Kathmandu Press

‘हामी अरुलाई हराउन र जिताउन पर्याप्त छौँ’

हामीलाई हियाउनुपर्ने, अवमूल्यन गर्नुपर्ने गर्दै गरून, त्यसमा हामीलाई कुनै आपत्ति छैन। हामी नहुँदा कसको के हालत हुन्छ, हामी देखाइदिन्छौँ भन्नुपर्दैन, उनीहरूले नै देखिसकेका छन्।
‘हामी अरुलाई हराउन र जिताउन पर्याप्त छौँ’
Hardik ivfHardik ivf

काठमाडाैं, साउन ९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता प्राप्त गरेको भदौमा वर्ष दिन पुग्दै छ। सांगठनिक संरचना निर्माणका क्रममै रहेको एकीकृत समाजवादीले अहिले बाग्मती र प्रदेश १ मा नेतृत्व लिएको छ भने केन्द्र सरकारमा चार मन्त्री र एक राज्यमन्त्री पद पाएको छ।

संसदको गणितमा संख्या सानो भए पनि वर्तमान सरकारका लागि एकीकृत समाजवादी निर्णायक पार्टी हो। र, पाँच दलीय गठबन्धनकै सहयोगमा यसले स्थानीय चुनावमा सन्तोषजनक स्थान हासिल गर्न सफल भयो।

अब संघ र प्रदेशको निर्वाचन धेरै टाढा छैन। गठबन्धनका दल र प्रतिपक्ष एमालेले आ–आफ्नो औकातको आकलन गर्न थालिसकेका छन्। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन पाँच दलीय गठबन्धन आवश्यक रहेको निष्कर्ष निकालिसकेको छ। तर, कांग्रेस र माओवादीले गठबन्धनमा इमानदारिता नदेखाएकाले परिणाम अपेक्षाअनुरूप नआएको भन्ने एकीकृत समाजवादीको गुनासो एकातिर छ। आगामी निर्वाचनमा सन्तोषजनक हैसियत बनाउने रणनीतिका साथ ऊ पनि यतिखेर तीव्र छलफल र संवादमा छ।

यिनै सन्दर्भमा रहेर नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरसँग काठमाडौं  प्रेसकर्मी विष्णु विश्वकर्माले टेलिफोन वार्ता गरेका छन्। प्रस्तुत छ, तुलाधरसँगको वार्ताको सम्पादित अंश : 

पार्टी दर्ता भएको वर्ष दिन पुग्दै छ, यसबीचमा पार्टीले स्थानीय निर्वाचनको सामना ग¥यो। सांगठनिक हिसाबमा पार्टीको अवस्था कस्तो छ ?

सांगठनिक हिसाबमा हामी कतै पनि कमजोर छैनौँ। सबै नेता आ–आफ्नो ठाउँमा इमानदारीपूर्वक खटिरहेका छन्। संघीय संरचना अनुसार सबै कमिटी, निकाय, आयोग बनिसकेका छन्। सातवटै प्रदेश, ७७ वटै जिल्ला, ७५३ गाउँपालिका र वडाहरूमा बन्नुपर्ने संगठनात्मक संरचना सबै बनिसकेका छन्।

तर, स्थानीय निर्वाचनमा संगठन अनुसारको परिणाम आएन। परिणाम नआउँदा नेपाली कांग्रेस, माओवादी लगायतले हाम्रो पार्टीको अवमूल्यन गर्ने कुरा छँदैछ। हामी विद्रोह गरेर आएको पार्टी, हाम्रो कति स्ट्रेन्थ छ भनेर देखाउने ठाउँ नभएका कारण उनीहरूले हामीलाई अन्डरमाइन त गरे होलान्।

संघीय निर्वाचन आउँदै छ, पार्टीको तयारी कस्तो छ ?

झन्डै १७ सयको हाराहारीमा राष्ट्रिय रूपमै प्रतिनिधित्व हुने गरी हामीले तीन दिनसम्म केन्द्रीय परिषद्को बैठक ग¥यौँ। बैठकपछि हाम्रो सम्पूर्ण शक्ति तल्लो तहमा परिचालन भएका छन्। तीन सयभन्दा बढी जनप्रतिनिधिलाई काठमाडौंमा बोलाएर प्रशिक्षण पनि दियौँ। जनप्रतिनिधिहरूलाई जनताको पक्षमा काम गर्न निर्देशन दिइएको छ। कानुनले दिएको अधिकार र पार्टीको निर्देशनलाई अक्षरसः पालना गर्ने प्रतिबद्धता उहाँहरुले व्यक्त गर्नुभएको छ।

त्यस्तै, पार्टी स्कुल विभागले नियमित प्रशिक्षण चलाइरहेको छ। अहिले देशैभरि भेला र बैठक निरन्तर चलिरहेका छन्। स्थानीय निर्वाचनको समीक्षा गरेर भर्खरै सकेका छौं। हाम्रो पार्टी र गठबन्धन दुवैको समीक्षा भयो र चुनाव जित्न आफ्नै संगठन मजबुत हुनुपर्ने निष्कर्ष निकालियो। हामी भर्खर विद्रोह गरेको पार्टी, वर्ष दिन पनि पुगेको छैन। यस्तो अवस्थामा स्थानीय चुनाव लड्यौँ। अब संघ र प्रदेशको निर्वाचनमा सानदार नतिजा ल्याउँछौँ। त्यही अनुसारको संगठन निर्माण, कार्यकर्ता परिचालन तथा प्रशिक्षण भइरहेको छ।

अहिले संगठन सदस्यता र पार्टी सदस्यता वितरण भइरहेको छ। तर, कति कार्यकर्ता तथा सदस्य छौँ भन्ने सबै स्थानबाट रेकर्ड आइसकेको छैन।

कांग्रेस र माओवादीले औपचारिक रूपमै यही गठबन्धनलाई निर्वाचनसम्म लैजानुपर्छ भनेका छन्। एकीकृत समाजवादीले अहिलेसम्म त्यस्तो कुनै निर्णय गरेको छैन, किन ?

लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य छ। कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णयमा हामी सकारात्मक छौँ। तर, हाम्रो हकमा तत्काल कुनै निर्णय हुँदैन।

हामीलाई हियाउनुपर्ने, अवमूल्यन गर्नुपर्ने गर्दै गरून, त्यसमा हामीलाई कुनै आपत्ति छैन। हामी नहुँदा कसको के हालत हुन्छ, हामी देखाइदिन्छौँ भन्नुपर्दैन, उनीहरूले नै देखिसकेका छन्।

कांग्रेसभित्र रोचक ढंगले हाम्रो बारेमा कुरा उठेको छ। कांग्रेसको बैठकले सिट बाँडफाँट गर्ने होइन। उनीहरूले दिएको सिट लिएर हामी बस्ने होइन। त्यसो हो भने हामी अर्कै गठबन्धन बनाएर जान्छौँ। त्यतिबेला नेपाली कांग्रेस के हेरेर बस्छ ?

तुलनात्मक रूपमा स्थानीय तहमा भन्दा संघ र प्रदेशको निर्वाचनमा गठबन्धन कम पेचिलो हुन्छ भन्ने छ। त्यति धेरै असहमति र विवाद नहोला कि ?

स्थानीयको तुलनामा संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्न वैज्ञानिक रूपमै सजिलो छ। किनकि, संघ र प्रदेशको निर्वाचनको टिकट दिने अधिकार केन्द्रलाई हुन्छ। केन्द्र–केन्द्र मिलेपछि सहज हुने नै भयो।

हिजोको स्थिति हेर्दा महानगर र उपमहानगरबाहेक सबै तल्लो तहलाई जिम्मेवारी दिइएको थियो। त्यसकारण पूर्ण रूपमा कार्यान्वयन हुन सकेन। माथिल्लो तहका नेताहरू जतिसुकै सकारात्मक भए पनि तल्लो तहका नेताले मानेनन्, त्यसले बढीभन्दा बढी हामीमाथि ज्यादती भयो। तैपनि हामीले नौ लाखभन्दा बढी लोकप्रिय मत पाएका रहेका छौं। हाम्रो शक्तिअनुसार लोकप्रिय मतका आधारमा आगामी संघ र प्रदेशको निर्वाचनमा कसैले छुन सक्दैन। समानुपातिकतर्फ हाम्रो राम्रो उपस्थिति रहन्छ।

पार्टी फुटको समयमा प्रत्यक्षतर्फको गणित अलि फरक हुन्छ। २०५६ सालमा एक सयदेखि हजार भोटको फरकले ४२ सिट हारेका थियौँ, कांग्रेसले जित्यो। त्यो सिट हराउनुमा वामदेव गौतम नेतृत्वको तत्कालीन नेकपा (माले) पर्याप्त थियो।

त्यतिबेला ६९ सिट जितेका थियौँ। हारेको सिट जोड्दा सरकार त हामीले ०५६ मा पनि बनाएका रहेछौँ। त्यसकारण यतिबेला सबैभन्दा बढी पीडा नेकपा एमालेलाई नै हुन्छ। ‘नेक टु नेक’ प्रतिस्पर्धामा एमालेले ४०र५० सिट हार्‍यो भने अहिले रहेको ९३ सिटको आधा घट्छ। त्यसैले प्रतिगमनलाई परास्त गर्न विवादभन्दा सहमति आवश्यक रहन्छ।

एकीकृत समाजवादीले एक्लै चुनाव जित्ने सम्भावना कति छ ?

एक्लै लडेर जित्ने सम्भावना तत्काल बनेको छैन। एकीकृत समाजवादीका बारेमा गठबन्धनका अन्य दलले आकलन गरेका कुरा ठिकै हो। हामीले एक्लै कति सिट जित्छौं भनेर देशभर सर्वेक्षण गरिरहेका छौँ। हामी अर्कालाई हराउन र जिताउन पर्याप्त छौँ। १६५ संघीय निर्वाचन क्षेत्र र ३३० प्रदेश निर्वाचन क्षेत्र छन्। यसमा अर्कालाई देखाउन लायक र प्रचार गर्न लायक हामी एक्लैले जित्न सक्दैनौँ। तर, १६५ मध्ये २८÷२९ सिट जित्ने सकिएला कि भनेर सर्वेक्षण गर्दैछौं। ३३० प्रदेश निर्वाचन क्षेत्रमध्ये ७० देखि ८० सिटसम्म जित्ने लक्ष्य छ। चुनावको कुरा हो, ‘नेक टु नेक’ प्रतिस्पर्धा भएर दुई–तीन भोटदेखि लिएर हजार भोटको अन्तरले पनि हारेको र जितेको स्थिति छ।

गठबन्धनका ठूला दलले एकीकृत समाजवादीले क्षमताभन्दा बढी भाग खोज्यो भन्दै आएका छन् नि, त्यसलाई यहाँको पार्टीले कसरी लिएको छ ?

हामी नभएकै कारणले नेकपा एमालेले बेसरी हार बेहोर्नुप¥यो। यसैबाट अनुमान गर्न सकिन्छ कि हामी नभएको अवस्थामा संघ र प्रदेशमा नराम्ररी एमालेले हार बेहोर्नुपर्छ। एमालेले हार बेहोरिरहँदा अलिअलि हाम्रो जित होला, अलिअलि माओवादी केन्द्र लगायत गठबन्धनका अन्य दलको होला। सबैभन्दा बढी जित कांग्रेसको हुन्छ।
यस्तो अवस्थामा गठबन्धनका ठूला दलले हाम्रो अवमूल्यन गरे भने नेपाली कांग्रेसले जित्ने ठाउँमा पनि हार्न सक्छ। हामीले नेकपा एमालेको भोट लिन सक्दा मात्रै कांग्रेसको जित सुनिश्चित हुने हो।

त्यसकारण हामीलाई मात्रै गठबन्धन चाहिएको भनेर हाम्रो चित्त दुख्ने गरी अनर्गल टिप्पणी भएको छ, यसले टिप्पणी गर्नेहरूलाई ठूलो क्षति हुन्छ। पार्टीको अवमूल्यन हुँदा केन्द्रको निर्देशन नमानेर कार्यकर्ताले एमालेलाई भोट हालिदियो भने के हुन्छ ? हामीले भोट नहालेका कारण एमालेले हारेको हो, हामीले भोट हाल्नेबित्तिकै एमालेले जित्छ, हार्ने को हुन्छ ? कांग्रेस र माओवादी होइन ? त्यसकारण उनीहरूले अवमूल्यन गर्न मिल्दैन।

संघीय निर्वाचनमा पाँच दलीय गठबन्धन हुँदा एकीकृत समाजवादीले कति सिट दाबी गर्छ ?

यति नै दाबी गर्छौं भनेर निर्णय भइसकेको छैन। गठबन्धन दलबीच सहमति गरेर सम्मानजनक उपस्थिति र सिटको दाबी गर्छौं। गठबन्धनका सहयात्री दलहरूले हामीलाई सम्मानजनक व्यवहार गर्छ भन्नेमा विश्वस्त छौं।
 
कांग्रेसबाहेकको गठबन्धन बनाउने विषय पनि व्यापक चर्चामा छ, तपाईंको अध्यक्ष र वामदेव गौतमले प्रचण्डसँग छलफल पनि गरेका थिए। यसको सम्भावना कति छ?

कांग्रेसले गठबन्धन अपरिहार्य भनेको र माओवादीले पनि गठबन्धनबाट दायाँबायाँ गर्दैनौँ भनेको अवस्थामा अब त्यतातिर नजाऔँ। कांग्रेसले निर्णय गरेर कार्यान्वयन गरेन भने हामी हात बाँधेर बस्दैनौं। जे जे हुन्छ, सबै विकल्प खोजिन्छ।

एमालेसँग पुनः सहकार्य हुने सम्भावना कति छ?

चुनावअगाडि केही हुँदैन। चुनावपछि व्यापक गृहकार्य हुन्छ। स्थानीय तहको निर्वाचनमा एमालेले धुलो चाटिसकेको अवस्था छ। संघ र प्रदेशको निर्वाचनमा धुलो चाटिसकेपछि आफ्नै भाइहरू खेदेर नहुने रहेछ भन्ने बुद्धि एमालेलाई आउँछ। त्यसपछि मिल्ने खालको कुरा हुन्छ। केपी ओलीको संशोधनवादी गुटबाहेक अरु सबैसँग हार्दिकतापूर्ण सम्बन्ध छ।

स्वार्थका लागि पार्टी फुटाएको आरोप तपाईंहरूमाथि छ, यसलाई कसरी चिर्नुहुन्छ ?

पार्टी फुटाएरै जान कसलाई रहर हुन्छ र ! मुटुमाथि ढुंगा राखेर हिँड्न परेको हो। केपी ओलीको दम्भ, घमण्ड, अहंकार यावत् कारण हामीलाई बस्न दिइएन। बस्न नदिएकै कारण हामी यसरी आएका हौँ।

विकल्पमा केपी ओली मात्रै छैनन्। उनको ज्यादतीका विरुद्धमा विद्रोह गर्ने आँट हामीले ग¥यौं। नत्र यो मुलुकको लोकतान्त्रिक गणतन्त्र र संघीयता समाप्त भइसकेको हुन्थ्यो। संविधानले काम गरिरहेको हुँदैनथ्यो। ओलीको ज्यादती सहन नसकेर विद्रोह गरेर आएका हौं। हामीमाथि न्याय गर्नुस् भनेर जनतामाझ जान्छौँ।

चुनावमा कस्ता सन्देश लिएर जनतामाझ जाने तयारी छ ? जनतालाई कसरी विश्वास दिलाउनुहुन्छ ?
 
अहिले कुशासन र भ्रष्टाचारको ठाउँमा सुशासन र सदाचार चाहियो। महत्वपूर्ण कुरा यही हो। पारदर्शिता, लोकतन्त्र र समृद्ध नेपालको परिकल्पना जनतामाझ पु¥याउने हो। जनताको चासो र सरोकारका विषय सम्बोधन गर्न सक्ने इमानदारिता र ल्याकत हामीसँग छ भन्ने सन्देश लिएर जान्छौँ।

 

 

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्