Kathmandu Press

रातो मच्छिन्द्रनाथलाई बिरामी बनाउने बुंगमतीकी जीवित कुमारी 

मानरत्न बज्राचार्यका अनुसार, कुम्भ पूजामा कुमारीलाई आह्वान गरी रातो मच्छिन्द्रनाथलाई बिरामी पारिन्छ । बिरामी परेपछि केही समय चाड मनाउन मच्छिन्द्रनाथ पाटन जान चाहन्छन् । सोही पूजामा उनले अनुमति माग्ने चलन छ ।
रातो मच्छिन्द्रनाथलाई बिरामी बनाउने बुंगमतीकी जीवित कुमारी 
तस्बिर : विवेक तुलाधर

काठमाडाैं, असार १२  : रातो मच्छिन्द्रनाथबारे हामीले अनेक किंवदन्ती सुन्दै र पढ्दै आएका छाँै। काठमाडौं उपत्यकामा खडेरीले अनिकाल लागेपछि भारतको आसामबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याइएको किंवदन्ती प्रचलित छ। यसपछि के भयो ? हो, यसपछिको किंवदन्ती बुंगमती र त्यहाँकी जीवितदेवी कुमारीसँग जोडिएको छ।

बुंगमतीकी अहिलेकी कुमारी कृपा बज्राचार्यका पिता मानरत्न बज्राचार्यले हामीलाई यस सम्बन्धमा किंवदन्ती सुनाए। यो बज्राचार्य खलकले कुमारी वंशज परम्परा धानिरहेको छ।

मच्छिन्द्रनाथले मृत्यु रोजे...

Hardik ivf

मानरत्न बज्राचार्यका अनुसार, उतिबेला मानिसले आफ्नो इच्छाले मृत्युवरण गर्न सक्ने प्रचलन थियो। रातो मच्छिन्द्रनाथ आएपछि नेपालमा सहकाल आयो। मानिसलाई सुखसयल भएकाले मृत्युको इच्छा गरेनन्। 

उमेर पुगेपछि पनि मानिसले मृत्युको इच्छा नगरेकाले पृथ्वीमा भार बढ्यो। मानिसलाई मृत्युको महत्व सिकाउन रातो मच्छिन्द्रनाथले स्वयं मृत्युवरण गर्ने निर्णय गरे। मृत्युका लागि कारण आवश्यक हुन्छ। त्यसैले उनलाई बिरामी बनाउनुपर्ने भयो। स्वयं देवतालाई बिरामी बनाउन कसले सकोस् ! बुंगमतीकी जीवित देवी कुमारीबाट मात्र यो सम्भव हुने जानकारी एक तान्त्रिकले दिए।

संसारको नियम चलाउन बुंगमतीकी कुमारीले आफ्नो दोष लगाएर रातो मच्छिन्द्रनाथलाई बिरामी बनाइन्। कुमारीले दोष लगाई रातो मच्छिन्द्रनाथलाई बिमार पार्ने विधिलाई कुम्भ पूजा भनिन्छ। 

अन्यत्र खासै सुन्न नपाइने यस किंवदन्तीले रातो मच्छिन्द्रनाथ र बुंगमतीकी कुमारीको सम्बन्धलाई झल्काउँछ। 

मच्छिन्द्रनाथलाई बिरामी पार्ने पूजा

मानरत्न बज्राचार्यका अनुसार, कुम्भ पूजामा कुमारीलाई आह्वान गरी रातो मच्छिन्द्रनाथलाई बिरामी पारिन्छ। बिरामी परेपछि केही समय चाड मनाउन मच्छिन्द्रनाथ पाटन जान चाहन्छन्। सोही पूजामा उनले अनुमति माग्ने चलन छ। यसका लागि कुमारी कहाँ मच्छिन्द्रनाथका तीन प्रतिनिधि आएर पूजा गर्छन्।

बुंगमतीबाट मच्छिन्द्रनाथ पाटन पुगेसँगै साइत हेरी रातो मच्छिन्द्रनाथको प्रतिमूर्तिको महास्नान हुन्छ। महास्नानपछि रातो मच्छिन्द्रनाथको मृत्यु भएसरह मानिन्छ। रंगरोहन गरी दशकर्मको विधिमा उनलाई पुनर्जीवित गराइन्छ। जससँगै रातो मच्छिन्द्रनाथको जात्रा सुरु हुन्छ। 

‘कुमारी र रातो मच्छिन्द्रनाथका अनेकन् किंवदन्ती छन्। यो किंवदन्ती हामीले सुन्दै आयौँ,’ मानरत्न बज्राचार्य भन्छन्, ‘रातो मच्छिन्द्रनाथअघि नै कुमारीको अस्तित्व रहेको पनि अनुमान गर्न सकिन्छ।’

मानरत्न बज्राचार्यका अनुसार, कुमारीको दोष निकै भयानक दोष हो, यसलाई देवताले पनि सहन गर्न सक्दैनन्। उनी भन्छन्, ‘यसको निवारण पनि कुमारी माजुसँग मात्रै हुन्छ।’ अहिले पनि बुंगमतीमा कसैलाई त्यस प्रकारको स्वास्थ्य समस्या देखिए, किस्ली (सानो माटोको भाँडामा चामलमाथि एउटा सिक्का र त्यसमाथि सुपारी) र पूजा राखी कुमारीलाई चढाउने गरिन्छ। 

संक्रान्तिमा कुमारीपूजा

पछिल्लो एक महिनायता मानरत्न बज्राचार्यको दैनिकी बदलिएको छ। हरेक महिनाको पहिलो दिन (संक्रान्ति) उनी र उनी श्रीमती आफ्नी कान्छी छोरी कृपा (बुंगमतीकी वर्तमान जीवित कुमारी)लाई बुंगमतीस्थित मच्छिन्द्रनाथको मन्दिर रहेको मच्छिन्द्र बहालमा लिएर जान्छन्। जहाँ उनको दर्शनका लागि मानिसको भीड लाग्छ। यो प्रक्रिया रातो मच्छिन्द्रनाथ बुंगमती बसुन्जेल चल्ने मानरत्न बताउँछन्। 

‘६ महिना बुंगद्यः (मच्छिन्द्रनाथको वासस्थान बुंगमती भएका कारण उनलाई स्थानीय स्तरमा बुंगद्यः पनि भनिन्छ) यहाँ बस्नुहुन्छ, ६ महिना पाटनमा,’ उनी भन्छन्, ‘जात्रा सकेर जेठ–असारमा उहाँलाई यहाँ ल्याइन्छ, अनि मंसिर–पुसमा पुनः जात्राका लागि पाटन लगिन्छ। बुंगद्यः बुंगमतीमै फर्किएसँगै हरेक संक्रान्तिमा कुमारी माजुलाई उहाँको मन्दिर लैजानुपर्छ।’

यसरी बुंग द्यःको उपस्थितिसँगै बुंगमतीकी कुमारीको चहलपहल बढ्छ। अन्यथा उनको पनि सामान्य बालबालिका सरहको दैनिकी बित्छ। 
अन्य कुमारीको तुलनामा यहाँकी कुमारीको पूजा तथा जात्रा कमै हुन्छ। ‘कुम्भ पूजा, देभु, सनामण्डल र वसुन्धरा पूजा गरी वर्षमा चारपटक मात्र कुमारीको स्वरूपमा उनलाई बाहिर निकालिन्छ,’ मानरत्न भन्छन्, ‘यसबाहेक १२ वर्षको एकपटक बुंगमतीमै हुने रातो मच्छिन्द्रनाथको जात्रामा बुंगमतीकी कुमारीको महत्वपूर्ण भूमिका हुन्छ। हरेक वर्ष पाटनमा गरिने रंगरोगन, महास्नान तथा दशकर्म, रथारोहण आदि कार्य पाटनकी कुमारीको प्रत्यक्ष निगरानीमा हुन्छ। बुंगमतीमा १२ वर्षमा एकपटक हुने जात्रा बुंगमतीकी कुमारीको रोहबरमा हुन्छ।’

योसँगै हरेक दिन बिहान र साँझको आरती छुट्ट्याउन नमिल्ने कुमारी कृपाकी आमा शान्ता बज्राचार्य बताउँछिन्। घरमा बन्ने हरेक परिकार पहिले कुमारीलाई खुवाएर वा भाग छुट्ट्याएर मात्र आफूहरुले खान मिल्ने पनि उनले बताइन्। 

जब कुमारीको दाँत झर्छ... 

बुंगमतीकी कुमारी कृपा बज्राचार्य अहिले सात वर्ष पुगिन्। ०७४ माघ ६ गते उनी कुमारीको रूपमा चयन भएकी हुन्। उनीअघि उनकी दिदी किञ्जल बज्राचार्य कुमारी थिइन्। किञ्जलको दाँत झरेपछि उनको स्थानमा कृपा कुमारी भएकी हुन्।

अन्य स्थानमा पहिलो महिनावारी भएसँगै कुमारीले पदबाट अवकाश पाउँछन्। बुंगमतीमा भने बहालवाला कुमारीको दाँत झर्नेबित्तिकै नयाँ कुमारी भित्र्याइन्छ। यहाँ वंशज र जन्मका आधारमा बुंगमतीकी कुमारी घोषित हुन्छिन्। यहाँ मानरत्नकै खलकबाट कुमारी छानिन्छ। यहाँ उनीहरुको खलकको २०–२२ घरधुरी छ। मानरत्न भन्छन्, ‘अब यहाँ कुमारी हुने पालो कृपापछि जन्म भएकी बालिकाको आउँछ।’ कृपापछि भावी कुमारीकी उत्तराधिकारी उनीहरुकै खलकका युकेश बज्राचार्यकी छोरी कुमारी हुँदै छन्। 

गरगहना हस्तान्तरण

नयाँ कुमारी चयन गर्नुअघि पूर्वकुमारीलाई अन्तिमपटक सिँगारिन्छ। नयाँ कुमारीलाई रातो लुगा र निधारमा रातो टीका लगाएर पूर्वकुमारीको घरमा ल्याइन्छ। गुर्जुको उपस्थितिमा मन्त्र उच्चारण गरेसँगै पूर्वकुमारीले आफूले लगाएका गरगहना पालैपालो फुकालेर नयाँ कुमारीलाई दिन्छिन्। मानरत्न भन्छन्, ‘कुमारीका गरगहना पुर्खाैली हुन्। समय समयमा तान्त्रिक गुर्जुहरूले स्वेच्छाले मुकुट चढाउने भने गर्नुहुन्छ।’ 

प्रकाशित मिति: १७:०९ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्