ज्याः पुन्हि : मर्ने गरी काम गर्ने मान्यता, पनौतीमा यौनशिक्षा सिकाउने जात्रा
नेपाल भाषामा ‘ज्याः’ को अर्थ ‘काम’ र ‘पुन्हि’को अर्थ ‘पूर्णिमा’ हुन्छ । अर्थात् यस दिनलाई नेवार समुदायले खेतीपाती सुरु गर्ने दिनका रूपमा मान्दै आएको छ ।
काठमाडौं, जेठ ३१ : आज (मंगलबार) जेठ शुक्ल पूर्णिमा अर्थात् ज्याः पुन्ही। नेपाल भाषामा ‘ज्याः’ को अर्थ ‘काम’ र ‘पुन्हि’को अर्थ ‘पूर्णिमा’ हुन्छ। अर्थात् यस दिनलाई नेवार समुदायले खेतीपाती सुरु गर्ने दिनका रूपमा मान्दै आएको छ।
पहिले काठमाडौं उपत्यका खेतीका लागि प्रसिद्ध थियो। यहाँका अधिकांश नेवारहरु खेतीपातीमा निर्भरसँगै खेतीपाती र अन्नबालीसँग सम्बन्धित चाडपर्व मनाउँदै आएको पाइन्छ।
मर्ने गरी काम गर्ने
यस पूर्णिमालाई ‘सिनाज्या’ वा ‘सिन्हा ज्याः’ पनि भनिन्छ। जसको अर्थ मर्ने गरी काम गर्नु हुन्छ।
नजिकिँदो वर्षायाम अनि धानबाली लगाउने सुरु भएसँगै विशेषतः ज्यापु समुदायमा यस पूर्णिमाको अझ महत्व रहन्छ। रोपाइँका समयमा राम्ररी काम नगरे उब्जनी राम्रो नहुने र भोकमरीले मर्न सकिने डर किसानलाई हुन्थ्यो, त्यसैले बर्खामा मर्ने गरी काम गर्नुपर्छ भन्ने मान्यता नेवार समुदायमा रहँदै आएको छ।
बूढापाकाका अनुसार, धान रोप्ने समय अर्थात् बर्खामा घरको सदस्यकै मृत्यु भए पनि लासलाई घरको दक्षिणतर्फ घुम (छत्री)ले छोपेर राख्ने र खेतीपातीको सकेपछि मात्रै दाहसंस्कार गर्ने गर्थे।
किसानको खेतमा राजा
संस्कृतिविद् हरिराम जोशी यस दिन राजा नै किसानका पीरमर्का बुझ्न खेतबारीमा आउने गरेको किंवदन्ती रहेको बताउँछन्। उनका अनुसार, वर्षायाममा खेतीपातीको काम सुरु भएसँगै पहिलेपहिले राजा नै किसानले काम गरेको ठाउँमा आउँथे र किसानका दुःखमर्का बुझ्थे। राजाले किसानको ऋण तिरिदिने, धानको बीउ किनिदिने जस्ता कार्य गरिदिन्थेँ। ‘यसैको प्रतिविम्ब स्वरूप अहिले पनि ज्याः पुन्हीको दिन पाटनको कृष्ण मन्दिरको परिसरमा श्रीनिवास मल्लको सिंहासन राखिन्छ,’ उनले भने।
मंगलबार (आज) बिहानै श्रीनिवास मल्ल (वि.सं १६८४–१७४३) को सिंहासन राखिएको छ। पाटन दरबार संग्रहालयका अधिकृत सुरेशमान लाखेका अनुसार, वर्षको एक दिन (आज) मात्रै सिंहासनलाई संग्रहालयबाट बाहिर निकालिन्छ। तामाबाट बनेको यस सिंहासनमा सुनको जलप लगाइएको छ। ‘राजा श्रीनिवास मल्लको सिंहासनसँगै उनका पिता सिद्धिनरसिंह मल्लले बनाएको श्रीकृष्णको पौभालाई पनि बाहिर ल्याएर राखिन्छ,’ अधिकृत लाखेले भने।
‘मेघ मल्हार’ भजन गाएपछि पानी पर्ने
आजकै दिन पाटन दरबार क्षेत्रको कार्तिक नाच देखाउने डबलीमा मेघ मल्हार भजन गाइन्छ। मेघ मल्हार एक शास्त्रीय राग हो। तर, यहाँ राग मिश्रित भजन गाइन्छ।
पाटनका स्थानीय १९ वर्षीय सुप्रिन्स शाक्य यस भजनमा सरिक छन्। आफूले यहाँ बुवा–हजुरबुवा लगायत पाका मानिससँग बाजा बजाउने गरेको उनले बताए। उनका अनुसार, वर्षाको आह्वान गर्न यो भजन गाइन्छ। यस भजनमा १५ रागसहितको ३२ वटा गीत छन्, जसमध्ये ‘श्याम धनी’ गीत आजको दिन बाहेक अन्य दिन गाउन नहुने जनविश्वास छ।
राजा सिद्धि नरसिंह मल्लले सिर्जना गरेको यस राग गाएसँगै वर्षा सुरु हुने कथन छ।
पनौतीमा यौन शिक्षाका रूपमा जात्रा
ज्याः पूर्णिमाकै दिन पनौतीमा उन्मत्त भैरव र भद्रकालीको भव्य जात्रा हुने गर्छ। यी दुई देवीदेवतालाई छुट्टाछुट्टै रथमा राखी पनौतीस्थित पुलिस पाटीअघि लगिन्छ। त्यसपछि यी दुई रथलाई भद्रकाली र भैरवको समागम भएको प्रतीक स्वरूप आपसमा तीनपटक ठोक्काइन्छ।
यस जात्राको किंवदन्ती महादेव र पार्वतीसँग सम्बन्धित रहेको संस्कृतिविद् जोशी बताउँछन्।
उनका अनुसार, एकपटक पार्वतीले ध्यानमा बसेका महादेवलाई यौन सम्बन्धका लागि आकर्षित गर्न ६४ योगिनीको रूप धारण गरिन् र उत्तेजित पारिन्। महादेवले पनि डरलाग्दो उन्मत्त भैरवको रूप लिए। ६४ योगिनीरूपी पार्वती डरले भाग्ने क्रममा भद्रकालीको रूप धारण गरिन्। महादेवले उनलाई लखेट्न थाले। यसै क्रममा पनौतीको त्रिवेणी किनारमा उनीहरुको भेट भयो। त्यसपछि उनीहरूबीच तीनपटक सम्भोग भएको भनिन्छ। ‘सोही प्रतीक स्वरूप भैरव र भद्रकालीको रथ ठोक्काउने गरिएको हो,’ संस्कृतिविद् जोशीले भने।











-(86)-1764936079.jpg)
