नुवाकोटको सम्पदा बस्ती : शैली मौलिक तर सामग्री आधुनिक
‘मौलिक शैलीको सम्पदा बस्ती हेर्दा आकर्षक देखिन्छ। इँटा, सिमेन्ट आदि आधुनिक सामग्री प्रयोग गरिएकाले बलिया र सुरक्षित पनि छन्।’काठमाडाैं, जेठ २८ : ०७२ को भूकम्पले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको नुवाकोटको साततले दरबार र वरपरका सम्पदा क्षेत्रलाई जीर्ण अवस्थामा पु¥यायो। साततले दरबारको पूर्ण जीर्णोद्धार अझै हुन सकेको छैन।
यस दरबार वरपरका बस्तीमा भने परम्परागत शैलीमा घरहरू बन्दै छन्। दरबार क्षेत्र प्रवेश गर्ने इन्द्रचोकदेखि नै सुर्कीले पोतिएका परम्परागत त्रिभुज आकारका छानोसहितका घर देख्न सकिन्छ।
महामण्डलस्थित स्थानीय दिनेश डंगोलले परम्परागत त्रिभुज आकारको जस्तापाताको छानोसहित तीनतले घर बनाएका छन्। घर बनाउन सिमेन्ट, इँटा र जस्तापाताकै प्रयोग गरे पनि बाहिरी भागलाई सुर्कीले पोतिएको छ।
इँटाले उठाइएको बार्दलीको डिलमा त्रिभुज आकारका प्वाल पारिएका छन्। झ्याल ढोका काठका छन्। उनको घरबाट पूर्वपट्टि कुशबहादुर डंगोलको एकतले घर छ। चाइनिज इँटा र सिमेन्टले बनेको उक्त घरले पुरानो एकतले माटाको घरको झल्को दिन्छ। उनको घरबाट केही पर बाटोछेउ दुईवटा घर छन्। परम्परागत त्रिभुज आकारको छानोसहित बनेका ती घरको बार्दलीको डिलमा त्रिभुज आकारका प्वाल पारिएको छ।
नुवाकोटका पर्यटन व्यवसायी सुमन पाण्डेले भने पूर्ण माटो, ढुंगा, सुर्की र काठका पुराना शैलीका झ्याल र ढोकाको प्रयोग गरी परम्परागत शैलीमा घर बनाएका छन्। पाण्डे ‘सम्पदा बस्ती निर्माण समिति’का संयोजक समेत हुन्। उनका अनुसार, यहाँ भूकम्पपछि परम्परागत शैलीका घर बनाउन सुरु गरिएको हो। ‘भूकम्पले गरेको असरलाई अवसरमा परिणत गर्ने ध्येयले हामीले सम्पदा बस्तीको अवधारणा ल्याएका हौँ,’ संयोजक पाण्डे भन्छन्, ‘भूकम्पले यहाँ पुराना सम्पदा शैलीका घर ध्वस्त पारे। अब बनाउँदा आधुनिक सामग्री प्रयोग गरे पनि शैली भने परम्परागत राख्ने हाम्रो योजना हो।’
घरलाई बलियो बनाउन आधुनिक सामग्रीको प्रयोग गरिए पनि मौलिक शैली अपनाइएको पाण्डे बताउँछन्। ‘मौलिक शैलीको सम्पदा बस्ती हेर्दा आकर्षक देखिन्छ। इँटा, सिमेन्ट आदि आधुनिक सामग्री प्रयोग गरिएकाले बलिया र सुरक्षित पनि छन्,’ उनी भन्छन्।
भूकम्पको एक वर्षपछि भूकम्पले क्षतिग्रस्त नुवाकोट दरबार क्षेत्र र आसपासको सांस्कृतिक मौलिकतालाई कायमै राख्ने गरी सम्पदा बस्ती बनाउने निर्णय भएको थियो। अहिलेसम्म यहाँका करिब चार सय घरधुरीमा करिब ७५ प्रतिशत घरहरू सम्पदा बस्तीको अवधारणामा बनेका छन् भने २५ प्रतिशत अवधारणा विपरीत छन्। केही घर भूकम्पले क्षतिग्रस्त भएलगत्तै बनाइएकाले सम्पदा बस्तीको अवधारणा अनुसार नबनेका हुन्। कतिपय घर भूकम्पले खासै क्षति भएनन् र पुरानै अवस्थामा प्रयोग हुँदै आएका छन्।
घर क्षति भएर पनि सम्पदा शैलीमा बनाउन मन नगरेका स्थानीयको भने नक्सा पास गरिएको छैन।
सरकारको आश्वासन पूरा भएन
मापदण्ड पूरा गरी मौलिक शैलीका घर बनाउँदा ‘सम्पदा बस्ती निर्माण समिति’ले आवश्यक जस्तापातामा प्रतिबन्डल तीन हजार रुपैयाँ बेहोर्ने समझदारी भएको थियो। समितिले सो रकम रकम बेहोरेको छ। त्यस्तै, समितिले विदुर नगरपालिकासँगको समन्वयमा नक्सा पासमा ५० प्रतिशत रकम मिनाहा समेत गरिदिएको छ। विदुर नगरपालिकाले पनि घर बनाएबापत घरधनीलाई ५० हजार रुपैयाँ दिने भनेको थियो, उसले सो रकम भुक्तान गरिसकेको छ।
भूकम्पबाट घर क्षति भएका घरधनीलाई मापदण्डमा रही घर बनाएबापत सरकारले तीन लाख रुपैयाँ अनुदान दिएको थियो। यहाँका स्थानीयलाई भने सम्पदा बस्तीको मापदण्डमा घर बनाएबापत थप ९० हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिने भनेको थियो। तर यहाँका स्थानीयले सो रकम अझै पाएका छैनन्। ‘हामीले घर बनाउने समयमा प्राधिकरणको तर्फबाट ९० हजार रुपैयाँ पाउने आश्वासन पाएका थियाँै,’ स्थानीय दिनेश डंगोल भन्छन्, ‘तर, घर पूर्ण भइसक्दा पनि उक्त रकम पाउने छाँटकाँट देखिएको छैन। कि आश्वासन नै नबाँड्नू !’
संयोजक पाण्डेका अनुसार, समितिले पठाएको फाइल स्वीकृत गरिएको छ तर हालसम्म कुनै प्रकारको जानकारी आएको छैन।
गत पुस ८ गते राष्ट्रिय पुनर्निर्माणले प्राधिकरण विघटन गरियो। प्राधिकरणको बाँकी जिम्मेवारी सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा आएको छ। इकाइका अनुसार, परम्परागत शैलीमा घर बनेको छ र वडाले सिफारिस गरेको छ भने कबोल भएको रकम घरधनीले पाउनुपर्छ।
‘यी सबै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यविधिमा थिए,’ आयोजना निर्देशक कोषनाथ अधिकारी भन्छन्, ‘प्राधिकरणको कार्यविधि अबका लागि मान्य हुँदैन। अब कुन नियम वा ऐनमा टेकेर हामीले उहाँहरूलाई रकम भुक्तानी गर्ने भन्नेमा अलमल छ।’ उनका अनुसार, यस विषयमा क्याबिनेटमा कुरा गएको छ।