Kathmandu Press

भाइरल इन्फेक्सनबाट हुने प्यारालाइसिस 

डा. सत्यालका अनुसार, मौसम परिर्वतनका बेला चिसो पेय पदार्थ पिउँदा र एसीमुनि बस्दा पनि अनुहार तथा शरीरका अन्य भाग नचल्ने हुन सक्छ।
भाइरल इन्फेक्सनबाट हुने प्यारालाइसिस 

काठमाडौं, साउन १२ : काठमाडौंको मैतीदेवीमा बसोबास गर्दै आएका २९ वर्षीया डम्बर केसी २ साउनसम्म सकुशल थिए। तर, भोलिपल्ट बिहान उठ्दा उनले आफ्नो अनुहारको देब्रे भागमा केही अप्ठेरो महसुस गरे। ‘देब्रे आँखा, गाला र कानले केही महसुस गर्दैनथे,’ केसी भन्छन्, ‘अघिल्लो दिन साँझको खानापछि चिसो स्प्राइट पिएर सुतेको थिएँ। बिहान ऐना हेर्दा अनुहार नै बांगिएको पाएपछि तुरुन्त अस्पताल गएँ।’

सिनामंगलस्थित काठमाडौं मेडिकल अस्पतालमा जचाउँदा सिपोर्ट नर्मल आयो। डाक्टरले भने– नसासम्बन्धी कारण पनि यस्तो हुन सक्छ। त्यसपछि केसीले बालुवाटारको एक अस्पतालबाट एमआरआई गराए। एमआरआई रिपोर्ट हेरेपछि डाक्टरले नसासम्बन्धी समस्या नरहेको र बाहिरी आवरणमा मात्र समस्या देखिएको बताए। 

डाक्टर र अन्य साथीभाइको सल्लाहमा केसीले अहिले केएमसी अस्पतालमै दैनिक एक घन्टा थेरापी गराइरहेका छन्। यो समस्या आउनुअघि आफूमा कुनै किसिमको स्वास्थ्य समस्या नरहेको उनी बताउँछन्। ‘यसअघि कहिलेकाहीँ सामान्य रुघाखोकी र ज्वरो हुन्थ्यो नै। तर अस्पतालमै भर्ना हुने गरी कुनै रोग लागेको थिएन,’ उनी भन्छन्। 

Hardik ivf

डाक्टरले उनलाई आँखामा राख्ने औषधि र अनुहार मसाज गर्ने मलम पनि दिएका छन्। जुन भाग चल्दैन, त्यसैलाई बढी चलाउने कोसिस गर्नुपर्ने सल्लाह उनले डाक्टरबाट पाएका छन्। डाक्टरको सल्लाह बमोजिम आफूले चुइगम र खानेकुरा देब्रे भागबाटै चपाउँदै आइरहेको उनी बताउँछन्। ‘

थेरापी गराउँदा कसैलाई राम्रो हुन्छ त कसैलाई थेरापी गराउँदा गराउँदै झनै बिग्रन पनि सक्छ भन्ने डाक्टरको भनाइ छ। राम्रो हुनेमा म आशावादी छु,’ उनी भन्छन्, ‘मेरो समस्या शतप्रतिशत प्यारालासिस भने होइन। यो चिसोले देखिने समस्या हो। कसैकसैलाई बाल्यावस्थामा निमोनिया भएको थियो भने २०–२५ वर्षपछि यो समस्या आइपर्न सक्ने डाक्टरले बताएका छन्। थेरापी र औषधिले काम गर्न छाड्यो भने समस्या बल्झँदै गई प्यारालाइसिस हुन्छ रे।’ 

कारण

न्युरोलोजिस्ट डा. जया सत्यालका अनुसार, भाइरल इन्फेक्सनका कारण अनुुहारमा यस्तो समस्या आउन सक्छ। ‘विशेषतः सातौँ नसा (सेभेन्थ क्रानियल नर्भ)मा असर पर्दा यो समस्या आउने हो,’ डा. सत्याल भन्छिन्, ‘हातखुट्टा र छालामा भएको भाइरल इन्फेक्सनका कारण अहिले कतिमा प्यारालाइसिसको समस्या देखापरिरहेको छ।’

डा. सत्यालका अनुसार, मौसम परिर्वतनका बेला चिसो पेय पदार्थ पिउँदा र एसीमुनि बस्दा पनि अनुहार तथा शरीरका अन्य भाग नचल्ने हुन सक्छ। इम्युनिटी कम भएका बेला मानिसको अनुहारको मांसपेशीलाई असर गर्ने गर्छ, यस्तै बेला अनुहारको केही भाग नचलेर प्यारालाइसिस हुन जाने उनी बताउँछिन्। ‘कान पाक्ने समस्या भएका मानिसमा पनि यस्तो समस्या आउन सक्छ,’ उनले भनिन्।

उपचार र सावधानी 

डा. सत्यालका अनुसार, अनुहारमा देखापरेको यस्तो प्यारालाइसिसको उपचारमा औषधिसँगै थेरापीको प्रयोग गरिन्छ। यो रोग हुन नदिन विशेष त्यस्तो केही सावधानी छैन। यो भाइरसबाट हुने रोग हो। भाइरसबाट बच्न शरीरदेखि वातावरणकै सरसफाइमा ध्यान दिनुपर्ने उनी बताउँछिन्। 
उनका अनुसार, भाइरल इन्फेक्सनका कारण हुने हुँदा यो रोग दुई वर्षका बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हुन सक्छ। 
 

प्रकाशित मिति: ११:५२ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्