ड्रागन र कागती खेतीबाट शम्भुप्रसादले गर्छन् मनग्गे आम्दानी
फर्कंदा उनले भारतबाट ड्रागनका हाँगा किनेर ल्याएका थिए।यो ०७५ सालको कुरा हो।‘सुरुको वर्ष पाँच रोपनी जमिनमा १२ सय ड्रागनका बिरुवा रोपेँ,’ उनी भन्छन्, ‘अहिले २४ रोपनी जमिनमा ड्रागन खेती गरेको छु।’काठमाडौं, असार ३० : ‘पहिलोपटक ड्रागन चाख्दा मलाई यसको स्वाद यति मिठो लाग्यो कि मैले यसको खेती नै गर्ने सोचेँ,’ ड्रागन र कागतीको खेती गर्दै आएका ५९ वर्षीय शम्भुप्रसाद नेपालले भने, ‘मेरो काकाले पनि मलाई ड्रागनको खेती गर्ने सल्लाह दिनुभयो, उहाँ वनस्पतिविज्ञ हुनुहुन्छ।’
भोजपुरको टेक्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका शम्भु कामविशेषले काका सन्तोषमणि नेपाललाई भेट्न काठमाडौं आएका थिए।काकासँगको भेटघाटका क्रममा उनले पहिलोपटक ड्रागन फ्रुट चाख्ने अवसर पाएका थिए।
त्यसपछि उनी ड्रागनका बारेमा बुझ्नतिर लागे।उनका केही गाउँलेहरुले भारतको गुजरातमा काम गर्थे, उनीबाट उनले थाहा पाए– त्यहाँ ड्रागनको धेरै खेती गरिन्छ।अनि उनी गुजरात पुगे र ड्रागन फ्रुटबारे विस्तृत जानकारी लिए।
फर्कंदा उनले भारतबाट ड्रागनका हाँगा किनेर ल्याएका थिए।यो ०७५ सालको कुरा हो।‘सुरुको वर्ष पाँच रोपनी जमिनमा १२ सय ड्रागनका बिरुवा रोपेँ,’ उनी भन्छन्, ‘अहिले २४ रोपनी जमिनमा ड्रागन खेती गरेको छु।’
सुरुमा भारतबाट ड्रागनका हाँगा ल्याएका उनले पछि त्यसैका हाँगा काट्दै ड्रागनका बोट बढाउँदै लगेका हुन्।उनका अनुसार, ड्रागन रोपेको दुई वर्षपछि मात्र फल्न थाल्छ।गत वर्ष पहिलोपटक ड्रागन फल्दै गर्दा कहाँ लगेर बेच्ने भन्ने चिन्तामा उनी थिए।तर, भोजपुरको स्थानीय बजारमै माग पु¥याउन नसकेपछि उनलाई प्रेरणा मिल्यो।अहिले उनी सामूहिक रूपमा जग्गा भाडामा लिएर ड्रागन खेती गर्ने तयारीमा समेत छन्।
उनका अनुसार, ड्रागनको बोट अड्याउनका लागि सिमेन्टको पोल बनाउनुपर्छ।एउटा पोलमा चारवटा ड्रागन अड्याउन मिल्छ।सुरुको वर्ष उनले तीन सय पोल बनाएका थिए।अहिले त्यसमा १२ सय थप गरी १५ सय पोल पु¥याइसकेका छन्।‘यस वर्ष २५–३० क्विन्टल ड्रागन फल्न सक्ने आशा गरेको छु,’ उनी भन्छन्, ‘त्यति फल्यो भने १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी हुनेछ।’
कागतीबाट सुरु
शम्भुप्रसाद ०७० सालअघि विराटनगरमा बसेर साधारण व्यवसाय गर्दै आएका थिए।गाउँमा उनको पुर्खाैली जग्गा छँदै थियो।२०७० सालमा विराटनगर छाडेर उनी पुर्खौली थलो भोजपुर गए।त्यतिबेला उनको गाउँको जग्गामा धान लगायत बाली परम्परा किसिमले लगाइन्थ्यो।उनले आफ्नो जग्गामा आधुनिक खेती गर्र्ने सोच बनाए।माटो, हावापानी लगायत सबै कुरा बुझेपछि कागतीखेती गर्ने निष्कर्षमा उनी पुगे।
पहिलोपटक २०७० सालमा १८ रोपनी जमिनमा उनले एक हजार बोट कागती रोपेका थिए।‘चार वर्ष भयो, कागती फल्न थालेको।कागती रोपेको करिब पाँच वर्षपछि मात्र फल्न थाल्छ,’ उनी भन्छन्, ‘सुरुमा उत्पादन भएको कागती काठमाडौंमा बिक्री गरेको थिएँ।अहिले विराटनगर, धरान र भोजपुरकै बजारमा बिक्री हुन्छ।’
कोरोनाका कारण बजारको केही समस्या भए पनि उत्पादनमा कुनै कमी भएको छैन।वार्षिक आठदेखि १० टनसम्म कागती उत्पादन हुने उनी बताउँछन्।
उनको ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता छ।४२ रोपनी जग्गामा गरिएको कागती र ड्रागन खेतीबाट आफूले पछिल्ला वर्ष वार्षिक आठदेखि १० लाख रुपैयाँ जति आम्दानी गर्ने गरेको उनी बताउँछन्।‘यो वर्ष अझै आम्दानी हुने अपेक्षा छ, व्यवसायलाई बिस्तारै बढाउँदै छु,’ उनले भने।
अहिले तीनजनालाई रोजगारी समेत दिएका छन्।कहिलेकाहीँ कामको चटारो हुँदा आवश्यकता अनुसार कामदार थप्ने पनि गर्छन्।
समस्या र अपेक्षा
उनका अनुसार, अहिले कागतीले सोचेअनुरूपको बजार पाउन सकेको छैन।भारतबाट कागती आउने भएकाले आफूहरुको उत्पादनले त्यति बजार नपाएको उनको गुनासो छ।
अर्कोतिर, बाँदरबाट खेती जोगाउन मुस्किल भएको उनी बताउँछन्।‘बाँदर धपाउन मात्रै एकजना मानिस खटाउनुपरेको छ,’ उनले भने।
सरकारबाट विभिन्न किसिमका प्राविधिक सहयोग पाएको उनी बताउँछन्।सिँचाइ मन्त्रालयले यहाँका पूरै समुदायलाई पुग्ने गरी अढाइ करोडको लागतमा कुलोको व्यवस्था गरिदिएको छ।उनले पनि सोही कुलोबाट सिँचाइ गर्दै आएका छन्।
सेतो जातको ड्रागनको बजार र विस्तारका लागि स्थानीय सरकारबाट सहयोगको अपेक्षा उनको छ।ड्रागन पौष्टिक फलमध्ये पर्छ।‘स्थानीय निकायले यसलाई व्यावसायिक खेतीको मोडलमा विकास गर्न सकेकै छैन,’ उनले भने, ‘मलाई व्यक्तिगत रूपमा भन्दा पनि ड्रागनको व्यावसायिक खेतीका लागि स्थानीय सरकारले लगानी गर्न आवश्यक छ।’
अहिले उनले ड्रागन खेती गर्ने इच्छुकलाई हाँगा काटेर दिन गरेका छन्।‘यसबारे बुझ्नेले मकहाँ हाँगा लिन आउँछन्, लगाउने तरिका म आफैँले सिकाउने गरेको छु,’ उनले भने।