’ भएका बिरामीको उपचार औषधिसँगै थेरापीका माध्यमबाट गराइने मनोविद् कुँवर बताउँछिन्। ‘यो उपचार हुने रोग हो। थेरापीमा पनि साइकोथेरापी एकदमै उपयोगी मानिन्छ,’ उनले भनिन्। 

मनोविद् ढुंगेलका अनुसार, यस्ता बिरामीलाई पहिले–पहिले गीत सुनाएर तनावमुक्त पार्ने प्रयास गरिन्थ्यो। आजभोलि औषधि र थेरापी गराइन्छ। ‘यस्तो समस्या देखिएपछि व्यक्तिमा कुनै साइकोलिजिकल समस्या छ कि भनेर चेकजाँच गरिन्छ,’ उनी भन्छिन्, ‘कुनै साइकोलोजिकल समस्या देखानपरे औषधि र थेरापीबाट बिरामीलाई निको पारिन्छ।’

उनका अनुसार, तनावमुक्त गराउन बिरामीसँग सहज वातावरणमा कुरा गर्नुपर्छ।  कुरा गर्दा मनोवैज्ञानिक कारणले हो वा अन्य सामाजिक वा जैविक कारणले समस्या आएको हो भनी पत्ता लगाउन सकिन्छ। 
 

प्रकाशित मिति: १७:२० बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्