‘महिला पनि मेयर बन्छन्, महिलालाई नमस्ते गर्ने दिन आइसक्यो हाम्रो ! भनेको पनि सुनियो’
‘जनताको माया र मतले निर्वाचित भएँ। मलाई प्रतिद्वन्द्वी ठान्नेहरू अहिले पनि मेरो कार्यकाल असफल बनाउन लागिपरेकै छन्।’काठमाडाैं, साउन ७ : गीता चौधरी सप्तरीको सुरुंगा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यममा समाचार आए- सप्तरीको पहिलो नगरप्रमुख महिला गीता चौधरी।
संविधानले महिला प्रतिनिधित्वको व्यवस्था गरेसँगै संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनमा महिला सहभागिता बढेको थियो। त्यतिबेला प्रमुख वा अध्यक्ष र उपप्रमुख वा उप अध्यक्ष पदमध्ये अधिकांश ‘उप’ पदमा महिला निर्वाचित भएका थिए। यसपालि पनि स्थानीय तहमा नेतृत्वदायी भूमिकामा महिला सहभागिता अपेक्षाकृत बढ्न सकेन।
नगर प्रमुख हाँक्ने बिरलै महिला जनप्रतिनिधिमध्ये एक हुन्, गीता चौधरी। हामीले उनलाई टेलिफोनमार्फत सोधेका थियौँ, राजनीतिमा आउन र अगाडि बढ्न कत्तिको संघर्ष गर्नुपर्यो ?
‘महिला भएकै कारण पनि राजनीतिमा अप्ठेरो र असहजताको महसुस त गर्नुपरेकै छ,’ उनले भनिन्, ‘केन्द्रमा त्यस्तो हेपिएको महसुस गर्नपरेको छैन। तर, सप्तरीका स्थानीय नेता, जसले मलाई प्रतिद्वन्द्वी सम्झन्छन्, उनीहरूबाट असहयोगको महसुस भएको छ। यो वर्ष म प्रमुखमा चुनाव लडिरहँदा महिलालाई टिकटै दिनुहुँदैन, महिला पनि मेयर बन्छ ? महिलालाई नमस्ते गर्ने दिन आइसक्यो हाम्रो ! भनेको पनि सुनियो।’
आफूलाई असहयोग गर्न मेयर र वडाध्यक्षमा बागी समेत उठेको उनी बताउँछिन्। ‘तर जनताको माया र मतले निर्वाचित भएँ,’ उनी भन्छिन्, ‘मलाई प्रतिद्वन्द्वी ठान्नेहरू अहिले पनि मेरो कार्यकाल असफल बनाउन लागिपरेकै छन्।’
जीवन बिमा
पदभार ग्रहण गरेको दिन प्रमुख चौधरीले सबै जनतालाई जीवनबिमा गराउने घोषणा गरिन्। अहिले पनि नगरपालिकामा बालविवाह यथावत छ, त्यसलाई निषेध गर्न जीवन बिमाले केही सहयोग गर्ने उनको अपेक्षा छ। ‘न्यून आय भएकाले २० वर्षपछि छोराछोरीलाई उच्च शिक्षा पढाउन सहयोग मिल्नेछ। बिमाले व्यापार गर्न इच्छुकलाई समेत सहयोग पुग्ने विश्वास छ,’ उनले भनिन्।
बिहेपछि उच्च शिक्षा र राजनीतितर्फ
गीताको जन्म नवलपरासीको रामग्राम नगपालिकाको एक सम्पन्न र संयुक्त परिवारमा भएको हो। उनी जन्मँदा उनका बुवा र जेठो बुवाको अंशबन्डा भएको थिएन। त्यसैले उनले १२ भाइबहिनीका माझ हुर्कने अवसर पाइन्। उनको बुवाबाट ६ र जेठो बुवाबाट ६ गरी १२ सन्तान एउटै परिवारमा थिए। सम्पन्न परिवारमा जन्मेकाले आफूले बाल्यकालमा दुःखको अनुभव त्यति गर्नुनपरेको उनी बताउँछिन्।
‘अन्य समुदायमा जस्तै हाम्रो समुदायमा पनि छोरी पढाउनुलाई त्यति राम्रो मानिँदैनथ्यो। छोरीहरू हेर्दा राम्रा छन्, राम्रो घरमा बिहे गरिदिन पाए पुग्छ भन्ने मान्यता मेरो परिवारमा पनि थियो,’ स्नातकोत्तर गरेकी ४३ वर्षीया प्रमुख चौधरी भन्छिन्, ‘हामी सबै भाइबहिनीले पढ्ने अवसर भने पायौैँ।’
प्रवीणता तह पढ्दै गर्दा ०५५ मा उनको विवाह सुरुंगा नगरपालिका– ८ का विमलकुमार चौधरीसँग भयो। विवाहपछि पनि उनले अध्ययनलाई अगाडि बढाउने अवसर पाइन्। उनको राजनीतिक यात्रा विवाहपछि नै सुरु भएको हो। उनको परिवारले कांग्रेस पार्टीप्रति आस्था राख्छ, त्यसैले विवाह गरेकै वर्ष उनले नेपाली कांग्रेसको सदस्यता लिइन्। उनी दुईपटक कांग्रेस महासमिति सदस्य भएकी छन्।
आफूले बाल्यकालदेखि नै राजनीतिक माहोल पाएको उनी बताउँछिन्। ‘मेरो ठूलो बुवा नेपाल सद्भावना पार्टीबाट नवलपरासी जिल्ला सभापति हुनुभएको थियो। कक्षा ७–८ पढ्दादेखि नै म ठूलो बुवाको चुनावी प्रचारमा हिँडेकी थिएँ,’ उनी भन्छिन्, ‘माइतीमा अरु दिदीबहिनीहरूको भन्दा मेरो स्वभाव फरक थियो। सानैदेखि अघि सरेर मैले आफ्नो विचार राख्ने गर्थें। विवाहपछि राजनीतिमा लाग्ने अवसर पाएँ। श्रीमान् र परिवारको साथ र सहयोगले नै यो ठाउँमा आइपुगेकी छु।’
योजना
नगरप्रमुख चौधरीका अनुसार, ०७३ सालमा सुरुंगा नगरपालिका घोषणा त भयो, तर विकास र पूर्वाधार क्षेत्रमा धेरै काम बाँकी छन्। विशेषतः सिँचाइ, खानेपानी र बाढीको समस्या छ।
‘अहिले खेतीपातीको सिजन छ, कतिले रोपाइँ सकेका छन्, कतिको बाँँकी छ। अझै पनि सिँचाइको अभावका कारण कृषक अकासेपानीको भरमा छन्,’ उनले भनिन्, ‘१ र २ वडामा खानेपानीको एकदमै समस्या छ। यहाँ दुईवटा खोला भएकाले वर्षायाममा बाढीको समस्या छ। वर्षामा यहाँका जनता एक किसिमको डर र त्रासमा रहने गर्छन्।’
उनका अनुसार, साउन लागेसँगै कृषि मिटर शुल्क हटाइएको छ। खेतीयोग्य जमिनमा तारबार र पोलको व्यवस्था गर्ने योजना पनि छ।
उनका अनुसार, भर्खरै (असारमा) सुरुंगालाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ। सप्तरीका १८ पालिकामध्ये सबैभन्दा पहिले सुरुंगालाई पूर्ण खोप नगरपालिका बनाउन सफल भएको उनी बताउँछिन्। ‘सुरुंगालाई सम्पूर्ण रूपमा बालमैत्री, महिलामैत्री र ज्येष्ठ नागरिकमैत्री नगरपालिका कसरी बनाउन सक्छौ, त्यसमा जाने योजना छ,’ उनले भनिन्।
यस नगरपालिकामा गुणस्तरीय शिक्षा र स्वास्थ्य नभए पनि निराशाजनक नभएको उनी बताउँछिन्। ‘स्कुल व्यवस्थापन समितिले मनोमानी ढंगले दरबन्दी मिलान गरेर शिक्षक राख्ने गर्थे। यसरी राखिएका शिक्षक घरको काम गरेर समयमै विद्यालय आउँदैनथे, अहिले यसमा धेरै सुधार आएको छ,’ उनी भन्छिन्।
आफ्नो नगरपालिकाको प्रमुख कृषि उत्पादन आँप रहेको उनको भनाइ छ। यहाँ ‘आँप जोन’ बनाएरै आँप उत्पादन भएको छ। केही वडामा तरकारीखेती बढ्दै गएको छ भने बाँकी स्थानमा परम्परागत प्रणालीमा धान, गहुँखेती गरिँदै आइएको छ। ‘कृषिलाई प्रवद्र्धन गर्न अबको योजना एक वडा एक उत्पादन गर्ने सोच बनाएका छौँ,’ उनले भनिन्।
अहिले नगरपालिकामा ८३ स्वयंसेविका रहेका छन्। उनीहरूको सेवा–सुविधा बढेको छैन। यसमा पनि ध्यान पुगेको उनी बताउँछिन्।
‘ट्युसन सेन्टर खोलेर शिक्षित बेरोजगारलाई रोजगारी प्रदान गर्ने कार्यक्रम ल्याएका छाैं,’ उनी भन्छिन्, ‘ज्येष्ठ नागरिकलाई दैनिक स्वास्थ्य जाँच गर्न सम्भव नहुने भएकाले महिनामा दुईपटक भए पनि स्वास्थ्य जाँच गराउन घुम्ती स्वास्थ्य शिविर ल्याउने कार्यक्रम छ।’
महिलालाई आत्मनिर्भर बनाउने
उनका अनुसार, यस नगरपालिकामा महिलाको अवस्था नाजुकै छ। दलित लगायत समुदायमा शिक्षाको पहुँच न्यून छ। ‘मदिरा सेवन गर्ने पुरुषबाट महिलाहरू घरेलु हिंसा पर्ने गरेका छन्,’ उनले भनिन्, ‘हिंसापीडित महिलाको सशक्तीकरणका लागि सबैभन्दा पहिले जनचेतना फैलाउन आवश्यक छ।’
उनका अनुसार महिलाहरू आर्थिक रूपमा सबल नभएकाले नै हिंसा सहन बाध्य छन्। महिलाहरू आफ्नो बुवा, दाजुभाइ र श्रीमान्मा आश्रित छन्। ‘दिए खाने नदिए भोकै बस्नेसम्मको अवस्थामा महिला छन्,’ उनी भन्छिन्, ‘त्यसैले सर्वप्रथम महिलाहरूलाई शिक्षित र आत्मनिर्भर बनाउनुपर्छ। महिलालाई कसरी उद्यमी बनाउने? कृषि लगायत क्षेत्रमा विशेष कार्यक्रम ल्याएर महिलाहरूको आयस्तर उकास्ने सोच छ।’