‘कुमारी : मल्टिफेसेटेड लिभिङ गडेस्’ विमोचन : ‘जीवित देवीको अध्यक्षतामा जात्रा सम्पन्न हुन्छ’
काठमाडाैं, जेठ २८ : लेखक सिद्धिबहादुर रञ्जितकारको पुस्तक ‘कुमारी : मल्टिफेसेटेड लिभिङ गडेस्’ शनिबार (आज) वसन्तपुरस्थित कुमारीघरको प्रांगणमा विमोचन गरिएको छ।पेसाले इन्जिनियर उनी...काठमाडाैं, जेठ २८ : लेखक सिद्धिबहादुर रञ्जितकारको पुस्तक ‘कुमारी : मल्टिफेसेटेड लिभिङ गडेस्’ शनिबार (आज) वसन्तपुरस्थित कुमारीघरको प्रांगणमा विमोचन गरिएको छ।
पेसाले इन्जिनियर उनी हाल अवकाश जीवन बिताइरहेका छन्। कला, संस्कृतिमा रुचि राख्ने लेखक रञ्जितकार नेपाल खानी तथा भूगर्भ विभागमा लामो समय कार्यरत रहे। रञ्जितकारको यसअघि ‘द भर्जिन गडेस् : कुमारी’ नामक बुकलेट प्रकाशित छ। यसपटक ४७४ पृष्ठको ‘कुमारी : मल्टिफेसेटेड लिभिङ गडेस्’मा आफूले कुमारीका विषयमा विस्तृत रूपमा लेखेको उनले बताएका छन्। ‘कुमारी परम्पराको प्रादुर्भाव कहिले र कसरी भयो भन्ने विषयमा पुस्तक केन्द्रित छ,’ उनले भने।
राजनीतिकदेखि सामाजिक महत्व बोक्ने जीवित कुमारी
लेखक रञ्जितकारका अनुसार, नेपाली इतिहासमा लिच्छविकालीन शासन प्रणालीदेखि शासकले राज्य सत्ता हाँक्नका लागि जीवित देवी कुमारीको उपासना गर्ने गर्थे। ‘कुमारीले छानेको शासकले कुमारीलाई बोकेर नगरपरिक्रममा गरेपछि मात्र उक्त व्यक्ति शासकको रूपमा आम जनतामा मानिन्थे,’ उनी भन्छन्, ‘जसलाई जीवित देवी कुमारीले सार्वजनिक रूपमा सत्ता हस्तान्तरण गरेको मानिन्थ्यो। यस कारण पनि जीवित कुमारीको महत्व राजनीतिक रूपमा उत्तिकै थियो।’
लेखक रञ्जितकारका अनुसार, बज्रयान बौद्धमार्गीले कुमारीलाई ब्रजयोगी अथवा बज्रदेवीका रूपमा पुज्ने गर्छन्। हिन्दू धर्मावलम्बीले दुर्गा वा तलेजु भवानीका रूपमा मान्छन् भने वैष्णवले महालक्ष्मी अथवा विष्णुदेवीका रूपमा कुमारीलाई पुज्ने गर्छन्। विभिन्न सम्प्रदायका मानिसले जीवित कुमारीलाई मान्दै आएका छन्।
सांस्कृतिक रूपमा काठमाडौं, पाटन, बुंगमतीमा रहेको सेतो र रातो मच्छिन्द्रनाथको जात्रा अवधिमा हुने महास्नान, रथारोहण जस्ता विविध विधिदेखि जात्रा सम्पन्न गर्ने कार्यमा समेत कुमारीको उपस्थिति उत्तिकै आवश्यक हुन्छ।
‘यसरी हेर्दा जीवित देवीको अध्यक्षतामा मात्र जात्रा सम्पन्न हुन्छ,’ लेखक रञ्जिकार भन्छन्, ‘विभिन्न कालखण्डमा पचली भैरव, चाँगुनारायण, माधव नारायणको समेत महास्नान हुन्थे, जहाँ त्यहीँका कुमारीको उपस्थितिमा उक्त कार्य गर्न पाउँथे। कुमारीको उपस्थितिबिना उक्त कार्यको महत्व हुँदैनथ्यो।’
लेखक रञ्जितकारका अनुसार, विवाह, व्रतबन्ध आदि कार्य गर्दा अन्तिममा कुमारीको पूजा गरेपछि मात्र कार्यविधि पूर्ण भएको मानिन्छ। तान्त्रिक पूजाआजा अन्तिममा गरिसकेपछि मात्र यस्ता कर्मकाण्ड सफल भएको मान्यता नेवार समुदायमा प्रचलित छ।
अर्को जनविश्वास यो पनि छ कि यदि कसैले आफ्नो घरमा कुमारीको पूजा गर्छ वा तस्बिर वा पुस्तक नै राख्छ भने उक्त घर चोर, भूतप्रेत, अग्नि तथा अन्य खालका भयबाट मुक्त हुन्छ।