घरकै धारामा पानी आउँछ, तर पुराना सम्झना जोडिएकाले सीता सामुदायिक कलधारा पुग्छिन्
इतिहासविद् तथा साँखुका स्थानीय प्रकाशमान श्रेष्ठका अनुसार, यो धाराको निर्माण ०१७ सालमा भएको हो । घरघरमा धारो हुँदाहुँदै पनि पुराना सामुदायिक कलधारा ब्युँताउनुलाई उनी कलासंस्कृतिको जर्गेना भएको मान्छन् ।काठमाडौं, असार १० : शंखरापुर नगरपालिका (साँखु)– ६, बसिमाक्व टोलस्थित सामुदायिक कलधारामा स्थानीय ५५ वर्षीया सीता श्रेष्ठ सोमबार सेतो बाल्टिन बोकेर आइपुगिन् । धाराको टुटी बटारिन् र बाल्टिनमा पानी थापिन् ।
पुरातात्विक ढुंगेधारा शैलीमा यस सामुदायिक कलधारालाई भर्खरै पुनर्निर्माण गरिएको हो । अहिले बटुवादेखि वरपरका स्थानीयले यस धाराको पानीको प्रयोग गर्छन् । त्यसो त साँखुका घर–घरमा पानीका धारा पुगेका छन् । सीताको घरमा पनि पुगेको छ, तर ऐतिहासिक महत्वको धारालाई यसरी जीवन्त रूपमा देख्दा खुसी लागेर पानी लिन आएको उनले बताइन् ।
यो धारासँग सीताका पुराना सम्झना जोडिएका छन् । ३० वर्षअघि सीताको विवाह यस टोलमा भएको हो । ‘त्यतिबेला हामीले यस धारामा पानी भर्न पालो कुर्नुपथ्र्यो । यहाँ साथीसंगीसँग भेटघाट र भलाकुसारी हुन्थ्यो,’ सीता भन्छिन्, ‘अब फेरि छिमेकीहरूसँग भेटघाट हुने बहाना मिल्ने भयो ।’
उनका अनुसार, पहिले यो धारा अहिलेजस्तोे चिटिक्क थिएन । प्लास्टर गरिएको भए पनि लेउ लागेर चिप्लिने डर हुन्थ्यो । ‘मैले सुने अनुसार, यो धारा ०१७ सालमा नेपाली कांग्रेसका नेता गणेशमान सिंहले स्थापना गरिदिनुभएको रे, अरु त थाहा छैन,’ उनले भनिन् ।
इतिहासविद् तथा साँखुका स्थानीय प्रकाशमान श्रेष्ठका अनुसार, यो धाराको निर्माण ०१७ सालमा भएको हो । घरघरमा धारो हुँदाहुँदै पनि पुराना सामुदायिक कलधारा ब्युँताउनुलाई उनी कलासंस्कृतिको जर्गेना भएको मान्छन् । ‘छोटो कालखण्डकै भए पनि यी कलधाराले इतिहास बोकेका छन् । यी हाम्रा पुराना रहनसहनसँग जोडिएका छन्,’ उनी भन्छन्, ‘ढुंगेधाराको शैलीमा बनेका कारण पनि पछिका पुस्ताका लागि यो महत्वपूर्ण हुनेछ ।’
सम्पदा क्षेत्र घोषणासँगै कलधारा पुनर्निर्माण
शंखरापुर नगरपालिकाका वडा ६ र ७ ले नगर क्षेत्रलाई समेट्छ । यी दुई वडामा मौलिक नेवारबस्ती रहेको छ । पुराताŒिवक हिसाबले यी दुई वडा महत्वपूर्ण रहेकाले सरकारले यसलाई सम्पदा क्षेत्र घोषणा गरिसकेको छ ।
वडा ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार, सम्पदा बस्ती घोषणा भएसँगै अघिल्लो स्थानीय सरकारको पालादेखि यहाँका मूर्त–अमूर्त सम्पदाको जर्गेना थालिएको हो । यहाँका १८–२० वटा पुराना कलधारा पुनर्निर्माण थालिएको श्रेष्ठ बताउँछन् । ‘चार–पाँचवटा धारा पुनर्निर्माणको अन्तिम चरणमा छन्,’ उनले भने ।
सम्पदा क्षेत्र घोषणा भएसँगै नगरपालिकाले ‘साँखु सम्पदा संरक्षण उपसमिति’ गठन गरेको छ । ‘यहाँका मौलिक शैलीका घर, ढुंगेधारा, इनार, फल्चा आदिको संरक्षणमा लागेका छौँ,’ अघिल्लोपटक पनि वडा ७ का वडाध्यक्ष रहेका श्रेष्ठ भन्छन्, ‘यी कलधाराको आफ्नै ऐतिहासिक महत्व छ । यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो ।’
एउटा कलधारा निर्माणका लागि ८० हजारदेखि २० लाख रुपैयाँसम्म लागेको वडाध्यक्षहरू बताउँछन् । नवर्निर्मित कलधाराका मुख कतै ढुंगाका छन् भने कतै पित्तलका । ‘हाम्रो वडाका अधिकांश धाराको मुख पित्तलको राखिएकोे छ । सम्पदा क्षेत्रलाई कलात्मक बनाउने उद्देश्यसहित हामीले पित्तलको धारा जडान गरेका हौँ,’ वडा ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ भन्छन्, ‘हाम्रै वडाका कतिपय धारा ढुंगाका पनि छन् । त्यस कारण पनि रकममा भिन्नता आएको हुन सक्छ ।’
राधाकृष्ण अघिल्लोपटक पनि वडा ६ का वडाध्यक्ष थिए । यी दुई खालका धाराको आ–आफ्नै सौन्दर्य रहेको र वडापिच्छे विविधतायुक्त धाराले सम्पदा क्षेत्रलाई अझ सुन्दर बनाउने राधाकृष्ण बताउँछन् ।
पानीको चुनौती
वडा ७ का वडाध्यक्ष श्रेष्ठका अनुसार, कलधारामा बग्ने पानीको स्रोत भने साँखुस्थित बुर्कमाला खोलाबाट ल्याइएको छ । पानी संकलनका लागि नगरपालिकाको सहयोगमा रिजर्भर स्थापना गरिएको छ । बिहान र बेलुका तोकिएको समयमा धारामा पानी छाडिन्छ ।
हाल बिहान र बेलुका तीन–तीन घन्टा धारामा पानी छाडिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘पुराना कलधारालाई ब्युँताउन खासै समस्या भएन, तर धाराको प्रबन्ध गर्नु हाम्रा लागि ठूलो चुनौती थियो,’ उनले भने ।
पानीको व्यवस्थापनका लागि करिब साढे नौ करोड रुपैयाँ बराबरको बजेट संकलन गरेको पनि उनले बताए । ‘पाँच वर्षको कार्यकालमा करिब नौ करोड बराबरको रकम हामीले संकलन गर्याैं । उक्त रकम खानेपानी बोर्डदेखि प्रदेश सरकारबाट सहयोगबाट प्राप्त भयो,’ उनले भने ।साँखु क्षेत्रमा अब पानीका लागि समस्या नहुने दाबी उनको छ ।