Kathmandu Press

‘काठमाडौंमा मिथेन ग्यास छ, तर कति छ भन्ने पुनः अनुसन्धान गर्नुपर्नेछ’

पहिले गरिएको अनुसन्धानका आधारमा काठमाडौंमा ५० हजारको परिवारलाई तीस वर्ष पुग्ने ग्यास छ भनिएको थियो । तर अहिले जनसंख्या एकदमै बढिसक्यो । त्यसबाहेक पाइपबाटै बाँड्न सकिन्छ वा सकिँदैन, त्यसको अध्ययन गर्नुपर्छ, जो एकदमै महँगो पर्न जान्छ।
‘काठमाडौंमा मिथेन ग्यास छ, तर कति छ भन्ने पुनः अनुसन्धान गर्नुपर्नेछ’

काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ५, जोरपाटीस्थित सन्त लामाको घरमा डिप बोरिङ खन्दा मंगलबार बिहान मिथेन ग्यास निस्कियो। यस्तै, नेपाल र चीन सरकारबीच सम्झौता भई पेट्रोलियम पदार्थको अन्वेषणका लागि सेस्मिक सर्भे (भूकम्पीय सर्वेक्षण) भएको थियो, सर्भेपछि दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टिसहितको प्रतिवदेन ०७८ भदौमा आएको थियो। 

यस्तै, देशका अन्य भूभागमा ग्यासका स्रोत भेटिएका समाचार आइरहेकै छन्। प्रस्तुत छ, यसै सन्दर्भमा खानी तथा भूगर्भ विभागका महानिर्देशकसँग सुधीर रजौरेसँग काठमाडौं प्रेसकर्मी शलिना कुवँरले गरेको वार्ताको सम्पादित अंश : 

भर्खरै जोरपाटीमा ग्यास निस्केको भनिएको छ, देशका अन्य भागबाट पनि ग्यासका स्रोत भेटिएको बेलाबेला चर्चा हुन्छ, हामीकहाँ देखिने यी कस्ता ग्यास हुन् ? 

Hardik ivf

करोडौं वर्षअगाडिको कुरा गर्ने होे भने काठमाडौं एउटा तलाउ थियो। तलाउमा माटो, पातपतिंगर र कीराहरू समय क्रमसँगै जम्मा हुँदै गए। पछि ती सडेर मिथेन ग्यास (गोबर ग्यास) बन्न गयो। भर्खरै जोरपाटीमा पनि डिप बोरिङ बनाउन करिब तीन सय फिट खन्ने क्रममा मिथेन ग्यास निस्केको थियो। मिथेन ग्यास निस्केको यो पहिलोपटक भने होइन, यसअघि पनि काठमाडौंमा मिथेन ग्यास फेला परिसकेको छ। यस्तो सबै स्थानमा हुँदैन, जहाँ पहिले ताल थियो, त्यस्तो स्थानमा मात्र यसरी ग्यास निस्कने गर्छ। 

यो पेट्रोलियमभन्दा फरक ग्यास हो। अहिले काठमाडौंमा डिप बोरिङ धेरै ठाउँमा बनाइने क्रम जारी छ। गहिरोसँग खन्दा ग्यास निस्कने सम्भावना रहन्छ। 

नेपालमा के कस्ता ग्यासको सम्भावना छ, अहिले देखिएका यी ग्यासको प्रयोग गर्ने सम्भावना कत्तिको छ ?

अहिले नेपालमा मिथेन ग्यास र पेट्रोलियम ग्यासको सम्भावना रहेको पाइन्छ। काठमाडौंमा डिप बोरिङ बनाउने क्रममा मिथेन ग्यास निस्किरहेको छ भने दैलेखमा पेट्रोलियम ग्यास पनि निस्केको छ। धेरै वर्षअगाडि काठमाडौं उपत्यकामा एउटा अध्ययन भएको थियो। त्यतिबेला यहाँको जनसंख्या थोरै थियो। धेरै घर नबनेकाले ग्यासलाई पाइप लाइनबाट बाँड्ने वा प्रयोग गर्न सकिने भन्ने रिपोर्ट त्यतिखेर आएको थियो। अहिलेको सन्दर्भ हेर्ने हो भने मानिसको जनसंख्यासँगै घरहरू बाक्लिँदै गएका छन्। अब पाइपबाट बाँड्न सकिन्छ भन्न सकिने अवस्था छैन। 

पहिले अनुसन्धान गर्दा जुन स्थानमा ग्यास छ भन्ने पक्का वा विश्वास गरिएको थियो। अहिले धेरै ठाउँमा डिप बोरिङ गर्दा पानीका माध्यमबाट पनि ग्यास बाहिर निस्केको हुन सक्छ। 

पहिले गरिएको अनुसन्धानका आधारमा काठमाडौंमा ५० हजारको परिवारलाई तीस वर्ष पुग्ने ग्यास छ भनिएको थियो। तर अहिले जनसंख्या एकदमै बढिसक्यो। त्यसबाहेक पाइपबाटै बाँड्न सकिन्छ वा सकिँदैन, त्यसको अध्ययन गर्नुपर्छ, जो एकदमै महँगो पर्न जान्छ। अहिले डिप बोरिङले गर्दा यति नै ग्यास छ भनेर अनुमान गर्न सकिने अवस्था छैन। 

यहाँहरूको बेवसाइटमा विभागको प्रमुख क्रियाकलापमा ‘पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषण’ भन्ने छ, ग्यासबारे विभागबाट अहिलेसम्म के कति खोज अनुसन्धान भएका छन् ?

त्यो अन्वेषण भनेको पेट्रोलियम ग्याससम्बन्धी हो। दैलेखमा पनि पेट्रोलियम ग्याससम्बन्धी अनुसन्धान गरिएको थियो। नेपालका विभिन्न स्थानमा पेट्रोलियम ग्यास छ भन्ने अनुमान गरिएको छ। यो आर्थिक वर्षमा कोभिडको अवस्था सामान्य रहे दसैँ–तिहारतिर दैलेखमा त्यहाँ काम सुरु हुन सक्छ। 
२०३९ साल अघिदेखि विभिन्न किसिमका खोज तथा अनुसन्धान विभागबाट हुँदै आइरहेको छ। अहिले तत्काल विस्तृत रूपमा भएको अनुसन्धान दैलेखमै हो। 

अहिले देशमा पाइएको मिथेन र पेट्रोलियम ग्यास प्रयोगका सम्बन्धमा तत्काल केही काम विभागद्वारा हुने निर्णय भएको छैन, तर दैलेखमा पाइएको पेट्रोलियम ग्यासबारे काम सुरु हुँदै छ। 

ग्यासको सम्बन्धमा विभागको तत्कालीन योजना तथा कार्यक्रम के छ ?

विभागको तत्कालीन योजना भनेको पुनः अनुसन्धान गर्नु हो। किनभने हाम्रो अध्ययन धेरै पुरानो भइसकेको छ। समयसमयमा पाइने मिथेन ग्यास अब के कति बाँकी छ, त्यसको आकलन हामीसँग छैन। पाइपबाट प्रयोग गर्न सम्भव भनिएको मिथेन ग्यास मानिसको जनसंख्यासँगै घरहरू बढ्ने लगायत कारणले प्रयोग गर्न सकिएको छैन। त्यसैले पहिले पुनः अनुसन्धान गर्ने र पाइपबाट प्रयोग गर्न सकिने ग्यासको उत्खननमा जाने योजना छ। 

अन्तमा केही भन्न चाहनुहुन्छ कि ?

काठमाडौंमा अहिले डिप बोरिङको क्रम बढिरहेको छ। डिप बोरिङबाट पानी निकाल्दा सतर्कता अपनाउनुपर्छ। धेरै स्थानमा मिथेन ग्यास निस्किने गरेकाले त्यसबाट आगलागीको जोखिम रहन्छ। त्यसकारण डिप बोरिङ गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गर्दछु। 
 

प्रकाशित मिति: १०:३९ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्