Kathmandu Press

‘छाउपडी प्रथा हटाउन महिला सशक्तीकरणका कार्यक्रम ल्याउनेछौँ’

मायाले २०७४ को स्थानीय निर्वाचनमा पनि बुढीगंगा नगरपालिकाको उपप्रमुख पदका लागि टिकट पाएकी थिइन्, त्यतिबेला उनी १७५ मतले पराजित हुनुपरेको थियो।
‘छाउपडी प्रथा हटाउन महिला सशक्तीकरणका कार्यक्रम ल्याउनेछौँ’

काठमाडौं, साउन ४ : बाजुराको बुढीगंगा नगरपालिका उपप्रमुखमा माया खड्का ‘कुँवर’ निर्वाचित भएकी छन्। गत ३० वैशाखमा भएको मतदान रद्द भएपछि यहाँ पुनः मतदान भएको थियो। 

माया र विश्वासका साथ आफ्नो अमूल्य मत दिएर उपप्रमुख जस्तो गरिमामय पदमा निर्वाचित गरेकाले जनताको समस्या सम्बोधन गर्दै अघि बढ्ने उनको सोच छ। ‘राजनीतिक नेतृत्व लिएर अगाडि बढ्न महिलालाई पुरुषको तुलनामा एकदमै चुनौती छ। राजनीतिक कामविशेषले कहिलेकाहीँ टाढाटाढा जानुपर्छ, यस्तो अवस्थामा समाजले नराम्रो दृष्टिकोणले हेर्ने गर्छ,’ ४२ वर्षीया माया भन्छिन्, ‘गाउँ अनि पहाडी क्षेत्र भएकाले यहाँका मानिसमा चेतनाको अभाव छ, जसकारण यहाँका धेरै इच्छुक महिला राजनीतिमा खुलेर आउन सकेका छैनन्।’

उनका अनुसार, नगरपालिकाभित्र महिला अझै हिंसा सहेर बस्न बाध्य छन्। समाजमा विद्यमान छाउपडी प्रथाजस्तो कुप्रथाका कारण यहाँका महिला पछाडि छन्। ‘यसलाई हटाउन सबैभन्दा पहिले महिलाको चेतना अभिवृद्धि गर्न आवश्यक छ,’ उनी भन्छिन्, ‘यसका लागि महिला सशक्तीकरणका कार्यक्रम ल्याउने सोचमा छाैँ।’

Hardik ivf

त्यस्तै, आयस्तर बढाई महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिममा जोड दिने आफूहरुको योजना रहेको उनी बताउँछिन्। 

‘धान–कोदो बेचेर आमाले पढाउनुभयो’

अछामको साबिकको विन्धेवासिनी गाविस– ३ मेललेखमा जन्मिएकी मायाले दुई वर्षको उमेरमा पितालाई गुमाउनुप¥यो। उनकी आमा स्वास्थ्य स्वयंसेविका थिइन्। ‘बुवाको मृत्युपछि दिदीहरूले पढ्न पाएनन्,’ माया भन्छिन्, ‘आमा स्वयंसेविका भए पनि उहाँको कमाइले घरखर्च चलाउनै धौधौ हुन्थ्यो। कान्छी छोरी भएकाले मलाई भने धान, कोदो बेचेर भए पनि आमाले पढाउनुभयो।’ 

एकपटक माया गाउँको मिलमा तोरी पेल्न गएकी थिइन्। मिलको चक्कामा बेरिएर उनी दुर्घटनामा परिन्, जतिबेला उनी १३ वर्षकी थिइन्। दुर्घटनाका कारण उनको टाउकोमा गहिरो चोट लागेको थियो, तीन–चार वर्ष भारतमा उपचार गर्नुप¥यो। यता उनको पढाइ छुटेको थियो। तैपनि पुनः स्कुल भर्ना भएर उनले ०५४ सालमा एसएलसी पास गरिन्। 

२०५५ मा बुढीगंगा नगरपालिका– ३ का दिलबहादुर कुँवरसँग उनको विवाह भयो। दिलबहादुर एमालेबाट राजनीतिमा सक्रिय छन्। यता माइतीतिर मायाका गाउँले कान्छा बुवाका नाति २०५४ सालमा वडाध्यक्ष भएका थिए, नेकपा एमालेबाट।  सानैदेखि राजनीतिक माहोल बुझेकी मायालाई विवाहपछि राजनीतिमा लाग्ने र थप अध्ययन गर्ने अवसर मिल्यो। विवाहपछि कलेज भर्ना भएर उनले स्नातकसम्मको अध्ययन पूरा गरिन्। पढाइकै क्रममा ०६७ सालदेखि विद्यार्थी राजनीतिमा लागेकी मायाको राजनीतिक यात्रा अनेरास्ववियुको सचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्य, नगर कमिटीको सचिवालय सदस्य हुँदै अगाडि बढ्यो। 

पुनः उपप्रमुखको टिकट

मायाले २०७४ को स्थानीय निर्वाचनमा पनि बुढीगंगा नगरपालिकाको उपप्रमुख पदका लागि टिकट पाएकी थिइन्, त्यतिबेला उनी १७५ मतले पराजित हुनुपरेको थियो। पराजित भए पनि हरेस नखाई आफू निरन्तर राजनीतिमा सक्रिय रहेको उनी बताउँछिन्। त्यही कारण पार्टीले उनलाई यसपालिको स्थानीय निर्वाचनमा पनि उपप्रमुखको टिकट दियो। ‘पार्टी भित्रबाट उपप्रमुखको आकांक्षी धेरै हुनुहुन्थ्यो, मैले पुनः टिकट पाउँदा विरोध भने भएन,’ माया भन्छिन्, ‘पार्टीले गरेको भरोसा र जनताको अमूल्य मत अनि मायाले यो वर्ष उपप्रमुखमा निर्वाचित हुन सफल भएँ।’ 

घर र माइती दुवैतिरका परिवारले राजनीति बुझेकाले आफूलाई पढ्न र राजनीतिमा लाग्न सहज भएको उनी बताउँछिन्। ‘मैले अन्य महिलासरह राजनीतिमा आउन खासै चुनौतीको सामना गर्नुुपरेन,’ उनी भन्छिन्, ‘मेरो श्रीमान् राजनीतिमा सक्रिय भई गाउँ समाज बुझेको मान्छे भएर होला, राजनीति गर्न र पढ्न उहाँले मलाई सधैँ प्रेरित गर्नुभयो।’ 

‘आधारभूत आवश्यकतामा जोड दिन्छौँ’

उपप्रमुख खड्काका अनुसार, देशका ७७ जिल्लामध्ये गरिबीका हिसाबले बाजुरा अहिले पनि ७७औँ स्थानमै पर्छ। गरिबीसँगै आफ्नो नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी र बाटोको प्रमुख समस्या रहेको उनी बताउँछिन्। ‘अब हाम्रो घोषणापत्रमा आधारित रहेर जनताका आधारभूत आवश्यकता पूर्तिमा लाग्नेछौँ,’ उनी भन्छिन्, ‘हाम्रो पालिकाको प्रमुख कृषि उत्पादनमा धान, कोदो, जौ, मकै आदि पर्छन्। अब व्यावसायिक कृषिमा जोड दिने हाम्रो योजना छ।’ 

बुढीगंगा नगरपालिकामा प्रमुख पनि एमालेबाटै निर्वाचित भएका छन्। त्यसैले योजना निर्माण र कार्यान्वयनमा समस्या नआउने उनको अपेक्षा छ। 

प्रकाशित मिति: १४:०३ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्