Kathmandu Press

गर्मीमा ‘हिट स्ट्रोक’ हुन सक्छ, यसबाट कसरी बच्ने ?

गर्मी मौसममा धेरै परिश्रम गर्दा, दौडिँदा वा कडा व्यायाम गर्दा शरीरमा तापक्रम बढ्छ, यस्तो बेला पनि हिट स्ट्रोक हुन सक्छ, यसलाई ‘एक्सर्सनल हिट स्ट्रोक’ भनिन्छ। 
गर्मीमा ‘हिट स्ट्रोक’ हुन सक्छ, यसबाट कसरी बच्ने ?

काठमाडौं, साउन ३ : सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय, धनगढीमा यही असार २२ गते १३ प्रशिक्षार्थी (तालिमे) प्रहरी जवान १० किलोमिटर दौडका क्रममा बेहोस भए। ‘सेती प्रादेशिक अस्पताल’ कैलालीमा चेकजाँच गर्दा उनीहरूलाई ‘हिट स्ट्रोक’ भएको चिकित्सकले पुष्टि गरे। सुदूरपिश्चम प्रदेश गण मुख्यालय धनगढीका एसएसपी भोला रावलका अनुसार, उपचाररत १३ जवानमध्ये ११ जवानलाई निको भइसकेको छ। ‘बाँकी दुईको अवस्था नाजुक रहेकाले उनीहरूलाई भेन्टिलेटर र आइसियुमा राखेर उपचार भइरहेको छ,’ एसएसपी रावलले भने।  

यस घटनापछि हामीले जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख किरण थापासँग टेलिफोनमार्फत सोध्याैँ– हिट स्ट्रोकका सम्बन्धमा नागरिकलाई सजक बनाउन कुनै कदम सरकारद्वारा चालिएको छ कि ? ‘कुनै रोग आएपछि सरकारले त्यसबाट बच्न वा सावधानी अपनाउने सम्बन्धमा केही न केही निर्देशन गरेको हुन्छ। यो तत्कालको घटना ‘हिट स्ट्रोक’कै लागि भनेर कुनै त्यस्तो निर्देशन आएको छैन।’ 

के हो हिट स्ट्रोक ?

Hardik ivf

सेती प्रादेशिक अस्पतालका ‘कन्सल्टेन्ट फिजिसियन’ तथा मेडिसिन विभागका प्रमुख डा. धनबहादुर कुवँरका अनुसार मानिसलाई लाग्न सक्ने विभिन्न रोगमध्येको एक रोग हो, हिट स्ट्रोक। वातावरण अथवा शरीरमा अत्यधिक मात्रामा तापक्रम वृद्धि भई शरीरले धान्न नसक्ने अवस्थामा हिट स्ट्रोक हुने हो। ‘अत्यधिक तापका कारण गाडीको इन्जिनले काम नगर्न सक्छ, यस्तै शरीर वा वातावरणमा एक्कासि तापक्रम बढ्यो भने मानिसका अंगले काम नगर्न सक्छ र मानिस बेहोस हुन्छ, यसैलाई हिट स्ट्रोक भनिने हो,’ डा. कुँवरले भने। 

उनका अनुसार, गर्मी मौसममा धेरै परिश्रम गर्दा, दौडिँदा वा कडा व्यायाम गर्दा शरीरमा तापक्रम बढ्छ, यस्तो बेला पनि हिट स्ट्रोक हुन सक्छ, यसलाई ‘एक्सर्सनल हिट स्ट्रोक’ भनिन्छ। 

वातावरणमा तापक्रम बढेको अवस्थामा धेरै समय घाममा बस्दा वा शीतलमै बस्दा पनि शरीरको तापक्रम एक्कासि बढ्न सक्छ, यसरी हुने ‘हिट स्ट्रोक’लाई ‘इन्भाइरोमेन्टल हिट स्ट्रोक’ भनिन्छ। 

हिट स्ट्रोक जुनसुकै उमेर समूहको मानिसलाई हुन सक्छ। ‘वातावरणमा तापक्रम बढे वा कडा शारीरिक व्यायाम वा परिश्रम  गर्दा हिट स्ट्रोक हुने हो, त्यसैले यो जुनसुकै उमेर समूहका व्यक्तिलाई हुन सक्छ,’ डा. कुँवर भन्छन्, ‘शरीरले तापक्रम कन्ट्रोल गर्न नसकेपछि हिट स्ट्रोकको खतरा बढी हुन्छ। 

उनका अनुसार, कडा शारीरिक मेहनत गर्ने युवामा हिट स्ट्रोकको जोखिम उच्च हुन्छ। सेना, प्रहरीमा रहेका प्रशिक्षार्थीले एकदमै कडाखाले तालिम गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थामा उनीहरूमा हिट स्ट्रोक हुने खतरा उच्च छ। यसका साथै प्रेसर र रगतसम्बन्धी रोग भएका बिरामीमा पनि यो रोगको सम्भावना बढी हुन्छ। 

लक्षण

‘हिट स्ट्रोक’ हुँदा विशेषगरी शरीरको तापक्रम बढ्छ। तापक्रम बढेपछि ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन छिटोछिटो बढ्ने, बढी पसिना आउने, बान्ता हुने आदि लक्षण देखिन सक्ने डा. कुँवर बताउँछन्। ‘यस्तो अवस्थामा आराम गर्नुको साटो परिश्रम गरिराख्यो भने एक्कासि बेहोस हुने समस्या देखापर्छ,’ उनले भने।

उनका अनुसार, बेहोस हुँदा शरीरको आन्तरिक प्रणालीले काम नगर्न सक्छ। जस्तो ः मस्तिष्कको प्रेसर बढेर बिरामी कोमामा जान सक्छ। त्यस्तै, मुटुको धड्कन बढ्यो भने मुटुले राम्रोसँग काम गर्न नसकेर प्रेसर घट्न जान्छ।  

बच्ने उपाय

‘हिट स्ट्रोक’ हुनदेखि जोगिन सर्वप्रथम गर्मी समयमा कडा व्यायाम तथा काम, दौडधुप गर्न नहुने डा. कुँवर बताउँछन्। गर्मीको समयमा आवश्यक मात्रामा पानी पिउनुपर्ने पनि उनको सुझाव छ। ‘गर्मीमा शरीर थाक्ने गरी कुनै काम, व्यायाम गर्नु हुँदैन। वातावरण हेरेर विशेष सावधानीका साथ काम तथा व्यायाम गर्नुपर्छ,’ उनले भने, ‘यसमा लापरबाही ग¥यो भने व्यक्तिको ज्यानै जान सक्छ।’

उपचार

डा. कुँवरका अनुसार, सामान्यतः खेतबारीमा काम गर्दा, दौडिँदा र शारीरिक व्यायाम गरिरहँदा ‘हिट स्ट्रोक’ हुने हो। हिट स्ट्रोक भइहाले प्राथमिक उपचारका रूपमा बिरामीलाई तत्कालै शीतल ठाउँमा लैजान सकिन्छ। ‘बिरामीको शरीरलाई चिसोे बनाउन बरफले सेक्न सकिन्छ। बरफ सम्भव नभएको अवस्थामा चिसो पानीले कपडा भिजाएर पूरै शरीर छोपिदिने गर्नुपर्छ,’ उनी भन्छन्, ‘बिरामी होसमै छ भने चिसो पानी खुवाएर प्राथमिक उपचार गर्न सकिन्छ।’ 

प्राथमिक उपचारपछि बिरामीलाई तुरुन्तै अस्पताल लैजानुपर्ने उनी बताउँछन्। उनका अनुसार, उपचारका लागि चिकित्सकले सुरुमा बिरामीको अवस्था हेरेर तापक्रम घटाउने कोसिस गर्छन्। अक्सिजन कम छ भने अक्सिजन दिने, सलाइन पानी दिने गरिन्छ। ‘बिरामी बेहोस छ भने आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘यसरी पनि ठीक नभए जुन अंगमा समस्या देखिन्छ, त्यसै अंगको प्रकृति हेरेर उपचार गरिन्छ।’ 
 
 

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्