Kathmandu Press

महिला हिंसाका समाचारमा मूलधारका मिडिया कति संवेदनशील र परिवर्तनशील ?

मूलधारका भनिएका मिडियाले पनि खोज पत्रकारितामार्फत महिला हिंसाका घटना सार्वजनिक गर्ने र सामाजिक न्यायका लागि समाज र सम्बन्धित निकायलाई झकझकाउने भूमिका खेलेको त्यति पाइँदैन। 
महिला हिंसाका समाचारमा मूलधारका मिडिया कति संवेदनशील र परिवर्तनशील ?

काठमाडौं, जेठ २५ : दुई दशकअघि जनआस्था साप्ताहिकमा ‘फिल्म नगरीको रंगीन रात’ शीर्षकमा नायिका शिर्षा कार्कीको नग्न तस्बिर छापियो, त्यसको तेस्रो दिन शिर्षाले आत्महत्या गरिन्। 

यस घटनामा जनआस्थाका पत्रकार किशोर श्रेष्ठको व्यापक विरोध भयो, कलाकर्मीदेखि सर्वसाधारण सडकमा ओर्लेका थिए। श्रेष्ठले एक लेखमा यस प्रकरणमा आफू ६ महिना भूमिगत हुनुपरेको लेखेका छन्। यस प्रकरण पृष्ठभूमिको सच्चाइ जेहोस्, तर पत्रिकामा उनको नग्न फोटो छापिनुपर्ने कुनै कारण थिएन। 

दशकअघि एक अभिनेत्रीको सेक्स भिडियो बाहिरियोे। कतिपय मिडियाले सस्तो लोकप्रियताका लागि प्राथमिकताका साथ त्यसलाई समाचार बनाए। 
विशेषतः गणतन्त्रपछि महिलाहिंसाका समाचारमा मिडियाले संवेदनशीलता अपनाएको पाइन्छ। यतिसम्म कि कतिपय अवस्थामा पीडित महिलाको वास्तविक नाम र ठेगाना समेत समाचारमा उल्लेख गरिँदैन। 

Hardik ivf

कुनै समय प्रिन्ट मिडियाले रंग समाचारका नाममा गसिप छाप्ने गर्थे। पछिल्लो समय त्यसमा पनि प्रिन्ट लगायत मूलधारका मिडियाले केही सजगता अपनाएका हुन् कि भन्ने लाग्छ। त्यसो त अहिले युट्युबरको बिगबिगी र विकृति अर्कोतिर छँदै छ। मूलधारका भनिएका मिडियाले पनि खोज पत्रकारितामार्फत महिलाहिंसाका घटना सार्वजनिक गर्ने र सामाजिक न्यायका लागि समाज र सम्बन्धित निकायलाई झकझकाउने भूमिका खेलेको त्यति पाइँदैन। 

यसै सन्दर्भमा हामीले दशकौँदेखि पत्रकारिता अभ्यास गरेका वरिष्ठ पत्रकार तथा सम्पादकलाई निम्न प्रश्न सोधेका थियौँ : 

१. महिलाहिंसाका घटना कम गर्न मिडियाको भूमिका कस्तो हुनुपर्छ ? र, यस सम्बन्धमा यहाँबाट के कस्ता पहल भए ? 

२. पछिल्लो समय महिलाहिंसाका घटना बढेका हुन् कि पहिलेको तुलनामा अहिले मिडियामा समाचार बढी आएका हुन् ?

३. पहिले गसिपका नाममा कलाकार, विशेषतः हिरोइनका सम्बन्धलाई लिएर पत्रिकामा समाचार बढी आउँथे, अहिले यसमा मूलधारका मिडिया सजग भएका हुन् ? 

४. एक दशकअघि एक नायिकाको भिडियो काण्डमा पनि मिडिया सजग भएनन्, त्यसलाई बढी प्राथमिकता दिए भन्ने थियो, यहाँको विचारमा महिलासँग जोडिएका घटनामा मिडिया कसरी संवेदनशील हुनुपर्छ ?
 

प्रस्तुत छ, यिनै प्रश्नमा व्यक्त धारणाको सम्पादित अंश :

‘मिडियामा महिला हिंसाका समाचार सम्प्रेषण सन्तोषजनक नै छ’

अहिले जसरी महिलाहिंसाका विषय उठान भइरहेको छ, त्यो सन्तोषजनक नै छ। यस्ता विषय सामाजिक सञ्जालमा मात्र सीमित हुँदा सम्बोधन र समाधानतर्फ जान समस्या हुन सक्छ। यसमा मिडियाको ठूलो भूमिका छ।

प्रश्न यो छ कि के मिडियामा आउने महिलाहिंसासम्बन्धी समाचार पर्याप्त छन् ? नेपाली मिडिया घटना प्रधान छ, घटना घटेपछि मात्र त्यस सम्बन्धमा सामग्री तयार गर्न थालिन्छ। आफूमाथि सौन्दर्य प्रतियोगिताको नाममा यौनहिंसा भएको भनी भर्खरै एक युवतीले सामाजिक सञ्जालमार्फत बताइन्। यो सार्वजनिक भएसँगै मिडिया यसमै केन्द्रित भए। 

यस्ता घटनाबाट महिलालाई बचाउन वा यस्ता घटनाको उजागर गर्न मिडिया विचारकेन्द्रित भएर बहसमा आउन सक्छ। हिंसा तथा कानुनका विषयमा पनि मिडियाले विचारकेन्द्रित विश्लेषण र समाचार सम्प्रेषणमा ध्यान दिनु उत्तिकै आवश्यक छ। 

यशोदा तिमिल्सिना, पत्रकार तथा पूर्वसूचना आयुक्त, राष्ट्रिय सूचना आयोग ।

पछिल्लो समय महिलाहिंसाका घटना बढे वा समाचार बढी आएका हुन् भन्ने सम्बन्धमा तथ्यांक मसँग छैन। यो अनुसन्धानको पाटो हो। यद्यपि, महिलाहिंसाको घटना खुलस्त रूपमा बाहिर आउन थालेका छन्। हिंसा हिजो पनि भएका थिए, यसको अंकगणित हामीसँग छैन। 

अर्को कुरा, सौन्दर्य प्रतियोगिता बन्द गरेर हिंसा बन्द हुन्छ भन्ने बुझाइ गलत हो। यो त हात काटेर फाले हातमा भएको घाउ निको हुन्छ भनेजस्तै भयो। हिंसाका विषय पाठ्यक्रममै राखी पढाउनेदेखि जनचेतना अभिवृद्धिका कार्यक्रम आउनुपर्छ। छोराछोरीको हुकाईमा परिवारले ध्यान दिन आवश्यक छ। त्यस्तै, कानुनको कार्यान्वयन हुनुपर्छ। अनि मात्र यस्ता हिंसामा कमी आउन सक्छन्। 

मनोरञ्जनका क्षेत्रमा महिलासँगै पुरुष पनि गसिपको सिकार हुन्छन्। यसमा कुनै लैंगिकताको पक्षधर हुनु भन्दा पनि सोचमा परिवर्तन ल्याउन जरुरी छ। यस्ता विषयमा राज्यले सम्बोधन गर्नुपर्छ।

नायिकाको भिडियो सम्बन्धमा त्यस बेला केही मिडियाले संवेदनशीलता गुमाएको देखिन्छ। यद्यपि, यस विषयमा उक्त नायिका आफैँ पनि अडिग रहिन्। त्यसमा उनलाई साथ दिने केही मिडिया जिम्मेवार देखिए। ती नायिकाको साहसले मिडियालाई समेत पाठ पढाएको छ। 

कोही पीडित स्वयंले नाम र अनुुहार सार्वजनिक गरेको छ भने उसको परिचय लुकाउनुपर्छ भन्ने मलाई लाग्दैन। व्यक्तिको परिचयभन्दा पनि मुख्य मुद्दामा अलमल हुनु हुँदैन। पीडितको परिचय लुकाइँदा समाजमा पीडितलाई लुकाएको सरह हुन्छ। जब कि समाजका यस्ता पीडित जसले आँट गरेर आफूमाथि भएको घटनाबारे बोलेका छन्, उनीहरूलाई सोही अनुरूप समाजमा स्थापित गराउन सक्नुपर्छ। 

कुनै अपराधीले अपराध गरेको छ, यसमा पीडा भोग्ने व्यक्ति डराउनुपर्ने किन ? समाजले यस्ता विषयमा अझ सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ।

‘महिलाले हिंसा र उत्पीडनविरुद्ध आवाज उठाउने साहस गरेका छन्’

मेरो व्यक्तिगत अनुभवका आधारमा भन्ने हो भने अहिले मिडियाको दायरा परिवर्तन भएको छ। कुनै समय चलेका खराब र गलत अभ्यासमा अहिले सुधार आएको छ। कतिपय विषयमा खराबी देखिन पनि थालेको छ, जुन पहिले थिएन। 

हिजो भएका खराब अभ्यासअन्तर्गत महिलाहिंसाका विषयमा मिडिया त्यति जिम्मेवार र संवेदनशील थिएनन्, जति आज छन्। मिडियाले महिला तथा बालबालिकाको विषयमा बोल्दा, समाचार सम्प्रेषण गर्दा निश्चित मानक बनाएका छन्, जस्तै : पीडितको परिचय मात्र नभई तस्बिर वा वतन समेत खुलाउन मिल्दैन। यस्तो अभ्यास प्रहरी अनुसन्धानमा पहिल्यैदेखि हुँदै आएको छ, जहाँ पीडितको परिचय गोप्य राखिन्छ।

किरण नेपाल, सम्पादक (सिआइजे नेपाल) ।

हिमाल म्यागजिनमा म सम्पादक रहँदा हामीले महिला तथा बालबालिका जोडिएका सामग्रीमा पीडितको नाम, वतन र उमेर राख्दैनथ्यौँ। कतिपय अवस्थामा सम्बन्धित समाचारभन्दा बाहिरका बालबालिकाको तस्बिर झुक्किएर आएको छ भने पनि त्यस्तो राख्न मिल्दैन। बालसेनाको विषयमा पनि हामी सचेत थियौँ। 

मिडियाको दायरा परिवर्तन हुने क्रममा अनलाइन मिडिया धेरै आए। कुन मिडिया र कुन ननमिडिया भनी छुट्ट्याउनै गाह्रो हुने अवस्था आएको छ। सोसल मिडियामा आएको ‘स्टेट’ र ‘ट्विट’लाई समाचार बनाउने मिडियादेखि जिम्मेवार मिडियाका समाचारलाई एउटै तराजुमा हेरियो भने फरक पर्छ। 

आफूमाथि भएको यौन दुव्र्यवहारका विषयमा सामाजिक सञ्जालमा आफ्नो कुरा खुला रूपमा राख्न सक्नु साहसिक काम हो। पछिल्लोपटक बाहिरिएको घटनामा नेपाली मिडियाले सम्बोधन गरे। हाल पीडक अनुसन्धानका लागि थुनामा छन्। पीडित खुलेर सोसल मिडियामा आए पनि उनको नाम र तस्बिर मिडियाले उल्लेख गर्न मिल्दैन, यसमा गोपनीयताको प्रश्न हुन्छ। 

अहिले महिलाहिंसाका घटना बढेका हुन् वा मिडियामा समाचार बढी आएका हुन् भनी यसै भन्न सक्दिनँ। यसका लागि तथ्यांकमै पुग्नुपर्छ। तर, उजुरी र मिडियामा आएका समाचार बढेको देखिन्छ।

चेतनामा भएको विस्तार, महिला सशक्तीकरण आदिले आफूमाथि भएको हिंसाविरुद्ध महिलाहरू बोल्न थालेका छन्। साथै, महिलाहिंसाका विषयमा कानुन पनि कडा बन्न थालेका छन्, केही हदसम्म कारबाही हुन थालेछन्। यस कारण पनि हुन सक्छ, महिलाले हिंसा र उत्पीडनविरुद्ध आवाज उठाउने साहस गरेका छन्। 

गसिपको विरोधाभास पूर्ण अवस्था संसारभरि छ। पब्लिक प्रोफाइल भइसकेपछि उक्त व्यक्तिको निजी जिन्दगी हुँदैन भन्छन्, तर म र म कार्यरत मिडियाले यसलाई मान्दैन। हरेक व्यक्तिका निजी मामिला हुन्छन्। जसलाई हामीले स्विकार्नुपर्छ।

पेज थ्रीजस्ता इन्टरटेनमेन्टका विषयमा हामी चनाखो हुनुपर्छ। दशकअघि एक नायिकाको भिडियो स्क्यान्डल चर्चा हुँदा उनको निजी विषयमा दख्खल नपु¥याउने निर्णय हामीले हिमालको न्युज रुममा गरेका थियाँै। सोही अनुरूप हामीले एक आलेख पनि छाप्यौँ। त्यस बेला म हिमालमा सम्पादक थिएँ। 
पत्रकारितामा भएको विभिन्न ‘स्कुल अफ थट’का कारण पत्रकारहरू चुक्छन्। सेलिब्रेटी भएकै कारण उनीहरुको निजी मामिला हुँदैन भन्ने हुँदैन। उनीहरूको निजत्वका कुरालाई सम्मान गर्नुपर्छ। 

संसारका हरेक मानिसमा अरुको विषयमा चासो राख्ने तलतल हुन्छ। यसमा पाठक पनि पर्न सक्छन्। यो एउटा कमन साइकोलोजी हो, जहाँ मानिसका लागि अर्काको दुःख, पीडा, हर्ष, सफलता, असफलता चासोको विषय हुन्छ। मिडियाले सार्वजनिक हित र चासोलाई हेर्नुपर्छ।

हाम्रो संवदेनशीलता पीडकलाई कारबाही गराउनेतर्फ हुनुपर्छ। कहिलेकाहीँ पीडकलाई कारबाही गराउने क्रममा पीडित नै पीडित हुन पुग्छन्, यसमा सचेत हुनुपर्छ। 

‘बोक्सीको नाममा दिइने यातना कुनै बेला समाचार नै बन्दैनथे’

केही दशक अघिसम्म डान्स रेस्टुराँबाट समातिएका महिलाका फोटो समेत छापिने गर्थे। पछि बिस्तारै यस्ता विषय गलत रहेछन्, छाप्न नहुने रहेछन् भन्ने मिडियाले बुझ्न थाले। अहिले महिलाहिंसाका विषयमा मिडिया संवेदनशील भएका छन्। बोक्सीको नाममा दिइने यातना कुनै बेला समाचार नै बन्दैनथे, पछि त्यो समाचार बन्न थाल्यो। 

महिलाहिंसा लगायत कुनै पनि हिंसा गर्नु हुन्न भन्ने जानकारी मिडियाले समाजमा फैलाउनुपर्छ। हिंसा कानुनतः वर्जित कुरा हो। हरेक नागरिकलाई कानुनी अज्ञानता क्षम्य हुँदैन। मलाई कानुन थाहा थिएन भन्न पाइँदैन। हिंसात्मक व्यवहार भइरहेका छन् भने ती विषय मिडियाले उजागर गर्नुपर्छ, जसबाट आम नागरिकले जानकारी पाउन सक्छन्। मिडियाले यस्ता विषयमा बढीभन्दा बढी जानकारी दिनुपर्छ। यस्ता विषयमा हामीले थाहा पाएसम्म खोजेर लेख्ने समेत गरेका छौँ। 

हिंसा पहिले पनि थियो, आज पनि छ। हिंसाका घटना जति मिडियामा आएका छन्, त्योभन्दा बढी होला। यो ‘टिप अफ आइसबर्ग’ भनेको जस्तै हो, केही मात्रै देखिएका हुन्। देखिएको भन्दामुनि अझ धेरै कुरा छन्। ममाथि हिंसा भयो भन्ने अवस्था हिजो थिएन, यस्ता कुरा बाहिर ल्याउन महिलाहरु हिचकिचाउँथे, सहेर हिँडिरहेका थिए। कानुनले संरक्षण दिएकोबारे उनीहरूलाई पत्तो हुँदैनथ्यो। अचेल यस्ता कुरा बाहिर आउँदा मानिस प्रेरित भएका छन्। 
 

गुणराज लुइँटेल, प्रधानसम्पादक (नागरिक दैनिक) ।

मानिसले मानिसलाई गर्ने व्यवहार र सम्मान एकै हुनुपर्छ भन्ने अनुभूति हुँदै गएपछि यस्ता कुरा बाहिर आउन थालेका हुन्। मिडियाले पनि यस्ता विषयमा रिपोर्टिङ गर्न थाले। पीडामा परेकाहरू बोल्न थालेसँगै प्रेसले यस्ता विषयमा खोज्न थालेका हुन्। 

खासगरी कलाको रिपोर्टिङमा कलाकारले के गर्छन्, के लगाउँछन् भन्नेलाई चासो दिइन्थ्यो। बिस्तारै मिडियामा आएका यस्ता कुरा पाठक लगायतले मन पराउन छाडे। जसकारण यस्ता कुरा आउन कम भएका छन्। मनोरञ्जन क्षेत्रमा बाहिर ल्याउनुपर्ने धेरै कुरा हुन्छन्, त्यतातर्फ हाम्रो ध्यान जानुपर्छ। 

मिडियाले प्राइभेट के हो र पब्लिक के हो भन्ने बुझ्नुपर्छ। हिजो महिलाहिंसाका विषयमा संवेदनशीलताको कमी देखिएको थियो। मिडियाको आफ्नै आचारसंहिता छ। कसैको निजी जीवनका समाचारका विषयमा सचेत हुनुपर्छ। जहाँसम्म नायिका भिडियो केसको कुरा छ, त्यसमा हामीले नायिकालाई प्रोत्साहित गर्ने रूपमा लेख लेखेका थियाँै। 

सर्भाइभरको विषयमा, पीडित स्वयं मिडियामा आएर बोले पनि परिचय लुकाइदिनुपर्छ। सामाजिक सञ्जालमा व्यक्ति आफैँ बोल्न सक्छ, त्यो उनीहरूको चयन हो, हामीले भने यस्ता विषयमा संयमता अपनाउनुपर्छ। 

‘सडक आन्दोलनमा पनि पीडितको परिचय लुकाइनुपर्छ’

मिडिया मात्र नभई सडकमा हुने आन्दोलनमा पनि पीडितको नाम जाहेर गर्न नहुने अधिवक्ता मीरा ढुंगाना बताउँछिन्। भारतको निर्भया केसमा उनको वास्तविक नाम आएन। त्यसमा अपराधीलाई सजाय भयो। त्यो आन्दोलनकारीकै अभियान थियो। 

अधिवक्ता मीरा ढुंगाना ।

‘पीडित अनेक मानसिक उथलपुथलबाट गुज्रिरहेका हुन्छन्। जसकारण उनीहरूलाई उक्त समय आफ्नो कथा पीडा सुनाउनुपरेको हुन्छ,’ अधिवक्ता ढुंगाना भन्छिन्, ‘त्यस समय उनीहरूलाई अन्य कुराको हेक्का हुँदैन। हामीले आफ्नो क्षेत्रबाट उनको गोपनीयता कायम राख्नुपर्ने हुन्छ।’

पत्रकार आचार संहिता, २०७३ ले ‘अशक्त, असहाय, अल्पसंख्यक, महिला तथा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पु¥याउन नहुने’ उल्लेख गरेको छ। 
 

प्रकाशित मिति: ११:३३ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्